चाहिन्छ आत्मसमीक्षा

2021-10-11

शाहीशासनकालमा नराम्ररी कठ्याङ्ग्रिएको नेपाली मिडियाले …अप्रिल रिभोलुशन' पछि फेरि पारिलो घाम पाएको छ। सञ्चारकर्मीहरूमा पनि परिपक्वता बढेको अनुभव भइरहेको छ। पछिल्लो उदाहरण हो, ११'१२ पुसको नेपालगञ्ज घटनाको संयमित प्रस्तुति। केही अपवादबाहेक अधिकांश सञ्चारमाध्यमले त्यसलाई अतिरञ्जित गरेनन्, बरु घुमाइफिराई साम्प्रदायिक सद्भावको सन्देश दिए। यति हुँदाहुँदै पनि नेपाली मिडिया पूर्ण जिम्मेवार र व्यावसायिक भएको किटान गर्ने आधारहरू अझै तयार भइसकेका छैनन्। मिडियाभित्र सुखद सम्भावना मात्र हैन, दुःखद विडम्बनाहरू पनि सँगसँगै हुर्किरहेका छन्। कुनै सञ्चारकर्मी वा मिडियाका कारण अर्को सञ्चारकर्मीले लज्जित हुनुपर्ने स्थिति अझै छ। पत्रकारितामा तन्नेरी जोश मात्र छैन, बेहोसीको बग्रेल्ती उदाहरणहरू पनि छन्।

तिनलाई कसरी सुधार्ने? एउटा प्रभावकारी माध्यम हुन सक्छ' आत्मसमीक्षा। मार्टिन चौतारीको वार्षिक जर्नल …मिडिया अध्ययन' लाई त्यस्तै एउटा प्रारम्भ मान्न सकिन्छ। मिडिया उद्योगभित्रका समग्र पक्ष, तिनको प्रस्तुति, सीमितता, अपेक्षा र अर्घेल्याइँहरू केलाउने चौतारीको यो प्रयासले मिडिया'सिंहावलोकनको नयाँ बाटो खोलेको छ। जस्तो; …सफलताको शिकार' शीर्षकको टिप्पणीमा केदार शर्माले स्वीकारेका छन्, “एउटा राम्रो अग्रसरता (विकास पत्रकारिता) ले गति लिन सकेन। सफलतामा आधारित विकास पत्रकारिता बाँदरको पुच्छर भयो, विकास प्रक्रियाका लागि लौरो न हतियार।” नेपाली पत्रकारितामा यस्ता आत्मस्वीकृति/ आत्मसमीक्षाको खाँचो छ।
 
हालै सार्वजनिक मिडिया अध्ययन'१ मा रेडियो व्यवस्थापन, …माघ १९' को असर, पत्रकारितामा दलित र जनजाति, टिभी विज्ञापनमा शक्तिको प्रयोग, पोखरामा छापाखाना, ग्रामीण र विकास पत्रकारिता, प्रेस काउन्सिल नेपाल, सञ्चार माध्यममा भाषिक त्रुटि, स्नातकोत्तरमा पत्रकारिता जस्ता जनचासोका विषय र तिनको उत्खनन भेट्न सकिन्छ। आलेखहरू विश्लेषणात्मक र विचारोत्तेजक पनि छन्। कुनै कुनै लेखले सम्बन्धित विषयको नसा'धमनीसमेत केलाउने प्रयास गरेका छन्। ग्रामीण पत्रकारिताको अवधारणा र अभ्यास बुझ्न विनय कसजुकोे एउटै समीक्षा पर्याप्त छ। कमलराज सिग्देलको टेलिभिजन विज्ञापनसम्बन्धी अध्ययनले मान्छेको आँखा'आँखामा हुर्किदै गरेको भोएरिजम (गोप्य रुपमा अन्य व्यक्तिका यौनाङ्ग चिहाउने) र फेटिसिजम् (प्राकृतिक संभोगका लागि अनुपयुक्त अङ्ग हेरी यौनानन्द लिने प्रक्रिया) माथि कटाक्ष मात्र गरेको छैन, शहरी उपभोक्ता, उत्पादक र प्रचारकहरूको स्वाद र हेराइ कसरी र कति विसंगत बन्दै/बनाइँदैछ ' त्यसको रोचक आँकलन गरेको छ। विनय गुरागाइँ, केशवराज पराजुली, खगेन्द्र नेपाली, गुणराज लुइँटेल र यशोदा तिम्सिनाका संस्मरणात्मक लेखले सञ्चारकर्मको उन्नयनसँगै त्यहाँभित्र हुर्किरहेका विभिन्न आयाम तथा प्रवृत्तिहरूको चिरफार गरेका छन्। कुनै कुनै संस्मरण निकै आत्मगत छन्। तर तिनमा समेत अनुभव र सु‰ावको चास्नी भेट्न सकिन्छ। संस्मरणभित्र आएका तथ्य'तथ्याङ्क नेपाली पत्रकारिताको समीक्षात्मक इतिहास लेख्नेहरूका लागि समेत उपयोगी हुन सक्छन्।

