उहिले–उहिले नेपालका ‘राजकुमार’ हरूका लागि कन्या खोज्न भारदारहरू मुलुककै पश्चिमतिर मात्र होइन, भारत पनि पुग्थे । उनीहरूले कसरी खोज्थे त कन्याहरू ?
काठमाडौं — हाम्रा कन्या हेरिलिन्छौ भन्या ४०/५० हजार रुपैयाँ पैल्है देउ कन्या हेरेपछि छोड्न्या छैनौं भनी कबोल गर’ भनियो, बिनापैसा कन्या देखाउँदै देखाइएन । कन्या हेर्ने र खोट लाएर छाड्ने हुनाले दिक्क भएर हो, या मूल्य नै त्यति भएर हो, नेपाली राजकुमारको निम्ति कन्या खोज्न गएका डोलेहरूलाई उत्तरी भारतका रजौटाले यसो भनेपछि उनीहरू अलमलमा परे ।
अलमलमा नपरुन् पनि किन, ४०/५० हजार मागेपछि, त्यो पनि पहिला दाम देऊ अनि कन्या देखाउँला भनेपछि । यो १८९८ साल अर्थात् राणा शासन सुरु हुनु ५ वर्षअघिको कुरा थियो । त्यति बेलै डोलेहरूले काठमाडौँमा श्री माहिला साहेब प्रभु शाहलाई एउटा चिठ्ठी लेखे ।
‘जुरन्या नजुन्र्या टिपन हेर्न नपाइ रुप रंग नहेरि कस्ता तरहले आटौं भनि हामिहरूको सल्लाह हुदा उन्हेरूले पनि कन्या देषायेनन्. हामिहरूले पनि हेर्न पाऔन’
उल्लिखित मूल्यकै कारणले देखाउनेले पनि देखाएनन् । हेर्न गएकाले पनि हेरेनन् । यसरी कन्याको तलासमा हिँडेका डोलेहरूले काठमाडौँमा राजालाई चिठ्ठीबाटै बेलाबेलामा खबर दिँदै हिँडेका हुन्थे । यस्ता चिठ्ठीलाई अर्जीपत्र भनिन्थ्यो । राष्ट्रिय अभिलेखालयमा संग्रहित उबेलाका केही अर्जीपत्र हेरेर यो लेख लेखिएको हो । डोलेहरूले कुन–कुन ठाउँमा कस्ता–कस्ता कन्या देखे, के भयो, त्यस्तो पत्रमा खुलस्त लेखेका हुन्थे । राजाबाट हरियो बत्ती बलेपछि मात्रै कन्या उठाएर हिँड्थे, उनीहरू ।
गोरखपुर वरिपरिको चिलुवा भन्ने ठाउँमा गएका भारदारहरू चाहेजस्तो कन्या नभेटिएकामा हैरान भएका देखिन्छन् । वैशाख जेठको धुपमा कसैले ९ देखि १० गाउँमा ३२ कन्या हेरिसकेको भनी चिठी लेखेका छन् । भने कसैले सोही समयतिर ३५ देखि ४० ठाउँमा डुलेको पनि बताएका छन् । जुरेको लगनभित्रै कन्या खोजेर ल्याउनुपर्ने हुन्थ्यो । तर भनेजस्तो पाउँदैनथे । अथवा अझै राम्रो भेटिएला कि भन्दै हिँडेका पनि हुनन् ।
डोलेहरू ३ थरी हुन्थे । तीमध्ये एक, पैसाको कारोबार गर्ने खजान्ची हुन्थे । अर्का ज्योतिष, लगन जुरे नजुरेको हेर्नलाई र तेस्रा वेदोक्त ब्राह्मण हुने रहेछन् । उनको आशीर्वाद नभई नहुने भएर हो कि किन हो, वेदोक्तलाई पनि लैजाने चलन रहेछ । यी ‘त्रिनेत्र’ को आँखीभौँ नतन्किएसम्म कुरो छिनिदैनथ्यो ।
मैले यहाँ डोले भनेका मानिस कन्या बोक्ने भरिया होइनन् । कन्याको तलासमा हिँडेका भारदारहरू हुन् ।
