बुद्धिलाई व्यापार मान्ने मसीजीवी यहाँ छन्

- योगेश राज | 2021-09-24

योगेश राज

काठमाडौँ — योगेश राज थोरै दक्षिण एसियाली विचारकमध्येका एक हुन् जो इतिहास लेखनका विषयमा पनि चिन्तन गर्छन् र लेख्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन् ।

आधुनिकदेखि प्राचीन तथा नेपालभित्रका र दक्षिण एसियाका विविध भाषा–लिपिमा दख्खल राख्ने राज विशेषत: मध्यकालीन इतिहासमा रुचि राख्छन् । योगेश राजका सन्ध्या–संरचना (हिन्दु नेवारहरूको मृत्यचेतना, २०७०), क्रमभंग र सम्भार : नेपाली इतिहास लेखनमा हस्तक्षेपका दुई सन्दर्भ (विन्दु, २०६९), द जर्नल्स अफ क्याप्टेन किन्लक (सन् २०१२), हिस्ट्री आयज् माइन्ड्स्केप्स (सन् २०१०) लगायतका एक दर्जन गैरआख्यान पुस्तक प्रकाशित छन् । उनको पछिल्लो पुस्तक ‘रणहार’ भने ऐतिहासिक विषयमा आधारित आख्यान हो । इतिहास, लेखन र पाठकवृत्तको मनोवृत्ति केन्द्रित भएर योगेश राजले कान्तिपुरसँग गरेको लिखित कुराकानी :

के इतिहासका खास कालखण्ड मात्र महत्त्वपूर्ण हुन्छन् ? जस्तो कि नेपालीका लागि २५० वर्ष, पृथ्वीनारायण, काठमाडौं उपत्यकामा मल्ल राजाहरूको अवसान वा खास घटना वा पात्र मात्र किन महत्त्वपूर्ण भएका ? किसंसारभर नै यस्तै हुन्छ ?

समयको आफ्नो कुनै महत्त्व हुँदैन । त्यसले महत्त्व बोकेर आउँदैन, जाँदैन । त्यो हाम्रो सुख–दु:ख अनुभवप्रति उदासीन छ, असंलग्न देखिन्छ । समय हाम्रो नियन्त्रणमा पनि छैन । त्यसैले कुनै कालखण्डमाथि महत्त्वको लेप हामीले चढाउने हो, उप्काउने हो ।

मानिसले आ–आफ्ना अनुभव, बुद्धि र विवेकअनुसार समयमाथि महत्त्व थुपार्छ । मानिसलाई आफूले लगाएको आरोप सही लाग्छ । उसले महत्त्वको जलपलाई सही पनि ठह‍र्‍याउन खोज्छ । कुनै कालखण्डको महत्त्व छ अथवा छैन भन्ने सार्वजनिक बहस छेड्छ । कोही नाराबाजी गर्छन् । कसैले भित्ता रङ्गाउँछन् । शासकले पाठयपुस्तक संशोधन गर्न लगाउँछन् । विचारधारा बाहकहरूले प्रश्नपत्र बदल्छन् । खास अभीष्ट बोकेर सार्वजनिक बौद्धिकहरूले मूल्यांकन पद्धति फेर्लान् । अरूको आरोपलाई विचलन मान्लान्, विकृति ठह‍र्‍याउँछन् ।

समयमाथि मानिसले विभिन्न कारणले आरोप लगाउँछन् । आफ्नो अनुभवलाई मात्र साँचो मान्ने तिनको आग्रह हुन सक्छ । आफ्नो दृष्टिकोणको वर्चस्व कायम होस् भन्ने तिनको चाहना हुन सक्छ । त्यसपछाडि पार्टी–गुट–समूहविशेषका नेता सञ्चालकको अहं तुष्ट पार्ने जोड हुन सक्छ । अथवा, त्यसबाट कुनै जाति धर्म, लिंग आदि समुदाय विशेषको स्वार्थ पूरा हुन सक्छ ।

परिणाम के हुन्छ भने कुनै कालखण्ड महत्त्वपूर्ण देखिन्छ । अरू कुनै कालखण्ड भने हाम्रो सामूहिक स्मृतिबाट हराउँछ । कुनै युग स्वर्णिम लाग्न थाल्छ । कुनै युग भने कालरात्रि लाग्छ । कुनै शासन स्वतन्त्रताको पर्याय लाग्छ । अरू कुनै शासन बन्द । हेर्दा यसो गर्नु अविवेकी कुरा देखिएला । तर, यो स्वाभाविक हो ।

मुख्य कुरोचाहिँ समयले सबैतिर उस्तै परिवर्तन ल्याउँदैन, कतै परिवर्तन व्यापक होला । कतै संकुचित हेरफेर होला । कतै छिटोछिटो क्रिया प्रतिक्रिया जन्मिएलान् । कतै अग्रगमनप्रति उन्माद देखिएला । कतै प्रतिगमनतिर बहुमत बहकिएला । कतै स्थिरता देखिएला । कतै त्यसैलाई जडता भनिएला । कतै हरेक क्रान्ति अधुरो भएजस्तै पटक–पटक क्रान्ति होला । कतै संक्रमण लम्बिएको लम्बियै होला ।

समयले उस्तै प्रभाव पनि सबैतिर छाड्दैन : कुनै प्रभाव हामीले भोग्नुपर्ला, कुनै अरूले भोग्लान् । बाढीमा हामी परौँला । ढिस्कोले अरू पुरिएलान् । सिँगारिएको सडकमा अरूले गाडी कुदाउलान् । मूलढोकामा हामीले अपमान भोग्दै गरेका होऔँला । कसैले एउटै परिवर्तनको प्रभाव बढी बेहोर्ला, कसैले कम सहला । जुलुसमा गोली चल्दा सबै मारिँदैनन् । कहिले पदपथमा उभिने, जुलुससित लेनादेना नभएको, भर्खर सहर झरेको मानिस मारिन्छ । झ्यालबाट निहुरिन आउने नर्स मारिन्छिन् । मोबाइल किन्न गएको युवा सबैले चोर–चोर भनेर पिटेकाले मारिन्छ । यस्तै फरकफरक अनुभवले गर्दा हामीले समयउपर आ–आफ्नै किसिमले महत्त्व थोपर्छौँ ।

तर, हाम्रो निजी अनुभव नै अन्तिम सत्य होइन । निजी अनुभव झूटा पनि होइनन् । झ्यालबाट संसार देखिन्छ । झ्याल मायावी होइन । देखिएको संसार पनि माया होइन । एउटा झ्यालबाट नदेखिने संसारै छैन भन्न मिल्दैन । त्यस्तै सामाजिक यथार्थलाई बुझ्न निजी अनुभवमा मात्र भर पर्न हुँदैन ।

