दृष्टान्तमा डोरबहादुर विष्ट र उनका आलेख

- गौरव केसी, प्रणव खरेल | 2021-09-24

गौरव केसी र प्रणव खरेल

डोरबहादुर विष्टलाई नेपालको बौद्धिक सार्वजनिक वृत्तमा अतिशयोक्तिसाथ बुझ्ने र पढ्ने प्रवृत्तिका कारण कोही उनको स्तुतिगान गर्छन् भने कोही निन्दा

तथ्यपरक, समष्टिगत र समालोचनात्मक ढंगबाट नेपालमा व्यक्तिको जीवनी लेख्ने परम्पराको विकास भइसकेको छैन । व्यक्तिको जीवन चरित्र वा उसका कामलाई अतिशयोक्तिपूर्ण रूपमा प्रस्तुत गरिने एउटा प्रवृत्ति छ भने अर्को प्रवृत्तिको प्रकृति अतिवादी विरोधी छ । दुवै प्रवृत्तिमा देखिने समानता भनेको दुवै अतिरञ्जित टेकोमा आधारित हुन्छन् । भारतका नाम कहलिएका समाजशास्त्री टिएन मदनले आफ्नो पुस्तक पाथवेज : एप्रोचेज टु द स्टडी अफ सोसाइटी इन इन्डियामा ‘कुनै पनि बुद्धिजीवीको समग्र कार्यको विस्तृत अध्ययन नगरी सो व्यक्तिको अति तारिफ वा निन्दा गर्नु आफैँमा एउटा खतरनाक प्रवृत्ति हो भनेका छन् । पहिले चर्चित र हराएपछि झन् चर्चित भएका मानवशास्त्री डोरबहादुर विष्टको प्रसंगमा पनि यही कुरा लागू हुन्छ ।

समकक्षी समाजशास्त्री, मानवशास्त्री र विधा इतिहासकारले उनको व्यक्तिगत र व्यावसायिक जीवनमाथि व्यवस्थित समालोचना गरेको खासै पाइँदैन । हालसम्म पनि डोरबहादुर विष्टलाई कि त ‘मानवशास्त्रका पिता’ भनेर चित्रित गरिन्छ, कि त उनको सन् १९९१ मा प्रकाशित विरोधाभाषी पुस्तक फ्याटलिज्म एन्ड डेभलपमेन्ट ः नेपाल्स स्ट्रगल्स फर मोर्डनाइजेसनका आधारमा उनलाई स्विकार्ने वा बहिष्कार गर्ने आधारमा प्राज्ञिक बहस वा दृष्टिकोण बनाइने गरेको छ । कुन समयमा विष्टले आफ्नो व्यावसायिक जीवन सुरु गरे, आफूलाई कसरी स्थापित गरे, कस्तो किसिमको ज्ञान उत्पादन गरे, नेपाली समाजलाई कुन तवरमा चित्रित र वर्णन गरे, उनी कसरी सफल र चर्चित हुँदै एउटा समयमा आलोचित पनि भए भन्ने प्रश्नमा बहस केन्द्रित भएको खासै पाइँदैन ।

यस लेखको पंक्तिकारले सन् २०१२ मा संयुक्त रूपमा इतिहासकार प्रत्युष वन्तसँग मिलेर पहिलोपटक विष्टका समग्र प्रकाशित र अप्रकाशित लेख–रचना (गैरआख्यान) को व्यवस्थित गन्थ्रसूची तयार पारेको थियो । त्यसअघि विष्टका एक–दुईवटा पुस्तक र एकाध फुटकर लेखको मात्रै चर्चा हुने गथ्र्यो । अभिलेखीय अनुसन्धानबाट सिलसिलाबद्ध संकलन गरिएको यस ग्रन्थसूचीले विष्टले विभिन्न समयमा के–कस्तो लेख–रचना लेखे भन्ने बुझ्न अनुसन्धानकर्मीलाई सहज बनाइदियो । यसैगरी सन् २०१७ मा ‘धौलागिरि जर्नल’मा यस पंक्तिकारको विष्टमाथि अंग्रेजीमा प्रकाशित संयुक्त आलेख र सन् २०१८ मा ‘मार्टिन चौतारी’बाट प्रकाशित हुने सिन्हास जर्नलमा चूडामणि बस्नेतको अंग्रेजीमा प्रकाशित आलेखले नै विष्टको जीवन चरित्रमा बृहत् पुनरावलोकन गर्दै व्यक्तिकेन्द्रित अध्ययनमा नयाँ बहस थालनी गरेको थियो ।

