शैक्षिक सङ्घर्षका दुई साक्षी

- अर्जुन पन्थी | 2022-08-12

जुद्धोदय र मदन स्मारक स्कूल स्थायी थातथलो नभएकैले लामो समय डुलन्ते शैलीमा चले। तर, नेपालमा व्यावसायिक शिक्षाको प्रारम्भिक गोरेटो कोर्न यिनलाई भवन र जग्गा अभावले रोकेन।

काठमाडौंका पुराना शिक्षालयमध्ये पर्छन्, जुद्धोदय पब्लिक (जेपी) र मदन स्मारक। २००७ सालको प्रजातान्त्रिक उपलब्धिलाई केन्द्रमा पारेर हेर्दा यी दुई स्कूल त्यसअघि र पछिको राजनीतिक/सामाजिक सङ्क्रमणका साक्षी पनि हुन्। १९९५ सालमा खोलिएको जेपी हाइस्कूलमा केटा मात्र पढ्थे।

२०११ सालमा खुलेको मदन मेमोरियल गल्र्स हाइस्कूलमा केटी मात्र। त्यति वेला सहशिक्षा अर्थात् केटाकेटी सँगै राखेर पढाउने प्रचलन थिएन। नेपालमा व्यावसायिक शिक्षाको प्रारम्भिक गोरेटो कोर्नेमध्येका यी स्कूलले त्यसका लागि खेपेकोे सङ्घर्ष सानो छैन।

जेपी हाइस्कूल

जेपी हाइस्कूलमा राणा प्रधानमन्त्री जुद्धशमशेरको नाम जोडिए पनि यो स्कूल दुनियाँदारकै प्रयासमा खुलेको हो, भलै उनीहरू शासकको नजिक रहेर काम गरेकै व्यक्ति थिए। शुरूका प्रधानाध्यापक तीर्थराज सुवाल सहितले सरकार र समाजसँग चन्दा उठाएर स्कूल खोलेको वासुदेव लुइँटेलले २०१३ सालमा छापिएको जेपी स्कूलको स्मारिकामा उल्लेख गरेका छन्। उनका अनुसार, त्यति वेला सरकारका अवैतनिक साहुहरू बालकृष्ण, हरिकृष्ण, ज्योतिरत्न आदिले स्कूल स्थापनामा आर्थिक र अन्य सरसहयोग गरेको बुझिन्छ।

१९९३ सालमा भूमिगत रूपमा खुलेको नेपाल प्रजापरिषद्ले प्रजातन्त्रका लागि चर्काएको आन्दोलनको प्रभाव पन्छाउन नसक्दा राणाहरूलाई काठमाडौं र तराईतिर एक-दुई सार्वजनिक विद्यालय खोल्न दिन करै लागेको थियो। शायद विरोधमा उत्रन सक्ने युवालाई स्कूल भर्ना गरिदिंदा आन्दोलनको वेग कम होला भन्ने उनीहरूको सोच थियो। कुनै बखत जेपी स्कूलमा प्रधानाध्यापक रहेका रामजीप्रसाद अर्याल लेख्छन्, ‘पब्लिक स्कूल खोल्न दिन कर लाग्यो भन्ने कुरा चैत २६ गते शुक्रबार जुद्धोदय पब्लिक हाइस्कूल खोल्नु र चैत २९ गते सोमबार मात्र शिक्षाको इस्तिहारमा खड्गनिशाना हुनुले प्रत्यक्ष गराउँछ।’

उक्त इस्तिहार कानूनी मान्यताप्राप्त पहिलो शिक्षा-विधान थियो जसले सार्वजनिक विद्यालय खोल्न र सञ्चालन गर्न पाउने अधिकार दियो। साथै, यसले १९९६ सालपछि जनतामा शैक्षिक संस्था खोल्न पाइन्छ भन्ने चेतनाको बीजारोपण गर्‍यो, यद्यपि त्यस्तो काम शासककै नाम र निगाहमा गर्नुपर्ने बाध्यता थियो।

राणा सरकारबाट स्वीकृति पाए पनि शुरूमा जेपी स्कूलको थातठेगान थिएन। दश वर्षसम्म घोडातबेला, साहु र दरबारमा काम गर्ने हजुरियाहरूका घर-पाटी चहार्दै बित्यो। कुनै वेला नयाँ सडकमा कल्याण होटल रहेको घरमा थियो यो स्कूल। परालको डोरी जेलेर बनाइएको सुकुलमा बसेर पढाइन्थ्यो। र, शुरूमा ‘सुकुल सुकुल’ भन्दाभन्दै स्कूल भन्न सिकिएको लुइँटेलले उल्लेख गरेका छन्।

