पञ्चायतमा ज्ञान उत्पादन : एक सिंहावलोकन

- गौरव केसी, प्रणव खरेल | 2021-09-24

गौरव केसी र प्रणव खरेल

०४७ पछिका घटनाक्रमले नेपालको निकटस्थ विगतको इतिहासलाई प्रभावित गरेका छन् । यस कालक्रममा संस्थागत, संरचनागत वा व्यक्तिगत तवरमा भएका विकासक्रमले हालको नेपाली मानसपटललाई गाँजेको छ । तर, उल्लिखित विकासक्रममा पञ्चायतकालीन समयको ठूलो पदचाप रहेको यथार्थ बिस्तारै विस्मृतितर्फ लागेको देखिन्छ । खासगरी नेपालबाट उत्पादित ज्ञान र त्यसलाई पस्किने सामग्रीका सन्दर्भमा यो विषय महत्वपूर्ण हुन आउँछ । साथै बितेको यो ३० वर्षलाई बुझ्न पञ्चायतकालीन समयको ३० वर्ष अत्यन्तै महत्वपूर्ण हुन आउँछ । यस आलेखमा पञ्चायतकालीन समयको एउटा महत्वपूर्ण पाटो संस्थागत ज्ञान उत्पादनको चर्चा गरिनेछ ।

यसै सन्दर्भमा आलेखमा तीनवटा मुख्य आधारलाई केलाउने प्रयास गरिनेछ । पहिलो, त्रिभुवन विश्वविद्यालयभित्र भएको ज्ञान उत्पादनको प्रक्रिया र प्रकृति । दोस्रो, त्रिविबाहिर गरिएका केही संस्थागत अभ्यास । तेस्रो, यी दुवै प्रक्रियामा सम्मिलित केही स्वदेशी–विदेशी व्यक्ति र यी तीनवटै पक्षले तत्कालीन समयको बौद्धिक जीवनमा पारेको प्रभावमाथि चर्चा र समीक्षा गरिनेछ । के पञ्चायती व्यवस्थालाई केबल एउटा राजनीतिक परिदृश्यमा मात्रै हेरेर त्यसबारे टिप्पणी वा आलोचना गर्न सकिन्छ ? हामीलाई लाग्छ, त्यस्तो प्रयास केबल एकांगी र अधुरो हुनेछ । पञ्चायतकालीन समयमा खडा भएका संस्थाको उद्देश्य र तिनले गरेका क्रियाकलापबीचको तादाम्यको मूल्यांकन नितान्त जरुरी छ । यस पृष्ठभूमिमा आलेखमा उल्लिखित केही पाटामार्फत पञ्चायतकालीन सांस्कृतिक र बौद्धिक पक्ष उजागर गर्ने प्रयास गरिएको छ ।

त्रिविभित्रको ज्ञान उत्पादनसन् १९५९ मा स्थापित देशको एक मात्र विश्वविद्यालय पञ्चायती व्यवस्थाको एउटा मुख्य आधार स्तम्भ बन्न पुग्यो । राजा महेन्द्रले सन् १९६० मा सत्ताको बागडोर हातमा लिएपछि उनको ध्यान ‘राष्ट्र विकास’ र ‘राष्ट्र निर्माण’मा केन्द्रित रह्यो । बुबाको पद्चिह्न पछ्याउँदै छोरा वीरेन्द्रले पनि यसलाई निरन्तरता दिए । यसै परिप्रेक्ष्यमा, त्रिविभित्र केही ‘माटो सुहाउँदो’ ज्ञान उत्पादन गर्ने हेतुले केही संस्था निर्माण गरिए । यीमध्ये नेपाल तथा एसियाली अध्ययन संस्था (इनास) निर्माण गरियो । यसको उद्देश्य नेपाली कला, संस्कृति, इतिहास र समाजका विभिन्न आयामको अध्ययन गर्ने र त्यसमार्फत राष्ट्र निर्माणमा सघाउ पुर्‍याउने रहन्छ । यस क्रममा इनासले आफ्नो पहिलो प्रमुख डिन प्रयागराज शर्माका रूपमा प्राप्त गर्‍यो । पुरातत्व विषयमा भारतको पुनास्थित डेक्कन कलेजबाट विद्यावारिधि गरेका शर्मा अब्बल प्राज्ञिक व्यक्तित्व थिए । तत्कालीन सत्तापक्षको चाहना इनास, जुन पछि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का रूपमा परिणत भयो, त्यसमार्फत व्यवस्था सुहाउँदो सामग्री तयार गर्ने हेतु राखियो ।

