खाँचो विधा इतिहास पुनर्लेखनको

- गौरव केसी, प्रणव खरेल | 2021-09-24

गौरब केसी र प्रणब खरेल

वास्तविकता के पनि हो भने कतिपय मानवशास्त्री र समाजशास्त्री शक्तिकेन्द्रका निकट छन्, रणनीतिक रूपमा उत्पादित ज्ञानको आफ्नै अर्थ–राजनीति छ

थालनीप्रशंग सुरु गरौँ, सन् २०१७ डिसेम्बर ९ र १० मा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग र नेपाल मानवशास्त्र संघले संयुक्त रूपमा गरेको सम्मेलनबाट । दुवै पंक्तिकार सम्मेलनका सहभागी, एकजना त कार्यपत्र प्रस्तोता पनि । सम्मेलनको पहिलो दिनको अन्तिम सत्रमा केही वक्ताले ‘वर्तमान मानवशास्त्र र समाज विज्ञान’ विषयमा आ–आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए । प्रस्तोतामध्येका प्राध्यापक रामबहादुर क्षेत्रीले नेपाली मानवशास्त्र विधासँग आफ्नो लामो संलग्नताको अनुभूति बताउँदै अब आउँदा दिनमा घरेलु मानवशास्त्रीले विदेशी मानवशास्त्रीको अनुसरण नगरी मौलिक ‘नेपाली मानवशास्त्र’को निर्माण गर्नुपर्ने समय आएको भावना व्यक्त गरे ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयमा आबद्ध अमेरिकी मानवशास्त्री क्याथ्रिन मार्चले दर्शकदिर्घाबाट ‘तपाईंले भन्नुभएको नेपाली मानवशास्त्र के हो’ भनी प्रश्न गरिन् । प्रश्नको भाव नेपाली मानवशास्त्र भन्ने चिज पनि हुन्छ र ? भन्ने थियो । सायद समयको परिबन्धले होला, क्षेत्रीले चित्तबुझ्दो उत्तर दिन सक्नुभएन । पंक्तिकारद्वय ‘डिसिप्लिनरी हिस्ट्री’ अर्थात् विधागत इतिहासमा अभिरुचि राख्ने भएकाले प्रश्न रोचक लाग्नु स्वाभाविक थियो । त्यसो भए के हाम्रो आफ्नो मानवशास्त्र छैन त ? प्राध्यापक क्षेत्रीको भावार्थ केवल एउटा अमूर्त परिकल्पना मात्र हो त ? यस आलेखले गर्ने विमर्श यिनै प्रसंगमा केन्द्रित रहनेछ ।

विधा इतिहासको लिखत प्रलेखसन् १९८० को दशकमा समाजशास्त्र र मानवशास्त्रको संयुक्त विभाग सुरु भयो । सोही विभागबाट प्रकाशित हुने जर्नलको नाम हो ‘अकेज्नल पेपर्स इन सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी’ । रोचक कुरा, जर्नलको नाम नै अकेज्नल छ, जसको अर्थ अनियमित हुन्छ । त्यसैले पनि होला, यो जर्नल समाजशास्त्र र मानवशास्त्रको केन्द्रीय विभागबाट कहिल्यै नियमित रूपमा प्रकाशित भएन । विभागमा आबद्ध केही प्रभावशालीको मनमर्जीमा जर्नल निस्किन्थ्यो । जर्नलका सुरुका अंकको बहस नेपाली मानवशास्त्र र समाजशास्त्रले बनाउनुपर्ने आफ्नो बेग्लै पहिचानमाथि नै थियो ।

