असमावेशी नेपाली साहित्य

- मञ्जुश्री थापा | 2021-09-24

मञ्जुश्री थापा

काठमाडौँ — नेपाली साहित्य पढ्ने क्रममा नै मैले साहित्यमा को बढी सक्रिय छ भन्ने बुझेँ । खस आर्य, पुरुष र अलिअलि नेवार । क्षेत्रीय लेखक र क्षेत्रीय कथा नहुने । नेपाली साहित्य असमावेशी रहेछ भन्ने लाग्यो ।

पछिल्लो पटक अनुवाद गरेको इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासबाट म कुरा सुरु गर्न चाहन्छु । नेपाली आउँछ भने त्यसमै पढ्दा राम्रो, अङ्ग्रेजी अनुवाद पढ्नु पर्दैन । यो किताब पढ्न धेरै जना तर्सिन्छन् । जटिल भाषा छ, बुझ्न गाह्रो छ भनेर यसको ख्याति बिगारिएको छ । तर, यो भनिएजति जटिल छैन । मैले त बुझेँ भने अरूले किन नबुझ्नु ?

सन् १९५८ मा लेखिएको यो पुस्तक भारतको ‘पोस्ट–इन्डिपेन्डेन्ट’ उपन्यासमा गनिनुपर्ने रचना हो । दार्जिलिङको दुई मुख्य राजनीतिक आन्दोलन सुरु हुने बेलाको कथा यसमा छ । यसको अनुवाद गरिरहँदा मलाई नेपाली भाषासँग जोडिएको राजनीतिक पाटोमा बढी रुचि लागेको थियो । संसारभर २ करोड ४० लाख व्यक्तिले नेपाली भाषा बोल्छन् । नेपाल, भुटान, भारतमा नेपाली बोलिन्छ । भारतको २२ राष्ट्रभाषामध्ये नेपाली पनि एक हो । त्यहाँ इन्द्रबहादुर राई, गणेशलाल सुब्बालगायतको पहलमा १९६० पछि पश्चिम बंगाल सरकारले नेपालीलाई सरकारी भाषाको स्थान दियो । यसपछि नै त्यहाँ नेपाली भाषाको शक्ति बढ्दै गयो ।

राई १९७८–७९ मा ‘अखिल नेपाली भारतीय समिति’ मा हुनुहुन्थ्यो । त्यो समितिले १९९२ मा नेपाली भाषालाई भारतको संविधानमा पहिचान दिलायो । यी सबै काम हुनुअघि ‘सूधपा’ लगायतको जमातले नेपाली भाषाको साहित्य, शब्दकोश, प्रिन्टिङ प्रेसमा काम गरेर वातावरण तयार गरेको थियो । तर, भारतमा नेपाली भाषाको रोचक कुरा के छ भने जसले नेपाली भाषालाई आफ्नो भाषा मानिरहेका छन्, उनीहरूको मातृभाषा खासमा नेपाली होइन । कुमार प्रधानले ‘अ हिस्ट्री अफ नेपाली लिट्रचेर’ मा लेख्नुभएको छ—‘मोस्ट अफ द नेपाली राइटर्स अफ इन्डिया बिलङ टु द मंगोलोइड ग्रुप्स हु अरिजिनल्ली स्पोक टिबेटो–बर्मिज डायलेक्ट बट अडप्टेड नेपाली एज देयर फस्र्ट इन द कोर्स अफ टाइम ।’

