राजनीतिक मैदानमा प्राज्ञिक खेलाडी

- देवेन्द्र उप्रेती | 2021-09-24

देवेन्द्र उप्रेती

विकास, अर्थतन्त्र, लैंगिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजना जस्ता विषयमा पब्लिक इन्टेलेक्चुअल आचार्यका एक दर्जनभन्दा बढी पुस्तक, दर्जनौं प्राज्ञिक लेख र अनुसन्धान प्रतिवेदन प्रकाशित छन्।

मीना आचार्यको नाम पहिलो पटक कहिले सुनेँ, मलाई यकिन सम्झना छैन। पचासको दशकको सुरुआती वर्षमा ‘अस्मिता’ जस्ता महिलाकेन्द्रित म्यागेजिन र दैनिक पत्रपत्रिकामा विकास, अर्थतन्त्र, राजनीति र महिला आन्दोलन जस्ता विषयमा उनका लेख÷अन्तर्वार्ता बारम्बार प्रकाशित भइरहन्थे। सुरुमा मेरा लागि मीना आचार्यलाई चिन्ने माध्यम भनेका यिनै लेख÷अन्तर्वार्ता थिए।

२०११ जनवरी अन्तिम हप्ताको कुनै दिन मैले आचार्यलाई नयाँ बानेश्वरस्थित उनी महासचिव रहेको ‘टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान’को कार्यालयमा भेटेको थिएँ। यो नै मेरो आचार्यसँगको पहिलो भेट थियो। ६–७ मार्च २०११ मा मार्टिन चौतारीले आयोजना गरेको ‘महिला अनुसन्धाता सम्मेलन’को मुख्य वक्ता (की नोट स्पिच) बन्नका लागि मार्टिन चौतारीका तर्फबाट म आचार्यलाई भेट्न गएको थिएँ। चौतारीको अनुरोध स्वीकार गर्दै सो सम्मेलनमा आचार्यले ‘आफ्नो अनुसन्धान अनुभव’बारे प्रवचन दिएकी थिइन्।

यो सम्मेलनले आचार्यसँग मेरो दोहोरो चिनजान गरायो। पछिल्लो समय उनीसँग विभिन्न विषयमा कुराकानी गर्ने क्रमलाई मैले जानाजान बढाएको छु। नारीवादी आन्दोलन, विकास, राजनीति, अर्थतन्त्र र वैदेशिक सहयोग जस्ता विषयमा आचार्यसँग भएको अनुभव÷ज्ञान सम्भवतः नेपालमा अरू कमैसँग मात्र होला। विगत ४५ वर्षमा आचार्यले गरेका प्राज्ञिक उपज र कर्मका आधारमा म यो निष्कर्षमा पुगेको हुँ।

मीना आचार्य, उनको भोगाइ, उनी बाँचेको समय र उनका प्राज्ञिक कर्म आफैंमा बृहत् अनुसन्धानका विषय हुन्। अमेरिकी समाजशास्त्री सी राइट मिल्सले भनेजस्तै समाज, इतिहास र जोकोहीको वैयक्तिक जीवन भिन्नाभिन्नै कुरा होइनन् बरु यी एकअर्कासँग जोल्ठिएका विषय हुन। यसरी हेर्दा मीना आचार्यको पर्सनल र प्रोफेसनल जीवनको अध्ययन सन् १९३० पछिको नेपाली समाज बुझ्ने एउटा महत्त्वपूर्ण आँखीझ्यालसमेत हो।

केही दशकयता सम्भवतः नेपालसम्बन्धी अध्ययन गर्ने जोकोही विदेशी र नेपाली अनुसन्धाताका लागि मीना आचार्य सबैभन्दा बढी पढिने सीमित समाज अध्येता (महेशचन्द्र रेग्मी, डोरबहादुर विष्ट, हर्क गुरुङ आदि) मध्येकी एक हुन्। अझ भन्ने हो भने सन् १९८० देखि नेपालमा महिला आन्दोलन र सशक्तीकरणको प्राज्ञिक नेतृत्व आचार्यले गरेकी छन्। नेपालको महिला आन्दोलनबारे चासो राख्ने जोकोहीका लागि यो नयाँ तथ्य होइन। नेपाली महिला आन्दोलनमा सहभागी अधिकांशले यो तथ्यलाई करिब–करिब स्वीकार गर्छन्।