पछिल्ला दिनमा बहसले मूर्तता लिन सकेन र नेपालको मानवशास्त्र र समाजशास्त्र ह्रासोन्मुख भयो । यसो हुनुको कारणमध्ये एक हो, हामीले हाम्रो शास्त्रको अर्थमय इतिहास हालसम्म लेख्न नसक्नु, जसले यस विधासँग आबद्ध हुने वा अभिरुचि राख्ने जो कोहीलाई एउटा मार्गचित्र प्रदान गरोस् । त्रिविमा पठनपाठनको तहमा सन् १९८१ मा समाजशास्त्र/मानवशास्त्र विभाग स्थापित भएदेखि हालसम्म पनि मानवशास्त्री/समाजशास्त्रीले सभा र गोष्ठीमा गर्व र निर्धक्कसँग बारम्बार प्रयोग गर्ने अभिव्यक्ति भनेको ‘नेपाली मानवशास्त्र अझै बामे सर्दै छ’ भन्ने हो । तसर्थ यसले पनि हाम्रा व्यावसायिक मानवशास्त्रीमाझ स्थापित भएको मनोविज्ञानलाई दर्साउँछ ।

यस आलेखले उठान गरेको विधा इतिहास भनेको नेपाली समाजलाई चित्रण गर्ने र समग्र समाज विज्ञानसँग सम्बन्धित उत्पादित ज्ञानको पक्ष हो । ती उत्पादित ज्ञानले के–कस्तो ढंगबाट नेपाली समाज, संस्कृति र इतिहासका विविध आयामलाई प्रतिबिम्बित गरायो, नेपाली समाज बुझ्ने कस्तो प्रकारको दृष्टिकोण प्रदान ग-यो र त्योसँग जोडिएको अर्थ राजनीतिमाथिको दर्शन र चिन्तन मननको लेखाजोखा हो । यिनै उत्पादित लिखतको व्यवस्थित र प्रक्रियागत अभिलेखीकरण हो, हामीले निर्माण गर्नुपर्ने विधा इतिहास भनेको । यसैको परिभाष्य प्रलेख हामीले हालसम्म पनि कोर्न सकेनौँ ।

हुन त मानवशास्त्र र समाजशास्त्र यी दुवै विधाले उठान गर्ने प्रमुख विषयवस्तुभित्र पर्छ, समावेशी र बहिष्करणको मुद्दा । तर, हाम्रो विधा इतिहास लेखनको प्रकृति र प्रवृत्ति समावेशी छैन । जबकि सैद्धान्तिक बहसचाहि“ हामी बहु–विषयको गर्छौं । मानवशास्त्र या समाजशास्त्रमा औपचारिक शिक्षा लिएका वा पिएचडी गरेकाले मानवशास्त्रीय वा समाजशास्त्रीय चिन्तन प्रदान गर्न सक्छन् भन्ने मानसिकता हाम्रो व्यावसायिक मानवशास्त्री र समाजशास्त्रीहरूको मथिंगलमा दह्रोस“ग गढेको छ । समाजबारे गहन चिन्तन अन्य ज्ञानमा पनि हुन सक्छ र ती ज्ञानमा निहित समाजशास्त्रीय पाटोलाई हामीले ऐतिहासिक रूपमा न त मूल्यांकन ग¥यौँ, न ती पाठ्यक्रममा (अपवादबाहेक) समावेश नै भए ।

अब, प्रसंग बदलौँ– सन् १९७४ मा त्रिविभित्र रहेको अनुसन्धानीय निकाय ‘इन्स्टिच्युट फर नेपाल एन्ड एसियन स्टडिज’ (इनास) ले प्रकाशन गरेको एउटा महत्वपूर्ण प्रतिवेदनबाट । सन् १९७३ को अक्टोबर महिनाको १५, १६ र १७ मा इनासले ‘नेपालका समाज विज्ञानहरू’ नामक तीनदिने गोष्ठीको आयोजना गरेको थियो । गोष्ठीमा प्रस्तुत कार्यपत्रलाई प्रयागराज शर्माको सम्पादनमा सन् १९७४ मा ‘सोसल साइन्स इन नेपाल : अ रिपोर्ट अन द प्रोसिडिंग्स अफ अ सेमिनार अन सोसल साइन्स इन नेपाल हेल्ड एट इनास इन अक्टुबर १९७३’ पुस्तकको स्वरूप दिई प्रकाशित ग-यो । शर्माको कार्यकालमा निस्केको यो एउटा प्रशंसनीय र गुणस्तरीय प्रतिवेदनले तत्कालीन समयमा त्रिविभित्र पढाइने सबै समाज विज्ञान विषयका ज्ञातालाई एकै ठाउ“मा भेला गरी नेपाली समाज विज्ञानको अवस्था र यसले भोगेका चुनौतीमाथि बृहत् बहस गराएको थियो ।

