देवेन्द्र उप्रेती
केही वर्षअघि अफिसको पुस्तकालयमा कमलप्रकाश मल्लको चर्चित पुस्तक ‘रोड टु नोह्वेर’ फेला पारेँ। पुस्तकको ‘टेबल अफ कन्टेन्ट’ हेरेपछि भने म उनका लेख पढ्न थप उत्साहित भएँ। विश्वविद्यालय, प्राज्ञिक संस्था, बुद्धिजीवी, समालोचना र भाषाबारे मल्लले लेखेका रचना यस पुस्तकमा समेटिएका थिए। विधा अध्ययन, उच्च शिक्षा र प्राज्ञिक संघसंस्था जस्ता विषयमा अनुसन्धान गर्न रुचि राख्ने म जस्ता जोकोही अनुसन्धातालाई यो पुस्तक महत्वपूर्ण छ।
केही महिनाको अन्तरालमा पुस्तकमा भएका केही लेख पढेँ। मल्लका यी लेख सन् १९६० र १९७० को दशकमा काठमाडौं उपत्यका केन्द्रित नेपाली प्राज्ञिक समाज बुझ्ने महत्वपूर्ण सामग्री हुन् भन्ने मलाई लाग्छ। साथै मल्लका यी लेख तर्क र लेखन शैली दुवै हिसाबले प्रभावशाली रचनासमेत हुन्। पुस्तकमा समाविष्ट नेपाली बुद्धिजीवीबारे ‘इन्टेलेक्चुअल इन् नेप्लिज सोसाइटी’ भन्ने लेख अहिलेसम्म पनि बारम्बार चर्चामा आइरहन्छ।
‘रोड टु नोह्वेर’को परिचय खण्ड पढेपछि मैले के थाहा पाएँ भने यस पुस्तकमा नेपाली बुद्धिजीवीबारे लेखिएको यो लेखसहित अन्य सातवटा लेख यसअघि नै वसुधा भन्ने म्यागेजिन/जर्नलमा प्रकाशित भइसकेका रहेछन्। वसुधालगायत अन्य पत्रपत्रिकामा प्रकाशित लेख रचना संकलन गरेर सन् १९७९ मा साझा प्रकाशनले मल्लको यो पुस्तक बजारमा ल्याएको रहेछ। चाखलाग्दो के थियो भने मल्लको उक्त पुस्तक यति चर्चित हुँदा यी लेख प्रथम पटक प्रकाशित गर्ने वसुधा भने गुमनामजस्तै थियो।
यसले मलाई वसुधा म्यागेजिन/जर्नलबारे बुझ्ने थप हुटहुटी चल्यो। वसुधा कहिलेदेखि सुरु भयो र कहिले बन्द भयो ? वसुधाका प्रकाशक/सम्पादक को थिए ? वसुधामा अरू ककसका लेख प्रकाशित भएका थिए ? वसुधाका पाठक को थिए ? आदि इत्यादि। मेरा मनमा यी प्रश्न उठ्नु स्वाभाविक थिए किनभने मल्ल यस्ता बौद्धिक व्यक्ति हुन्, जसका लेख जोकोहीले छाप्ने पहुँच राख्न सक्दैनथ्यो।
वसुधाबारे बिस्तारै खोजीनीति गर्न थालेँ। गुगलमा ‘वसुधा म्यागेजिन/जर्नल’ टाइप गरेर हेर्दा अनलाइन कम्प्युटर लाइब्रेरी सेन्टर (ओसीएलसी) ‘वल्र्ड क्याट’ भन्ने बृहत् अनलाइन युनियन क्याटलगले वसुधाका केही अंक मात्र देखायो। सन् १९७० र १९८० को दशकमा नेपालसम्बन्धी अध्ययन गर्ने केही स्वदेशी/विदेशी समाजविज्ञान अध्येताका जर्नल लेख तथा पुस्तकमा वसुधामा प्रकाशित भएका विभिन्न लेखलाई ‘सूचीकृत’ गरेकोसमेत पाइयो।
साथै, सन् १९७५ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (हाल नेपाल प्रज्ञा–प्रतिष्ठान)ले प्रकाशन गरेको नेपालसम्बन्धी बृहत् सन्दर्भसूचीमा समेत वसुधामा प्रकाशित प्रशस्तै लेख समावेश गरेको पाइयो। त्यसैगरी युगेश्वर बर्माले सन् १९७३ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा बुझाएको विद्यावारिधिको शोधग्रन्थ ‘द इंग्लिस ल्यांग्युएज् प्रेस इन नेपाल’मा वसुधाबारे करिब तीन पृष्ठ लेखेकोसमेत भेटियो।