विकास, अर्थतन्त्र, लैंगिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत आचार्यका एक दर्जनभन्दा बढी पुस्तक, दर्जनौं प्राज्ञिक लेख र अनुसन्धान प्रतिवेदन प्रकाशित छन्। आचार्यले गरेका यी अनुसन्धानले नेपाली समाजको बहुआयामलाई बुझ्न ठूलो सहयोग गरेका छन्।

पैतृक सम्पत्तिमा छोरासरह छोरीको अधिकार, महिलाको प्रजनन अधिकार, लैंगिक हिंसा, आमाको नामबाट नागरिकता र निर्वाहमुखी अर्थतन्त्रमा महिलाको योगदान जस्ता मुद्दा नेपाली समाजमा स्थापित गर्न आचार्यको महत्त्वपूर्ण योगदान छ। यी मुद्दाबारे आचार्यले गरेका तर्कप्रति सबैको सहमति होला नहोला, त्यो बेग्लै बहसको विषय हो। तर यी मुद्दाले नेपाली समाजको रूपान्तरणमा खेलेको भूमिका भने उल्लेखनीय छ।

यो एउटै लेखमा मीना आचार्य र उनका प्राज्ञिक उपजका सबै पक्ष समेट्न सम्भव छैन। त्यसैले यो लेख आचार्यको पर्सनल र प्रोफेसनल जीवनबारे छोटो चर्चा गर्दै उनको प्राज्ञिक कर्मले नेपालमा महिला सशक्तीकरणको मुद्दा र महिला आन्दोलनमा पुर्‍याएको योगदानमा मात्र सीमित गरिएको छ। भविष्यमा उनी र उनले गरेका प्राज्ञिक कर्मबारे सायद कसैले अध्ययन अनुसन्धान गर्ला पनि।

राजनीतिक परिवार सन् १९३७ मा मीना आचार्यको जन्म राजनीतिक परिवारमा भयो। उनी जन्मनु करिब एक वर्षअघि (१४ जुन १९३६) मा उनका पिता टंकप्रसाद आचार्य (प्रधानमन्त्री, २१ जनवरी १९५६-१४ जुलाई १९५७) को अगुवाइमा ‘नेपाल प्रजा परिषद्’ गठन भयो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा परिषद्को ऐतिहासिक महत्त्व छ। टंकप्रसादलाई यस कार्यमा सहयोग गर्ने अन्य सहयात्री थिए— रामहरि शर्मा, जीवराज शर्मा, दशरथ चन्द र धर्मभक्त माथेमा। केही समयपछि गंगालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठ पनि प्रजा परिषद् सामेल हुन पुगे।

राजनीतिक गतिविधिमा सामेल भएका कारण सन् १९४१ मा दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो। उनीहरूसँगै मृत्युदण्ड पाएका शुक्रराज शास्त्री भने इन्द्रचोकमा भागवत गीताको प्रचार र बहस गरेको आरोपमा पक्राउ परेका थिए। ब्राह्मण भएका कारण टंकप्रसाद र रामहरि शर्माले आजीवन कारावासको सजाय पाए। उनीहरूको सबै श्रीसम्पत्ति, जायजेथा राणा शासकले सर्वस्वहरण गरे।

राजनीतिक दल खोलेबापत टंकप्रसाद र उनको परिवारले खेपेको हैरानी र प्रजा परिषद्ले राणा शासन अन्त्यका लागि खेलेको योगदानबारे अमेरिकी मानवशास्त्री जेम्म फिसरले ‘लिभिङ मार्टियर्स ः इन्डिभिजुवल्स एन्ड रिभोल्यसन इन नेपाल’ (सन् १९९८) पुस्तक लेखेका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिकाबारे प्राध्यापक राजेश गौतमलगायत अन्य सामाजिक शास्त्रीले समेत थुप्रै लेखेका छन्।