डोलाको तलासमा ‘तैंले जानुपर्छ’ भनेर आफ्ना विश्वासी भारदारहरूलाई बखतबखतमा बनारस, गाजिपुर, आजमगढ, छपरा, गोरखपुरतिर पनि दौडाउँथे नेपालका राजाहरू । पछि राणाहरूले पनि यसकै सिको गरे । रवाफको जमाना थियो, ‘वडा देशका रजपुतकी कन्या ल्यायौँ’ भन्ने धाक देखाउन, उँधोतिरै हान्निन्थे । अर्कोतिर उताका राजपुत घरानियाँहरूले पनि आफ्ना कन्यालाई पहाडी राजकुमारको लागि चिठ्ठा पर्ला कि भनेर तयारी अवस्थामा राख्थे । चिठ्ठा कसलाई पथ्र्यो, त्यो भने गुलामको लीला †
बिचरा निर्दोष बाला, लेनदेनको वस्तुसरह हुन्थी । ८ देखि १४ वर्षसम्मको बालाजोवनका यी मैयाँहरूलाई झ्याइँकुटी पार्दै कहाँबाट कहाँ दौडाइन्थ्यो ।
बनारस गोरखपुरतिर जेठको प्रचण्ड गर्मीमा डोला मैयाँ खोज्न गएकाहरूले काठमाडौँमा पठाएको बयानको एउटा अंश यस्तो छ,
‘भलुवानको बाबु विश्राम सिं श्री नेतका कन्या आधिरातिमा हेरियाका थिया. येति हेर्न पायाका कन्यामा येतिका अरु नठहर्दा फेरि दिनमा दोहराई देषनपाया हुँदो हो भंदा गोपालपुरका राजाले भनि सुनि दिदा दिउसो हेर्न आउ भन्या र हामिहरू सबै गै हेर्दा रातिमा देषता गोरो वर्न ठहर्यो पर्थ्यो. दिनमा देषता नजानिदो सावलोभाव मुषको रंग रहेछ.’
यसरी रातिमा हेरिएकी कन्या दिनमा अलि फरक देख्यौँ महाराज † भन्ने आशय राखेर डोलेले धर्को कोर्थे । तर यत्तिकैमा राजाले ‘भैगो हुन्छ ल्याऊ’ भनि पो हाल्लान् कि भनेर जोगिँदै चिठी लेखेझैँ लाग्छ, धेरै ठाउँमा डुलेर थाकेका डोलेहरूले ।
दु:ख गरी महिनौँ लगाई खोजेकी, महँगो दाम तिरेर ल्याएकी कन्या राजा र राजकुमारलाई मन नपरे फसाद हुने डर उनीहरूमा हुन्थ्यो । फेरि मधेसको बिफरजस्ता रोगले समातेको भए त झनै फसाद † त्यसो हुनाले राजाले पनि चिठ्ठीमा बडो विचार गर्न अह्राएका हुन्थे । उनीहरूले पनि चिठ्ठीबाटै निक्र्याेल गर्थे । जोखिम मोल्दैनथे ।
डोला मैयाँ खोज्न भारततिर मात्र होइन, यता पश्चिम नेपालकै ठकुरी गाउँहरूमा पनि जान्थे । पूर्वतिर ठकुरी गाउँ नहुनाले । एवंरीतले नै पश्चिम नेपालका गाउँबाट रूपवती युवतीको खोजीमा विश्वास पात्रहरू घुम्थे । आदेशबमोजिम स्थानीय राजा रजौटाका मैयाँहरू जसजसका छन् उनीहरूले डोलेहरूलाई आफ्ना छोरीको हुलिया दिनुपथ्र्यो । माथिको आदेशअनुसार ।
डोलेहरूले दरबारमा लेखिपठाउने रिपोर्ट खास किसिमको अह्रोटअनुसार हुन्थ्यो । जस्तो, ‘फलाना ठाउँ बस्न्या, फलानाकी मैञा उमेर येति भन्या बेहोराबाट ञाहा चाँडो लेखि पठाउ र हामिबाट जवाफ गया बमोजिम गरौला’ उनीहरूले पनि यसै अनुसार गर्थे । नेपालकै रजौटा गाउँबाट डोलेहरूले पठाएका चिठ्ठीका केही अंश यस्ता छन् ।