आफ्नो प्राज्ञिक कर्मप्रति निष्ठावान् शर्माले दरबारको अभिप्राय पूर्ण रूपमा पूरा गर्न नसकेकाले दरबारको शक्तिकेन्द्र उनीसँग रुष्ट रह्यो । शर्माले आफ्नो कार्यकालमा केही सम्झनलायक प्राज्ञिक अध्ययनको सुरुवात गरे । उदाहरणका लागि उनले एउटा दस्ताबेज केन्द्र स्थापना गरे । त्यसका साथै उनले प्राज्ञिक गोष्ठीलाई नियमित बनाए र केही महत्वपूर्ण शोधमूलक सामग्री विश्वविद्यालयभित्रबाट प्रकाशन गरे । शर्माको चाहना इनासलाई नेपालमाथि हुने शोधको मुख्य थलो बनाउने थियो । उनी त्यसैअनुरूप अगाडि बढिरहेका थिए, तर आफूअनुकूल काम नगरेको ठम्याइसहित दरबारका एक शक्तिशाली कर्मचारीले शर्माको करार अवधि नवीकरण गरिदिएनन् । शर्माको बहिर्गमनसँगै इनास जो अब सिनासका नामले चिनिन्छ, त्यसका कार्यकारी निर्देशकका रूपमा डोरबहादुर विष्ट नियुक्त भए । मात्रै स्नातक उत्तीर्ण गरेका विष्टलाई कार्यकारी निर्देशकजस्तो महत्वपूर्ण पदमा नियुक्त गर्दा त्रिविका धेरै मूर्धन्य प्राध्यापक चिढिए । विष्टले युवापुस्ताका शोधकर्मीलाई मौका दिने ध्येयले विभिन्न विषयमा काम गरिरहेका अनुसन्धानकर्मीलाई सिनासमा लगाए । जस्तै, पूर्णप्रकाश नेपाल ‘यात्री’, जसले सिनासमा रहँदा राउटे समुदायमाथि अनुसन्धान गरी आफ्नो कृति प्रकाशित गरे । त्यस समयमा काम गर्ने अनुसन्धानकर्मी अहिले आ–आफ्ना क्षेत्रमा स्थापित हुनुहुन्छ । प्राध्यापक ध्रुवकुमार त्यसका ज्वलन्त उदाहरण हुन्, जो वैदेशिक मामिला र सामरिक महत्वका विषयमा कलम चलाउने अब्बल नेपाली अध्येताका रूपमा चिनिन्छन् । त्यसैगरी मानवशास्त्री पदमलाल देवकोटाले भारतबाट मानवशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केपछि सिनासमा आबद्ध भई सानो अनुसन्धानमा संलग्न भएका थिए ।

