७५ वर्षअघि आजै अर्थात् पुस २६ को सम्पादकीय

- लोकरञ्‍जन पराजुली | 2021-09-24

लोकरञ्जन पराजुली

हिउँमाण्डु

गएको वर्ष मध्य फागुनतिर काठमाण्डूमा हिउँ परेको थियो। उपत्यका वरपरका सबैजसो डाँडा हिउँले सेताम्मे ढाकिएका देखिन्थे। भक्तपुर, ललितपुरका केही मैदानी भागमा समेत हिउँका फूल झरेका थिए। हिउँ छुने, हिउँमा खेल्न चाहनेहरू डाँडाकाँडातिर बत्तिँदै थिए- धेरै मोटरसाइकलमा घुइँकिँदै थिए, कोही पैदलै पहाड चढ्दै थिए। जताततै मानिसको घुइँचो थियो। अनि केबलकार चढेर चन्द्रागिरि जानेहरूको लामो लर्को अर्को थियो।

त्यसो त प्रत्येक हिउँदजसो फुलचोकी, चन्द्रागिरिमा हिउँ पर्छ। गएको महिना (मंसिर)मा समेत चन्द्रागिरिमा हिउँ बर्सेको थियो। गएको साता छेउछाउका डाँडामा हिउँ बिरबिराएको देखिन्थ्यो। यही हिउँदका बाँकी बचेका दिनमा चारभञ्ज्याङभित्र हिउँ-फूल बर्सिए भने अनौठो नमाने हुन्छ।

आजभन्दा बाह्र-तेह्र वर्षअघि (२०६३ फागुन) पनि काठमाण्डू खाल्डोमा हिउँ फुसफुसाएको थियो। ‘प्रणय दिवस’ पनि भनिने गरेको ‘भ्यालेन्टाइन्स् डे’का दिन हिउँ परेकाले कतिपय युगल जोडीहरूले त्यही दिनदेखि नयाँ जीवनको सुरुआत गरेका थिए।

काठमाडौंमा यति चाँड्चाँडै हिउँ पर्न थाल्नु अलि अनौठो जस्तो देखिन्छ। सम्भवत : यो बदलिँदो समयको द्योतक हो। जलवायु परिवर्तनका कारण धरतीको तापक्रम बढ्दै जाँदा हाम्रैमा पनि एकातर्फ हिमालका हिउँ रित्तिँदै छन्। अर्कोतर्फ, ‘एक्स्ट्रिम वेदर’ देखापरेका छन्- कहिले एकदमै जाडो, कहिले एकदमै गर्मी, कहिले अति ठूलो वर्षा, अनि कहिले भने खडेरी।

काठमाण्डूमा आजभन्दा ७५ वर्षअघि, २००१ सालमा, पनि हिउँ परेको रहेछ। अलि ठूलै। त्यसअघि चार भञ्ज्याङभित्र हिउँको वर्षा भएको त्यतिखेर जीवित व्यक्तिहरू कसैको स्मरणमा नभएको ‘गोरखापत्र’ले लेखेको छ। सो हिउँ-वर्षाबारे एक सालको पुस र माघका ‘गोरखापत्र’मा एउटा मुख्य समाचार र तीन टुक्रे समाचार छापिएका छन्। एउटा सम्पादकीयमा समेत सो हिउँ-वर्षाले ठाउँ पाएको छ। यहाँ सो मुख्य समाचार र अरू टुक्रे समाचार जस्ताको तस्तै पस्किइएको छ। तीन टुक्रे-सामग्रीको छायाँ-प्रति समेत दिइएको छ।

गोरखापत्रका अनुसार २००१ पुस २१ गते रातिदेखि काठमाण्डू उपत्यका र छेउछाउका इलाकामा अविरल पानी परेको थियो। यो वर्षा २२ र २३ गते दिनभर जारी रह्यो। स्वाभाविकै हो, पुस-माघमा झरी परेपछि जाडो उल्कै बढ्यो। २३ गते दिउँसो चार बजेदेखि भने काठमाण्डू खाल्डोभित्र पानीको साटो हिउँ वर्षन थाल्यो। त्यो पनि बाक्लै। यो हिउँ साँझ ७ बजेसम्म परिरह्यो। हिउँ चार भञ्ज्याङभित्र मात्र घोप्टिएको थिएन, छेउछाउका पहाडी इलाका त झन् हिउँले ढपक्कै ढाकिएका थिए।