अहिले नेपालीले भारतमा गएर ‘नेपाली भाषा तिमीहरूको पनि एउटा राष्ट्रभाषा हो है’ भन्न सक्ने स्थिति छ । तर, यो सबै भए पनि भारतमा नेपाली भाषाको सत्ता छैन । इन्द्रबहादुर राई भारतीय साहित्यमा त्यतिबिघ्न प्रख्यात भए पनि उहाँको कृति कसैले पढ्न पाएको थिएन । अनुवादमा आएकै थिएन । प्रेमचन्द, महाश्वेता देवीका काम अङ्ग्रेजीमा पढेका भारतीय पाठकले इन्द्रबहादुरको चाहिँ नाम पनि सुनेका थिएनन् । मैले अनुवादमार्फत नेपाली भाषाको शक्ति अलिकति भए पनि भारतमा बढाइदिन पाएँ भन्ने कुरामा मलाई खुसी लागेको थियो । एउटा भारतीय लेखकलाई अरू भारतीय पाठकसम्म पुर्‍याइदिन पाएँजस्तो लागेको थियो ।***

भारतमा नेपाली भाषाको शक्तिहीनता देख्दा मलाई मार्मिक अनुभव भएको थियो । नेपालमा त्यस्तो स्थिति छैन । नेपालमा नेपाली भाषा राज्यसत्ता र ‘हेजेमोनी’ को भाषा हो । सन् १९५९ मा यो हाम्रो एक मात्र राष्ट्रभाषा घोषित भएपछि पछिल्ला तीन दशक (म पनि महेन्द्रमाला पढेर हुर्केकी हुँ) शिक्षा र कामकाजको भाषा नेपालीबाटै चल्यो । त्यो बेला सिर्जित भएको साहित्यिक मार्गचित्र (राजकीय प्रज्ञा प्रतिष्ठान) बाट जे बन्दै गयो, जम्दै गयो, अहिलेसम्म पनि त्यसलाई नै नेपाली साहित्य ठानिन्छ । त्यसले ठूलो छाप छाडेको छ ।

नेपालको साहित्यिक जगत्प्रतिको ज्ञान ममा अलि ढिलो पलायो । मेरो मातृभाषा नेपाली भए पनि मेरो पहिलो भाषा अङ्ग्रेजी हो । म सेन्ट मेरिजमा पढ्दा नयाँ शिक्षा नीतिमै पढेँ । त्यो बेला पाठ्यक्रम फेरिएको थियो । नेपाली भाषामा पहिलेदेखि नै मेरो दख्खल थिएन । र, जब अमेरिका गएँ जे–जति जानेकी थिएँ, त्यो पनि बिर्सिएँ । कलेज सिद्धिएपछि नेपाल आएर लेखक नै हुन्छु भन्ने सोचेपछि मैले नेपाली भाषा र साहित्य पढ्न थालेँ । मञ्जुल दाइले व्याकरण घोकेरै सिकाउनुभयो । मैले त्यही बेला नेपाली साहित्यको खोजी गर्न थालेकी थिएँ ।

त्यो बेला एक/दुइटा मात्रै स्रोत थिए जहाँबाट मैले अलिकति सिक्न सकेँ । माइकल हटका किताब र आर्टिकलहरू पढेँ । हटका किताबमा नेपाली लिट्ररी क्यानन र नेपाली साहित्य के हो भन्ने कुरा सिकाइएको छ । लेखनाथ, व्यथित, पारिजात, वानीरा गिरी समावेश छन् उहाँका किताबमा । मैनाली, भिक्षु, लामिछाने, शाह, गौतम, पहाडी समावेश छन् ती किताबमा । उहाँहरूका काम इमानदारीसाथ पढ्न थालेँ र समकालीनको काम पनि खोज्दै पढेँ । मैले खोजेका जति सबै नेपाली भाषामै थिए । कहिलेकाहीँ नेपाल भाषाबाट अनुवाद भएका एकाध कविता र कृति पनि पढेँ ।