राणा शासनको विरोध गरेको आरोपमा टंकप्रसाद जेल जाँदा मीना करिब तीन वर्षकी थिइन्। पिता टंकप्रसाद जेल परेपछि उनकी आमा रेवन्तकुमारी पनि सक्रिय राजनीतिमा प्रवेश गरिन्। २००४ सालमा रेवन्तकुमारीको नेतृत्वमा जनकपुरमा ‘नेपाल महिला संगठन’ गठन भयो। यो संगठन नेपालमा महिला अधिकारका लागि स्थापित सम्भवतः पहिलो राजनीतिक संस्था हो। नेपालमा महिला आन्दोलनको संस्थागत सुरुआत यसै संगठनले गरेको मानिन्छ।

टंकप्रसाद जेल परेपछि आचार्य परिवारको बसाइ स्थिर देखिँदैन। पिता जेल परेपछि मीना आचार्यको बाल्यकाल कहिले सिर्सिया (महोत्तरी), कहिले बनारस र कहिले काठमाडौंमा बित्यो। फरकफरक सामाजिक परिवेशमा हुर्कंदा व्यक्तिले प्राप्त गर्ने ज्ञान आफैंमा बृहत् हुन्छ। आचार्यको जीवनमा पनि यो कुरा लागू हुन्छ। उनले एक ठाउँमा भनेकी छन्, ‘ग्रामीण जीवन र गरिबी के हो भन्ने कुरा मैले सिर्सिया गाउँमा देखेँ र बुझँे।’

‘कैदी’की छोरी बाल्यावस्थामा उनी र उनको परिवारले राज्यबाट पाएको यातना, यसबाट उत्पन्न आर्थिक र सामाजिक संकटले उनमा राजनीतिक चेतना निर्माण गर्न सहयोग गर्‍यो। टंकप्रसाद जेल परेपछि समाजमा मीना ‘कैदी’की छोरी भइन्। करिब २३ वर्षअगाडि नारीवादी पत्रिका ‘अस्मिता’मा ‘हामी कैदीका छोरीहरू’ शीर्षकमा आफ्नो बाल्यकाल सम्झँदै उनले लेखेकी छन्—

‘आज म छ–सात सालतिरका ती दिनहरूबारे लेख्दै छु। जब सात सालको आन्दोलनको तयारी भइराखेको थियो, ती दिनहरूमा हामी पनि स्कुलमा लुकेर युगवाणी वितरण गर्दथ्यौं। ती दिनहरूमा हाम्रो दिनचर्या धेरैजसो जेलको यात्राबाट सुरु हुन्थे। बिहान उठेर कमला र म तरकारी, दूध र अन्य खाना पुर्‍याउन जेल जान्थ्यौं।

भद्रगोल जेलको ढोका बलिया डन्डीले बनेका थिए। डन्डीबाट अलिअलि भित्र देखिन्थ्यो। तर हाम्रा बुवाहरूलाई राखेको गोलघरपट्टि त ढोका पनि मोटो टिनको थियो, बाहिरबाट केही देखिँदैन थियो। हामीलाई बुवासँग भेट्न त परै जाओस्, देख्न पनि दिइँदैन थियो। हामीलाई १० वर्षसम्म त्यही मोटा ढोकाको पल्लातिर हाम्रा पूज्य पिताजीहरू बस्नुहुन्छ भन्ने सुनेका मात्र थियौं (अस्मिता २०५२, साउन)।’

बुवा किन जेल जानु पर्‍यो ? परिवारसँग भएको सबै जायजेथा÷ श्रीसम्पत्तिको सर्वस्वहरण किन भयो ? र, शासकले परिवारलाई दुःख दिनका कारण के–के हुन् ? आदिबारे आमा रेवन्तकुमारीले उनलाई बताउँथिन्। बाका लागि दैनिकजसो झ्यालखानामा खाना पुर्‍याउनु, परिवारको कुनै स्थायी बसोबास गर्ने ठेगाना नहुनु र ‘कैदी’को सन्तान हुनु जस्ता कुराले संघर्ष के हो भन्ने कुरा उनले बाल्यकालमै थाहा पाइन्। यो उनका लागि परिस्थितिले सिकाएको ‘राजनीतिक प्रशिक्षण’ थियो।