पहिलो पुस्ताका बुद्धिजीवीराणाशासनको उत्तराद्र्धको बदलिँदो राजनीतिक परिस्थितिमा प्रभाव जमाउन सफल बुद्धिजीवीमध्ये एक हुन्, डोरबहादुर विष्ट । सन् १९५० को दशकमा औपचारिक शिक्षा हासिल गरी प्राध्यापनसँगै प्रशासनिक क्षेत्रमा आफूलाई स्थापित गर्दै मानवशास्त्रीका रूपमा चिनिएको पहिलो पुस्ताका बुद्धिजीवी हुन् उनी । अब एकछिन नेपालमा पाश्चात्य शैलीको औपचारिक शिक्षाको कुरा गरौँ । आफ्नो आलेखद इन्टेलेक्चुअल इन नेपलिज सोसाइटीमा कमलप्रकाश मल्ल के सूचित गराउँछन् भने पाश्चात्य शिक्षा पद्धति जंगबहादुर राणाले भित्र्याए । बेलायत भ्रमणपछि युरोपियन शैक्षिक संस्कृतिको प्रभावमा क्यानिङ नामका अंग्रेज शिक्षकलाई जंगबहादुरले थापाथली दरबारमा नियुक्त गरे । क्यानिङले जंगबहादुरका आफन्तलाई अंग्रेजी, गणित र इतिहास विषय पढाउँथे ।

जुन, विधिवत् रूपमा कक्षा ८ सम्म पढाइ हुन्थ्यो त्यहाँ । यही सीमित वर्गको संस्थागत स्वरूप थियो दरबार हाइस्कुल । सन् १९०२ देखि दरबार हाइस्कुलले गैरराणालाई पनि भर्ना लिन थाल्यो । पछि चन्द्रशमशेरले सन् १९१८ मा त्रिचन्द्र कलेज स्थापना गरे । औपचारिक शिक्षाप्रतिको मोह र महत्व त्यस समयको काठमाडौंका सीमित वर्गको मानसिकतामा गहिरोसँग गढिसकेको थियो । तिनै शैक्षिक संस्थाबाट जो नेपालीले शिक्षा हासिल गरे, तीमध्ये कति उच्चशिक्षा हासिल गर्न देशबाहिर गए, पछि तिनैले नेपालको प्रशासनिक र प्राध्यापन क्षेत्रमा संलग्नता जनाए । तसर्थ देशको राजनीति, शिक्षा, संस्कृति र समृद्धिमा यिनै लेखपढ गरेकाको ठूलो प्रभुत्व र प्रभाव प-यो । अर्कोतिर नेपाली समाजमा एक विशिष्ट प्रकारको नवकुलीन वर्ग विभाजनको भ्रुणको वीजारोपण भयो । विष्ट यसैको एउटा उपज थिए । उनले औपचारिक शिक्षा दरबार हाइस्कुल (एसएलसी भने पाटन हाइस्कुलबाट दिए) बाट हासिल गरे । सन् १९५० मा त्रिचन्द्र कलेजबाट गणित, भूगोल र नागरिक शिक्षामा प्रमाणपत्र उत्तीर्ण गरेपछि सोही कलेजबाटै भूगोल र गणित विषयमा उनले स्नातक गरे । लगत्तै उनी पाटनको आदर्श कन्या निकेतन विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा जागिरे भए ।

