किताबमाथि कहर

- लोकरञ्‍जन पराजुली | 2021-09-24

लोकरञ्जन पराजुली

काठमाडौँ — सन् २००० को अक्टुबर महिना । दसैंले काठमाडौंलाई छपक्कै छोप्न थालिसकेको थियो । अरू वर्षझैं दसैं मनाउन म आफू जन्मे–हुर्केको घर पोखरातर्फ हान्निएँ । काटमारमा रुचि नराख्ने, जाँड–जुवातासमा खासै नरम्ने भएपछि छुट्टीका दिनमा गर्ने काम पनि खासै नहुँदा रहेछन् ।

अल्छी मान्दै म पढ्ने किताब खोज्दै थिएँ । केही रोचक पुस्तक पाइएला कि भनेर बाका पुराना किताबका संग्रह खोतल्न थालें ।एउटा अलि मैलो, पुरानिएको पुस्तक झिकेर पल्टाएँ । पोखराकै सामाजिक अभियन्ता तथा पहिलो संसद्का महासभा सदस्य मुक्तिनाथ शर्माले अनुवाद गरेको ‘कीरातार्जुनीय’ पुस्तक रहेछ । आफूले पढ्न चाहेको पुस्तक थिएन त्यो । तर, पनि पुस्तकका पाना सरर पल्टाएँ । पल्टाउँदै जाँदा एउटा पानामा लागेको छापमा मेरा नजर टक्क अडिए । अण्डाकार त्यो छापमा लेखिएको थियो— आदर्श पुस्तकालय, स्था. २००७, पोखरा ।

सायद मैले आदर्श पुस्तकालयबारे पहिले कतै सुनिसकेको हुँदो हुँ । तर, त्यसअघि मैले सो पुस्तकालयबारे कहिल्यै ध्यान दिएर सोचेको थिइनँ । यसपालि भने त्यो छापले मेरो दिमाग रन्थनियो । मैले आफैँलाई सोधेँ— २००७ सालमा पोखरामा पुस्तकालय ?

पञ्चायतकालमा जन्मे–हुर्केको म । मैले मेरो स्कुले जीवनमा कहिल्यै पुस्तकालयको दर्शन पाइनँ । सूचना विभागको ‘वाचनालय’ चाहिँ तेर्सापट्टिमा देखेको र कहिलेकाहीँ छिरेको पनि हुँ । तर, पोखरामा एउटै सार्वजनिक पुस्तकालय थिएन, म स्कुल पढ्दै गर्दा ।

मैले बालाई त्यो छाप देखाउँदै आदर्श पुस्तकालयबारे सोधें । उहाँले सो पुस्तकालयबारे सामान्य बेलिविस्तार लगाउनुभयो । पोखराका चल्तापुर्जा युवाहरूले २००७ सालको वरिपरि यो पुस्तकालय खोलेका थिए । एक समय यो पोखराको गहना थियो । यही पुस्तकालयमा आएर ठूला नेता र मन्त्रीले भाषण दिएका थिए । खुलेको केही वर्षपछि अलि निष्क्रियजस्तो भएर रहेको यो पुस्तकालयको सञ्चालनको जिम्मा पछि मेरा बाले लिनुभएको रहेछ ।

मैले पछि थाहा पाएँ, पोखरामा अरू पनि पुस्तकालय खुलेका रहेछन् । आदर्श पुस्तकालय स्थापना भएको केही समयपछि कुँडहरमा अरण्यज्योति पुस्तकालय खुलेको रहेछ । नारी विकास, ज्ञानज्योति र अरू स–साना पुस्तकालय पनि कुनै समय पोखरामा खुलेका, चलेका रहेछन् । त्यसबाहेक, पोखरा बजारमा ब्रिटिस लाइब्रेरी र इन्डियन लाइब्रेरी पनि सञ्चालित थिए ।

बालाई सोधेंको थिएँ, ‘त्यो पुस्तकालय कहाँ गयो, के भयो ?’ २०१७ सालमा महेन्द्रले बहुदलीय प्रजातन्त्र मासेर आफ्नो एकछत्र राज सुरु गरे । पहिलो जननिर्वाचित संसद् भंग गरे, राजनीतिक दलउपर प्रतिबन्ध लगाए, धरपकड गरे, अनि राजनीतिक नेता–कार्यकर्तालाई जेलमा कोचे । राजनीतिक दल र तिनका भ्रातृ संगठन मात्रलाई गैरकानुनी भनेको भए तापनि तत्कालीन बडाहाकिम तेजबहादुर प्रसाईले सो पुस्तकालय समेत बन्द गर्ने आदेश दिएछन् ।