सार्वजनिक रूपमा उपलब्ध भएका प्रारम्भिक यी सूचनाले वसुधा सन् १९६० र १९७० को दशकमा काठमाडौंबाट अंग्रेजीमा प्रकाशित हुने महत्वपूर्ण म्यागेजिन/जर्नल थियो भन्ने संकेत गथ्र्याे। तर वसुधाको ‘प्रिन्टेड हार्ड कपी’ कस्ता थिए त्यो भने यस अनुसन्धाताले अझैसम्म भेट्टाउन सकेको थिएन।
सन् २०१२ को अन्त्यतिर सहकर्मी हर्षमान महर्जनले वसुधाका केही अंक त्रिवि केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा आफूले देखेको बताए। केही हप्ताको प्रयासपछि त्रिवि केन्द्रीय पुस्तकालयमा वसुधाका केही अंक भेट्न सम्भव भइयो। वसुधाका केही अंक त्रिवि केन्द्रीय पुस्तकालयमा भेटेपछि भने यस म्यागेजिन/जर्नलबारे थप जानकारी प्राप्त भयो। अर्थात्, सन् १९५७ बाट प्रकाशन सुरु भएको यस म्यागेजिन/जर्नलका संस्थापक सम्पादक/प्रकाशक बालाप्रसाद श्रेष्ठ र टंकलाल श्रेष्ठ रहेछन्।
बिर्सिएका टंकलाल
वसुधाका केही अंक त्रिवि केन्द्रीय पुस्तकालयमा भेटेपछि यसका प्रकाशक/सम्पादकलाई कसरी भेट्न सकिन्छ भन्ने मलाई लागिरह्यो। सौभाग्यवश सन् २०१४ को सेप्टेम्बर दोस्रो हप्ता मैले वसुधाका प्रकाशक/सम्पादक टंकलाल श्रेष्ठलाई उनको निवास कीर्तिपुरमा भेटेँ (टंकलालसँग यो भेट गराउन सुरुमा वरिष्ठ अधिवक्ता नूतन थपलियाले सहयोग गरेका थिए, उनले केही वर्ष वसुधामा कामसमेत गरेका थिए)। वसुधा बन्द भएको करिब ३४ वर्षपछि मैले टंकलाललाई वसुधाबारे जिज्ञासा राख्दा उनले मलाई उल्टै प्रश्न गरे, ‘वसुधाबारे तपाईंले कसरी थाहा पाउनुभयो ? ’ सम्भवतः विगत दुई दशकयता यो म्यागेजिन/जर्नलबारे सोधखोज गर्न सायदै कोही मात्र यसरी उनको निवासमा पुगेको थियो होला।
टंकलालको यो प्रश्न स्वाभाविक थियो किनकि मेरो पुस्ताले दुवैलाई चिन्दैनथ्यो। फेरि, उनी र उनका समकालीनले समेत वसुधा (टंकलाल समेत)लाई क्रमशः बिर्संदै गएका थिए। ती दिनलाई (वसुधा प्रकाशित भएको समय) सम्झन खोज्दै टंकलालले भने, ‘मैले त बिर्सें, अरू खोइ कसले सम्झेको होला र !’
सन् १९५२/५३ तिर बालाप्रसाद र टंकलाल दुवै त्रिभुवन आदर्श माध्यमिक विद्यालय, फर्पिङमा विद्यार्थी थिए। सो विद्यालयमा पढाउने एकजना जुझारु शिक्षक थिए, ‘आर. वी. पार्थेभा, एमए’। उनैको सम्पादनमा सन् १९५३ मा हस्तलिखित पत्रिका ‘वसुधा’ निस्कियो। सोही हस्तलिखित म्यागेजिनको ‘मास्टहेड’मा सन् १९५७ अक्टोबरमा टंकलाल र बालाप्रसादले वसुधाको पहिलो अंकको प्रकाशन र सम्पादन गरे जतिखेर उनीहरू त्रिचन्द्र कलेजमा ‘इन्टरमिडियट’ तहमा पढिरहेका थिए।