ह्यामिन्डोर्फको संगत हुँदै बेलायत यात्राबेलायतको लन्डन विश्वविद्यालयअन्तर्गत ‘स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिज (सोवास)’ अन्तर्गत मानवशास्त्रका प्राध्यापक क्रिस्टोफ फोन फ्युरर ह्यामिन्डोर्फ, जसले लामो समय भारतका आदिवासी समुदायको अध्ययनमा बिताएका थिए, उनले सन् १९५० पछि भारतमा काम गर्ने माहोल पाएनन् । भारतको स्वतन्त्रतापछि राष्ट्रवादी भारतीयले विदेशीलाई, त्यसमाथि पनि खासगरी मानवशास्त्रीलाई सन्देहका दृष्टिले हेर्ने गर्थे । भारतमा काम गर्न प्रतिकूल भएपछि सन् १९५३ मा ह्यामिन्डोर्फ नेपाल आए । तीन महिना नेपालका विभिन्न समुदायको अध्ययन गर्दै शेर्पाहरूको विशेष अध्ययन गर्न उनी सोलुखुम्बु पुगे । तीन महिना उनलाई सघाउने नेपाली दोभाषे उपेन्द्रमान मल्ल थिए । काम गर्न अनुकूल माहोल देखेपछि ह्यामिन्डोर्फ पुनः सन् १९५७ मा लामो अध्ययन गर्न नेपाल आए । त्यसबखत उपेन्द्रमान मल्ल अध्ययनका लागि बेलायतमा हुनाले डोरबहादुर विष्ट ह्यामिन्डोर्फका दोभाषे बन्न पुगे । तसर्थ सन् १९५७ देखि १९५८ को अवधि नेपालका शेर्पालगायत अन्य समुदायको अध्ययनमा विष्टले दोभाषेका रूपमा ह्यामिन्डोर्फलाई सघाउँदै नेपालका कुनाकाप्चाको यात्रा गरे ।

सन् १९५८ मा ह्यामिन्डोर्फ बेलायत फर्केपछि विष्ट अमेरिकन प्रोजेक्टको नर्मन स्कुलअन्तर्गत डडेल्धुराका शिक्षकलाई प्रशिक्षण दिन पुगे । संयोगले सन् १९६० को समय उनका लागि निकै नै फलदायी सावित भयो । सोवासमा कार्यरत एक भाषाशास्त्री टी डब्ल्यु क्ल्यार्कले नेपाली भाषासम्बन्धी एउटा पुस्तक तयार गरिरहेका थिए, जसमा क्ल्यार्कलाई पुष्करशमशेर राणाले सघाइरहेका थिए । पुष्करशमशेरको अचानक मृत्युपछि क्ल्यार्क त्यस्तो नेपालीको खोजीमा थिए, जसले अंग्रेजी, नेपाली र संस्कृत जानेको होस् । क्ल्र्याकलाई ह्यामिन्डोर्फले विष्टको नाम सिफारिस गरे । सोहीअनुरूप सन् १९६० मा क्ल्यार्कलाई सघाउन विष्ट बेलायत पुगे ।

बेलायतमा क्ल्यार्क र विष्टको सम्बन्ध निकै सुमधुर भयो, यता ह्यामिन्डोर्फसँग भने तिक्तता बढ्दै गयो । मानवशास्त्री जेम्स एफ फिसरले सन् १९९१ मा विष्टसँग लिएको अन्तर्वार्ता (जुन सन् १९९६ मा करेन्ट एन्थ्रोपोलोजीमा छापियो) मा ‘ह्यामिन्डोर्फ एक उपनिवेशवादी सोच राख्ने शोधक थिए’ भनी विष्टले अभिव्यक्ति दिएका थिए र ह्यामिन्डोर्फसँग अन्य द्वन्द्वको प्रसंग पनि उल्लेख गरेका थिए । बेलायतमा पनि ह्यामिन्डोर्फसँग कचमच परेपछि विष्ट सन् १९६२ मा नेपाल फर्किए । फर्केपछि अमेरिकन दातृ निकाय युएसएआइडीमा जागिरे बने । यसका साथै दरबारसँग पनि उनको निकटता रह्यो । बेलायतबाट युएसएआइडीसम्म आइपुग्दा विष्टको संसर्ग धेरै विदेशीसँग भयो ।

विष्टको आबद्धता र उत्पादित ज्ञानको समीक्षायही सेरोफेरोमा विष्टको प्राज्ञिक कर्म र उनले उत्पादन गरेको ज्ञानको विकासक्रमको समीक्षा गरिनु जरुरी छ । मानवशास्त्री म्याक्स ग्लुकम्यानले भनेझैँ ‘ज्ञान उत्पादन एक सामाजिक प्रक्रिया हो । यो प्रक्रियामा व्यक्तिले मध्यस्थताको भूमिका निर्वाह गर्छ ।’ केवल मध्यस्थता मात्र नभएर ज्ञानबाट आउने सीपमार्फत शक्तिकेन्द्रसँग कस्तो स्वरूपको ज्ञान निकाल्ने भनेर सम्झौता पनि हुन्छ । विष्टले उत्पादन गरेको ज्ञानको उतारचढाव बदलिँदो समयअनुसार पाइन्छ । चाहे त्यो एउटा विशेष पाठकका लागि होस् वा शक्तिशाली निकाय, चाहे दरबार होस्, दातृ निकाय वा विश्वविद्यालयभित्र उत्पादन हुने ज्ञान होस् । यी सबैलाई मध्यनजर गरेर चातुर्यपूर्वक उनले कलम चलाएको पाइन्छ ।