प्रतिवेदनभित्र रहेका ए डब्लु म्याकडोनाल्डको ‘सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी इन नेपाल’, खेमबहादुर विष्टको ‘द स्टेट अफ एन्थ्रोपोलोजी इन नेपाल’, टिएस थापाको ‘डेभलपमेन्ट अफ सोसियोलोजी इन नेपाल’ र नवीनकुमार राईको ‘क्रिटिक इन सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी इन नेपाल’ नेपालको मानवशास्त्र र समाजशास्त्रस“ग सम्बन्धित पक्षमाथि छापिएका विधा इतिहाससँग सम्बन्धित उल्लेखनीय आलेख हुन् । तर, पछिल्ला समयमा नेपालका मानवशास्त्र र समाजशास्त्रमाथि लेखिएका विधा इतिहास यिनैले चर्चामा ल्याएका विषयवस्तुको अनुकरण र निरन्तरता देखिन्छ ।

पछिल्ला पुस्ताले थप कुनै नयाँ प्रतिस्पर्धी विचारधारा, कथन र विश्लेषण उपलब्ध गराउन सकेनन् । प्रकाशित अधिकांश लेखले नेपालको मानवशास्त्रको इतिहास निर्माणको प्रारम्भिक बिन्दु क्रिस्टोफ भोन फ्युरर ह्यामिन्डोर्फबाट गर्छन् । अर्थात्, नेपालमा मानवशास्त्रको अध्ययनको थालनी उनैबाट भएको भनेर निष्कर्ष निकालिन्छ । लन्डनको ‘स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिज’ (सोवास) का मानवशास्त्री ह्यामिन्डोर्फ सन् १९५० को अन्त्यतिर शेर्पाको बारेमा अध्ययन गर्न नेपाल आएका र यसैको उपजस्वरूप सन् १९६५ मा उनको शेर्पामाथिको प्रकाशित पुस्तक ‘द शेर्पाज् अफ नेपाल’को चर्चाबाट नै नेपालको मानवशास्त्रको प्रारम्भ हुन्छ भन्ने कुरालाई स्थापित गराइएको छ । त्यसैगरी, बारम्बार दोहोरिने अर्को एकांगी के हो भने सन् १९५० अघि नेपाल विदेशीका लागि बन्द थियो । खुला गरेपछि नेपाल अध्ययन गर्न आउने विदेशी ओइरिन थाले । परिणाम, नेपाल मानवशास्त्र अध्ययनको थलो बन्न पुग्यो र यो विधाको विकास सम्भव भयो, भन्ने छ । तसर्थ, सन् १९५० उपरान्त नेपाल आएका अमेरिकी र ब्रिटिस मानवशास्त्रीले गरेको कामको चर्चा र परिचर्चाको वरिपरि नै हाम्रो विधा इतिहास केन्द्रित छ ।