पञ्चायतकालीन सिनासका अर्का महत्वपूर्ण प्रमुख हुन्, कुमार खड्गविक्रम शाह । तत्कालीन राजपरिवारको नातामा ज्वाइँ पर्ने शाहले नेतृत्व सम्हालेपछि सिनासको प्राथमिकतामा विदेश नीति, सामरिक नीति र क्षेत्रीय अध्ययन पर्न गए । यसै क्रममा उनले विभिन्न देशकेन्द्रित डेस्क निर्माण गरे । जसअन्तर्गत कृष्ण खनालले भारतकेन्द्रित भई अध्ययन गरे भने देवराज दाहालले जापानमाथि अध्ययन गरे । गोविन्द भट्ट र ध्रुवकुमारले चीनलाई आफ्नो अध्ययन केन्द्र बनाए भने श्रीधर खत्री र प्रमोद कण्ठले क्रमशः संयुक्त राज्य अमेरिका र पाकिस्तानमाथि अध्ययन गरे । कार्यकारी निर्देशक शाहले क्षेत्रीय सहयोगसम्बन्धी रणनीतिक अध्ययन शृंखलालाई निरन्तरता दिइरहे । सिनास त्रिविभित्रका ज्ञान उत्पादनमा संलग्न देशकै महत्वपूर्ण निकाय थियो । तर, त्रिविभित्र अरू संकायको कुरा गर्दा ज्ञान उत्पादन र त्यससँग जोडिएको राजनीति थप उजागर हुन्छ । उदाहरणका लागि त्रिविभित्र भाषाशास्त्रका लागि छुट्टै विभाग व्यवस्था गर्न विश्वविद्यालयका उच्च पदाधिकारी अनिच्छुक रहे । व्यवस्थाले बोकेको दर्शनलाई आत्मसात् गरेका पदाधिकारीले भाषा विज्ञानलाई छुट्टै मान्यता दिँदा विखण्डनकारी तत्वले प्रश्रय पाउने खालका आसय व्यक्त गरे । हालै दिवंगत भएका भाषाशास्त्री तथा संस्कृतिविद् कमलप्रकाश मल्लले ‘पोलिटिक्स, एजुकेसन एन्ड द लेवर पेन्स अफ लिङ्ग्विस्टिक्स् इन नेपाल’ नामक भाषण दिए । जुन उनले सन् २००४ मा नेपाली भाषाशास्त्री समाजमा दिएका थिए, त्यसमा उनले सन् १९६५ मा तात्कालिक त्रिवि उपकुलपति सरदार रुद्रराज पाण्डेले कसरी भारतमा मानवशास्त्र, समाजशास्त्र र भाषाशास्त्रले त्यहाँका मानिसबीच विद्वेष उत्पन्न गरेकाले नेपाली पाठ्यपुस्तकमा सांस्कृतिक एकताको कुरा गर्ने र विदेशीले फैलाएको भ्रम चिर्नुपर्ने विषयलाई तथ्यपरक रूपमा अगाडि सारे ।

यसैगरी राजनीति शास्त्र, जसले पञ्चायतकालीन त्रिविमा राम्रै स्थान ओगटेको थियो, त्यसले किन र कसरी नेपाली समाज र शक्तिको चित्रण त्रिविअन्तर्गत पोलिटिकल साइन्स इन्स्ट्रक्सन कमिटीबाट निस्कने जर्नल ‘नेपलिज जर्नल अफ पोलिटिकल साइन्स’मा प्राथमिकतासाथ गर्न सकेन । जर्नलका सुरुवाती अंकलाई सरसर्ती हेर्ने हो भने अधिकांश लेख क्षेत्रीय तथा विश्वराजनीति वरिपरि घुमेको देखिन्छ । तर, आन्तरिक शक्ति प्रक्षेपण र राजनीतिक विकासबारे कमै चर्चा भएको देखिन्छ । रोचक के छ भने सो जर्नलको पहिलो अंक सन् १९७९ मा प्रकाशित भएको थियो । अर्थात् सन् १९६० का दशकमा पञ्चायतमा रहेको कठोरता सन् १९७० को दशकको अन्त्यसम्म आइपुग्दा धेरै खुकुलो भइसकेको थियो, तैपनि नेपाली आन्तरिक राजनीतिले कम स्थान पाउनु आफैँमा आश्चर्यलाग्दो छ ।

त्रिविबाहिर ज्ञान उत्पादनपञ्चायतमा त्रिवि मात्रै ज्ञान उत्पादनको थलो थिएन । राजदरबार र केही नेपालीको प्रयास, जुन कहिलेकाहीँ सरकारी संयन्त्रबाट पनि प्रोत्साहित हुन्थ्यो, बाट पनि ज्ञान उत्पादनका क्षेत्रमा काम भइरहेका थिए । त्यसैगरी त्यसबखतको अर्को महत्वपूर्ण ज्ञान उत्पादनको माध्यम भनेको विदेशी (मुख्यतः पश्चिमा अनुसन्धानकर्मी) थिए । दरबारको प्रसंग र ज्ञान उत्पादनको कुरा गर्दा राजा महेन्द्रको पालामा सबै खालका धार बोक्ने र धारणा राख्ने व्यक्तिलाई व्यवस्थाले संवादमा राखेको देखिन्छ । उदाहरणका लागि २०२१ सालदेखि तत्कालीन राजदरबारको प्रेस सचिवालयले नेपाली र अंग्रेजी दुवै भाषा गरी कहिले वर्षको तीनचोटि त कहिले घटाएर वर्षको एकचोटि ‘रमझम’ म्यागजिन प्रकाशित गथ्र्यो । विशेषगरी अंग्रेजीमा निस्कने अंकमा दरबार र व्यवस्थाप्रति कटु आलोचना गरेर लेखिएका रचना प्रकाशित हुन्थे । यस्ता रचनाका लेखलाई हेर्दा एउटा कुरा के स्पष्ट हुन्छ भने तत्कालीन शक्तिकेन्द्रले ती लेखमार्फत आफू उदार र प्रजातान्त्रिक रहेको सन्देश विश्व समुदायमा विशेषगरी पश्चिमा शक्तिराष्ट्रलाई प्रवाह गरिरहेको हुन्थ्यो । पशुपतिशमशेर जबरा, कमलप्रकाश मल्ल, ऋषिकेश शाहजस्ता दरबारसँग निकट रहेका तर पश्चिमा शास्त्रीय ज्ञानमा पनि प्रशिक्षित व्यक्तित्वको आलोचनात्मक लेख दरबार आफैँले प्रकाशित गरिदिन्थ्यो ।