फेरि कमलप्रकाश मल्लले एन इन्टेलेक्चुअल इन द कोरिडोर्स अफ पावर नामक आफ्नो आलेखमा गरेको तर्कलाई प्रकाश पार्नुपर्दा ‘आधा दशकयता पढेलेखेका सम्भ्रान्त नेपालीले सरकारी जागिर वा प्राध्यापनलाई खेती वा खिच्रिमिच्री व्यापारभन्दा पेसाका रूपमा प्राथमिकता दिन्थे ।’ अर्थात् तात्कालीन समयमा लेखपढ गरेका नेपालीहरूको रोजाइमा माथि उल्लेखित यिनै दुई पेसा पर्दथे । तर, मल्लले उल्लेख गरेका पेसागत कित्तामा मात्रै सीमित रहँदैनन् विष्ट । विष्ट सधैं दरबार र विदेशीको सामिप्यमा रहेका देखिन्छन् ।

स्नातक तह मात्र उत्तीर्ण गरेर पनि विष्टले देशभित्र र बाहिर महत्वपूर्ण ओहोदाका जिम्मेवारी पाए । जस्तै, युएसएआइडीमा अनुसन्धान विशेषज्ञ, ल्हासाको महावाणिज्य दूत, योजनाको विशिष्ट अधिकारी, दुर्गम विकास समितिका सचिव, दरबारको केन्द्रीय जाँचबुझ आयोगको अधिकारी, त्रिभुवन विश्वविद्यालय अनुसन्धान निकाय सिनासका कार्यकारी निर्देशक, समाजशास्त्र, मानवशास्त्र विभागका विभागीय प्रमुख आदि । यसले पनि के देखाउँछ भने प्रत्येक समयलाई प्रतिनिधित्व गर्ने उनी समाजका एक प्रभावशाली र शक्तिशाली पात्र थिए । यिनै शक्तिशाली निकायमा आबद्ध भइरहँदा सोहीअनुरूप नै ज्ञान पस्किरहेका थिए । घतलाग्दो कुरा के छ भने विष्टले यसदौरान लेखिरहँदा अंग्रेजीमा र नेपालीमा कलम चलाइरहेका अन्य बुद्धिजीवी पनि थिए, जसले विष्टभन्दा महत्वपूर्ण (संख्यात्मक र गुणात्मक दुवै हिसाबले) काम गरिरहेका थिए । तर, तिनले विष्टले पाएजत्तिको उचाइ र चर्चा पाएनन् ।

अब विष्टले ६० देखि ९० को दशकमा लेखेको केही आलेखको विवेचना गरौँ । सन् १९६७ मा विष्टले नेपालको समग्र जात–जाति र जनजातिबारे अंग्रेजीमा पिपल अफ नेपालपुस्तक सार्वजनिक गरे । यो पुस्तक त्यसबखतको श्री ५ को सरकारको सूचना विभागले प्रकाशित गरेको थियो । विष्टले पुस्तकमा नेपालका विभिन्न भूगोलमा छरिएर रहेका जाति र जनजाति समुदायको भाषा, संस्कृति, रहनसहन, लवाइ–खबाइ आदिलाई वर्णनात्मक ढंगबाट प्रस्तुत गरी सबैलाई ‘एक नेपाली’को पहिचान दिलाउने मनशाय देखाएका छन् । पुस्तक प्रकाशनसँगै आफूलाई मानवशास्त्रीका रूपमा स्थापित गर्छन् । विष्टभन्दा अघि पनि नेपाली र विदेशीले विभिन्न समुदायमाथि अध्ययन अनुसन्धान गरिसकेका थिए, जस्तै : बिडी सन्वालको सन् १९४७ मा इस्टर्न एन्थ्रोपोलोजिस्टमा प्रकाशित पूर्वी तराईका बासिन्दामाथिको आलेख, मिलर्ट एला क्याथेरिनको सन् १९५५ मा शेर्पामाथि प्रकाशित आलेख, सन् १९५० मा सुनितीकुमार चटर्जीको किरातमाथिको अध्ययन, गोपालसिंह नेपालीको सन् १९६५ मा प्रकाशित नेवारमाथिको पुस्तक आदि । तर, नेपालका अधिकांश जातजाति संग्रह गरेको हातेपुस्तिकाका रूपमा विष्टको पुस्तक तीमध्ये बढी नै लोकप्रिय भयो । विष्टले गरेको अध्ययन विधि फेरि पनि एकप्रकारको औपनिवेशिक अध्ययन विधिभित्र पर्छ । उनले ह्यामिन्डोर्फबाट यही सिकेका थिए । साथै, त्यस माहोलमा अनुसन्धान गरी निस्कने पुस्तकको औपनिवेशिक प्रवृत्तिभित्र पर्छ, यो पुस्तक । जस्तै ः सन् १९१५ मा प्रकाशित हर्बर्ट रिस्लेको पुस्तक पिपल अफ इन्डिया, सन् १९२८ मा प्रकाशित चाल्र्स वेलको पुस्तक पिपल अफ टिब्बेट ।