मेरो दिमाग झन् रन्थनियो— पुस्तकालय किन बन्द गर्नुपरेको होला ! सोचें, यदि त्यो पुस्तकालय मैले, मेरो पुस्ताले पनि प्रयोग गर्न पाएको भए ! मलाई अचम्म लागिरह्यो, कता–कता के–के नमिलेको जस्तो लागिरह्यो । मेरा बाहरूको पालामा पुस्तकालय हुने अनि हाम्रो पालामा नहुने ! अचम्मैको कुरा थियो । ‘विकास’ को गति उल्टो बहेको थियो । हुन त पोखरामा पहिले जहाज पुगेको हो अनि पछि मात्र गाडी, साइकल, बयलगाडा इत्यादि ।

यो घटनापछि मेरो चासो पुस्तकालयतर्फ अलि बढ्यो । पुस्तक, पत्रिका, स्मारिकामा छापिएका पुस्तकालयसम्बन्धी समाचार सामग्री ध्यान दिएर हेर्न, संकलन गर्न थालें । ती सामग्रीलाई एक ठाउँमा राखेर केलाउँदा एउटा निश्चित प्रवृत्ति मैले देखें त्यहाँ । त्यो के भने, पञ्चायती सत्ताले, त्यसका एजेन्ट वा संयन्त्रले प्रक्रियाबद्ध ढंगबाट सार्वजनिक पुस्तकालयमाथि आक्रमण गरेका रहेछन् । बन्द गराएका रहेछन् ।

केही उदाहरण हेरौं । काभ्रेको अमरकोटमा साहित्यकार कृष्णप्रसाद पराजुली र गाउँलेहरू मिलेर २००८ सालमा स्कुल र २०१३ सालमा जागृति पुस्तकालय खोलेका रहेछन् । सो पुस्तकालयबारे पराजुली लेख्छन्, ‘पुस्तकालय... (खुलेपछि) गाउँमा जागृतिको शंख निकै फुकियो । ठाँटीको चहलपहल, केटाकेटीको पढ्ने चाहना, ग्रामीण जनताको आशाले सन्तुष्टिको यस्तो उल्लास ल्यायो, त्यस ठाउँको लोकगीत समेत बनेरगुन्जिन थाल्यो–घामै लाग्यो हेर न घमाइलोअमरकोट ठाँटी क्या रमाइलो !चरी बस्यो बाँसैको मुनामापढौं पुस्तक पसलको कुनामा ।’तत्कालीन सरकारले गाउँगाउँमा खुलेका यस्ता पुस्तकालय दर्ता गरी केही आर्थिक सहायतासमेत दिने गरेको रहेछ । जागृति पुस्तकालयले पनि २०१७ सालमा सरकारी दर्ता पाएर २०१८ सालदेखि आर्थिक सहायता पाउने भएछ । यस कुराबाट मखलेल भएका पराजुली लेख्छन्, ‘म आफ्नो सफलतामागदगद भएँ, तर यो खुसीले प्राप्ति देख्न पाएन । त्यसैबीच २०१७ सालको परिवर्तन आयो । धेरै कुरा यताउति परे ।’

यहाँनेर ‘यताउति परे’ भन्नुको एउटा मतलब हो— जननिर्वाचित सरकारले पुस्तकालयलाई दिँदै आएको आर्थिक सहयोग व्यवस्था परिवर्तनसँगै बन्द हुनु । शिव रेग्मीले लेखेका छन्, ‘सत्र सालपछि पुस्तकालयहरू आर्थिक सहयोग र प्रोत्साहनको अभाव तथा सरकारी नियन्त्रणबाट सुक्दै जान थाले र प्रायः बन्द भए । २०१९ सालमा संविधानमा र ऐनमा समेत राजनीतिक उद्देश्यले प्रेरित संघ–संगठन खोल्न प्रतिबन्ध लगाएका हुन् तापनि सार्वजनिक संघ–संस्था खोल्नसमेत झैझमेला हुन थाल्यो र यस्ता संघ–संस्था खोल्न मानिसहरू डराउन थाले । पुस्तकालयको संख्या बढ्नुको सट्टा घट्दै गयो ।’