कहिलेकाहीं कसैको असाधारण निजी अनुभवले हामीलाई उद्वेलित पार्छ । हामी सडकमा ओर्लन, कसैलाई फाँसी दिन, कुटेर–पिटेर मार्न, आगो झोस्न लगाउन तयार हुन्छौँ । तर, ठीक यही मौकामा कसैले त्यो निजी अनुभवमार्फत हाम्रो विवेक उडाउन खोजिरहेको हुन सक्छ । अर्को ‘क्रान्ति’ को उत्पादन गरिरहेको हुन सक्छ । त्यो असाधारण निजी अनुभव साँचो हुन सक्छ । तर, हामो आवेगचाहिँ राजनीतिक नेता–कार्यकर्ता अथवा आमसञ्चारकर्मीका खेलबाट प्रेरित हुन सक्छ ।

यति हेक्का राख्ने हो भने पनि सामूहिक विवेक फर्काउन सकिन्थ्यो । तर, विवेकलाई सधैँ जिउँदो राख्न सजिलो छैन । त्यही कारणले बितेको कुन समयलाई वा कुन घटनालाई किन महत्त्व दिने भन्ने प्रश्नको उत्तर बदलिरहन्छ । एउटै समयमा पनि फरकफरक समुदायबाट यो प्रश्नको भिन्नभिन्न उत्तर आइरहन्छ । त्यसैले समयलाई हेर्ने दृष्टिकोण फेरिँदै जान्छ भनिएको हो । यो सामान्य ज्ञान हो । तर, बितिसकेको समयमा महत्त्व आरोपित गर्ने काम बेग्लै प्रकृतिको, बेग्लै उद्देश्य राखेर गरिने काम हो । यसबारे स्पष्ट उत्तर मसित छैनन् ।

वर्तमान बुझ्न वा भविष्यका बारेमा अनुमान गर्न भर्खर बितेको विगत मात्र महत्त्वपूर्ण छ कि त्योभन्दा अगाडिका घटनाक्रमहरू पनि ? जस्तै : मध्यकालीन इतिहास वा त्यो पूर्वका जानकारी हालका लागि कति महत्त्वपूर्ण हुन्छन्, किन महत्त्वपूर्ण हुन्छन् र वर्तमानसँग जोडिन्छन् कि जोडिन्नन् ?

विगतमा केही गोराहरूले धेरै रेड–इन्डियनलाई विष खुवाएर मारे भनिन्छ । के त्यो विष अहिलेसम्म रेड–इन्डियनका वंशजको रगतमा पोलिरहने हो ? के विष सही प्रतीक हो ? जंगबहादुरले १९०३ मा मामा माथवरसिंहमाथि चलाएको गोली ३८ वर्षपछि उनकै छोरा नातिको छातीमा दागिन आयो भनेर नयराज पन्तले लेखेका छन् । के यो कर्म–फलको सिद्धान्त समाजमा पनि लागू हुन्छ ? अढाई सय वर्षअघि तपाईंका पुर्खाले मेरा पुर्खाका नाक काटे । तिनलाई जंगलबाट धपाए । आँगनबाहिर उभ्याएर हेपे । मानौँ, यी आरोप ठीक हुन् । भने, पुर्खाले सहेका अपमान मेरो नसा–नसामा आज पनि दौडिरहन्छ ? के मेरो आक्रोश सही हो ? मैले आफ्नो आक्रोशको तारो तपाईंलाई आज बनाएँ । भने, के मैले हिजो र आजबीच, तपाईंको पुर्खा र तपाईंबीच भेद छुटयाउन सकेँ ? के मेरो मनस्थितिलाई स्वस्थ भन्न सकिन्छ ? बितिसकेको र अहिलेको समयबीच सम्बन्ध छ कि छैन ? त्यस्तो सम्बन्ध खुटयाउन खोज्ने हाम्रो बुझाइका आधार छन् कि छैनन् ?

२० वर्षअघि आफूले गरेका अपराधको दण्ड आज मैले पाउँछु । भने, कानुनी हिसाबले यसलाई हामीले उचित मानेका छौँ । कानुनी व्यक्तिको पहिचानमा निरन्तरता हुन्छ भनिएको छ । व्यक्तिले गरेको अपराधको दण्डसजाय उसको आफन्त, गोतियारबाट असुल्न हुँदैन भन्ने कुरा नेपालमा १३ सय वर्ष पहिल्यै मान्य थियो । आज पनि मान्य छ । त्यस्तोमा पुर्खाले उहिले गरेका भनिएका अत्याचारको आज आएर बदला लिनु कानुनी अथवा नैतिक हो भन्नु ठीक हो ? के विभिन्न आधारमा बनेका समुदायको पहिचान पनि, व्यक्तिको पहिचानजस्तै अद्वितीय र अखण्ड, पुस्तौँपुस्तासम्म निरन्तर हुन्छ ?

बितिसकेको कुनै कालखण्डमा, घटनामा, पात्रमा, सन्दर्भमा यसरी महत्त्व झुन्डयाउनु सन्देहास्पद गतिविधि हो । तैपनि त्यस्तो ‘टयाग’ झुन्डयाउन हामीलाई केले प्रेरित गर्छ ? यस्तो काममा क–कसको स्वार्थ जोडिएको छ ? शासकको, नेतृत्वको, बजारको, बौद्धिकको— कसको स्वार्थ मिसिएको हुन्छ ?

यस्ता प्रश्नमा हामीले पर्याप्त ध्यान दिएका छैनौँ । यी जम्मै प्रश्न पनि कुनै खासखास मुलुकमा, कुनै विशेष कालखण्डमा, कुनै खासखास वर्ग–समुदाय–जनसंख्या र व्यक्तिका हकमा बढी सान्दर्भिक किसिमले सोध्नुपर्ने हुन्छ । अहिले नेपाली समाजको सन्दर्भमा हामीले यिनै प्रश्न सोध्नुपर्ने थियो । कसैले सोधिरहेको छ जस्तो मलाई लाग्दैन ।

इतिहास वा अतीतलाई लिएर नेपाली समाजमा जेजस्तो दन्तबझान भइरहेको छ, यसलाई कसरी मूल्यांकन गर्ने ? कुनै पात्र वा घटनालाई लिएर एकथरीले भयानक राम्रो र अर्काथरीले भयानक खराब भन्ने दाबी–प्रतिदाबी पनि बढेको छ नि ?