वसुधा म्यागेजिन/जर्नलको सामाजिक जीवनबारे थप बुझ्ने उद्देश्यले केही महिनाअघि उनको निवासमा हामी (म र विमल आचार्य) पुगेका थियौं। त्यो भेटमा उनले वसुधा म्यागेजिन/जर्नलबारे भने, ‘न्युरोड पाकोमा फुपाजु सत्यनारायणबहादुरको आफ्नै प्रेस थियो। वसुधा त्यहीँ छाप्ने गथ्र्यौं। घरबाट खाजा खान दिएको पैसा जोगाएरै सुरुसुरुमा म्यागेजिन निकाल्ने काम गरेका हौं। पछि विज्ञापन पनि आउन थाल्यो। नेपालस्थित विदेशी दूतावास (भारतीय)ले केही अंक नियमित किन्थ्यो पनि, त्यसबाट अलिअलि आम्दानी हुन्थ्यो। पत्रिकाको मूल्य सुरुमा ५० पैसा थियो, पछि १ अनि ५ रुपैयाँ राखियो। तत्कालीन समयमा वसुधालाई अंग्रेजी पढ्ने ‘एलिट इन्टेलेक्चुअल’ले रुचाए। विदेशी समाज अध्येताले पनि लेख दिन थाले। अंग्रेजीमा लेख्ने, पढ्नेबीच हामी राम्रैसँग चिनियौं। दूतावासहरूले पत्रिका खोज्न थाले। पत्रिका दार्जिलिङसम्म पुग्न थाल्यो। रोयल एअरलाइन्सको फ्लाइटमा यो पत्रिका राख्न थालियो। वसुधा बढीमा १५ सय कपीसम्म छापेको सम्झना छ।’
टंकलालले भनेजस्तै वसुधा म्यागेजिन/जर्नलको प्रकाशन कुनै योजना बनाएर, छलफल र बहस गरिएर सुरु गरिएको थिएन। लेखपढमा रुचि भएका केही लगनशील र जाँगरिला युवाले ‘केही गरौं’ भन्ने ध्येयले यसको सुरुआत गरेका थिए।
अनियमित प्रकाशन
नेपालमा अन्य जर्नल/पत्रिकाझैं यो जर्नल/म्यागेजिन प्रकाशन पनि नियमित हुन सकेन, जुन खासै आश्चर्यको विषय होइन पनि। १९५७ अक्टोबरमा वसुधा पहिलो अंक प्रकाशित भएको थियो। सन् १९६२ देखि १९६६ को बीचमा (करिब पाँच वर्ष) वसुधाको कुनै पनि अंक प्रकाशित भएन। सन् १९६० मा महेन्द्रले बीपी कोइरालाको मन्त्रिपरिषद्लाई ‘कु’ गरेपछि नेपाली कांग्रेसले गरेको आन्दोलनमा यसका प्रकाशक/सम्पादक टंकलाल श्रेष्ठ पनि जेल परे। प्रकाशक/सम्पादक नै जेल परेपछि वसुधा प्रकाशित हुने कुरै भएन। तत्कालीन सरकारले उनका सहकर्मीलाई म्यागेजिन/जर्नलबाट टंकलालको नाम हटाइयो भने निकाल्न दिने भन्यो। तर, सहकर्मीले टंकलालको नाम हटाएर वसुधा निकाल्नुभन्दा बरु केही समय प्रकाशन नै बन्द गर्ने निर्णय गरे। सन् १९६६ मा टंकलाल जेलबाट छुटेपछि उनले यो म्यागेजिन/जर्नल पुनः प्रकाशनमा ल्याए। सन् १९८१ पछि भने यो म्यागेजिन/जर्नल सधैंका लागि बन्द भयो।
टंकलालसँगको भेटपछि मलाई वसुधामा प्रकाशित भएका लेख र लेखकको सूची (अथर इन्डेक्स) बनाउने विचार आयो। यद्यपि वसुधामा प्रकाशित भएका लेख/लेखकको सूची निर्माण कार्य त्यति सजिलो भने थिएन, किनकि वसुधाका सबै अंक भेट्टाउन सकिन्छ भन्ने विश्वास वसुधाका प्रकाशक/सम्पादक स्वयं टंकलाललाई समेत थिएन। वसुधाका सबै अंक अरूसँग त हुने कुरै भएन। वसुधामा प्रकाशित लेख/लेखकको सूची बनाउने भने पनि यो कार्य सोचेजति अगाडि बढेन। २०१५ जनवरीपछि वसुधामा प्रकाशित भएका लेखको सूची बनाउने कार्यमा सहकर्मी हर्षमान महर्जन जोडिन आइपुगे। र, सन् २०१७ को अक्टोबरमा हामीले वसुधाको अपूर्ण नै भए पनि लेख/लेखकको सूची तयार पार्न सक्यांै। सूची मार्टिन चौतारीको वेबपेजमा हेर्न सकिन्छ।
लेखक/पाठक