सर्लाहीको मलंगवामा २००४ सालमा स्थापित मनोहर मोहन (पछि जनविकास) पुस्तकालय २०१७ सालको महेन्द्रको कूपछि कसरी शनैःशनैः समाप्त पारियो भनेर लक्ष्मण उपाध्याय लेख्छन्, ‘२०१७ सालको राजनीतिक परिवर्तनपछि शाही सेना र प्रहरीलाईजिल्ला जिल्लामा परिचालन गरियो । यसै क्रममा सर्लाही आएको डफ्फालेपुस्तकालय रहेको घर कम्पाउन्डलाईआफ्नो बासस्थान बनायो । बीच बजारमा रहेको पुस्तकालयको जग्गामा भवन सकिएको थिएन ।

खाली रहेको जग्गालाई आफ्नो बनाउन चाहनेहरू यस्तै मौका खोजिरहेका थिए । उनीहरू अनेक बहानामा पुस्तकालय बन्द गराउन प्रयत्नशील थिए । स्थानीय प्रशासकहरूको पनि यसमा सहमति थियो । निहित स्वार्थीहरूको सक्रियतामा जनविकास पुस्तकालय गाउँ पञ्चायत भवनमा सारियो । गाउँ पञ्चायतले पुस्तकालय सञ्चालन गराउनुको साटो पहिले त्यसको फर्निचरमा आँखा गाड्यो । पछि पुस्तकालयको अस्तित्व नै मेटाउनेतर्फ उन्मुख भयो ।... पुस्तकालयको जग्गाचाहिँ निजी सम्पत्तिमा परिणत भयो ।’

त्यस्तै, चितवनको अर्को पुस्तकालयबारे पूर्णप्रसाद अधिकारीले लेखेका छन्, ‘२०१६ सालमा चितवनको नारायणगढ बजारमा नारायणी पुस्तकालय स्थापना गरिएको थियो ।... यस संस्थाका व्यक्ति नेपाली कांग्रेसका भएकाले यो पुस्तकालय बारम्बार पञ्चायती आक्रमणको सिकार भयो । २०२६ सालतिर केही उग्र पञ्चेका चेला मानिने भिजिलान्तेहरूले पुस्तकालय तोडफोड गरी अत्यन्तै मूल्यवान पुस्तकहरूलाई नारायणी नदीमा बगाइदिए ।’

सनत रेग्मीले नेपालगन्जको प्रेम (पछि महेन्द्र) पुस्तकालयबारे, कृष्णप्रसाद बस्यालले जुम्लाका पुस्तकालयबारे, वनमाली ‘निराकार’ ले पाल्पाको धवल पुस्तकालयबारे, हिक्मत खड्काले धरानका पुस्तकालयबारे लेखेका सामग्रीमा पनि पञ्चायती सत्ता र त्यसका एजेन्टले सार्वजनिक पुस्तकालयउपर कसरी दागा धरेका थिए भन्ने संकेत पाइन्छ । पञ्चायती सत्ताले पोखरा र अन्य केही सहरमा खुलेका ‘विदेशी’ पुस्तकालय पनि बन्द गराइदिएको थियो ।

यी सबै पढिसकेपछि म झन् अचम्भित भएको थिएँ– ‘शिक्षाको मूल फुटाउने’ नारा दिने सरकारले किन पुस्तक वा पुस्तकालयउपर यसरी आक्रमण गरेको होला ! थप पढ्न, खोतल्न थालें । पछि पुस्तकालयसम्बन्धी थप अध्ययन गर्दा मेरा बा र अरू थुप्रैलाई आदर्श र अन्य पुस्तकालयबारे, तिनमा संगृहीत पुस्तक, तिनका प्रयोगकर्ता, तिनले गर्ने गतिविधिबारे खोज–पड्ताल गरेको थिएँ । पोखराको आदर्श पुस्तकालयलाई बडाहिकम तेजबहादुरले किन तत्कालै बन्द गर्ने आदेश दिए होलान् भन्नेमा मलाई निकै चासो थियो ।