रमझम पत्रिकाको सन्दर्भ सामग्री विश्लेषण गरेका अध्येता हर्षमान महर्जनले पनि यस्तै विश्लेषण आफ्नो लेखमा गरेका थिए । महर्जनको ०७१ मा प्रकाशित ‘नयाँ व्यवस्थामा बुद्धिजीवीको व्यवस्थापन : पञ्चायत, लेखक र रमझमको सम्बन्ध’ शीर्षकको लेख मार्टिन चौतारीबाट वार्षिक रूपमा हुने प्रकाशित जर्नल ‘मिडिया अध्ययन’ (हाल समाज अध्ययन) भाग–९ मा प्रकाशित छ । महर्जनले रमझममा प्रकाशित हुने लेखका धारलाई तीन भागमा विभाजित गरेका छन् । पहिलो धार– दरबारको देवत्वकरण गर्ने । दोस्रो– तटस्थ भएर लेख्ने र विरोध नगर्ने । तेस्रो– व्यवस्थाको विभिन्न पक्षको सकेसम्म आलोचना गर्ने । महर्जनका अनुसार यी धारभित्र त्यसवेलाका कांग्रेस र कम्युनिस्ट नेतृत्वको राजनीतिक विचारले भने कहिल्यै ठाउँ पाएन । माथिका प्रसंगले के देखाउँछ भने चाहे विरोध गर्ने हुन् वा समर्थन, आफूले रुचाएका बुद्धिजीवीलाई मात्रै ठाउँ दिनुपर्छ भन्ने मान्यता दरबारको रहेको र ज्ञान उत्पादनको सन्दर्भमा पनि स्पष्टै झल्कन्छ । विदेश पढेर आएका र अंग्रेजीमा लेख्न सक्ने व्यक्तिलाई दरबारले खोजी–खोजी आफ्नो परिधिभित्र ल्याउँथ्यो । त्यसवेला यिनै व्यक्तिले कलम चलाएर पञ्चायतको बौद्धिक जीवनलाई जीवन्तता दिन आ–आफ्नै प्रकारले योगदान गरेका थिए ।