‘मुसिकोटका मदन सिनकी मैञा वर्ष ८ की वर्ण पयालो छ गाला गबुल्या छ.’ त्यस्तै ‘कालीदास सिनकी नातीनी वर्ष १३ की वर्णमा ठूलो भयाकी हातगोडाका पंजा ठूला लामा छ. नाकका पोरा फुक्याको छ.’ अर्को रिपोर्टमा ‘अर्घा लिलाधोज साहिकी नातिनी वर्ष १४ की वर्ण कालो छ हातगोडाका पंजा छोटाछोटा भयाकी जीउ ठूल्हो छ.’ त्यस्तै ‘गुल्मी तमघास...मैञा वर्ष १३ की वर्णमाउलो कपाल ठिगुचा छ.’ ‘सुम्रिका साहेव राजवाहा कुर सीनकी मैञा वर्ष १० की वर्ण रातो भयाकी कपाल छोटो छ मोहोडा सानो छ.’ आदि ।
कस्तो समय ? कुन गाउँमा रमाइरहेकी बालिका, जसको जिउ नापेर, रूपरङ्ग हेरेर, गाला यस्ता छन्, कपाल उस्तो छ, नाकका पोरा यस्ता छन्, भनी खबर पठाई राज्यको बलमा बाला जोवन ‘हरण’ गरेर लैजाने, कस्तो व्यवस्था †कुनै रजौटाहरूले त घुम्दै पुस महिनातिर पुगेका यी गुलामहरूलाई बिहे नगर्ने खडमास महिनामा हेर्न आएको भनी कन्या देखाउँदैनथे । के थाहा, झोँकिएर पनि हुन सक्छ, दरबारकी रानी बन्नुभन्दा वरिपरिकी बुहारी भएको रुचाउने बाबुआमा पनि त थिए होलान् । त्यै भएर हो कि चिलुवाका महाराजले ‘मेरी मैञालाई ४०/५० हजार पर्छ तिर्न सक्छौ ?’ भनी ठहर्याएका †
यस मामलामा पैसाको लेनदेन त हुने नै रहेछ । तर नेपाली गाउँहरूमा भएको लेनदेनको हिसाब भने अर्जीपत्रमा देखिँदैन । उत्तरी भारतबाट १९०२ सालमा लेखेको अर्जीपत्रमा कन्याका बाबुसँग बातचित गर्दा उनले डोला दिन्छु भनेका र रुपैयाँको सवालमा ‘अघि श्री बाबु भिक्षुक सिंहलाई दिया बमोजिम ५००१ रुपैयाँ दिनुपन्र्याछ’ भनी लेखिएको छ । त्यो वर्ष डोला खोज्न गएकाले सो मूल्यमा कन्यालाई नेपाल पनि ल्याएका छन् । पत्रबाट त्यो खुल्छ । तिरेको मूल्य पनि थाहा हुन्छ ।
डोलेहरूले लगनको दिनभित्र उल्लिखित चिलुवा भन्ने ठाउँबाट काठमाडौँमा डोला मैयाँ ल्याउँदा २५ दिन लाग्ने बताएका छन् । भरिसक्के रातदिन लगाएर भए पनि लगनभित्रै ल्याउँछौँ भनेका छन् । जति छिटो गरे पनि त्यो २५ दिन हुन्थ्यो । डोलालाई ल्याउन अलौदेखि भीमफेदीसम्म २५/३० हात्ती र २५/३० जना भरियाको ‘हुकुम बक्सन’ भनी राजालाई भनेका छन् । दरबारमा भित्रिने हुनेवाला मालिक्नीलाई तामझाम गरी भित्राएको रैतीले देखुन् भन्ने हेतुले पनि हुन सक्छ ।
बाटोमा औलोले भेट्ला कि भनेर उनीहरूले डोलालाई रातारात दौडाउँथे । हावाको भुमरीझैँ गर्मीको भुमरी थियो मधेसको औलो । त्यसको झोकाले भेटाए मान्छे बाँच्नै मुस्किल हुने भएर होला डोलालाई खुब जोगाएर ल्याएको देखिन्छ । डोलेहरू पनि जोगिन त पर्यो नै । त्यति बेलाका यी पत्रहरूमा डोलालाई पनि औलोसँग जोगाएर खुब स्याहारसँग ल्याएको बयान छ । डोलाका सँगमा उनका बाबु अथवा दाजुभाइ कोही नातेदार पनि आउँथे । तर चेलीलाई झ्याइँकुटी पार्दै दौडाउँदा उनीहरू भने पछाडि छाडिन्थे ।