विष्टको सन् १९९१ मा प्रकाशित बहुचर्चित फ्याटलिज्म एन्ड डेभलपमेन्ट पुस्तकमा उनले उठाएका प्रमुख सवाल र तर्क नौला थिएनन् । सन् ६० को दशकदेखि नै उनको लेखनमा ब्राह्मण (पण्डित्याइँ गर्ने) प्रति कटु आलोचना देखिन्छ । पिपल अफ नेपालको उपसंहारमा पहाडे बाहुनप्रति तिखो आलोचना छ । यसैगरी सन् १९६८ मा एउटा निबन्धात्मक लेख देश विकासमा धार्मिक विश्वासका कारण पूर्वी तराईमा भाग्यवाद र धार्मिक अनुष्ठानमा ज्यादा रुचि रहँदा क्षेत्रकै अविकास भइरहेको र यस्ता अनुष्ठानलाई त्यस समाजका बाहुनले प्रश्रय दिइरहेको भन्ने चित्रण गरेका थिए । अन्य शक्ति समुदायभन्दा पनि बाहुन खास गरी पहाडे समुदायबाट आउनेलाई उनले किन तिखो आलोचना गरे भन्ने प्रश्न महत्वपूर्ण देखिन्छ ।

यसका केही उत्तर विष्टको जीवनको व्यक्तिगत र व्यावसायिक पक्षसँग पनि जोडिन पुग्छ । जस्तै, घरमा जजमानी गर्न आउने पण्डितको खुट्टा ढोग्न बुबाले आदेश दिँदा उनी खिन्न हुन्थे । मन नलागे पनि ब्राह्मणको फोहोर खुट्टा ढोग्नुपर्दा पुरेत्याइँ गर्ने ब्राह्मणप्रति उनको रोष बढेको हुन सक्छ । कसरी नेपाललाई भाग्यवादले चिर्दै गएको र आधुनिकताको युगमा प्रवेश गर्न नपाएको भनेर कर्मकाण्डी ब्राह्मणलाई आलोचना गर्दा राजा, आफूलाई प्रगतिशील भनाउन रुचाउने बाहुन, गैरमाक्र्सवादी र विदेशीलाई पनि रिझाउन विष्ट सफल भएका देखिन्छन् ।

परिवर्तन र आधुनिकीकरणको कल्पनाशीलताले गाँजिसकेकालाई विष्टको तर्कले धेरै हदसम्म आकर्षित गरेको पाइन्छ । एकातर्फ विष्टले खण्डीकृत भावनालाई अगाडि सारिरहेका थिए भने एउटा ठूलो समुदायलाई मुग्ध पार्ने ‘अनेकतामा एकता’को तर्कलाई पनि अगाडि सारिरहेका थिए । अनेकतामा एकताको सूत्रधार उनले शाहवंशीय राजसंस्थालाई मानिरहे भने अर्कोतिर राजसंस्थालाई आधुनिकीकरणको बाहक र प्रतीक बनाउन छाडेनन् । अचम्मको कुरा त के छ भने विष्ट तत्कालीन पञ्चायती व्यवस्थाभित्र मौलाइरहेको भ्रष्टाचार, चाकडीतन्त्र र आफ्नो मान्छेलाई काखी च्याप्ने प्रवृत्तिप्रति पनि कडा आलोचना गर्थे । तर, यी आलोचना पञ्चायती प्रशासकप्रति रह्यो । राजसंस्थाप्रति भने उनको अगाध श्रद्धा रहिरह्यो, जसलाई उनले सन् १९९० को परिवर्तनपछि पनि यथावत् राखे ।