राजदरबार मात्रै यस्तो प्रकारको ज्ञान उत्पादनमा संलग्न थिएन । केही व्यक्तिले आफ्नै प्रयासमा पनि अंग्रेजी जर्नल चलाएका थिए । टंकलाल श्रेष्ठ र उनका मित्र बलप्रसाद श्रेष्ठले मासिक रूपमा ‘वसुधा’ नामक जर्नल अंग्रेजीमा प्रकाशन र सम्पादन गर्थे । यस जर्नलले पनि रमझमले झैँ विभिन्न किसिमका लेख, जसभित्र आलोचनात्मक लेख पनि पर्थे । यसमा स्वदेशी र विदेशीले समेत आफ्ना लेख प्रकाशित गर्थे । यसै जर्नलमा प्रकाशित एउटा आलोचनात्मक लेख, जो अहिले पनि चर्चित र सान्दर्भिक छ, त्यो हो कमलप्रकाश मल्लको ‘इन्टलेक्च्युएल इन नेपलिज सोसाइटी’ । उनले तत्कालीन प्राज्ञिक कार्यमा आएको ह्रास र प्राज्ञको सत्तासँग नजिक हुन चाहने लालसालाई व्यंग्यात्मक बिम्बमार्फत उजागर गरेका थिए । त्यसैगरी पञ्चायतको ज्ञान उत्पादनको संस्थागत प्रयासमा नेपाल प्रज्ञा प्रतिष्ठानको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ । नेपालको लोक संस्कृति तथा समाजमा रहेका विभिन्न समुदायबारे परिचयात्मक र विवरणात्मक लेख प्रकाशन गर्नुका साथै नेपाली भाषामा यी कार्य गराई लोकभाका तथा कथालाई पनि प्रकाशन गरी तत्कालीन व्यवस्थाले अघि सार्न चाहेको ‘एक भाषा नीति’लाई टेवा पुर्‍याउन बल प्रदान गरेको थियो । त्रिविबाहिर ज्ञान उत्पादनको चर्चा गरिरहँदा तत्कालीन श्री ५ को सरकारका मन्त्रालय र विभागअन्तर्गत पर्ने निकायले पनि ज्ञान उत्पादनमा भूमिका खेलिरहेका थिए । उदाहरणका लागि तत्कालीन सूचना विभागले २०३१ सालमा ‘मेचीदेखि महाकाली’ नामक परिचयात्मक ठेली चार भागमा प्रकाशित गर्‍यो । यस ठेलीले तत्कालीन नेपालको विविध समाजशास्त्रीय आयामलाई समेट्यो । त्यसलाई तत्कालीन समयमा राजा वीरेन्द्रको राज्याभिषेकको सन्दर्भ पारी प्रकाशित गरिएको थियो ।

त्यसैगरी केही समयपहिले सोही विभागले सन् १९६७ मा डोरबहादुर विष्टद्वारा लिखित ‘पिपल अफ नेपाल’ नामक पुस्तक प्रकाशित गरेको थियो । यस पुस्तकले नेपालको तीनवटा भूगोलमा छरिएर रहेका जात र जनजातिबारे विवरणात्मक व्याख्या गरेको थियो । अंग्रेजीमा प्रकाशित यो पुस्तकको उपसंहारमा भने विष्टले पहाडे बाहुनप्रति तीखो आलोचना गरेका छन् । संवैधानिक रूपमा हिन्दूराष्ट्र भनेर घोषणा गराइएको तत्कालीन राज्य व्यवस्थामा कसरी बाहुनप्रति आलोचनात्मक टिप्पणीसहितको पुस्तक राज्यकै निकायबाट प्रकाशित भयो, आफैँमा घतलाग्दो छ । सूचना विभागले छापेको यस पुस्तकका पछिल्ला संस्करणलाई निरन्तरता दिइएन, जसलाई पछि रत्न प्रकाशनले प्रकाशित गर्‍यो । त्यसवेला फाट्टफुट्ट रूपमा विष्टको यस पुस्तकमा पाइएको यस्तो टीकाटिप्पणीलाई चुप लगाउन साझा प्रकाशनबाट सन् १९७२ मा विष्टले यसको नेपाली अनुवाद ‘सबै जातका फुलबारी’ प्रकाशत गरी पञ्चायतलाई मलजल गर्न सहयोग पुर्‍याउँदै आफ्ना आलोचकलाई पाखा लगाएका थिए । किनभने बिम्बात्मक रूपमा विष्टले बगैँचाका फूल भनेका नेपालका विविध जात, जनजाति र त्यसको संरक्षण गर्ने माली अर्थात् राजालाई इंगित गर्न खोजेका थिए । विष्ट सधैँ दरबारको रुचिमा परे र पछिल्ला समयमा यिनले देशभित्र धेरै महत्वपूर्ण जिम्मेवारी पनि पाए ।

