दोस्रो दर्जाको नागरिक
2021-10-11- विश्वमणि पोखरेल
दुई दशकदेखि काँचको पर्दामा सक्रिय दीपा गौतमको अनुभव र टेलिभिजनमा महिला अवस्थाबारे चिन्तन पर्दाबाहिर आएको छ, पुस्तकको रुपमा । यसअघि प्रकाशित दीपाका अधिकांश लेख, रचनाहरुको कोलाज ‘काँचको पर्दा, नेपाली टेलिभिजनमा महिला’ले टेलिभिजनमा काम गर्ने, विज्ञापनमा खेल्ने महिलाको अवस्था, महिलाप्रतिको पुरुषको सोच र मानसिकता केलाउँदै पुस्तकका रुपमा प्रस्तुत गरेको छ । महिलालाई कसरी काँचका पर्दामा प्रस्तुत गरिन्छ, महिला मुद्दालाई कसरी सम्बोधन गरिएको छ अनि नीति नियमबाट कसरी महिला पछाडि पारिएका छन् भन्ने जस्ता विषयमा पनि गौतमका आँखा परेका छन् ।
‘नेपालमा टेलिभिजनको विकासक्रम’बाट सुरु भएको पुस्तक ‘कुरै कुरामा सीमित’ अध्यायमा टुंगिएको छ । नेपालमा टेलिभिजनको उदयबारे जानकारी प्रस्तुत गर्दै टेलिभिजनबारे विभिन्न अध्ययन, नीति, नियम र कार्यक्रमहरु केलाएकी छन् गौतमले । टेलिभिजनको उदय किन र कसरी भयो भन्ने लेखमा नेपाली जनमानसमा टेलिभिजनको माध्यमबाट पर्नजाने भारतीय संस्कृतिको प्रभावबाट जोगिन नेपालमा टेलिभिजन स्थापना भएको अनुमान प्रस्तुत गरेकी छन्, उनले ।
नेपाल टेलिभिजनको स्थापनापछिका दुई दशकसम्म पनि तात्विक विकास हुन नसकेको उनको ठहर छ, महिलाको हकमा । नेपाल टेलिभिजनका विभिन्न समयमा महिलाबारे केन्द्रित कार्यक्रमहरुका आधारमा महिलाको अवस्था र उनीहरुप्रतिको व्यवहार चित्रण गर्ने प्रयास गरिएको छ, पुस्तकमा । त्यसबाहेक सरकारी र निजी टेलिभिजन च्यानलहरुमा महिलाहरुको उपस्थिति विवरणात्मक तथा तथ्यांकका आधारमा प्रस्तुत गरिएको छ ।
दुई दशकको नेपाल टेलिभिजनको इतिहासमा यस क्षेत्रमा व्यापक विकास र परिवर्तन भएको छ भन्ने कतिपय दाबीको प्रतिवाद गरेकी छन्, लेखकले । उनी भन्छिन्, ‘जन्मदेखि नेपाली टेलिभिजनको तरंग देख्ने र बुझ्ने बालिका अहिले किशोरावस्था पार गर्दै छन् । तर आधारभूत रुपमा उनले देख्ने बुझ्ने टेलिभिजन सामग्री र त्यसको विषयवस्तुमा खासै अन्तर आएको छैन । यो प्रवृति धेरथोर रुपमा टेलिभिजनका समग्र सामग्रीहरुका सन्दर्भमा लागू हुनसक्छ, तर खास गरी महिला प्रतिनिधित्व वा प्रस्तुतिका सन्दर्भमा भने बढी उपयुक्त हुन्छ ।’
नेपाली टेलिभिजन च्यानलहरुको भूमिकाका बारेमा दीपाको विश्लेषण छ, ‘समग्रमा भन्नुपर्दा नेपाली टेलिभिजन च्यानलहरुले नेपाली महिलाहरुलाई पहिलो दर्जाको नागरिकको रुपमा स्थापित गर्न सकिरहेका छैनन् । खासगरी नयाँ सोच नयाँ परिवेश र नयाँ मनोविज्ञानको रंगमा आफूलाई ढालिसकेका नयाँ पुस्ताका निम्ति यस्ता किसिमका टेलिभिजन कार्यक्रमको औचित्य समाप्त भइसकेको छ ।’ महिलाहरुलाई आकर्षक वस्तु र मनोरञ्जनको साधनको रुपमा विज्ञापनमा प्रस्तुत गर्ने परिपाटी पितृसत्ताको उपज हो भन्ने निष्कर्ष पुस्तकमा पाइन्छ ।
टेलिभिजनमा महिलाहरुको उल्लेखनीय उपस्थिति हुनुपर्छ भन्ने कुरामा जिकिर गर्न पनि उनी पछि परेकी छैनन् । पितृसत्ताको विज्ञापन जालो लेखमा दीपाले भनेकी छन्, ‘घरमा आमाले भनेको कुरा काट्न नसकिएजस्तै टेलिभिजनमा महिलाद्धारा सम्प्रेषित कुराहरु बढी सुरक्षित महसुस गर्छन् भन्ने मनोविज्ञान पनि पाइन्छ । यस्तो मनोविज्ञानले खासगरी सन्देशमूलक सामग्रीहरु प्रवाह गर्दा महिलालाई प्रयोग गरिएको कुरा टेलिभिजन अध्येतहरुको अध्ययनले पुष्टि गरेको छ ।’
दीपा विज्ञापनका भाषा र महिलाहरुको प्रस्तुतिका बारेमा पनि उत्तिकै खरो उत्रिएकी छन्, महिलावादी कार्यकर्ताको हैसियतमा । विभिन्न विज्ञापनका भाषा र शैली प्रस्तुत गर्दै त्यसैका आधारमा महिलाको समग्र अवस्थाको चित्रण गर्ने प्रयास पनि गरिएको छ । विज्ञापनमा महिलाहरुको प्रयोगको बारेमा दीपाको आफ्नै मान्यता छ । उनी भन्छिन्, ‘...कस्तो विज्ञापनमा महिलालाई कसरी, कुन ढंग र मात्रामा प्रस्तुत गरिन्छ र उत्पादक तथा निर्देशकहरु किन विज्ञापनमा महिलालार्इं प्रस्तुत गराउन चाहन्छन् ? यी प्रश्नहरु भने वर्तमान तथा भविष्यका निम्ति समेत महत्वपूर्ण हुुन सक्छन् ।’
दीपा आफैले पुस्तक टेलिभिजनप्रेमी दर्शक, महिला अधिकारवादी, संचारकर्मी र प्रसारण पत्रकारिताका विद्यार्थीका लागि उपयोगी हुने आशा गरेकी छन् । तर पुस्तक विज्ञापन निर्माता र प्रसारकहरुका लागि उत्तिकै सान्दर्भिक हुने देखिन्छ । दीपाले कतिपय उदाहरणहरुमार्फत पितृसत्तामाथि प्रहार गरेकी छन् । पितृसत्ता सामाजिक रोग भनेर त्यसको प्रभावको लेखाजोखा गर्नेभन्दा कतिपय अवस्थामा पुरुष नियतमाथि नै प्रश्न उठाउने महिलावादी चिन्तनबाट पुस्तक मुक्त हुन सकेको छैन । पुस्तक महिलावादी चिन्तन र आलोचनात्मक दृष्टिकोणको बाहुल्य छ । पुस्तक मार्टिन चौतारीले प्रकाशनमा ल्याएको हो ।
स्रोतः समय, १३ वैशाख २०६४