यसप्रकार यो लेखका लागि डोला मैयाँको तथ्य बटुल्दै जाँदा जनकलाल शर्माले फेरि अर्को तथ्य थपिदिए । उनले आफ्नो संस्मरणमा भनेअनुसार यसै रीतले ल्याएका कन्याहरूको परीक्षा लिने र तालिम दिने काम काठमाडौँमा आएपछि हुँदो रहेछ । तर यो लेखकी पात्र चिलुवाकी डोला मैयाँले त्यस्तो परीक्षा दिनुपरेको मैले पढिनँ । पछिपछि यस्तो प्रथाले दरबारमा विकृत रूप लिएको पनि हुन सक्छ ।
शर्माका अनुसार यसरी डोला आउनेलाई ‘मालिकनी’ र दासीको रूपमा आउनेलाई ‘तालिमे’ भनिन्थ्यो । गोप्य रूपमा वा दरबारभित्र उनीहरूलाई तालिम दिने संस्था खोलिएको हुन्थ्यो । जसमा ए क्लासका राणाहरूको आफ्नै लगानी हुन्थ्यो ।
राणा दरबारमा प्रशिक्षित हुन आउने युवतीहरूलाई तालिम दिने संस्था कुपण्डोल र थापाथली दरबारतिर थिए । ठूलै धनराशिको लगानी गरिन्थ्यो यसमा । यस्ता संस्थामा सुरुमा युवतीको स्वास्थ्य परीक्षा डाक्टरहरूले गर्थे । त्यसपछि उनीहरूको रूपरंगबाहेक अक्षतयोनी पनि हुनुपर्ने अनिवार्य मानिन्थ्यो । अक्षतयोनीको जाँच गर्नका लागि दक्ष अडेनीहरू राखिन्थ्यो ।
यो तालिममा दरबारी रहनसहन र शीलबारे तालिम हुन्थ्यो । नृत्य तालिम पनि हुन्थ्यो । जसलाई गान्धर्व विद्या भनिन्थ्यो । तीन वर्षसम्म यस्तो विद्यामा पारंगत हुने डोलालाई हेरेर भगाउने विभिन्न योजना बुनिन्थे दरबारमा । कुनै अवस्थामा त राम्रो ठानेर बाबुले छोराका लागि ल्याएकी डोला उडाइदिने र बाबुछोराको सम्बन्ध पनि नराम्रो हुने चर्चा शर्माले गरेका छन् । राणाहरूले तालिमे युवतीहरूलाई छेउछाउका दरबारहरूमा लगेर यौन शोषण गर्ने र प्रायश्चित्त गर्नलाई जोगीका कुटीमा जान्थे– शर्माले लेखेका छन्— गोकर्णको बंगला त्यसको एउटा उदाहरण हो ।
थापाथली र कुपण्डोलका ती तालिमे संस्थाहरूमा फेल भएकाहरूको अवस्था के हुन्थ्यो ? उनीहरूका बाबुआमाहरूले मूल्य पाउँथे कि पाउँदैनथे आदि विवरणहरू जान्न बाँकी नै रह्यो । जे होस् यस्ता संस्थाहरूमा राखिएका मान्छेहरू वस्तुसरह थिए । मन परेको वस्तु छान्यो लग्यो ।
अन्तमा, राजकुमारसँग विवाहका लागि भारतबाट खोजेर ल्याइएका डोला मैयाँको मूल्यबारे त यो लेखबाट थाहा हुन्छ । तर ‘तालिमे’ कन्याको मूल्यबारे यो लेख मौन रह्यो । अलि हाँक भएका राजपुतहरूले त पैसा तोकेरै कन्या दिए अथवा कसैले त हप्काएर पनि पठाए । तर निरीह रैतीबाट हरण गरिएका कन्याको मूल्य थियो कि थिएन, उत्सुकता बाँकी नै रह्यो ।
प्रकाशित मिति : मंसिर २, २०७४
स्रोत : https://ekantipur.com/koseli/2017/11/18/20171118090947.html?author=1