माघ १९ को असर' खण्डमा प्रकाशित रघु मैनाली र प्रशान्त अर्यालका आलेख नेपाली मिडियाले भोगेको चरम पीडाका दस्तावेज पनि हुन्। सञ्चारमाध्यममा भएको सेन्सरसीपको पराकाष्टामाथि यसअघि पनि प्रशस्त लेखिएका छन् तर मैनालीले तत्कालीन घटनाक्रम र कठ्याङ्ग्रिएका अनुभूतिहरूसँगै तिनको प्रभावको समेत विश्लेषण गरेका छन्। उनको एउटा ठहर छ्, “सम्पादकीय स्वतन्त्रता कायम गर्ने पक्ष नेपालमा अझै पनि चुनौतीका रूपमा रहेको छ।” यो नेपाली मिडियाले अनुभव गरिरहेको तीतो यथार्थ हो।
पत्रकारितामा जनजाति र अल्पसंख्यक समुदायको यथोचित प्रतिनिधित्व नरहेको तथ्य नेपाली मिडियाको अर्को यथार्थ हो। सत्य हो, नेपाली मिडिया समावेशी हुन सकिरहेको छैन। त्यो पृष्ठभूमिमा जनजाति समुदायमा पत्रकारिताको लहरमा समाहित हुने आकाङ्क्षा पलाउनु स्वागतयोग्य कुरा हो। खिम घले र प्रतीक ङेसुर तामाङका टिप्पणीले प्रकारान्तरले त्यही आकाङ्क्षाको उद्बोधन गरेका छन्। तथापि, दुवै लेख संस्था'परिचयको सेरोफेरोमा सीमित छन्। जेबी विश्वकर्माको …दलित सवाल र नेपाली छापाखाना' ले भने स्थिति र कारणसमेतको लेखाजोखा गरेको छ।

नेपाली पत्रकारितामा यसरी नै उठाउनुपर्ने अर्को विषय हो, भाषिक त्रुटि। भाषाप्रेमीहरू यो विषयमा चिन्तित पनि छन्। त्यस्तै चासोको परिणाम हो …हाम्रो भाषा' (हिमाल एसोसिएशन, २०६३) जस्ता पुस्तकको प्रकाशन। तथपि, यस्ता प्रयास र बहस अपर्याप्त छन्। …मूल कुरा सञ्चार हो, भाषा किन चाहियो?' भन्दै प्रस्तुतिको दोहोलो काढ्नेहरूलाई चंकी श्रेष्ठको आलेखले मीठो झापड दिएको छ। र, समाएको छ ' भाषिक क्षमता पत्रकारिताको अलङ्कार मात्र हैन, पत्रकारको आधारभूत योग्यता पनि हो।

सँगालोमा सङ्गृहीत पत्रकारिता शिक्षणसम्बन्धी तीन आलेखले भने एउटा विरोधाभासको चित्रण गरेका छन्। लालदेउसा राईको समीक्षाले त्रिविको पत्रकारिता र आमसञ्चार विभागको दयनीय अवस्था एक्काइसौं शताब्दीको …वेक अप कल' भएको यथार्थ बोलेको छ। तर रामकृष्ण रेग्मी र मञ्जु मिश्रका आलेख आ'आˆना कलेज र कोर्सको विज्ञापनमा केन्द्रित छन्। राईको लेखमा पत्रकारिता शिक्षणका कमी, कमजोरी र दुरावस्थाको तस्बिर देख्ने पाठकहरूले रेग्मी र मिश्रका शब्दहरूमा आत्मविज्ञापन पाउँछन्। तब प्रश्न उठ्छ' निजी क्षेत्रमा स्नातकोत्तर तहको आमसञ्चार शिक्षण पाँच वर्षमै यति समुन्नत, सुविधासम्पन्न भइसक्यो त? हो भने त्रिविले त्यसबाट किन नसिक्ने? हैन भने यो अतिरञ्जना किन?

एउटै सँगालोमा धेरै चीज अटाउने रहरलाई जर्नलको विशेषता वा कमजोरी जे भने पनि हुन्छ। पुस्तक समीक्षा, प्रतिवेदन जस्ता सामग्रीलाई समेत वजनदार तरिकाले प्रस्तुत गर्नु …मिडिया जर्नल' को अर्को सकारात्मक पक्ष हो जसरी एउटै अन्तर्वार्ताले प्रेस काउन्सिल नेपालको साङ्गोपाङ्ग तस्बिर दिएको छ। र, जर्नलले मिडियामाथि सक्दो समालोचना हुनुपर्ने तथ्य बारम्बार औंल्याएको छ। यसले भविष्यका निम्ति उपयुक्त बाटो बनाउने आधार तयार गर्छ। जर्नलका सम्पादकहरूले भनेझैँ मिडियामाथि अनुसन्धान गर्न आवश्यक प्राज्ञिक संरचना बन्न बाँकी नै छ। त्यसनिम्ति पनि आत्मसमीक्षा, अनुसन्धान, विश्लेषणको आँधीबेहरी सिर्जना गर्नु आवश्यक छ।

 

स्रोतः हिमाल खबरपत्रिका १६-२९ माघ २०६३


About the Author

More Blogs