भोलिपल्टसम्म पनि काठमाण्डू खाल्डोभित्र हिउँ पग्लेको थिएन। वरपरका डाँडाकाँडामा त त्यो निकै दिन पछिसम्म पग्लेन।

पुस २६ गतेको गोरखापत्रमा छापिएको सम्पादकीयअनुसार त्यो वर्ष ‘नेपाल’ अर्थात् काठमाण्डूमा ‘पचासन् वर्ष यता कहिल्यै नदेखिएका कुरा’ देखिएका थिए। हिउँ त देखियो नै, त्यसको साथै ‘मध्येसको पाटेबाघ, आकाशको जहाज, श्री ५ महाराजाधिराजको तीर्थयात्रा, अभूतपूर्व संख्यामा गोरखालीहरूले पाएको भी.सी. इत्यादि धेरै रमाइला कुराहरू देखिए, सुनिए।’

गोरखापत्रले थप्यो, ‘हिउँले गर्दा सहकाल हुन्छ भनेर किसानहरू खुशी छन्। रूखका हाँगाहरू भाँचिएकाले गरीबहरू प्रसन्न छन्। कहिल्यै नदेखिएको सेतो नेपाल देख्न पाउँदा केटाकेटीहरू पनि खुशी छन्।’

हिउँले खुसी मात्र ल्याएको थिएन। बौद्धमा अविरल पानी र हिउँले गर्दा दुईवटा पराले घर भत्किएका थिए, यद्यपि जनधनको थप क्षति त्यहाँ भएन। त्यस्तै, ‘हिउँको बोझाइले गर्दा नेपालमा तारहरू टुटी पौष २३ गतेदेखि सुन्दरीजलतर्फ बिजुली बत्ती’ बलेन। टेलिफोनका लाइनहरू बिग्रिए। ‘जाडो र अन्धकारको प्रबलताबाट दुनियाँतर्फ भएको आपत’ त झन् ‘भनिसाध्य’ थिएन।

त्यस्तै, बालीनालीको ठूलै नोक्सानी भयो। थुप्रै चराचुरुंगी र गाईबस्तुहरू मरे। हात्तीसारलगायत विभिन्न स्थानका बाँसका झ्याङ र अन्य बोटबिरुवाको हानि भयो।

अझ दु :खलाग्दो कुरो, सो हिउँका कारण एउटा किसान र अर्को एक जना गरी दुईको ज्यानसमेत गयो। माघेसंक्रान्ति नजिकिँदै गरेकाले केदार तामाङ नाम गरेका एक किसान तरुल खनेर तल फेदीमा बेच्न गएका रहेछन्। बेचेर फर्कंदै गर्दा बाटोमा हिउँ पर्न थाल्यो। रूखमुनि ओत लागे पनि हिउँ÷जाडोले केदारलाई निलेरै छाड्यो। उता गोरखामा पनि अर्को एकजना हिउँले पुरिएर मरे।

यो हिउँ-चर्चालाई यहीँ छाडेर अब पढौं गोरखापत्रमा छापिएका हिउँ-वर्षाका केही समाचार। यी समाचारले हामीलाई तत्समयमा प्रयुक्त हुने भाषा, हिज्जे, व्याकरण आदिबारे पनि बताउँछन्। र, सँगै तात्कालिक नेपालको एउटा सानो झाँकीसमेत तिनले प्रस्तुत गर्छन्। उदाहरणका लागि आजकाल नेपाली आकाशमा दिनदिनै सयौं जहाज उड्छन्। तर, त्यतिखेर हाम्रो आकाशमा ती ‘चीलगाडी’ यदाकदा देखिन थालेका थिए र ती समाचारका विषयवस्तु बन्थे।

@parajulilr

स्रोतः http://annapurnapost.com/news/145244


About the Author