नसमेटिएको पक्षह्यामिन्डोर्फ आउनुअगावै विदेशीले नेपालमाथि प्रशस्त काम गरिसकेका थिए । ह्यामिन्डोर्फ आउनुअगावै शेर्पा समुदायमाथि सन् १९५० मा स्विस अनुसन्धानकर्मी एला मिलर्ट क्याथ्रिनले पुस्तक प्रकाशित गरिसकेका थिए । भारतीय शोधकर्ताको कामलाई पूरै बेवास्ता गरिएको छ । उदाहरणका लागि केपी चट्टोपाध्यले काठमाडौंका नेवारमाथि अध्ययन गरी बंगालबाट निस्किने ‘द जर्नल एजियाटिक सोसाइटी अफ बेंगाल’मा सन् १९२३ मा लेख प्रकाशित गरेका थिए । यसैगरी पिसी बागचनले नेपालमा बाहुन समुदायमाथि गरेको अध्ययन सन् १९४० मा ‘जर्नल अफ इन्डियन सोसाइटी अफ ओरियन्टल आर्ट’मा प्रकाशित भइसकेको थियो । मानवशास्त्र÷समाजशास्त्रको प्रमुख अवधारणामध्येको एक हो, आधुनिकीकरणको बहस । यसै अवधारणालाई नेपाली परिप्रेक्ष्यमा केपी मित्रले सन् १९३० मा लेखिसकेका थिए भने राई समुदाय र तिनले बोल्ने भाषाको विषयमा सुनितीकुमार चटर्जीले सन् १९५० मा आलेख लेखिसकेका थिए । बिडी सनवालले नेपालको पूर्वी तराईमा गरेका अध्ययन सन् १९४८ मा ‘इस्टर्न एन्थ्रोपोलोजिस्ट’को पहिलो अंकमा छापिएको थियो ।

समकालीन भारतीय मानवशास्त्री र समाजशास्त्री काम हत्वपूर्ण प्राज्ञिक कार्य छन् । तिनलाई न पाठ्यक्रममा समावेश गरिएको छ (अपवादबाहेक), न तिनबाट हामीले केही सिकिरहेका छौँ । यसैगरी, दक्षिण एसियाका अन्य राष्ट्रमा उत्पादित सोही प्रकृतिको ज्ञान पनि हाम्रो चासोमा कहिल्यै परेन । क्षेत्रभित्र उत्पादित ज्ञानको आदान–प्रदानको अभिवृद्धिको संस्कृति पनि हामीले बसालेनौँ । बेलायती र अमेरिकी मानवशास्त्री मात्र हाम्रो प्राथमिकतामा परे र तिनले उत्पादन गरेका ज्ञानमाथि हामी आश्रित भयौँ । अन्य युरोपियन र एसियाली अनुसन्धानकर्मीले नेपालमाथि गरेको कामको चर्चा पाइँदैन । उदाहरणका लागि डेनिस (माइकल भाइन्डिङ), जापानी (कावाकिता जिरो), फ्रेन्च (मार्क ग्याब्रु), इटालियन (गिसेप टुची), जर्मन (फ्रेड्रिक फुके) आदि ।

बेलायती र अमेरिकी मानवशास्त्री मात्र हाम्रो प्राथमिकतामा परे र तिनले उत्पादन गरेका ज्ञानमाथि हामी आश्रित भयौँ । अन्य युरोपियन र एसियाली अनुसन्धानकर्मीले नेपालमाथि गरेको कामको चर्चा गरिएको पाइँदैन ।

हामीले हाम्रो विधा इतिहासमा नसमेटेको अर्को पक्ष भनेको चलनचल्तीमा रहेको जनश्रुति पनि हो । लेखन संस्कृतिलाई धेरै पछि मात्र अवलम्बन गरेको हाम्रो समाजमा सदियौँदेखि विभिन्न समुदायमा प्रचलित लोकगाथा, लोकसाहित्य, लोकोक्ति, लोकनाट्य, लोकनृत्यजस्ता लोक परम्परालाई मानवशास्त्री र समाजशास्त्रीय आयामबाट लोकप्रिय बनाउन सकेनौँ । सकेका हुन्थ्यौँ भने यिनै आधारबाट हाम्रो मौलिक र रैथाने मानवशास्त्रको निर्माण हुन्थ्यो होला । तर, हामी सबै चुक्यौँ । यसैगरी, सन् १९५० उपरान्त आख्यान र गैरआख्यानमा कलम चलाउने धेरै नेपालीको काममा विधा इतिहास प्राथमिकतामा परेन । उदाहरणका लागि न हामीले संशोधन मण्डललाई बुझ्ने प्रयत्न ग-यौँ, न संशोधन मण्डलले निकाल्ने त्रैमासिक पत्रिका ‘पुर्णिमा’माथि समाजशास्त्रीय र मानवशास्त्रीय चिन्तन ग-यौँ । त्यस्ता धेरै नेपाली साहित्य छन्, जसले नेपाली समाजको विभिन्न झाँकीलाई यथार्थपरक ढंगबाट चित्रण गरेको छ । तर, ती कृतिमार्फत हामीले नेपाली समाजमाथि विमर्श गर्नुपर्ने सोच नै बनाएनौँ ।