मैंले हेर्दा अतीतसँग नेपाली समाजको एउटा तप्का अहिले भलाकुसारी मात्रै गरिबसेको छैन । त्यो बाझिरहेको छ, झगडा गरिरहेको छ, होहल्ला र रोइकराइ गरिरहेको छ । हुन सक्छ, सार्वजनिक मिडिया र सामाजिक सञ्जालमा यस्तो रोष बढी देखिएको होस् । अथवा, बुद्धिलाई व्यापार र रोजगारीको वस्तु मान्ने एक खाले ‘मसीजीवी’ बढी उत्तेजित भएका होऊन् । तिनले कुनै भीषण द्वन्द्वको निमित्त नेपाली समाजलाई मसला बाँडिरहेका होऊन् । यस्तो हुन सक्छ । अथवा, नेपालीजनले अझै विवेक गुमाएका छैनन् । त्यसो गर्न चाहेको वर्ग सानो होस् । यस्तो पनि हुन सक्छ । यो डरलाग्दो दृश्य सही हो होइन, म निश्चित छैन । तर, सही हो भने त्यो तस्बिरमाथि दुइटा तथ्य अझैथप्नुपर्ने हुन्छ ।

पहिलो, अतीतसँग असन्तुष्ट हुने, विलाप गर्ने, निहुँ खोज्ने, वादविवाद गर्ने, तर्कवितर्क तेस्र्याउने हैसियत नभएका, नदिइएका, नरहेका मानिसको एउटा ठूलो समूह नेपाली समाजमा अझै छ । अहिले चलिरहेको इतिहास–लेखनको बहसमा तिनको स्वर अथवा चुपलाई अटाउन बाँकी छ । यो रोइलो र जुझको कथामा तिनको आफ्नो आरोपलाई राख्न बाँकी नै छ ।

दोस्रो, अतीतमाथि आरोप लगाउने यो प्रवृत्ति सबै कालखण्डमा सबै समाजमा सधैँ चलिरहेको हुन्छ । तर, यो प्रवृत्ति आधुनिकताले पीडित समाजमा बढी हुन्छ । आधुनिक भन्ने शब्दमा त्यति ध्यान नदिनुस्, बरु पीडा भन्ने शब्दमा ध्यान दिनुस् । वर्तमानका पीडा जुन समाजले भोगिरहेको हुन्छ, त्यो समाजले जतिबेला त्यसको उत्तर वर्तमानमा पाउँदैन, अतीतसँग निहुँ खोज्न थाल्छ । मानिसले पनि त्यसै गर्छ । यो अतीतलाई हेर्ने फरक दृष्टिकोण हो । इतिहास–लेखनको फरक तेवर हो । यसलाई मैले अन्यत्र र प्राज्ञिक लेखनमा यसलाई आघातात्मक (ट्रउमाटिक) दृष्टिकोण भनेको छु ।

यो कस्तो ऐतिहासिक दृष्टिकोण हो भने यसमा वर्तमानमा देखे–भोगेका सारा अन्याय अत्याचारको स्रोत हामीले अतीतको कुनै घटनामा देख्न थाल्छौँ । त्यति बेला हामीलाई देश, समाज, जाति, वंश, संस्कृतिको जग कुनै खास शास्त्र, घटना, पात्र अथवा कालखण्डमा अडेको देखिन्छ । हामीलाई के लाग्छ भने यदि त्यो जगको, मूल–स्रोतको बनोट फेरिदियौँ भने हाम्रो पीडा कम हुन्थ्यो कि ?

त्यो ऐतिहासिक घटनाबारे अहिलेसम्म सुनिआएको वर्णन बदल्यौँ भने हामीले आफ्नो दु:खको, विभेदको, पीडाको भारी बिसाउन पाउने थियौँ कि ? न्याय पाउने थियौँ कि र हामी अघि बढ्न पाउने थियौँ कि ? हामीलाई के लाग्छ भने, हाम्रो समाजमा अहिले झांगिएको सबै खाले रोगको मुख्य जरो त्यहाँनेर छ । त्यसलाई उखेलेर फयाल्यौँ अथवा त्यसबारे नयाँ कथा प्रचार ग‍र्‍यौँ, अथवा त्यसलाई रछयानमा फयाँकेर नयाँ घटना, नयाँ पात्र, नयाँ परिस्थितिलाई हाम्रो चेतनाको केन्द्रमा राख्न पायौँ भने हामीमाथिको अत्याचारको हिसाब हुन्थ्यो कि ?

समाजको संरचनापछाडि अर्कै जन्मकथा हेर्नु एकखाले प्रतिरोध हो । नयाँ वृत्तान्त रच्नु एक किसिमको विद्रोह हो । सत्ताको, प्रभुत्वको विपक्षमा उभिने काम हो । स्वाभाविक छ, प्रतिरोध थाल्दा विपक्षी चुप बस्दैन ।

तिनीहरू सोझासीधा होइनन् । हामीले नौलो ढंगले इतिहास फगत मनोरञ्जनका लागि भनिरहेका होइनौँ । यो कुरा तिनलाई थाहा छ । तिनीहरू पनि आक्रान्त छन् । परिवर्तनबाट डराएका छन् । सम्भावित परिवर्तनपछि आफ्नो स्थिति के हुने हो, हैसियत के हुने हो भनेर सशंकित छन् । तिनले हाम्रा कथालाई अविश्वसनीय भनिदिन्छन् । मनगढन्ते भनिदिन्छन् । झूटा भन्लान् । तिनले पुरानै इतिहासका नयाँ संस्करण खोज्न थाल्छन् । भन्न थाल्छन्— प्राचीनकालदेखि नेपाली समाजमा कुनै कुरा रूढ बसेको छ भने त्यसपछाडि कुनै ‘देशज’ आवश्यकता हुनुपर्छ । ती कुरालाई त्यत्तिकै गुमायौँ भने हामीले आफ्नो स्वत्व हराउनेछौँ । अरूको प्रतिरूप बन्नेछौँ । जो सक्कली रहे, तिनले हामी नक्कलीलाई सहजै जित्नेछन् र हाम्रो अस्तित्व मेटिनेछ । यो एक प्रकारको परावर्तनवाद हो । नेपाली परिदृश्यमा अहिले यो विपक्षी मत बनेको देखिन्छ । तर, मौलिक स्वरूप पाउन सकिन्छ भनेर अतीतको पुनव्र्याख्या गर्नेहरू पनि आघात (ट्रउमा) बाटै पीडित छन् ।