पश्चिमाको नेपालसम्बन्धी ज्ञान उत्पादनसन् १९६० को दशकताका शीतयुद्धले आफ्नो लय पक्रिसकेको थियो । समाजवादी कित्ताको नेतृत्व गरिरहेको सोभियत रुस र पुँजीवादी प्रजातान्त्रिक खेमाको नेतृत्व गरिरहेको संयुक्तराज्य अमेरिकाबीच आ–आफ्नै वैचारिक र सैद्धान्तिक वर्चस्वका लागि संघर्ष जारी थियो । तत्कालीन दक्षिण एसिया अंग्रेज उपनिवेशबाट स्वतन्त्र भएको एक दशक बितेको थियो । आफ्नो औपनिवेशिक विगतबाट झस्किएको भारत पश्चिमा विदेशीलाई अध्ययन अनुसन्धानका लागि प्रोत्साहन गर्ने पक्षमा देखिँदैनथ्यो । मानवशास्त्रीको हकमा त यो स्थिति झनै कठोर थियो । यस सन्दर्भमा राजा महेन्द्रले नेपालमा भने पश्चिमा अनुसन्धानकर्मीलाई खासै रोकटोक गरेको देखिन्न । महेन्द्रकै पालामा पिसकर्प भन्ने अमेरिकी सरकारले सहयोग गरेको संस्थाले नेपालमा प्रवेश गरिआएका अमेरिकन स्वयंसेवीका रूपमा खटिई नेपाल सरकारको विकास योजनालाई सहयोग पुग्ने खालका कार्यमा आफ्नो आबद्धता जनाइरहेको थियो ।

यो संस्थामार्फत पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी ‘पब्लिक डिप्लोमेसीअन्तर्गत विकासोन्मुख तत्कालीन तेस्रो मुलुकमा अमेरिकी छवि सुधार गर्ने मनसायसहित दस्ता तयार गरेका थिए । साथै राजाको शासनलाई यिनीहरूले आत्मसात् गरेका थिए । यिनै अमेरिकी युवामध्ये केहीले आफ्नो उच्च शिक्षाअन्तर्गतको शोधको थलो नेपाललाई बनाएका थिए । केही नेपाली बुद्धिजीवीको यिनीहरूसँगको अन्तरघुलनमा ज्ञान उत्पादन भएको थियो । भारतीय संस्थापन पक्षसँग एक किसिमको दूरी राख्न चाहने महेन्द्रले आफूलाई भर्खरै प्रतिपादन गरेको व्यवस्थालाई मलजल गर्न पश्चिमा शक्तिराष्ट्रको सहयोग लिने नीति रणनीतिक रूपमा अवलम्बन गरेका थिए । यस परिप्रेक्ष्यमा सन् ६० को दशकमा बेलायती र अमेरिकीलगायत थुप्रै समाजविज्ञानका अनुसन्धानकर्मी नेपाल प्रवेश गरे । उनीहरूको अध्ययन केन्द्र नेपालको पहाडी क्षेत्र, विशेषगरी मध्यपहाडी क्षेत्रमा बसोवास गर्ने जनजाति तथा उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने जनजाति समुदायमाथि थियो । रोचक के छ भने अनुसन्धानकर्मीले छनोट गरेको अध्ययन स्थल र समुदाय तथा पश्चिमा शक्ति केन्द्रहरूले यस भेगमा आफ्नो शक्ति प्रक्षेपण गर्न खोजेको स्थलबीच एक किसिमको एकरूपता देखिन्छ । फ्रेड्रिक गेज यो समूहमा अपवाद पर्छन्, जसले आफ्नो अध्ययन नेपालको तराई मधेसमा केन्द्रित गरे । उनको विद्यावारिधिको शोध जनकपुर वरिपरि घुमेको देखिन्छ ।

पश्चिमा अध्येता, जसमा मानवशास्त्रीको संख्या उल्लेखनीय थियो, उनीहरूले अध्ययन गरेका समुदायबारे उत्पादन गरेको ज्ञान एक किसिमको रोमाञ्चित विवरणमा आधारित हुन्थ्यो । तर, सैद्धान्तिक हिसाबले हेर्ने हो भने उनीहरू आफूले बुझेको पश्चिमा आधुनिकताको अभावले गर्दा यी समुदाय पछौटेपनको सिकार भएको तथा यसमा नेपालको केन्द्रीकृत राज्यसत्ताको भूमिका रहेको निष्कर्षसहित आफ्ना शोध र लेखमा यी विषय उठाउँथे । यसबाट हामीले दुई प्रकारको निष्कर्ष निकाल्न सक्छौँ । पहिलो– पञ्चायती व्यवस्थाको एउटा मुख्य स्तम्भ विकास र आधुनिकता थियो । अंग्रेजीमा प्रकाशित यी शोध र लेखले नेपालमा अविकास रहेको प्रस्ट्याइँ गरिरहँदा राज्यको पश्चिमा शक्तिसँग उनीहरूको स्रोत र साधन लिएर नजिक हुने अभीष्टलाई थप बल पुग्थ्यो । दोस्रो– सामान्य साक्षरता नै कमजोर भएको तत्कालीन नेपालमा शोध गरिएका समुदायले ती शोध पढ्न जान्दैनन् र पाउँदैनन् भन्नेमा राज्य सञ्चालक ढुक्क भएको हुनुपर्छ । त्यसकारण नेपालमा पश्चिमा विदेशीले आफ्नो शोध अनवरत रूपमा जारी राख्ने मौका पाए, जब कि क्षेत्रीय माहोल त्यसको प्रतिकूल थियो ।