त्यसपछि जेपी स्कूल हनुमानढोका दरबार क्षेत्रबाट ठमेलतिर जाने बाटोमा रहेको मखन टोलको अँध्यारो गल्लीमा सर्‍यो। २०७४ सालमा छापिएको स्मारिकामा शिक्षिका विमला श्रेष्ठले उल्लेख गरे अनुसार, यो स्कूल मखन टोलको हजारी मल साहुको घरबाट शुरू भएको थियो।

त्यसपछि त्यहींका भूपध्वज कार्कीको घरमा केही वर्ष चल्यो। त्यहाँबाट जुद्ध सडकमा सर्‍यो। अहिले नेपाल ब्याङ्क रहेको भवनमा त्यति वेला रिसल्लाको तबेला थियो। त्यही तबेलामा यो स्कूल २००६ सालसम्म चलेको थियो। कार्कीको घरमा रहँदा डेस्कबेन्च भित्रिए पनि सुकुल हटिसकेको थिएन।

त्यसपछि जेपी स्कूल जुद्ध सडकमै रहेको जुद्धशमशेरका छोरा ध्रुवशमशेरको घरमा सर्‍यो। शासक परिवारले काठमाडौंका विभिन्न ठाउँमा घर जोडेका हुन्थे। ध्रुवशमशेरको शानदार घरमा सुकुलहरू सुहाएनन्। अनि पूरै डेस्कबेन्च राखिए। तर, त्यहाँ पनि स्कूल टिकेन। धेरैजसो ठाउँमा भाडा तिर्न नसकेर उठ्नुपर्थ्यो। केही समयलाई आश्रय मागिएका घर पनि अवधि पुगेपछि छाडिहाल्नुपर्थ्यो। कतै घरबेटीहरूले स्याहार-सम्भार नभएको भन्दै हटाइदिन्थे। यसरी स्कूल आफैं डुलन्ते भएको थियो।

अब अर्को प्रसङ्ग- जेपी स्कूलका शुरूका प्रधानाध्यापक सुवाल १९९७ सालमा पक्राउ परे। सरकारले यो स्कूललाई बडो निगरानीमा राख्न थाल्यो। सुवाल पक्राउको यकिन कारण थाहा नभए पनि उनी राजनीतिक परिवर्तनको आन्दोलनमा लागेको अनुमान गर्न सकिन्छ। १९९७ वैशाख ११ देखि सरकारका तर्फबाट शारदाप्रसाद ‘सुपरभाइजर’ भएर आए। यस्ता सुपरभाइजर सरकारी शिक्षकका रूपमा प्रधानाध्यापकको जिम्मेवारी सहित आउँथे। वासुदेव लुइँटेल स्मारिकामा लेख्छन्, ‘स्कूलको विशेष प्रगति यही शारदाप्रसाद आएदेखि शुरू भएको हो भन्ने धेरैको भनाइ छ।’

तैपनि, स्कूलले जग्गा जोहो गर्न र भवन बनाउन २००६ सालसम्मै कुर्नुपर्‍यो। जुद्धशमशेर सत्ता त्यागेर भारतको देहरादूनमा बसिरहँदा केही मानिस बाटोखर्च उठाएर सहयोगको अपील गर्न त्यहाँ पुगे। त्यही वेला दिइएको चन्दाबाट भवन तयार भएको हो। जग्गा जुद्धशमशेरका छोरा बहादुरशमशेरले दिएका थिए।

उवेला के-कति जग्गा दिइएको थियो भन्ने तथ्याङ्क नरहे पनि २०७५ सालसम्म स्कूलको जग्गा नौ रोपनी ६ आना थियो। जुद्धशमशेरले भवन बनाउन नारायणशमशेर (?) मार्फत ५० हजार रुपैयाँ पठाएको प्रसङ्ग पनि पाइन्छ। लुइँटेल लेख्छन्, ‘५० हजार चन्दामध्ये स्कूलले ३१ हजार मात्र पायो। बाँकी १९ हजार नारायणशमशेरबाट अहिले २०१३ सालसम्म स्कूलले पाउन सकेको छैन।’