वसुधा सन् १९६० र १९७० को दशकमा काठमाडौंबाट अंग्रेजीमा प्रकाशित हुने महत्वपूर्ण म्यागेजिन/जर्नल थियो। सन् १९६० पछि नेपालको प्राज्ञिक वृत्त निर्माणमा महत्वपूर्ण योगदान दिने अधिकांश व्यक्तिका लेख रचना यस पत्रिकामा पढ्न सकिन्छ। उदाहरणका लागि कमलप्रकाश मल्लका १२, यदुनाथ खनालका ९, हृषीकेश शाहका २२, लोकराज बरालका १२, मोहम्मद मोहसिनका सात र हर्क गुरुङका सातवटा लेख यस पत्रिकामा प्रकाशित भएको मैले देखेको छु। त्यसैगरी यादवप्रसाद पन्त, ध्रुवमान अमात्य, देवेन्द्रराज पाण्डे, अमृतमान प्रधान, ऐश्वर्यलाल प्रधान, डोरबहादुर विष्ट, रामनिवास पाण्डे, बालकृष्ण पोख्रेल, प्रेमरमण उप्रेती र केशरबहादुर केसीजस्ता प्राज्ञिक र प्रशासनिक जीवन बिताएका व्यक्तिले समेत वसुधामा लेख लेखेका छन्। कीर्तिनिधि विष्ट, रामहरि जोशी, प्रकाशचन्द्र लोहनी, बद्रीप्रसाद श्रेष्ठ र पशुपतिशमशेर जबरा जस्ता पञ्चायत र पञ्चायतपछि राज्य सञ्चालनमा सक्रिय भएका व्यक्तिका लेख पनि वसुधामा पढ्न पाइन्छ।
साथै विदेशी समाज अध्येताहरू अर्नेस्ट गेल्नर, एन्ड्र होफर, फेड्रिक गेज, माइकल विट्जेल, मेरियल गुडअल, एनआर बनर्जी र एन्थोनी टुकरका नेपाली समाजबारेका लेख पनि वसुधामा पढ्न पाइन्छ। नेपालका लागि विभिन्न देशका तत्कालीन राजदूत स्क्यारोल सी लाइस, (अमेरिका), राजबहादुर (भारत), हेनरिक सिमेन (जर्मन)का लेख पनि वसुधाले प्रकाशित गरेको देखिन्छ। त्यतिमात्र होइन, लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, गोपालप्रसाद रिमाल र बीपी कोइरालाका रचनालाई अंग्रेजीमा अनुवाद गरी वसुधाले छापेको थियो। विख्यात चित्रकार लैनसिंह बाङ्देलले वसुधाको अधिकांश अंकको ‘फ्रन्टपेज ले–आवट डिजाइनिङ’ गरेको देखिन्छ। त्यसैले कलाका हिसाबले वसुधाका ‘फ्रन्टपेज ले–आवट’ आफैंमा ऐतिहासिक महत्वका छन्। वसुधामा प्रकाशित सामग्रीबारे भविष्यमा छुट्टै लेख लेख्नु आवश्यक छ। त्यसैले यो पक्षबारे यस लेखमा छलफल गरिएको छैन। यद्यपि वसुधामा प्रकाशित भएका लेखलाई सर्सरी हेर्दा के भन्न सकिन्छ भने सबै पक्ष र विचार (तत्कालीन अवस्थामा पञ्चायत र गैरपञ्चायत दुवै पक्ष)लाई यस म्यागेजिन/जर्नलले स्थान दिएको थियो।
वसुधाका पाठक को थिए भनी अहिले यकिन गर्न कठिन छ। वसुधामा लेख रचना लेख्ने व्यक्तिहरू, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि र तत्कालीन समयमा नेपालमा अनुसन्धान गर्न आइपुगेका केही विदेशी अनुसन्धाता यसका पाठक थिए होलान्। साथै, विशेषगरी त्रिविका अंग्रेजी, इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल र पुरातत्व र संस्कृति विभागमा कार्यरत प्राध्यापकका लेख रचना वसुधामा छापिएको देखिन्छ। यसबाट यी विभागमा कार्यरत केही प्राध्यापक र विद्यार्थी वसुधाका पाठक थिए भनी अहिले अनुमान गर्न सकिन्छ।
किन पढ्ने ?
