दृष्टिकोणका विरुद्घ
2021-10-11‘निकै च्वाँक देखिनुहुन्छ नि त्यसको रहस्य के हो?’ केही अघि एक पत्रकारले टेलिभिजनको अन्तर्वार्तामा एउटी महिला कलाकारलाई सुरुमै सोधे । कलाकार अप्रत्याशित प्रश्नले ‘जिल्ल’ परिन् । हाँसेर टार्न खोजिन्, तर सकिनन् । पानीपानी भइन् र सम्हालिँदै भनिन् ‘म पानी धेरै पिउँछु सायद त्यसैले ।’ उनले अत्यन्त हलुका र सस्तो प्रश्नलाई राम्रो ढङ्गले स्वीकार गरी शिष्ट र अर्थपूर्ण जवाफ दिएकी थिइन् ।
(शब्दको गोली, पेज ९२)
बेलाबेलामा पत्रपत्रिकामा महिलाका पक्षमा, तिनको अस्मिता र अहमका पक्षमा कलम चलाइरहने दीपा गौतम ‘काँचको पर्दामा नेपाली टेलिभिजनका महिला’ नामक पुस्तक लिएर देखापरेकी छिन् । यो पुस्तकलाई मार्टिन चौतारीले बजारमा ल्याएको हो ।
पछिल्ला वर्षहरूमा नेपाली छापाहरूमा तथा कतिपय पुस्तकका रूपमा समेत परम्परागत मूल्यले निर्धारण गरिदिएको महिलाहरुको स्थानका विरोधमा सक्रियतापूर्वक आवाजहरू उठ्न थालेका छन् । त्यसका विविध पक्षहरूमा गम्भीरतापूर्वक बहस उठाइएका छन् । अस्मिता प्रकाशनले यसलाई निकै नियमिततापूर्वक स्थापित गर्ने प्रयत्न गरेको थियो ।
यसै सिलसिलामा दीपा गौतमले खासगरी टेलिभिजनका पर्दाहरूमा महिलालाई कसरी पुरुषको मातहत राखेर तिनलाई रुच्चे, कमजोर, मूर्ख, गृहिणी, सेविकाका रूपमा चित्रण गरिन्छ भन्नेबारेमा तथ्यगत आलोचना गर्दै आएकी छिन् । यो पुस्तक धेरैजसो पूर्वप्रकाशित रचना र केही नयाँ रचना समेटेर आएको छ ।
पुस्तकमा टेलिभिजनबारे जानकारी राख्न चाहने सबैका लागि सामग्री प्रस्तुत गरिएको छ । नेपालमा टेलिभिजनको विकास। त्यसका कार्यक्रमहरूको ढाँचाका बारेमा जानकारी, टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका बारेमा भए–गरेका पूर्वअध्ययनहरूबारे पनि सामान्य जानकारी समेटिएको छ । पुस्तकको दोस्रो भागमा टेलिभिजनका महिलालाई कसरी प्रस्तुत गरिन्छ भन्नेबारे राम्रोसँग चर्चा गरिएको छ ।
प्रस्तुत चर्चाको सुरुको उद्घरणमा पुरुष पत्रकारले महिला कलाकारलाई ‘च्वाँक’ जस्तो अश्लीलता झल्कने बजारु शब्दको प्रयोग गरेर सम्बोधन गरेको प्रसङ्ग उल्लेख छ । यस्तो कुरा नेपाली टेलिभिजनमा प्रसारण हुने सिरियलहरू तथा अन्य कार्यक्रममा समेत महिलाको पुरुष निर्मित छवि प्रदर्शन गराउन निकै प्रयोग हुने गरेका देखिन्छन् । त्यसलाई लेखिकाले राम्रोसँग केलाएकी छिन् । र, पितृसत्तात्मक सोचको विरोधमा खरो रूपमा देखापरेकी छिन् ।
अर्को भागमा टेलिभिजनमा जातिय, क्षेत्रीय तथा लैङ्गिक उपस्थिति केलाइएको छ । र, लेखिकाका अध्ययनका यी माध्यमहरू अझै पनि पुरुष पहाडेहरूकै नियन्त्रणमा देखिन्छन् । दलित, जनजाति, मधेसी र महिलाको सङ्ख्यात्मक उपस्थिति निकै कम छ ।
उनका रचनाका केही ठाउँमा बढी आदर्शवादी आग्रहहरू पनि देखिन्छन् । तर पनि समग्रमा नारीलाई मान्छेका रूपमा हेर्नुपर्ने र त्यसका लागि काँचको पर्दाका प्रस्तुति पनि स्त्री जातिको आधारित आत्मस्वाभिमानयुक्त पहिचान स्थापित हुने गरी, त्यसलाई वस्तुका रूपमा भन्दा अधिकारसम्पन्न नागरिकका रूपमा पुरुषसमान हैसियतमा देखाउनुपर्ने मागका पक्षमा दीपाका अभिव्यक्तिहरू शक्तिशाली छन् ।
स्रोतः नयाँ पत्रिका, १ वैशाख २०६४, पृ. ४