पञ्चायतमा पश्चिमा विदेशी अध्येताको कुरा गरिरहँदा अमेरिकी राजनीतिशास्त्री लियो रोज छुटाउनै नहुने नाम हो । उनको चर्चित पुस्तक ‘नेपाल ः अ स्ट्र्याटेजी फर सर्बाइभल’ नेपालको विदेश, सामरिक तथा कूटनीतिक विषयमा लेखिएको एक अब्बल रचना हो । सरसर्ती हेर्दा नेपालको यस भेगमा सामरिक, ऐतिहासिकताको विवेचना गरिने यस पुस्तकमार्फत यस क्षेत्रका लागि तत्कालीन अमेरिकी रणनीति प्रस्ट हुन्छ । रोज एक उत्कृष्ट अनुसन्धानकर्ता हुन् भन्नेमा दुईमत छैन किनभने उनले नेपालको उत्तर र दक्षिणसँग रहेको सम्बन्धको गहिरो र पूर्ण अध्ययन गरेका छन् । तर, नेपाल अमेरिकीको सामरिक प्रभाव क्षेत्रमा रहनुपर्छ भन्ने सूक्ष्म अभिप्राय दिने यस पुस्तकलाई किन र कसरी नेपालका शासकवर्गले दह्रो प्रतिवाद गरेनन् भन्ने कुरा आफैँमा घतलाग्दो छ । रोचक के छ भने रोजले यो पुस्तक नेपालका दुई ऐतिहासिक खेलाडी राजा महेन्द्र र विश्वेश्वरप्रसाद कोइरालाप्रति समर्पित गरेका छन् ।

र अन्त्यमानेपालको पञ्चायतकालीन समय महत्वपूर्ण कडी हो, किनकि वर्तमान नेपालको अर्थराजनीति, सांस्कृतिक मूल्यमान्यता र राष्ट्रियतामाथिको बहस यसै समयका उपज हुन् । आधुनिकता र विकासको नारा लिएर अघि बढेको यो व्यवस्थाले कसरी आफूलाई नेपाली मानसपटलमा राखेको छ भन्ने विषय आजको मितिमा यकिन जवाफ दिन गाह्रो छ । यस आलेखमार्फत हामीले त्यस प्रक्रियाको एउटा महत्वपूर्ण अंग ज्ञान उत्पादनका पक्षमाथि थोरै भए पनि प्रकाश पारेर त्यस समयका केही पक्षलाई बुझ्ने प्रयास त गर्‍यौँ तैपनि केही प्रश्न भने अझै अनुत्तरित छन् । पञ्चायती व्यवस्थाले किन पश्चिमा शास्त्रमा आधारित समाजविज्ञानलाई प्रोत्साहन दियो ? जुन प्रकारको ज्ञान र सामग्री त्यस परिप्रेक्ष्यमा सिर्जित भए के ती स्वस्फुर्त ढंगले भएका थिए ? वा तात्कालिक विश्व परिवेशअनुसार आफूलाई ढाल्न भएका थिए ? के राज्यले अनुसरण गरिरहेको राजनीतिक र सांस्कृतिक नीति उसले आफ्नो विश्वविद्यालयमा अवलम्बन गर्न दिइरहेको शास्त्रीय चिन्तनसँग मेल खान्थ्यो ? अन्त्यमा फेरि किन नेपालीमा ज्ञान उत्पादन गर्ने सर्जकभन्दा अंग्रेजीमा कर्म गर्नेलाई लेख्ने, बोल्ने स्वतन्त्रता थियो ?

(लेखकद्वय काठमाडौं स्कुल अफ लका उपप्राध्यापक हुन्)

स्रोतः https://www.nayapatrikadaily.com/news-details/424/2018-12-18


About the Author

More Blogs