उदाहरण दिनुपर्दा सन् १९७९ मा लुडविग स्टिलर र रामप्रकाश यादवले संयुक्त रूपमा लेखेको पुस्तक ‘प्लानिङ फर द पिपल’मा लेखकद्वयले नेपाली समाज र यसले भोगिरहेका प्रमुख समस्यालाई तत्कालीन समयमा प्रकाशित नेपाली साहित्यिक कृतिबाट विश्लेषण गरेका थिए । उनले बालकृष्ण समको चिसो चुलो नामक कृतिबाट त्यस बखत समाजमा व्याप्त रहेको जातीय व्यवस्थाको चित्रण गरेको पाइन्छ । यो विधिको अनुसरण वा मार्गदर्शन हाम्रा पछिल्ला व्यावसायिक मानवशास्त्री र समाजशास्त्रीको ग्राह्यतामा परेन । यस्ता धेरै साहित्य उत्पादित भएका छन्, जसले नेपाली समाजका विविध विषयवस्तु जस्तै– बसाइँसराइ, प्रवासका मुद्दा, लैंगिकता, वर्गीय असमानता र त्यस बखतको राजनीतिक माहोललाई प्रतिबिम्बित गर्छन् । तर, ती उत्पादित ज्ञान हाम्रा शोधका अभिरुचिका आधारभित्र कहिल्यै परेनन् ।

रणनीतिक रूपमा उत्पादित ज्ञानको आफ्नै अर्थ राजनीति पनि छ । यिनै ज्ञानबाट पेसा, व्यावसायिकता र बृहत् सञ्जाल र सम्बन्धको निर्माण हुन्छ । नेपालको सन्दर्भमा नेपाली मानवशास्त्रीले प्रयोग गर्ने विधागत दृष्टि मूलतः राजनीतिको संकथनवरिपरि घुम्ने गरेको देखिन्छ । उदाहरणका लागि एकल जातीय पहिचानको प्रसंग – तत्कालीन माओवादी र उसले बोकेको जातीय दृष्टिकोणमाथि सहमत हुने पार्टीले वकालत गरेको विचारधारलाई नेपालका केही मानावशास्त्री र समाजशास्त्रीले जबर्जस्त स्थापित गर्न खोजेको देखिन्छ ।

पहिचानको राजनीतिको मानवशास्त्रीय र समाजशास्त्रीय विश्लेषण मननीय विषय हो । तर, समाज वैज्ञानिकले पहिचान दिनानुदिनको अनुभव र अन्तक्र्रियाबाट निर्माण हुन्छ भन्ने महत्वपूर्ण पाटोप्रति जानेर वा नजानेर आँखा चिम्लिएको पाइन्छ । जातीय र वर्ग निर्माण हुने प्रक्रियामा अन्य प्रकारका पहिचान त्यस प्रक्रियाभित्र अन्तर्घुलित हुन्छन् या प्रभाव पार्छन् भन्ने प्रश्नमा नेपाली मानवशास्त्री र समाजशास्त्रीको अभिरुचि देखिँदैन । यथार्थलाई सूक्ष्म ढंगले विश्लेषण गर्नेभन्दा पनि पश्चिमा सैद्धान्तिक अवधारणामा पराश्रित रहने प्रवृत्ति व्याप्त छ । एकजना मलेसियन समाजशास्त्री सइयद हुसेन अलातसले भनेजस्तै हाम्रा व्यावसायिक मानवशास्त्री/समाजशास्त्री पनि ‘क्याप्टिभ माइन्ड’ अर्थात् बन्दी मानसिकताबाट ग्रसित देखिन्छन् ।