मीनाको जीवनमा आमा रेवन्तकुमारीको ठूलो प्रभाव छ। कुनै ठाउँमा उनले भनेकी छन्— मलाई संसार देखाउने, सामाजिक न्यायको पक्षमा उभ्याउने र मन नपरेको कुरामा विद्रोह गरिहाल्ने मेरो चरित्र निर्माणमा मेरो आमाको ठूलो देन छ। मानवशास्त्री जेम्म फिसरले ‘लिभिङ मार्टियर्स स् इन्डिभिजुवल्स एन्ड रिभोल्युसन इन नेपाल’ भन्ने पुस्तकमा रेवन्तकुमारीलाई राजनीतिप्रति सचेत विद्रोही निडर नारीको रूपमा चित्रण गरेका छन्। मेरो विचारमा मीना आचार्य पनि आमा रेवन्तकुमारीजस्तै निडर र सधैं आफ्नो कुरामा अडिग रहन सक्ने व्यक्ति हुन्।

आचार्यको विद्यालय शिक्षा सिर्सिया, काठमाडौं र भारतमा भयो। प्रारम्भिक अक्षर चिन्ने काम उनले सिर्सियामा गरिन्। सन् १९४८ मा आमा रेवन्तकुमारीलाई पछ्याउँदै उनी काठमाडौं आइन्। र, गौशालास्थित भर्खरै खुलेको गान्धीवादी आधार स्कुलमा कक्षा ३ मा भर्ना भइन्। सन् १९५१–५२ मा भारतको राजस्थानस्थित अजमेरमा रहेको ‘गान्धी आश्रम’मा समेत उनले पढिन्। तुलसी मेहरको सहयोगमा उनी गान्धी आश्रम पुगेकी थिइन्। बाँकी विद्यालय शिक्षा पद्मकन्या स्कुल र आईए पद्मकन्या कलेजबाट गरिन्।

भारतको दिल्ली युनिभर्सिटीबाट (सन् १९६०) बीए, सोभियत संघको मस्को स्टेट युनिभर्सिटीबाट (सन् १९६६) अर्थशास्त्रमा एमएस र संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–मेडिसनबाट (सन् १९८७) विकास अध्ययनमा विद्यावारिधि गरिन्।

सन् १९६१ मा उनले रसियन नागरिक भिक्टर सिभ्याकोभसँग विवाह गरिन्। त्यति बेला विदेशी नागरिकसँग नेपाली महिलाले विवाह गर्नेबित्तिकै नेपाली महिलाको नागरिकता रद्द हुने कानुनी प्रावधान थियो। तर, उनी विवाहपछि पनि नेपाली नागरिक रहिरहन चाहन्थिन्। उनले नेपालको नागरिकता प्राप्त गर्न वा नेपाली नागरिक बनिरहन गरेको संघर्षको बयान छुट्टै लेखमा गरौंला।

उनको जीवन मूलतः अध्ययन–अनुसन्धानमा बित्यो। आचार्यले करिब २५ वर्ष (सन् १९६६–१९९०) नेपाल राष्ट्र बैंकमा (अनुसन्धान अधिकृत, आर्थिक सल्लाहकार, प्रमुख आर्थिक सल्लाहकार र विकास वित्त विभाग प्रमुख) काम गरिन्। उनी सन् १९९० को सुरुतिर नीति अध्ययन गर्ने संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)को कार्यकारी निर्देशक (सन् १९९०–१९९४) भइन्। आचार्य नारीवादी अर्थशास्त्रीको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल एसोसिएसन फर फेमिनिस्ट इकोनोमिक्स’को बोर्ड सदस्यसमेत हुन्।

यसबाहेक सरकारका विभिन्न निकाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय नियोग र संस्थामा बसेरसमेत काम गरेको अनुभव उनीसँग छ। सन् १९८० को दशकको सुरुआती वर्षमा उनले विश्व बैंक, वासिङ्टनमा समेत काम गरिन्।

विश्वविद्यालयभन्दा बाहिर रहेर पनि प्राज्ञिक अनुसन्धान कर्म गर्न सकिन्छ भन्ने कुराको उनी दरिलो उदाहरण हुन्। विगत ४५ वर्षदेखि हरेक वर्ष आचार्यका कुनै न कुनै विषयमा नेपाल वा नेपाल बाहिरबाट पुस्तक, प्राज्ञिक लेख वा अनुसन्धान प्रतिवेदन प्रकाशित भइरहेका छन्। यस्तो काम अनुसन्धानमा केन्द्रित प्रतिष्ठित विश्वविद्यालका प्राध्यापकले मात्र गर्न सक्छन् भन्ने कुरालाई उनले चुनौती दिइरहेकी छन्।