अध्ययनबाट मैले के पाएँ भने सार्वजनिक पुस्तकालय पञ्चायती सत्ताको तारो बन्नुका कारणमध्ये एउटा त ती पुस्तकालयसँग सम्बन्धित व्यक्तिहरूको ‘राजनीतिक’ आबद्धता थियो । दोस्रो, पुस्तकालयले गर्ने सार्वजनिक गतिविधि थिए । तेस्रो, तिनले उपलब्ध गराउने ‘स्पेस’ थियो । र, चौथो तिनमा संगृहीत हुने सामग्री थिए । आदर्श पुस्तकालयका संस्थापक ‘कांग्रेसी’ हरू थिए । त्यसैले, सो पुस्तकालय ‘युजुअल सस्पेक्ट’ त हुने भइहाल्यो । तर, त्योभन्दा बढी त्यसले समय–समयमा आयोजना गर्ने कार्यक्रम आँखाका कसिंगर थिए । पुस्तकालयले ‘सार्वजनिक वृत्त’ को भूमिका निर्वाह गरिरहेको थियो ।

एउटा उदाहरण हेरौं । नेपालमा २००७ पछि लगत्तै हुनुपर्ने संविधानसभाको चुनाव धेरै वर्षसम्म हुन सकेन । व्यापक दबाबपछि अन्ततः महेन्द्र आमचुनाव गराउन तत्पर भएका थिए, त्यो पनि संविधानसभाको होइन संसद्को । संसद्को चुनाव नजिकै आइसकेको थियो, सबै जना निर्वाचनमा होमिइसकेका थिए, तर संसद् कसरी बन्छ, कसरी चल्छ कसैलाई केही अत्तोपत्तो थिएन । संविधानै थिएन । बल्ल आमचुनावको एक हप्ताजति अघि महेन्द्रले संविधानको खोस्टो फ्याँकिदिए ।

यो संविधानको धारा ५५ मा यस्तो व्यवस्था पनि थियो, जसमार्फत राजाले चाहेका बेला शासनसत्ता खोस्न सक्थे । केही समयपछि भयो पनि त्यस्तै । संविधानमा त्यस्तो व्यवस्था देखेपछि मेरा बालाई लागेछ— यो त सही होइन । बाहरूले आदर्श पुस्तकालयमा नयाँ संविधानउपर बहस गर्न कार्यक्रम आयोजना गर्नुभएछ । संविधानमा राखिएको त्यस्तो प्रावधानउपर प्रश्न गर्नुभएछ ।

जब महेन्द्रले कू गरे उनका अनुचर बडाहाकिमले राजाको कदमको वैधतालाई प्रश्न गर्ने ठाउँलाई के बाँकी राख्थे ! त्यसमाथि कांग्रेसीहरू संस्थापक भएका संस्था ! महेन्द्रले शासनसत्ता बलात हातमा लिएपछि सार्वजनिक जीवनमा सन्नाटा छाएको थियो । सरकारी ढ्वाङहरूले एकथरी समाचार प्रसारण गर्थे, छाप्थे । हल्ला अर्कै आउँथ्यो– दिनदिनै हत्याको, हिंसाको । यस्तैमा एक दिन बडाहाकिम तेजबहादुर प्रसाईले सादा पोसाकका दुई प्रहरी खटाएछन् मेरा बालाई लिन ।

प्रहरीसँगै बडाहाकिमकहाँ पुगेका मेरा बालाई उनले आदर्श पुस्तकालय बन्द गर्ने आदेश दिएछन् । मेरा बाले यो त शैक्षिक संस्था पो हो भन्नुभएछ । प्रसाईले भनेछन्, ‘मलाई थाहा छ त्यो कस्तो संस्था, त्यहाँ के–कस्ता गतिविधि हुन्छन् भनेर ।’ मेरा बाले गर्न सक्ने धेरै ठाउँ थिएन । त्यसपछि आदर्श पुस्तकालय बन्द भयो । ज्ञानको ढोकामा ताल्चा ठोकियो ।त्यसपछि बन्द भयो नारी विकास पुस्तकालय । अरण्यज्योति पनि बन्द भयो । ज्ञानज्योति पुस्तकालयमा पनि आक्रमण भयो । यीमध्ये केही बन्द हुनुमा तिनका संस्थापक–सञ्चालको राजनीतिक आबद्धता कारक थियो । केहीमा संगृहीत सामग्रीका कारण आक्रमण गरिएको थियो । अध्येता स्टेफन माइकसेलका अनुसार तनहुँ, बन्दीपुरको पद्म पुस्तकालयमा अनुगमन गर्ने क्रममा सत्ताका अनुचरले ‘कंग्रेस अफ सोभियत्स’ भन्ने पुस्तक भेट्टाएछन् । पुस्तकको नाम ‘अराष्ट्रिय तत्त्व’ भनिने प्रतिबन्धित दल नेपाली कांग्रेससँग मिल्न गएकाले सो पुस्तक त्यहाँबाट हटाउन ती अनुचरले आदेश दिए र सो पुस्तक हटाइएछ पनि ।