यसरी इतिहास द्वन्द्वभूमि बन्छ । फेरि कसैलाई यस्तै द्वन्द्व भजाउनु होला । कसैको निम्ति आफ्नो सामाजिक जीवनको एक मात्र सार्थक दिनचर्या यही लाग्ला । कसैलाई समाज यस्तै द्वन्द्वात्मक बाटोमा, सर्प हिँडेसरह, टेडोमेडो हिँड्छ भन्ने लाग्दो होला । यस्ता मानिस उत्साहित होलान् । तर, द्वन्द्व आएपछि त्यसै जाँदैन । त्यसले ज्ञात अज्ञात सहिदहरू उत्पादन गर्छ । बचेका कति मानिसको जीवनलाई पङ्गू, कबाड, अर्थहीन बनाएर जान्छ ।

अहिले कति मानिसलाई पृथ्वीनारायण शाहसँग रिस उठेको देख्छु । धेरैलाई उनैप्रति रागमोहको आवेश पनि देख्छु । एकीकरणको तरंग अझै, साढे दुई सय वर्षपछि, महसुस गर्नेहरू छन् । भावनात्मक एकीकरण अझै, साढे दुई सय वर्ष भइसक्दा पनि, भइनसकेको लाग्नेहरू छन् । उनैलाई आन्तरिक उपनिवेशवादका जन्मदाता मान्नेहरू पनि छन् । कतिलाई सुगौली सन्धिले नेपालको भाग्य तोकेजस्तो आज पनि लाग्छ । कतिलाई द्रव्यशाहको दौडले नेपाललाई सोह्रौँ शताब्दीमै थुनेको जस्तो लाग्छ । जंगबहादुरको कोतपर्वले धेरैको कल्पना अझै उडाइरहेको छ । धेरै मानिस राजदरबार हत्याकाण्डलाई रहस्य मानेर अझै रोमाञ्चित हुने गर्छन् । एउटा ‘जनयुद्ध’ नाउँ दिएको प्रक्रियालाई अरूले सशस्त्र द्वन्द्व अझै भनिरहेका छन् । कोही भूकम्प र बाढीपहिरोलाई नेपाली समाजको निर्णायक मोड मान्दै छन् । कोही चारकोसे झाडी र तराईमा चलेको औलो नियन्त्रणलाई मुख्य बुँदा मान्छन् । कोहीचाहिँ जलवायु परिवर्तनलाई जीवनमृत्युको दोसाँध सम्झिन्छन् । अतीतलाई हेर्ने यी विविध दृष्टिकोण ‘एकतन्त्रीय निरंकुश परिवारवाद’ हटाउने, ‘माटो सुहाउँदो व्यवस्था’ जन्माउने र ‘नयाँ नेपाल’ बनाउने अन्तरालमा निस्केका हुन् ।

बितेको विशेष कालखण्डमा महत्त्व थप्ने, खास घटनालाई जन्म लगन मान्ने अथवा मानिआएको महत्त्वपूर्ण घटनाबाट महत्त्व उप्काउनेजस्ता प्रयासले हाम्रो मनमा बल्झेका कतिपय काल्पनिक र कतिपय आला घाउ निको हुँदै जालान् भन्ने विश्वास राख्नेहरू छन् । यस्तो विश्वास वास्तवमा भ्रम मात्र हो । यो कुरा थाहा पाउन तिनले अर्को पचास वर्ष कुर्नुपर्ने हुन सक्छ ।

तर, कुनै दिन भ्रम साबित हुनेछ भन्दैमा अतीतको पुनर्मूल्यांकन गर्नेहरूलाई दुरुत्साहित गर्न मिल्दैन । सकिन्न पनि । मलाई खालि के लाग्छ भने आघातात्मक दृष्टिकोणबाट जति चाँडो मुक्त हुन सकियो, त्यति छिटो हामी स्वस्थ हुन्थ्यौँ र राग–द्वेषरहित भई अतीततर्फ फर्केर हेर्न सक्थ्यौँ ।

अतीतबाट बाँधिएको झैँ लाग्ने, अतीतबाट आक्रान्त भई भयभीत हुने यो एउटा आधुनिक रोग हो । यसलाई निको गर्ने केही उपाय छन् । जस्तो, वर्तमानको जरो अतीतको कुनै कालखण्डलाई मान्नु आघातात्मक दृष्टिकोण हो भनेर माथि भनिसकेँ । आघात कम गर्ने एउटा सजिलो उपाय के हो भने त्यो कालखण्डलाई पनि त्यसभन्दा पहिलेका घटना र परिस्थितिको परिणामको रूपमा हेर्ने ।

जस्तो, यक्षमल्लले हाम्रा निम्ति जीवन बिताएका होइनन् । भविष्यमा आफ्नो हविगत के होला भन्ने विषयमा हामी जति अस्पष्ट छौँ, त्योभन्दा बढी स्पष्ट उनी हुन सक्दैनथे । हामी पचास वर्षपछिको नेपाली समाजबारे सुनिश्चित छैनौँ । आफ्ना क्रियाकलापबाट पचास वर्षपछि कस्तोखाले परिवर्तन आउलान् भन्ने विषयमा हामी ढुक्क भएर भविष्यवाणी गर्न सक्दैनौँ । भविष्य यस्तो होला भन्ने हाम्रो अनुमान वा कामना मात्र न हो ।

हाम्रो कामना र अनुमानको आधार अतीत मात्र हो । हामीले बितेका अनुभवबाट सिक्न खोजेर वर्तमानलाई फेर्ने प्रयास गर्छौँ । हाम्रा बुवाआमाले, तीभन्दा पहिलेका र आदिम पुर्खाले समेत त्यही गरेका होलान् । धूलो र धुवाँलो तस्बिरबाट अस्पष्ट, अनिश्चित र टुक्राटाक्री पाठ अतीतबाट हामीसम्म आइपुगेको हुन्छ । त्यत्तिकै दूषित र धूमिल इतिहासको तस्बिर तिनका अगाडि पनि थिए भन्न सकिन्छ । जसरी हामीले त्यस्तै अस्पष्ट अनुभवका आधारमा जीवनमा निर्णय गर्छौँ । त्यस्तै मानदेव अथवा शिवदेवले पनि गरे होलान् भन्न सकिन्छ । तिनका आँखासामु अहिलेको नेपाली समाज हुन सक्दैनथ्यो । त्यसैले तिनलाई प्रेरित गर्ने कारक पनि हामी हुन सक्दैनथ्यौँ । तिनले आफूभन्दा पहिलेका मानिसका आचरणबारे सुने–जाने होलान् । पहिलेका समाजको मूल्य मान्यता र आदर्शबारे सोचे बुझे होलान् । पहिलेका निराशा र असफलताबारे घोत्ले, गुने होलान् ।

यो अर्थमा, कुनै कालखण्डलाई बुझ्न त्यसअघिका परिस्थिति, पात्र र प्रवृत्तिलाई केलाएर हेर्नु बढी फाइदाजनक हुन सक्छ । यो ढंगबाट बितेको समयलाई नियाल्यौँ भने अर्को फाइदा हुन सक्छ ।

ऐतिहासिक आख्यान भनेको के हो ? आख्यान र गैरआख्यान कहाँ मिसिन्छ, कहाँ छुटिन्छ ?