अहिले सिर्जना भएको अङ्ग्रेजी साहित्य जगत् त्यो बेला थिएन । नेपाली भाषाको साहित्य जगत् ठूलो थियो र, जमेर बसेको थियो । नेपाल भाषाको साहित्य जगत् पनि छ, त्यहाँका साहित्यकारले लेख्दै छन्, प्रकाशन पनि भइरहेको छ भनेर थाहै थिएन । त्यतिबिघ्न दूरी थियो । म काठमाडौंमै जन्मेको भए पनि मेरो आफ्नै थलाको जातीय भाषाको साहित्य के हो र त्यसको खोजी किन गर्नुपर्छ भनेर थाहै थिएन । नेपालीलाई राष्ट्रभाषा घोषित गरेपछि नेपालभाषा र अन्य भाषाहरू कति दबिएका रहेछन् भन्ने कुरा मैले बिस्तारै बुझ्न थालेँ । मल्ल के सुन्दरले मंका खल र भाषा आन्दोलनको कुरा गर्नुभएपछि मलाई यसबारे थप जानकारी मिल्यो ।***

सन् १९९३ पछि सरकारले ‘नेसनल ल्याङ्ग्वेज पोलिसिएड्भाइजरी कमिटी’ खडा गरेको रहेछ । त्यसले प्राथमिक शिक्षा मातृभाषामै दिनुपर्छ भन्ने सुझाव दिएको रहेछ । मैले यसमा प्रश्न गर्नै सकिनँ, जानिनँ । हाम्रो ज्ञान सामूहिक रूपमा बढ्दै जाने भएकाले त्यो बेलाको साहित्य मलाई पनि त्यही रूपमा बुझ्न कर लाग्यो । त्यो बुझाइबाट मुक्ति पाउन लगभग १५ वर्ष लाग्यो ।

अन्तत: मैले नेपाली साहित्य र नेपालको साहित्य फरक हो भन्ने बुझेँ । अङ्ग्रेजी र नेपालीमै पनि हामी ‘नेपाली’ शब्दलाई खुकुलो तरिकाले प्रयोग गर्छाैं । यसलाई विशेषणका रूपमा प्रयोग गर्ने गरेका छौं । त्यसमा नेपालको साहित्य र नेपाली साहित्यलाई छुट्याउनुपर्छ अब । नेपालको साहित्य ठूलो जगत् हो । नेपाली साहित्यभन्दा नेपालको साहित्य ठूलो छ । नेपाली साहित्यको जगत् साँघुरो भएको अनुभव हुन्छ मलाई । नेपाली साहित्यको शैली हेर्दा त्यो अनुभव हुन्छ । नेपाली भाषामा बोल्ने भाषा अनौपचारिक हुन्छ र लेख्ने भाषाचाहिँ साह्रै औपचारिक । र, यसलाई एउटै शब्दकोशमा ढाल्ने प्रयास जारी छ ।

अहिलेको साहित्य सरलीकरणतिर हिँडिरहेको छ, बोल्ने भाषातिर सरिरहेको छ । तर, यो भाषा कसको हो वा यसरी नै बोल्नुपर्छ भन्ने मान्यता कसको हो ? भन्ने प्रश्न आउँछ । नेपाली साहित्य पढ्ने क्रममा नै मैले साहित्यमा को बढी सक्रिय छ भन्ने बुझेँ । खस आर्य, पुरुष र अलिअलि नेवार । क्षेत्रीय लेखक र क्षेत्रीय कथा नहुने । नेपाली साहित्य असमावेशी रहेछ भन्ने लाग्यो । नेपालका लागि नेपाली साहित्यले ठाउँ नै बनाएको रहेनछ भन्ने महसुस भयो । मैले बुझेको नेपाली साहित्य त खस–आर्यको मात्रै साहित्य रहेछ ।(‘नेपाली साहित्यबारे मैले सिकेको अधिकांश कुरा गलत रहेछ’ शीर्षकमा लेखक मञ्जुश्री थापाले बिहीबार मार्टिन चौतारीमा दिएको प्रवचनको सारसंक्षेप ।)

स्रोतः https://www.kantipurdaily.com/koseli/2018/12/28/154597711120344292.html


About the Author

More Blogs