उनको दरबारप्रतिको बफादारीको नतिजा बाहुनप्रति रोष थियो भनेर पनि हामी भन्न सक्छौँ । अर्को के पनि हो भने तत्कालीन प्रतिबन्धित कांग्रेसको नेतृत्व बाहुनले गरेका थिए भने पञ्चायतका सूत्रधार राजा महेन्द्र जो एक ठकुरी, क्षेत्री थिए । साथै राजा महेन्द्रलाई नेपाली कांग्रेसका बाहुन नेतृत्वप्रति आफ्नै किसिमको कुण्ठा थियो । अर्कोतर्फ पञ्चायतका केही प्रमुख प्रशासनिक ओहदामा बाहुनहरू नै थिए । अचम्मको कुरा प्रशासक ब्राह्मणप्रति उनी कम आक्रामक र गैरप्रशासक (पुरेत्याइँ गर्ने) पृष्ठभूमिका ब्राह्मणप्रति भने बढी आक्रामक देखिन्छन् । यस्तो प्रकारको विरोधाभास राजसंस्थाप्रति मात्र नभई विदेशी दातृ निकायको सम्बन्धमा पनि देखिन्छ । एकातर्फ उनी कसरी विदेशी सहयोगले नेपालको सार्वभौमिकतामा चुनौती खडा गरेको र परनिर्भरता बढाउँदै गएको छ भनेर चर्चा गर्छन् भने अर्कोतर्फ उनी विदेशी दातृ निकायको प्रियपात्रको रूपमा रहिरहे । पाश्चात्य शोधकर्मीका पनि रोजाइमा पर्थे । नेपालमा साक्षरता ज्यादै न्यून भएको त्यो वेला विष्टका अधिकांश कृति अंग्रेजीमै थिए ।

एकपटक फेरि उनको अनेकतामा एकताको विषयमा फर्कौं । आफूलाई दह्रो राष्ट्रवादीका रूपमा उभ्याएका विष्टले सन् १९८० मा नेपाल तथा एसियाली अनुसन्धान केन्द्रलाई बुझाएको एथ्निसिटी : प्रोबलम्स् एन्ड प्रोस्पेक्ट्सनामक अप्रकाशित रिपोर्टमा मधेसी समुदायबाट आउने यादव र राजपुतलाई सेनामा प्रवेश नगराउन जिकिर गरेका छन्– समुदायको विश्वसनीयतालाई लिएर । उनले दुवै समुदाय भारतनिकट रहेको रिपोर्टमा इंगित गरेका छन् । विरोधाभासमा आफूलाई प्रस्तुत गरिरहेका विष्ट सर्वाधिक चर्चा पाएको पुस्तक फ्याटलिज्म एन्ड डेभलपमेन्टमार्फत नेपाली समाज र त्यसमाथि काम गर्ने बौद्धिक जमातलाई दुई कित्तामा बाँडिदिन्छन् । पुस्तक सन् १९९१ मा प्रकाशित हुन्छ, जुन जनआन्दोलनपछिको समय हो ।

त्यो समय सांस्कृतिक अधिकारको पुनस्र्थापनाका लागि विभिन्न जात र जनजातिका समुदाय आफ्नो आवाज जोडतोडसँग अगाडि बढाउन अग्रसर हुन थालिसकेका थिए । विष्टले यस पुस्तकमा बाहुनवाद, भाग्यवाद, चाकडी र आफ्नो मान्छे जस्ता केही महत्व मानिएको संरचनात्मक अवधारणालाई आकर्षक शैलीमा अगाडि सारेर जनजाति र नेपालमा रुचि राख्ने विदेशी दुवैलाई आकर्षित गर्न खोजेको देखिन्छ । यसमा उनी सफल पनि भए । यसले जनजाति आन्दोलनलाई ऊर्जा दियो भने नेपालको स्थायी सत्ताका प्रतिनिधिलाई रुष्ट बनाइदियो ।