ऐतिहासिक आख्यानको परिभाषा दिन योग्य मानिस म होइन । मेरो इतिहास–लेखन परिपक्व भइसकेको छैन । आख्यान–रचनातिर बल्ल पाइला टेक्दै छु । त्यसैले यो के हो र के होइन भन्ने मेरो निश्चित कुरा छैन । यस्तो पारिभाषिक बहस गर्ने बेला आइसकेको पनि छैन जस्तो लाग्छ । तपाईंले प्रश्न गर्नुभयो । त्यसलाई भुइँमा त्यसै झर्न दिनुभएन ।

मैले हेर्दा अधिकांश उपन्यास इतिवृत्तात्मक हुन्छन् । तिनले बितिसकेका घटना, परिस्थिति र मानिसका वर्णन गर्छन् । तिनमा भूतकालिक क्रियापद प्रयोग गरिएका वाक्य हुन्छन् । इतिहासको सामान्य अर्थ होस्, त्यो शास्त्र जसमा ‘यस्तो भएको थियो’ भन्ने कथन आउँछ । त्यस अर्थमा अपवाद छाडेर सबै उपन्यास इतिहास नै हुन् । उपन्यास यो संसारभन्दा फरक, तर यसैमा मिसमास भई बसेको ‘उप’ अर्थात् दोस्रो संसारको इतिहास हो ।

इतिहासमा आफ्नै तर्क र निष्कर्ष पद्धति हुन्छन् । त्यसलाई एक छिन बिर्सने हो भने, इतिहास लेख्दा पहिलो खेपमा हामीले बितिसकेको संसारलाई फेरि जोडजाड पार्ने नै हो । एउटा तथ्य यता रेडियोमा भेटिन्छ । अर्को तथ्य अभिलेखालयमा फेला पर्छ । तेस्रो तथ्य किंवदन्तीमा भेटिन्छ । चौथो तथ्य कतै भेटिँदैन । तर, भेटिनुपर्ने हो भन्छौँ । नभेटिएकाले त्यसैलाई मनमा दोहो‍र्‍याइरहन्छौँ । अनि यस्तै चार तथ्यलाई जोडेर त्यसमा रङ चढाउँछौँ । स्वर थप्छौँ, बान्की कोर्छौँ । उज्यालो–अँध्यारो बनाउँछौँ । यसरी बितिसकेको र अहिले कतै खोज्दा नभेटिने संसारलाई हामी खडा गर्छौँ ।

उपन्यासजस्तै इतिहासले पनि एउटा भाषिक संसार खडा गर्छ । उपन्यासले उप–संसार बनाउँछ भने इतिहासले बितिसकेको भनिएको संसार बनाउँछ । त्यो अर्थमा दुवैले खडा गर्ने संसार हामीले चिनेको, हामी जन्मेर हुर्केको संसार हुँदैन । समानता यहाँसम्म हुन्छ ।

इतिहास र आख्यानमा फरक कुरा धेरै छन् । एक–दुई कुरा मात्र भनौँ । उपन्यासले रचेको संसारलाई हामीले देखेको भोगेको संसारजस्तै हुनुपर्छ भन्ने बाध्यता छ कि छैन ? यो प्रश्नमा सहमति छैन । छ भन्नेहरू यथार्थवादी होलान् । छैन भन्नेहरू मिथकवादीहरू होलान् ।

अधिकांश आख्यानमा यथार्थ र मिथकको घोलमेल हुन्छ । तर, आख्यान लेख्नेले खुल्लमखुला नलेखे पनि के भनेको हुन्छ भने, उपन्यास एउटा काल्पनिक रचना हो । यहाँ उल्लिखित कुनै पात्र, कथा अथवा घटना कसैको परिचय, कथा वा घटनासित मिल्न गएमा त्यो एउटा संयोग ठहरिनेछ । र, लेखक त्यसको निम्ति जिम्मेवार हुनेछैन । कोही कोही लेखकले यसमै के जोडेका हुन्छन् भने, यदि यहाँ लेखिएका पात्र, कथा वा घटना पूरै काल्पनिक रहेछन् अथवा यिनले हाम्रा अनुभवलाई कहीँ कतै व्यक्त गर्दैनन् भन्ने पाठकलाई लागेमा त्यो लेखकको दुर्भाग्य ठहरिनेछ । जे होस्, आख्यानले रचेको उप–संसारलाई प्रमाणले अविश्वसनीय बनाउन सक्दैन । त्यो छुट हामी उपन्यासकारलाई दिन्छौँ । किनभने, हामीले तिनलाई कुनै गहिरो मानवीय सत्य उद्घाटन गर्ने जिम्मा दिएका हुन्छौँ । भौतिक संसारसित तालमेल मिले बेस, नमिले पनि बेस ।

इतिहासले रच्ने संसारमा भने हामीले ठूलै सर्त राखेका हुन्छौँ, त्यसले भौतिक संसारमा रहेका अथवा पाइन सक्ने सबै अवशेषसित तादात्म्य राखोस् । ‘तादात्म्य’ भन्नाले बाहिरी प्राथमिक संसारमा जति अवशेष भेटिन्छन्, इतिहासले तिनको संगतिपूर्ण व्याख्या गरोस् । यो निकै कठिन सर्त हो । यो कुरा इतिहास नलेख्ने मानिसलाई थाहा नहुन सक्छ । तपाईंले वर्षौँ लगाएर लेखेको इतिहासलाई एउटा सानो प्रमाणले ध्वस्त पारिदिन सक्छ । तपाईंले जीवनभर अनुसन्धान गरेर खडा गर्नुभएको संसार एकै छिन‌मा ढल्न सक्छ । झूटो बन्न सक्छ ।