टंकप्रसाद छोरी मीनाले राजनीति गरोस् भन्ने चाहन्थे। उनले मीनाका बारेमा भनेका छन्— इट उड् बी गुड् इफ सी गोज इन्टु पोलिटिक्स, आई उड लाइक टु सी हर फरदर हर फादरस् मिसन (उनी सक्रिय राजनीतिमा गएको भए राम्रो हुने थियो, उनले आफ्नो बाको लक्ष्य पछ्याएको म हेर्न चाहन्थँे)।

टंकप्रसादले चाहेजसरी उनले सक्रिय राजनीति त गरिनन् तर २०४६ सालपछि केही समय नेपाल प्रजा परिषद्को महासचिव भने बनिन्। आचार्यका लेख रचना अध्ययन गर्दा र उनका सार्वजनिक प्रस्तुति सुन्दा उनी राजनीतिक विचारधारमा ‘लोकतान्त्रिक समाजवाद’ (डेमोक्रेटिक

सोसियलिज्म)को नजिक देखिन्छिन्। उनको सम्पादनमा प्रकाशित ह्वाई सोसियल डेमोक्रेसी फर नेपाल (सन् २०१३) पुस्तकबाट पनि यो कुरा थप बुझ्न सकिन्छ।

पब्लिक इन्टेलेक्चुअल

आचार्यले महिलाका विषयमा व्यवस्थित रूपमा बोल्न, लेख्न र अध्ययन गर्न थालेको सन् १९७० को दशकको मध्यतिरबाट हो। सन् १९७५ मा आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)ले ‘महिला र विकास’बारे आयोजित कार्यशालामा उनले ‘अर्थ व्यवस्थामा महिलाको भूमिका’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। सेडाले सन् १९७७ मा प्रकाशित गरेको विमेन एन्ड डेभलपमेन्ट पुस्तकमा यो कार्यपत्र पढ्न सकिन्छ। मैले थाहा पाएसम्म महिलाको मुद्दाबारे आचार्यले लेखेको यो सम्भवतः पहिलो प्राज्ञिक लेख हो।

सन् १९७० को अन्त्यतिर अमेरिकी मानवशास्त्री लिन बेनेटसँग उनको भेट हुन्छ। लिन बेनेटसँगको भेटले आचार्यको प्राज्ञिक जीवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। बेनेटसँगको सहकार्यमा उनले गरेको ‘नेपालका महिलाहरूको मर्यादा स्तर’ भन्ने अनुसन्धान परियोजनाबाट प्रकाशित भएका करिब दर्जन अनुसन्धान कृति नेपालका महिलाबारे लेखिएका महत्त्वपूर्ण दस्तवेज हुन्। सन् १९८० पछि यी दस्तावेजले महिला सशक्तीकरणको मुद्दा उठाउन महत्त्वपूर्ण भूमिका खेले। यसबारे बुँदागत रूपमा थप चर्चा गरौँ—

पहिलो— यी अध्ययनले निर्वाहमुखी अर्थतन्त्रमा महिलाको बहुआयामिक भूमिका देखाए। साथै, यी अध्ययनले नेपालको कृषि महिलामा निर्भर छ भन्ने प्रमाणित गर्‍यो। साँच्चै भन्ने हो भने निर्वाहमुखी कृषि महिलामा निर्भर छ भन्ने कुरालाई त्यो बेलासम्म कसैले उठाएको थिएन। यी कुराले नेपालको विकास योजनामा लैंगिक पक्षलाई समावेश गर्न पहिलोपटक व्यावहारिक आधारसमेत तयार गर्‍यो।

यिनै अनुसन्धानमा टेकेर छैटौं आवधिक योजना (२०३७–२०४२ साल)ले विकास कार्यमा महिला सहभागिता बढाउने नीति अघि सार्‍यो। छैटौं योजनाबाट सुरु भएका यी महिलाकेन्द्रित विकास कार्यक्रम २०४६ पछि तीव्र रूपमा विस्तारित भए। यस्ता कार्यक्रमले महिलालाई समूहमा आबद्ध मात्र गरेनन्, उनीहरूलाई सामूहिक आवाज उठाउन पनि समर्थ बनाए। पचासको दशकको मध्यबाट यी कार्यक्रमहरू लैंगिक समानता तथा सशक्तीकरणमा केन्द्रित हुन थाले।