२०१८ सालसम्म पनि स्कूल भौतिक रूपमा खासै सुविधासम्पन्न थिएन। त्यति वेला प्रधानाध्यापक रहेका रामजीप्रसाद शर्मा लेख्छन्, ‘पाटी जस्तै छाँट न काटको यो सानो घर बिल्कुलै स्कूल सुहाउँदो छैन। कोठाहरू साना छन्, सजिसजाउ छैनन् र क्लासहरू चलाउन पुग्दैन।’ उनका अनुसार, कोठा अभावमा केही कक्षा बिहान चलाइएको थियो। तत्कालीन भारतीय राजदूत भगवान सहायले कक्षाकोठा बढाउन २० हजार रुपैयाँ दिएका थिए। तर, एक तला थप्नलाई नै अनुमानित ४० हजार लाग्ने भएकाले दूतावासको रकम त्यत्तिकै थन्कियो।

स्कूलसँग यथेष्ट जग्गा समेत नरहेको शर्माको गुनासो थियो। उनी लेख्छन्, ‘स्कूल अगाडि एउटा सानो चोक छ। दायाँ-बायाँ र पछाडि दुई हात जग्गा पनि छैन। विश्रामको समयमा छात्रहरू यताउति हिंडडुल गर्न पनि पाउँदैनन्। खेलकूदका निम्ति त ठाउँ नै छैन। शारीरिक व्यायाम गराउन पनि गाह्रो छ। स्कूलमा कुनै समारोह गर्दा छात्रहरूलाई सडकमा राख्नुपर्छ।’

सरकारले घरजग्गाको प्रबन्ध गरिदिए अलपत्र परेका धेरै स्कूलको उपकार र विद्यार्थीको कल्याण हुने राय पनि उनले लेखमा प्रकट गरेका छन्। त्यति वेला टोलैपिच्छे खोलिएका सबैजसो स्कूल भवन र जमीनको अभावबाट गुज्रिने गरेको यसबाट बुझिन्छ।

मदन स्मारक

मदन मेमोरियल गल्र्स हाइस्कूल थालनीको कथा चाहिं अलि बेग्लै छ। मदन नाम रहनुभन्दा पहिला यो स्कूल ‘सरस्वती निकेतन’ नामबाट चिनिन्थ्यो, २००८ सालतिर ललितपुरको मंगलबजार र नःपसःका केही युवक मिलेर खोलेका। तःझ्याः टोलको एउटा सानो घरबाट शुरू गरिएको स्कूलबारे शिक्षिका बिना प्रधान २०६१ सालको स्मारिकामा लेख्छिन्, ‘सरस्वती निकेतनका संस्थापकहरूमा मेरो दाइ (मामाको छोरा) पनि रहेको हुँदा छात्राहरू जम्मा गर्ने क्रममा मलाई र मेरी दिदीलाई घरैमा आई बोलाई भर्ना गरेका थिए।’

उनका अनुसार, विद्यार्थी थपिँदै जाँदा कक्षाकोठा साँघुरो हुन थाल्यो। त्यसपछि ललितपुरकै क्वालखु टोलमा रहेका राजभण्डारीहरूको घरबाट सारी पाटनढोकास्थित पाटन हाइस्कूल भवनमै बिहानी कक्षा चलाउन थालियो।

प्रधान सम्झिन्छन्, ‘बिहानको पढाइ सकेर बाहिर निस्कँदा हाइस्कूलको समय शुरू हुने भएकाले केटाहरू आइहाल्थे।’ स्कूलमा सहोदर भाइबहिनी वा छोराछोरी मात्र नभई अरूका छोराछोरी समेत हुने भएकाले १२ वर्षभन्दा माथिका बालबालिकालाई एकै ठाउँ पढाउन मनासिब नहुने सरकारको मान्यता थियो।

यसै कारण २००७ सालपछि काठमाडौंमा थुप्रै कन्या स्कूल खोलिए। प्रजातन्त्र प्राप्तिपछि छोरीलाई स्कूल पठाउने चलन बसे पनि सरस्वती निकेतनको आर्थिक अवस्था राम्रो थिएन। त्यसैले स्कूलले २०११ सालतिर पाटन वरिपरि भवन र जग्गा खोजी गरेको प्रसङ्ग प्रधानले उल्लेख गरेकी छिन्।