त्यसैले असल ‘इतिहासज्ञ’ आफ्नै प्रमाणप्रति अत्यन्त संशयवादी र आलोचनात्मक हुन्छन् । तिनीहरू कुनै प्रमाणको पासोमा पर्न चाहँदैनन् । प्रमाणको परीक्षा गरेका गर्‍‍यै हुन्छन् । इतिहासको खोजमा लागेकाहरू कल्पनाशील त हुन्छन् । तर, ती कल्पनामा सितिमिति रमाउन सक्दैनन् । किनभने तिनले उभ्याएको संसार एउटा नाम, एउटा अभिलेख, एउटा अंक, अथवा एउटा सूत्रको तादात्म्यमा अडेको हुन्छ । पाठकले पढ्दा त्यो जतिसुकै रंगीन, सजीव र सम्भव किन नदेखिऊन् ।

के कुरा स्पष्ट छ भने, आख्यान र इतिहासबीच केही समानता छन् । केही कुरा फरक छन् । यिनको मेल पनि दुई किसिमले हुन सक्छ । एउटा, यस्तो आख्यान जसले इतिहासजस्तो हुन खोजोस् । त्यसलाई हामी ऐतिहासिक आख्यान भन्न सक्छौँ । अर्को, यस्तो इतिहास जसले आख्यानजस्तो हुन खोजोस् । त्यसलाई हामी आख्यानात्मक इतिहास भन्न सक्छौँ । फेरि, यी दुई पनि शुद्ध प्रकार होइनन् । यिनको कुनै आदर्श नमुना अगाडि सार्न सकिँदैन ।

माथिकै प्रश्न यहाँको उपन्यास ‘रणहार’ का निम्ति पनि उपयुक्त होला, यहाँको पुस्तकमा इतिहास कहाँ र कसरी ‘आख्यान’ बन्यो? अनि, कहाँइतिहासै रहयो?

सबै उपन्यास र इतिहासबीच उभिएको रचनाजस्तै ‘रणहार’मा पनि ऐतिहासिक तथ्य छन्, औपन्यासिक तत्त्व पनि छन् । तर यसलाई उपन्यास भनेपछि यसको मूल धर्म उपन्यासले गर्नुपर्ने काम नै हो । अरू असल उपन्यासले जस्तै यसले पनि पाठकलाई मानवीय दृष्टि दिन्छ कि दिँदैन भनेर हेरिनुपर्छ । जुन–जुन पात्रलाई जस्तो ऐतिहासिक सन्दर्भमा प्रस्तुत गरे पनि यसले ती पात्रमार्फत ती सन्दर्भमार्फत सबै देशमा लागू हुने, सबै समयमा लागू हुने, सबै समाजमा लागू हुने कुनै मूल्य दिन सक्यो कि सकेन भनेर नै हेरिनुपर्छ । अरू सफल उपन्यासले झैँ यसले पनि पढिसकेपछि पाठकको मनमा असर ग‍र्‍यो कि गरेन, भावनालाई उद्वेलित ग‍र्‍यो कि गरेन, विवेकलाई बिउँझायो कि बिउँझाएन भनेर नै हेरिनुपर्छ ।

‘रणहार’ पढेर पाठकले रणजित मल्लकालिक नेपालखाल्डोको इतिहास बुझेँ भन्छन् भने त्यो उपन्यासले दिन खोजेको घमण्ड होइन । रणजित मल्ल किन हारे, के कसो गरेका भए उनी जित्थे भन्नेजस्ता प्रश्नको तिनले जवाफ पाएँ भन्छन् भने त्यो उपन्यासले दिन खोजेको भ्रम होइन । एउटा उपन्यासले त्यस्तो भ्रमात्मक ऐतिहासिक शिक्षा दिन सक्दैन । उपन्यासले बुद्धिलाई परिष्कृत गर्ने होइन, मनलाई ताजा पार्ने हो, आलो बनाउने हो ।

तर, ऐतिहासिक भन्ने विश्लेषण थप्नेबित्तिकै ‘रणहार’ जस्ता ऐतिहासिक उपन्यासको सहायक धर्म इतिहासनिष्ठ हुने भइगयो । त्यसको अर्थ, अरू अरू सफल इतिहासले झैँ यसले पनि उपलब्ध तथ्यप्रमाणसँग अविरोधी चित्र प्रस्तुत गर्नुपर्छ । ‘अविरोधी’ भन्ने शब्दमाथि ध्यान दिनुस् । यसको अर्थ के हो भने, तथ्यप्रमाणले काट्न सक्ने कुनै कुरा त्यस्तो उपन्यासमा राख्नु हुँदैन ।

उपन्यास लेख्न बस्दा औपन्यासिक संसारभित्र संगति भए पुग्छ । उपन्यासभित्र पाइएका तथ्य एकआपसमा मिले पुग्छ, समन्वित भए पुग्छ । त्यसले भौतिक संसारका नियम र सम्भावनालाई मान्न पनि सक्छ, पूरै बेवास्ता पनि गर्न सक्छ । उपन्यासकारले रचेको उप–संसार पाठकको निम्ति असम्भव लाग्ला । तर, पाठकले ठीकै छ, हेरौँ न, उपन्यासकारले यो असम्भव संसार खडा गरेर के भन्न खोजेका हुन् भनेर पढ्छ ।

ऐतिहासिक आख्यानले यो सुविधा पाउँदैन । त्यसले ऐतिहासिक तथ्यविरोधी कुरा राख्न पाउँदैन । यो त्यति सजिलो काम होइन । इतिहास लेख्न बस्दा रागद्वेषलाई बहिष्कार गर्नुपर्छ भन्ने कश्मीरी इतिहासज्ञ कल्हणको कुरा मान्नु परेन । ऐतिहासिक भन्ने विशेषण लगाएसम्म ‘रणहार’ले तात्कालिक भक्तपुरलाई उपन्यासमा उतारेको हुनुप‍र्‍यो । के कुरा तात्कालिक हुन्, के कुरा आधुनिक हुन् भन्ने कुरा छुटयाउन सजिलो छैन । भनौँ, एउटा फोटोमा तपाईं २ वर्षे शिशु हुनुहुन्छ । अर्को फोटोमा ४० वर्षको मानिस । यो दुवै फोटोमा तपाईं एकै जना व्यक्ति हुनुहुन्छ भन्ने कुरा मलाई कसरी पत्यार गराउन चाहनुहुन्छ । तपाईंले के–के तर्क दिनुहुन्छ ?