दोस्रो— नेपाली समाजमा बसोबास गर्ने विभिन्न जनजाति समूहभित्र रहेको लैंगिक सम्बन्धमा हुने विविधताका बहुआयामलाई समेत यी अनुसन्धानले सम्भवतः पहिलो पटक बहसमा ल्याए। नेपाली समाजको एउटा ठूलो अंश— आर्य र गैरआर्य जनजाति समुदाय— बाहुन, क्षत्री, नेवार, मगर, तामाङ, भोटे, राई र थारूमा यी अध्ययन केन्द्रित थिए। यी अध्ययनले गैरआर्य जनजाति समुदायमा भूमिमाथिको अधिकार, शिक्षा र रोजगारीका आधुनिक स्रोतमा जनजाति समुदायमा पनि ‘उच्च’ हिन्दू आर्य समुदायको जस्तै पुरुषमा एकाधिकार देखाए।

उनले गरेका यी अध्ययनले हिन्दू आर्य समुदायका महिलालाई भन्दा जनजाति समुदायका महिलालाई सामाजिक मान्यता प्राप्त जीवनयापनका विकल्पहरू निकै बढी र विभिन्न सांस्कृतिक चालचलनमा सामाजिक प्रतिबन्ध निकै कम रहेको देखियो पनि। अझ यी अध्ययनले उही सांस्कृतिक समूहभित्र पनि महिलाको स्तरमा प्रशस्त विविधता छ भन्नेसमेत देखाए।

नेपालमा ‘पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकार’को मुद्दाको प्राज्ञिक आधार तयार गर्न आचार्य (लिन बेनेटसँगको सहकार्यमा)ले गरेका अनुसन्धानको महत्त्वपूर्ण भूमिका छ। २०४६ सालपछि पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकारको मुद्दा नेपाली महिला आन्दोलनको मूल मुद्दा बन्यो। त्यसैगरी नेपाली समाजमा लैंगिक मूलप्रवाहीकरण मुद्दालाई सार्वजनिक बहसमा ल्याउन मात्र होइन, यसलाई नीतिगत प्रक्रियामा समावेश गर्नसमेत आचार्यको ठूलो योगदान छ।

असी वर्षे जोस

मीना आचार्यको छवि नेपाली समाजमा नारीवादी लेखक, वरिष्ठ अर्थशास्त्री, नीति विश्लेषक र सार्वजनिक सरोकारका विषयमा खरो उत्रन सक्ने ‘पब्लिक इन्टेलेक्चुअल’को रूपमा बनेको छ। उनको यस्तो छवि त्यत्तिकै निर्माण भएको होइन। यो छवि विगत ४५ वर्षमा उनले गरेका प्राज्ञिक काम र आमसरोकारका विषयमा उनका सार्वजनिक प्रस्तुतिले बनेको हो। नेपाली समाजका विभिन्न विषय–मुद्दाबारे आचार्यले गरेका तर्कबारे आलोचना र प्रतितर्क गर्न सकिएला तर बेवास्था गर्न भने सकिँदैन।

त्रिविका लैंगिक अध्ययन, महिला अध्ययन जस्ता विभागले मीना आचार्यबारे पढाउन थालेका छन्। यो राम्रो सुरुआत हो। नेपाली समाज बुझ्न व्यक्ति र उनीहरूले गरेका काम विश्वविद्यालयको कक्षाकोठामा छलफल हुनुपर्छ।

केही हप्ताअघि पुरानो बानेश्वरस्थित उनको निवासमा भेट्न जाँदा उनी केही लेख्ने र सम्पादन गर्ने काम गरिरहेकी थिइन्। यो उमेरमा पनि उनीसँग नेपाली समाजबारे थप अध्ययन अनुसन्धान गर्ने र पुस्तक र लेख प्रकाशन गर्ने योजनाका सूची छन्। असीमाथिको यो उमेरमा पनि उनको यो प्राज्ञिक कर्मप्रतिको निरन्तरता र जाँगर आफैंमा लोभलाग्दो छ।

स्रोतः http://annapurnapost.com/news/124552


About the Author

More Blogs