अन्त्यमा, नेपाली मानवशास्त्र र समाजशास्त्र सुरुदेखि नै ब्रिटिस र अमेरिकी ढर्राबाट प्रभावित छ । तिनलाई नै आदर्श बनाएर त्यसैको जलप हाम्रो मानवशास्त्र र समाजशास्त्रलाई लगाइरह्यौँ । बाह्य जटिल सिद्धान्तलाई समाजको व्याख्या र विश्लेषण गर्ने प्रमुख आधारशिला बनायौँ । र, समाजलाई एकपक्षीय ध्रुवीकरणमा हेर्ने पाठ्य नीति अवलम्बन ग-यौँ । हाम्रो चिन्तन–मनन, छलफल, शोध र सोचको आदर्श यिनै बाह्य ज्ञान बन्न पुग्यो । सबै पश्चिमा सिद्धान्त अर्थहीन छन् भनेर तर्क गर्न किञ्चित खोजिएको होइन । तर, ती सिद्धान्तबेगर पनि नेपाली समाज खोज्न सकिन्छ भन्ने मान्यता र यी सिद्धान्तविना गरेका कार्यलाई गौण समाजशास्त्रीय वा मानवशास्त्रीय मानिदिने प्रवृत्तिलाई प्रवद्र्धन ग-यौँ । विद्यार्थीलाई दिइने प्रशिक्षणमाथि उल्लेखित विधि एवं पद्धतिमा नै गराइने परिपाटी छ ।

संयुक्त रूपमा रहेको विभाग प्रभावशाली शिक्षकबीचको आन्तरिक द्वन्द्व र जलनबाट पार्टीहरू टुक्रिएझैँ सन् २०१५ मा टुक्रिनु आफैँमा एउटा क्रमभंग थियो । पंक्तिकारद्वयले गुरुबालाई दिने एउटै परामर्श भनेको यसरी विभाग टुक्रिनुभन्दा त बरु पर कुनामा रहेको इतिहास, भाषाशास्त्र, संस्कृति र पुरातत्व विभागलाई आफ्नो विभागमा गाभ्न सकेको भए नेपाली मानवशास्त्र र समाजशास्त्र अझै प्रबल हुने थियो ।

ऐतिहासिक रूपमा नेपालमा ज्ञानको समावेशिताको एउटा नौलो नमुना बन्न गई बहु–विषयिकतालाई नै प्रवद्र्धन गथ्र्यो होला । सामान्य अर्थमा मानवशास्त्री क्याथ्रिन मार्चको नेपाली मानवशास्त्र पनि हुन्छ र भन्ने जिज्ञासाको अहिलेलाई हतारमा दिन सकिने उत्तर भनेको अमेरिकन मानवशास्त्र हुन्छ भने नेपाली मानवशास्त्र किन नहुने ? तर, यस आलेखले उठान गरेको विवेचनामाथि मनन गर्ने हो भने हामीले हाम्रो आफ्नो मानवशास्त्र र समाजशास्त्रको निर्माण गर्ने थालनीको प्रयत्न अहिलेसम्म पनि गरेको पाइँदैन । जे–जति ज्ञान उत्पादन ग-यौँ, त्यो अधिकांश अमेरिकन र ब्रिटिसको अनुसरण मात्रै रह्यो । तसर्थ, जे–जस्तो भए पनि मार्चको प्रश्नमा सान्दर्भिकता छ । (लेखकद्वय ‘काठमाडौं स्कुल अफ ल’का सहायक प्राध्यापक हुन्)

स्रोतः https://www.nayapatrikadaily.com/news-details/8565/2019-03-14


About the Author

More Blogs