२०१० सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरका कान्छा छोरा मदनशमशेर बितेपछि उनकी पत्नी जगदम्बा एक्लै भइन्। र, पाटनढोका नजिकै रहेको श्रीदरबारमा बस्न थालिन्। केदारमणि दीक्षित र उनका छोरा कमलमणि जगदम्बाको सेवामा लागेका थिए। केदारमणिले आफू विसं २०१० देखि २०३३ सम्म जगदम्बाको सेवामा रहेको कुरा आत्मकथा आफ्नै कुरा (२०३४) मा लेखेका छन्।

२०११ सालमा मदनशमशेरको बरखी फुकेपछि सरस्वती निकेतनका अध्यापकहरू आएर स्कूललाई जग्गा दिन र त्यसमा एउटा भवन बनाइदिन बाबुछोरालाई अनुरोध गरे। उनीहरूले यो कुरा जगदम्बा समक्ष पुर्‍याए। उनलाई पनि पतिका नाममा केही गर्ने इच्छा रहेछ। केदारमणि लेख्छन्, ‘यो इच्छा यसै स्कूल खोलेबाट पूर्ण हुने देखेर उहाँलाई यो प्रस्ताव मन पर्‍यो। अनि आफ्नै श्रीदरबार दक्षिणतिरको करीब १८ रोपनी जग्गा बक्सियो र करीब पाँच लाख रुपियाँ खर्चेर भवन तयार गराइदिबक्सियो।’

२०११ वैशाख शुक्लपक्षको अक्षय तृतीयाका दिन स्कूल शुभारम्भ भयो। ‘सरस्वती निकेतन’ बदलिएर मदन मेमोरियल गल्र्स हाइस्कूल बन्यो। यसलाई २०११ साउन १५ मा शिक्षा मन्त्रालयले स्वीकृति पनि दियो। साउन २८ मा डिल्लीरमण रेग्मीबाट भवनको शिलान्यास गरियो। पहिलो प्रधानाध्यापक गजेन्द्रबहादुर श्रेष्ठ थिए।

२०१३ सालमा स्कूल केही समयलाई बन्द हुन पुग्यो। कारण थियो, व्यवस्थापनको जिम्मा कसले लिने भन्ने खिचलो। कमलमणिले स्कूलको २०६१ सालको स्मारिकामा लेखेका छन्, ‘स्कूलमा झगडा पर्‍यो, सञ्चालनको कुरा लिएर। रानी जगदम्बा तर्फकाको र पुराना (सरस्वती निकेतन?) सञ्चालकहरूको मुद्दामामिला भयो। स्कूल बन्द गर्नुपर्‍यो। तीन वर्षजति तालाबन्दी भएपछि स्कूलको म्यानेजमेन्ट रानी साहेबले नै गर्न पाउने भन्ने सरकारी निर्णय भएपछि त्यहाँको ताल्चा (सके) म्याजिस्ट्रेट अफिसले आएर खोलिदिएको हो।’

यो २०१६ फागुनको कुरा थियो। जगदम्बाको चाहना पनि स्कूल आफैं चलाऔं भन्ने रहेको बुझिन्छ। उनले त्यस वेला नेपाल राष्ट्र ब्याङ्कसँग रु.चार लाख ५९ हजार १७५ को राष्ट्रिय विकास ऋणपत्र खरीद गरी एकमुष्ट रकम र त्यसबाट आउने ब्याज समेत स्कूलले भोगचलन गर्न पाउने व्यवस्था गरिदिएकी थिइन्।

कमलमणि लेख्छन्, ‘स्कूलको बस, विद्यार्थीलाई दिने तक्मा- जे पनि उता मागेपछि पाइहालिन्थ्यो। स्कूलका स्टाफको तलब समेत रानी साहेबको तहबिलबाट आउँथ्यो, एक-दुई वर्षसम्म।’ २०१९ सालमा यो स्कूलले पुनः जग्गा पाए पनि के-कति भन्ने उल्लेख छैन। तर, जम्माजम्मी जग्गा २६ रोपनी भएकाले करीब आठ रोपनी थप पाएको हुन सक्छ। यी दुवै स्कूलको संस्थापनकालीन कथाले नेपालमा सार्वजनिक विद्यालय थालनीको सङ्घर्ष बताउँछ।

(पन्थी स्वतन्त्र अनुसन्धाता हुन्। हिमालको २०७९ साउन अंकबाट।)

प्रकाशित मिति : २७ साउन, २०७९
स्रोत : https://www.himalkhabar.com/news/131652


About the Author