अर्कोतर्फ नेपालमाथि अनुसन्धान गर्न आउने विदेशी र विकासको नाउँमा खोलिएका दातृ निकायलाई आफ्नो एजेन्डा स्थापित गर्न र नेपालमा टिकिरहन उनले एउटा प्रभावशाली टेको प्रदान गरे । सन् १९८० को दशकयता विश्व परिवेशमै आइरहेको एउटा महत्वपूर्ण परिदृश्य थियो, जनजातिको उभार । यसै उभारका छद्म छिटाहरू नेपालको जनजाति आन्दोलनमा जंगलमा डढेलो फैलिएझैँ फैलिसकेको थियो । यसैलाई पाश्चात्य अनुसन्धानकर्मीले विशेषगरी मानवशास्त्रीले फरक ढंगबाट दस्ताबेजीकरण गरिरहेका थिए । आफ्नो मनमा लागेका कुरा र आफूले बोकेको दृष्टिकोण एउटा रैथाने नेपाली शोधकर्मीले प्रकट गरिदिँदा उनीहरूलाई आफ्नो काम गर्न सहज भयो र त्यस रैथानेलाई उद्धृत गरिदिँदा भइहाल्यो । यसै प्रकृतिको ज्ञानको विधि निकै लामो समयसम्म नेपालको पछिल्लो अनुसन्धानकर्मीका लागि एक प्रमुख बौद्धिक शैली र पद्धति बन्न पुग्यो र यसैको अनुसरण अहिलेसम्म पनि भइरहेको छ ।

फेरि पनि यहाँनेर बुझ्नुपर्ने कुरा जनजातिले जुन हिसाबले विष्टका आलेखलाई बुझे, यी आलेख सीमान्तकृत जातिको उठानको वकालत गर्न लेखिएको हो भन्ने बुझाइ बौद्धिक मानसपटलमा हुनु हुँदैन । उनको आलेखले जुन हिसाबले बाहुनलाई प्रस्तुत ग-यो, त्यसबाट अर्को चिन्तन गर्नुपर्ने कुरा शासनसत्ताको मूलतः द्वन्द्व फेरि पनि बाहुन–क्षेत्रीभित्र नै छ भन्ने कुरालाई प्रस्ट्याउँछ । सीमान्तकृतको वकालत त केवल त्यसभित्रको एउटा एजेन्डा मात्र हो ।

अन्त्यमा, डोरबहादुर विष्टलाई नेपालको बौद्धिक सार्वजनिक वृत्तमा अतिशयोक्तिसाथ बुझ्ने र पढ्ने प्रवृत्ति व्यापक छ । उनको स्तुतिगान गाउने गरिन्छ । एकथरी उनलाई नेपालमा आधुनिकता तथा सीमान्तकृत मानिसका पक्षधरका रूपमा विश्लेषण गर्छन् भने अर्काथरी निन्दा । बुझ्नुपर्ने महत्वपूर्ण विषय के हो भने एउटा व्यक्ति उसले बा“चेको र भोगेको समयबाट प्रभावित हुन्छ । उसले उत्पादन गर्ने ज्ञान स्थापित शक्तिकेन्द्रस“ग सम्झौता गरिरहेको हुन्छ । विष्ट यसका अपवाद होइनन् । समयानुकूल आफ्नो कुरा राख्ने र समयानुकूल परिमार्जन गर्न सक्ने क्षमता र सीप भएका एक चतुर अध्येता हुन् उनी ।

उनका आलेख उत्पादनको समयअनुसार उनलाई केही भए पनि बुझ्न सकिने एउटा प्रमुख कडी हुन सक्छ हाम्रो विमर्श । उनले गरेका तर्क अहिले पनि त्यत्तिकै तरंगित र महत्वपूर्ण छन् भने उनले पस्केका विचारहरूले अझै पनि उत्तिनै जोसका साथ मानिसहरूलाई कित्तामा बा“ड्न बल प्रदान गरिरहेका छन् । एउटा समयमा केही न केही विचार प्रस्फुटन गराउने विष्ट निःसन्देह लेखपढ गरेका एक प्रभावशाली चिन्तक हुन् । तर, अबको ज्ञान, अनुसन्धान, समाजशास्त्र र मानवशास्त्र विष्टले लेखिरहेको समयभन्दा निकै फराकिलो भइसक्यो । अझै पनि स्तुतिगान र ‘पिताकरण’को रट्याइँ रटिरहियो भने नेपाली समाजशास्त्र र मानवशास्त्रले आफ्नो सार्थकता गुमाउन धेरै समय लाग्नेछैन ।

स्रोतः https://www.nayapatrikadaily.com/news-details/3573/2019-01-18


About the Author

More Blogs