तपाईंले समानता देखाउनुहोला । मचाहिँ फरक कुरातिर औँला तेस्र्याउँला । तपाईं आफूसँगै उभेका मानिसहरूलाई चिनाउन खोज्नुहोला । मचाहिँ ती मानिसहरू नचिनेझैँ गरुँला । तपाईं फोटोपछाडिको स्थान मितिसँग आफ्नो जन्ममिति र थलो भिडाउन खोज्नुहोला । म अरू मानिस पनि त्यो मितिमा त्यही ठाउँमा हुन सक्ला, भनुँला । त्यो मिति र स्थानमा तपाईं मात्र त हुनुहुन्थेन भनुँला ।

एउटा बाँचेको सहरभित्र बितिसकेको सहर खोज्ने काम यति नै द्विविधाग्रस्त हुन्छ ।

यहाँको लेखन वा यहाँले प्रयोग गर्ने शब्दहरू गाह्रो हुन्छन्, सामान्य पाठकलाई धेरै मिहिनेत गर्न पर्छ भन्ने आरोप छ नि ?

यो सामान्य पाठक को हो, चिन्न त्यति सजिलो छैन । नेपाली केन्द्रीय विभाग, भाषाविज्ञान केन्द्रीय विभाग, प्रज्ञा–प्रतिष्ठान, नेपाल पत्रकार संघ, झर्रोवादी, संस्कृत विश्वविद्यालय, पाठयक्रम विकास केन्द्र, मदन पुरस्कार पुस्तकालय, विद्वान् भाषा सम्पादक–मण्डली, शब्दकोशकार–गुट, प्रकाशिनी समिति, पुरस्कार निर्णायक समिति अथवा यस्तै कुनै संस्थाले कतै ‘सामान्य पाठक’ लाई परिभाषित गरेका छन् ? मलाई जानकारी छैन । त्यस्तो परिभाषा वस्तुगत हो–होइन, त्यो पनि मलाई थाहा छैन ।

सामान्य पाठक भनेको यदि सरदर, औसत नेपाली भाषा लेखपढ गर्ने पाठक हो भने, त्यो पाठकको पहिचान अझै भइसकेको छैन जस्तो लाग्छ । म गलत छु भने सुधार गरिपाऊँ । होइन, सामान्य पाठक भनेको कुनै पाठकले पढ्दै गर्दा कल्पना गरेको आफूभन्दा फरक क्षमता भएको पाठक हो भने, त्यो काल्पनिक मानिस कतै छैन । भेट्न पाए त हुन्थ्यो !

विद्यालयदेखि मैले सरल, सरस, सजिलो, सहज लेखनको महत्त्व पढ्दै आएको हुँ । तर, यो उपदेशपछाडि खास किसिमको अर्थराजनीति छ भन्ने आज मलाई लाग्छ । नेपाली भाषाको स्तरीय रूप निक्र्योल गर्दा देखिने खालको अर्थराजनीति । जस्तो, भनूँ, नेपाली भाषा भनेर खस कुराको एउटा प्रकारलाई चिनाउने काम हिजोआज भइरहेको छ । त्यो विशेषखाले नेपाली भाषाको बनोटमा डोटयाली, जुम्लेलीजस्ता २०–२१ भौगोलिक भाषिका ओझेलमा परेका छन् कि छैनन् ? छापाको नेपाली, सामाजिक सञ्जालको नेपाली, प्राज्ञिक नेपाली, साहित्यिक नेपाली, दरबारीया नेपाली, सहरीया नेपाली, गाउँले नेपाली, मधेसी नेपाली र अरूअरू नेपाली भाषाका सामाजिक र प्रयोग–भाषिकालाई हामीले चिनेको छौँ कि छैनौँ ? मेरो विचारमा यस्ता भाषिक किचलोमा त हामी पसेकै छैनौँ । नेपाली भाषालाई सरकारले, राजनीतिक सत्ताले अंगीकार गरेको हुनाले त्यसको मानकीकरण र स्तरीय रूपमा खास झगडा परेकै छैन । यस्तो हुन सक्छ । तर, सबै भाषिका बोल्नेहरू मानक नेपालीबाट सन्तुष्ट छन् भन्न सकिन्न । गणतन्त्र आउनेबित्तिकै भाषिक झगडा छताछुल्ल बाहिर पोखिएको त्यसै होइन । यस्तै अर्थराजनीतिले नेपालीबाहेक अरू अरू भाषामा अहिले ठूलो कचिङ्गल ल्याइरहेको छ ।

आमसञ्चारकै माध्यममा लेखिने नेपाली ‘आम’ मानिसका लागि हुन् भनिन्छ । ‘आम’ भन्नाले सामान्य, साधारण । किनभने, आमसञ्चारको मुख्य काम ‘तथ्य’ को छिटो सम्प्रेषण हो भनिन्छ । सम्प्रेषणमा होइन, छिटो भन्ने शब्दमा ध्यान दिनुस् । छिटो बुझाउने क्रममा पाठकले सोच्न, गुन्न भ्याउँदैन भन्ने धारणा राखिन्छ । पाठकले शब्दकोश पल्टाउन भ्याउँदैन । अर्थ सोधखोज गर्न भ्याउँदैन । तर यही आमसञ्चार माध्यमले नै बितेका तीन चार दशकमा कति धेरै गह्रौँ, अपारदर्शी र निरर्थक शब्दलाई सार्वजनिक थलोमा उफारिरहेको छ ।

समयसमयमा विभिन्न राजनीतिक शक्तिका इच्छाअनुसार ती शब्द हाम्रो बोलीचालीमा पचुन् भनेर व्याख्या गरेको गर्‍यै छ । एसियाली मापदण्ड, विकासको मूल, आधारभूत आवश्यकता, प्रजातन्त्र, जनयुद्ध, छलाङ, अयोग्य लडाकु, समावेशी, समानुपातिक निर्वाचन प्रणाली, भागबन्डा, सर्वदलीय संयन्त्र, सहमति, भ्रष्टाचार, समृद्धि, संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद— यस्ता शब्द तपाईंले कल्पना गर्नुभएको सामान्य पाठकले बुझेका छन् कि छैनन् ? आमसञ्चार माध्यमले तिनलाई दिनहुँ बुझाउन खोजिरहेका छन् । झन्डै दस वर्ष त शब्दावलीको नयाँ सेट भित्रिएकै हुन लाग्यो । यी शब्द कति सामान्य पाठकले बुझे, कतिले बुझेनन्, मलाई थाहा छैन । तर, यिनै शब्दावलीले ल्याएको अलमलमा देशको समस्त शासन–प्रणाली, कर्मचारीतन्त्र, बौद्धिक पत्रकार मसीजीवी र प्रबुद्ध भनिने पाठकसमेत रुमलिरहेको छ भनेर ठम्याउन गाह्रो छैनजस्तो लाग्छ ।

लेखकहरू पुस्तक लेखेपछि वा निस्केपछि निकै हल्लाखल्ला गर्छन् ? तपाईँलाई यो हल्लाखल्ला किन मन परेन ?