तानाशाही व्यवस्थामा शासक र व्यवस्थालाई नरुचेका पुस्तक जलाइएका बग्रेल्ती उदाहरण छन् । सन् १९३३ मा हिटलरको नाजी पार्टी शासनमा आएपछि उसले गरेका एउटा काममा पुस्तकालयलाई नियन्त्रणमा लिनु थियो । अध्येता स्टिगका अनुसार, पुस्तकालयबाट यहुदीहरूले लेखेका पुस्तक हटाएर आगो बालिएको थियो । राविन्स्कीले रसियामा कम्युनिस्ट शासन हुँदा कसरी ‘मास लाइब्रेरी’ हरूमा अन्तर्वस्तु (पुस्तक) नियमन गरिन्थ्यो भनेर लेखेका छन् ।

त्यसैगरी चिनियाँ सांस्कृतिक क्रान्तिको दौरान सत्ताले अनावश्यक ठह‍र्‍याएका पुस्तक बाहिर बाटोमा ल्याएर जलाइएको थियो ।मेरा बाको पुस्ताले बरु पुस्तकालयसम्म थोरबहुत पहुँच पाए । तर, मेरो पुस्ताले सार्वजनिक पुस्तकालयको मुख देख्न पाएन । कसैले घरमा आफ्ना बाउ–आमाले किनेर ल्याइदिएका किताब थोरबहुत बाँचे होलान् । कसैले अलि ठूलो भएपछि येनकेन केही पुस्तक खरिदेर, सापटी लिएर पढे होलान् ।

तर, समग्रमा हामी बाहिरी पुस्तक नदेखी–नपढी हुर्कियौं । पञ्चायत त पञ्चायत भइगयो, बहुदल आएपछि पनि पुस्तकालय खोलौं, पुस्तकमा, ज्ञानमा, समाज विज्ञानमा लगानी गरौं भन्ने हाम्रा कुनै शासकले ठानेनन् । उल्टो, अहिले बाहिरबाट आउने पुस्तकमाथि करको भार थोपरिएको छ । करकै कारण विदेशबाट आउने पुस्तक अहिले बजारमा पाइन छाडेका छन् ।

विद्यावारिधि गरेका, पुस्तक लेखेका रामशरण महतले पनि आफू अर्थमन्त्री हुँदा पुस्तकमा कर लगाएका थिए । तर, विरोध भएपछि उनले फिर्ता लिए । थोरै समझ देखाए । अहिले पनि विद्यावारिधि गरेका अर्का अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने किताबमा पुनः कर लगाइदिएका छन् ।

मलाई थाहा छैन, वर्षभरिमा किताबको कति कर उठ्दो हो । अहिलेका प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउन जति खर्च गरे, किताबको कर त्यति उठ्दो हो ? खर्बौंको बजेट बन्ने मुलुकमा त्यो सानो रकमको कुनै ठूलो महत्त्व हुन्छजस्तो मलाई लाग्दैन । र, ‘कर’ कै कारण पुस्तकउपर कहर बढाइएको हो भन्ने पनि म मान्दिनँ । सत्ताधारी पार्टीका अध्यक्षले भनेकै हुन्— मान्छे बढी पढेर बौलाए भनेर । यहाँ बौलाउनु भनेको उनलाई प्रश्न गरियो भनेको हो । उनको आलोचना गरियो भनेको हो ।

हो, यो मेरो सरकार प्रश्नसँग डराउँछ । ज्ञान, बुद्धि, विवेकसँग डराउँछ । तसर्थ, यो फगत पुस्तकउपर कर लगाइएको होइन । यो त ज्ञान, बुद्धि र विवेकउपरको आक्रमण हो । नागरिकलाई बुद्धू बनाउने, भेडा तुल्याउने प्रपञ्च हो । पंगु तुल्याउने षड्यन्त्र हो । मेरा बाहरू पुस्तकालय बन्द गरिँदा टुलुटुलु हेरिरहन बाध्य थिए । मेरो पुस्ता किताबमाथि करको अंकुश लगाएको झेल्न अभिशप्त छ ?

प्रकाशित : फाल्गुन १७, २०७६ १२:०९

स्रोतः https://ekantipur.com/koseli/2020/02/29/158295748602931839.html


About the Author

More Blogs