वसुधाको बाह्रौं वार्षिकोत्सव (सन् १९७०) मा विद्वान् यदुनाथ खनालले वसुधा प्रकाशन गर्ने कार्यलाई सन् १९५० को क्रान्तिपछि नेपाली युवाले सुरु गरेको ‘प्रशंसनीय उद्यम’ भनेका थिए। खनालका अनुसार सन् १९५० पछि नेपालले विश्वसँग संवाद गर्न (विदेशीका लागि नेपाल बुझ्न)का लागि वसुधा महत्वपूर्ण म्यागेजिन हो। खनालले भनेजस्तै पञ्चायतका सुरुका दुई दशक बुझ्न चाहने विशेषगरी विदेशी (अंग्रेजीभाषी)का लागि वसुधा नपढी नहुने म्यागेजिन थियो।
मेरो विचारमा वसुधाको अध्ययन गर्नु तीन कारणले महत्वपूर्ण छ। पहिलो, सन् १९६०–१९८० को दशकमा काठमाडौं उपत्यकाका शिक्षित–नवसम्भ्रान्त वर्गले नेपाली राज्य र समाजबारे के सोच्थे भन्ने बुझ्न यो जत्तिको गहकिलो र फराकिलो प्रकाशन अरू छैन। वसुधामा निरन्तर लेख्नेहरू नेपालका शिक्षित नवसम्भ्रान्तदेखि नेपालबाहिर विशेषगरी भारत, बेलायत र अमेरिकामा उच्च शिक्षा पाएका, अंग्रेजी भाषामा दखल भएका नै देखिन्छन्। राज्यव्यवस्था र शक्तिकेन्द्र (तत्कालीन राजदरबार)लाई राम्रोसँग बुझेका, धेरै हदसम्म राज्य सञ्चालनमा पहुँच/प्रभाव राख्न सक्ने र यसबाट प्रत्यक्ष फाइदा लिएको समूह पनि यही हो। नेपाली राज्य/समाजको चरित्र र नेपालको उन्नति, प्रगति र विकासबारे उनीहरूको बुझाइको प्रभाव सोही दशकमा मात्र सीमित नरही सन् १९९० को राजनीतिक परिवर्तनपछि पनि प्रभावशाली छ। त्यसैले पनि वसुधामा प्रकाशित लेख नेपाल अध्ययन गर्नेले पढ्नैपर्ने हुन्छ।
दोस्रो, नेपाल अध्ययन गर्ने विदेशी अनुसन्धाता र नेपालस्थित विदेशी नियोग/दूतावासका पदाधिकारीले वसुधामा बारम्बार लेखेको देखिन्छ। नेपाली समाज (कमसेकम काठमाडौं उपत्यका) बुझ्न पनि उनीहरूलाई माथि भनिएजस्तै यो म्यागेजिन/जर्नल पढ्नु आवश्यक थियो। र तेस्रो, वसुधाको सामाजिक जीवनले पञ्चायती शासनको उर्वर कालमा समेत नागरिकका तहबाट सार्वजनिक वृत्तको सबलीकरणमा के गर्न सम्भव थियो भन्ने कुरालाई प्रस्टसँग देखाउँछ। त्यसैगरी प्राज्ञिक गतिविधिका लागि समाज र राज्यका तर्फबाट आवश्यक पूर्वाधार विकास भइनसकेको हाम्रोजस्तो समाजमा सामान्य नागरिकले चाहँदा के सम्भव हुन्छ भन्ने उदाहरण पनि वसुधा हो। वसुधामा प्रकाशित लेखको स्तरमा प्रशस्तै विविधता अर्थात् तलमाथि छ। यद्यपि ध्यान दिनुपर्ने कुरा के छ भने सो समयमा राज्य नियन्त्रित मिडिया र प्रकाशन बढी भक्तिगान र शक्तिगानमा रमाइरहेका बेला वसुधामा प्रकाशित लेख केही आलोचनात्मक छन्। यिनले सचेत र बौद्धिक नागरिक तयार पार्न सघाएकै देखिन्छ। समग्रमा भन्ने हो भने वसुधाको सार्वजनिक जीवनको अध्ययन पञ्चायत बुझ्ने एउटा महत्वपूर्ण आँखीझ्याल हो।
अन्त्यमा,
नेपालको पत्रकारिताको इतिहासमा पनि वसुधाबारे खासै उल्लेख भएको पाइँदैन। इतिहास लेखन मूलतः राजनीतिक तथा साहित्यकेन्द्रित पत्रपत्रिकामा केन्द्रित भएकाले पनि यस्तो भएको हुन सक्छ। मेरो विचारमा नेपाल अध्ययन गर्ने अनुसन्धाताले कम पढेको, कम छलफल भएको र कम उद्धृत भएको महत्वपूर्ण म्यागेजिन/जर्नल हो, वसुधा।
वसुधामै छापिएका लेख संकलन गरी छापिएका पुस्तक चर्चित भइरहँदा ती लेख पहिलोपल्ट छाप्ने वसुधा ओझेलमा पर्नुचाहिँ आश्चर्य नै हो।@devenuprety समाज अध्येता हुन्।