प्रकाशक(नेपालय)ले ‘रणहार’ छाप्न स्विकारेर ममाथि कृपा गरे । थोरै भए पनि उनको लगानी उठोस् भन्ने मैले भावना राखेँ । उनले मलाई दोहोर्‍याएर छापुन् भनेर यस्तो मन मैले बनाएको होइन । मसँग तीता अनुभव भए भने उनले कोही नाम नसुनेको र नचलेको लेखक, मजस्तै उनले नचिनेका, अरू कति लेखक छन्, तिनलाई समेत नछाप्ने निर्णय गर्लान् भनेर ! प्रकाशनमा जाने निर्णयसँगै अलि फराकिलो पाठकवर्गले पढुन् भन्ने पनि भयो । तर, मैले सार्वजनिक महत्त्वको सूचना जारी गर्न गएको थिइनँ, न त बिमा कम्पनीका सर्तनामा लेख्न बसेको थिएँ । हिजोआज त यीसमेत बुझ्न धेरै कठिन हुन्छन् भन्ने मेरो अनुभव छ ।

तपाईंको बुझाइमा सहज लेखाइ के हो ? सरस, सहज लेखाइ भन्छन् नि । ‘रणहार’ को लेखकीय अनुभव आधारमा केही भनिदिनुस् न ।

हो, पाठकलाई सजिलो होस्, तिनले खर्रर पढ्न सकुन् भन्नेतिर मैले केही ध्यान दिएँ । तर जोड दिइनँ । मेरो ध्यान विषयनिष्ठ रहयो । पहिलो, यो आलोचनात्मक इतिहास होइन भन्ने कुरामा सचेत रहेँ । दोस्रो, यो दार्शनिक कृति होइन भन्ने कुरा पनि स्पष्ट थियो । तेस्रो, उपन्यास लेख्दै छु भन्ने भाव थियो । सबै लेखकले गर्नेजस्तै मैले पनि काँटछाँट गर्दै रहेँ । उपन्यासका पात्रले अनुभव गर्न सक्ने कुरा के होलान् । तिनले कस्तो भाषाले आफूलाई र आफ्ना संसारलाई व्यक्त गर्लान् । तिनको अनुभव बुझाउन कुन शब्द, कस्तो वाक्यांश, कस्तो वाक्यविन्यास, कस्ता अनुच्छेद र कस्ता परिच्छेद उपयुक्त होलान् भन्नेतिर प्रयास गरेँ । यो प्रयासमा तपाईंले कल्पना गर्नुभएको सामान्य पाठक मेरो सामुन्ने कहिल्यै आएन ।

बरु मेरो मनमा अर्कै पाठक थियो र अझै छ । तिनीहरू ठयाक्कै को हुन्, म तपाईंलाई चिनाउन सक्दिनँ । तर, तिनलाई हतार हुँदैन अथवा छैन भन्ने कुरामा म पक्का छु । तिनलाई केही भ्याइहाल्नुपर्ने, बुझिहाल्नुपर्ने र निर्णय सुनाइहाल्नुपर्ने दवाब छैन । तिनीहरू मजस्तै सुस्त छन् । उपन्यासलाई दोहो‍र्‍याएर, तेहे‍र्‍याएर पढ्छन् । शब्दशब्द रोकिन्छन् । फर्किन्छन् । फेरि अगाडि बढ्छन् । विराममा थपक्क पुस्तक छाड्छन् । घुम्न निस्कन्छन् । काममा जान्छन् । फेरि तिनीहरू उपन्यासको अर्थ खोज्न थाल्छन् । त्यसको आशय बुझ्न खोज्छन् । तिनीहरू उपन्यासको भाषामा मात्र होइन, संरचनामा अर्थ खोज्छन् । तिनीहरूले के–के कुरा हालिएको छ मात्र होइन, के–के कुरा छुटाइएका छन्, किन ती छुटाइए भनेर चपाउँछन् ।

नेपाली भाषामा लेखिएका प्राज्ञिक र बौद्धिक भनिएका कृतिबारेको तपाईंको मूल्यांकन के छ ?

यसबारे पर्याप्त छलफल भएको मैले देखेको छैन । एक दुई अपवादलाई छाड्ने हो भने नेपालका भाषामा लेखिएका प्राज्ञिक र प्राविधिक पुस्तक धेरै आनन्ददायक छैनन् । अंग्रेजी र हिन्दीबाट विभिन्न पारिभाषिक शब्दावली र विचार–सूत्रलाई ऊल्था गरेरै काम चलिरहेको छ । प्राज्ञिक लेखनलाई मात्र होइन, हाम्रो न्यायिक मनलाई फारसी र अंग्रेजी भाषामा रूढ अवधारणाले बाँधेको छ । शासकीय विवेकलाई अंग्रेजी भाषाका पदावलीले बाँधेको छ । समाजशास्त्र र नृतत्त्वशास्त्रका लेखरचना पढ्दा त भौतिक विज्ञान र इन्जिनियरिङसम्बन्धी कुरा पढेजस्तो लाग्छ । भाषाबारे चिन्ता गर्ने, ‘नेपालीपन’ भएका कृति लेख्ने हाम्रा नामूद लेखकहरूको ज्यानै अनुवादले धानेको छ । तर, अनूदित भाषाका आँखाले हेर्दा धेरै कुरा देखिँदैनन् । सीमित विचार र संरचना मात्र देखिन्छन् । उल्थाले प्रश्नको मौलिक पक्ष जति ओझेलमा पर्छन् । हाम्रा सामाजिक यथार्थलाई यसरी आयातित संरचनाले गाँजेको छ ।

मलाई लाग्छ, केही लेखनलाई भाषिक सन्दर्भबाट हेरिनुपर्छ । लेखनवृत्तमा यस्ता केही कृतिलाई ठाउँ चाहिन्छ जसले भाषिक सीमालाई फराकिलो बनाउन खोज्छ । भाषाले के व्यक्त गर्न सकिन्न, त्यतातिर ध्यान दिएर लेख्ने भाषाशास्त्रीबाहेक अरू एक–दुई लेखकलाई पनि बाँच्न दिनुपर्छ । तिनलाई खाली अर्थ राजनीतिक तराजुमा तौलिनु हुँदैन र तिनलाई ‘बुझ्न गाह्रो’ भनेर पन्छाउनु विवेकयुक्त हुँदैन ।

स्रोतः https://www.kantipurdaily.com/koseli/2018/09/29/153819317791417180.html


About the Author

योगेश राज

Martin Chautari/Nepal Engineering College, Pokhara University

More Blogs