एउटा मौन चिच्याहट

- भावना ओली | 2021-12-01

समीक्षा
विद्यालय शिक्षा लिएका जोकोहीले पढेको विषय हो— इतिहास। आफ्नो देश, छिमेकी मुलुक र विश्वका इतिहास पाठ्यक्रममा राख्ने चलन पुरानो हो। हरेकपटक इतिहासबारे सोच्दा एउटा प्रश्न उब्जिन्छ— हामीलाई पढाइएका ती इतिहासका लेखक को हुन् ? विजयी शासक र सत्तासीनहरू नै औपचारिक इतिहासका मुख्य लेखक हुन्। आखिर को हुन् ती विजयी शासक र सत्तासीनहरू ? मूलतः ती उच्च वर्गका मानिस हुन् र ती अधिकांश पुरुष हुन्।

उच्चवर्गीय पुरुषले आफूअनुकूल इतिहास लेखेका छन्, इतिहासको व्याख्या गर्ने जिम्मा पनि उनीहरूकै छ। उनीहरूका इतिहासमा धेरै मानिसका संघर्ष छुटेका छन्, सीमान्तकृतको चित्रण न्यायपूर्ण भएको छैन। इतिहासका पानामा महिलाको उपस्थिति नगन्य भएको कारण त्यही हो। महिलाका जति चर्चा हुन्छन्, ती पुरुषको पितृसत्तात्मक दृष्टिकोणबाट गरिएका हुन्छन्। सन् १९४७ को भारत विभाजनको इतिहासमा पनि महिलाहरू छुटे, उनीहरूका संघर्ष र दुःख छुटे।

सन् १९४७ मा भारतमा बेलायती उपनिवेशको अन्त्यको घोषणसँगै भएको भारत–पाकिस्तान विभाजनको घोषणाले तत्कालीन समयमा ठूलो हलचल सिर्जना ग¥यो। सो विभाजन देशको मात्र विभाजन थिएन। भौगोलिक सीमा छुट्याउने उपक्रम मात्रै पनि थिएन त्यो। बरु धर्म, परिवार, घर, सम्पत्ति, साथीभाइ, नातागोता अनि छिमेकीबीचको पनि विभाजन थियो। यस्तो विभाजनले निम्त्याएको विषम परिस्थितिमा करिब एक करोड २० लाख मानिस विस्थापित भए। झन्डै १० लाखले ज्यान गुमाए र करिब ७५ हजार महिला बलात्कृत भए। यसै परिवेशलाई सन्दर्भित गर्दै सो समयमा महिलाको अवस्था, अनुभव र संघर्षलाई उजागर गर्ने प्रयास हो उर्वशी बुटालियाको पुस्तक— ‘द अदर साईड अफ साइलेन्स’।

भारतमा पहिलो नारीवादी प्रकाशनगृह ‘काली फर वुमन’को संस्थापकमध्येकी एक बुटालिया चर्चित लेखक, प्रकाशक र अन्वेषक हुन्। आफू कुनै इतिहासकार नभएको र नारीवादी भएकै कारण यो पुस्तक लेख्न सम्भव भएको बुटालियाको तर्क छ। भारतीय इतिहासमा धेरै चर्चा हुने भारत–पाकिस्तान विभाजनको कथ्यमा सो समयका महिलाका भोगाइ, आवाज, संवेदना, दृष्टिकोण र अनुभवलाई मौन बनाइएको वा छुटाइएको तथ्यको उजागर गर्ने प्रयास स्वरूप यो पुस्तक लेखिएको हो।

भारत विभाजनको औपचारिक र प्राज्ञिक इतिहास लेखिँदा महिलाहरू सीमान्तकृत बनाइएका कारण नारिवादी कोणबाट तथ्यहरूको लेखन र विश्लेषण जरुरी ठानेकी हुन् लेखकले। त्यति ठूलो संख्यामा बलात्कृत भएका, असंख्य अपहरण र हत्या गरिएका, धर्म परिवर्तन गर्न बाध्य बनाइएका महिलाको आँसु, रगत र पसिनाले चुर्लुम्मै भिजाएको भारतको इतिहास दस्तावेजीकृत गर्दा पितृसत्तात्मक राजनीति गरियो। इतिहास लेखनको यो ठूलो भ्वाङ पुर्न करिब एक दशक लामो एथ्नोग्रफिक अनुसन्धान, अध्ययन र विभिन्न अन्तर्वार्ताका आधारमा बुटालियाले एउटा जमर्को गरिन्। इतिहास लेखनमा घटनाक्रमका मिति, दिन, समय आदिलाई प्रस्तुत गरिने अब्जेक्टिभ कथ्यको परम्परागत मान्यताविपरीत यस पुस्तकले मौखिक कथ्यअनुरूप नारीवादी दृष्टिकोणबाट भारतीय विभाजनको इतिहासको पुनर्लेखन गरेको छ।

मुलुक विभाजनको प्रत्यक्ष अनुभव गरेको बुटालियाको पारिवारिक इतिहासको वर्णनसँगै यस पुस्तकको सुरुआत हुन्छ। भारतलाई हिन्दुको देश र पाकिस्तानलाई मुस्लिमको देश भनी गरिएको उक्त विभाजनमा बुटालियाको पाकिस्तानमा रहँदै आएको गैरमुस्लिम परिवारका सबै सदस्य भारत बसाइँ सर्छन्। तर, उनका मामा धर्म परिवर्तन गरेर मुस्लिम महिलासँग विवाह गर्छन्, उनको बसोबास पाकिस्तानमै निरन्तर रहन्छ। भारतमा रहेका परिवारका अन्य सदस्यसँग ४० वर्षसम्म सम्पर्कमा आउँदैनन्। परिवार विभाजनको एउटा दुःखद चित्र सुरुमै आफ्नो मस्तिष्कमा कोर्न पाठकलाई बाध्य बनाउँछ। तर, यो बुटालियाको पारिवारिक कथा मात्रै होइन।

महिलालाई मान्छे नगन्ने प्रायःजसो सबै पितृसत्तात्मक समाजले महिलामाथि सधैं नै आफ्ना मान्यता, नियम र कानुन लाद्ने गर्छन्। चाहे त्यो धर्मको नाममा होस्, समुदायको मर्यादा/गौरवको नाममा होस् वा धार्मिक ‘शुद्घता’को नाममा होस्। पितृसत्तात्मक समाजले निर्माण गरेका यिनै मान्यताका आधारमा कयौं महिलाको हत्या, बलात्कार, अपहरण, बाध्यकारी धर्म परिवर्तन गरिएका दृष्टान्तहरूलाई बुटालियाले यस पुस्तकमा सूक्ष्म चित्रण गरेकी छन्।

आफन्त महिलाहरूका धर्म परिवर्तन गराइने डरले पुरुषहरू सधैं चिन्तित रहे। बलात्कार वा गर्भाधान गरेर आफ्नो धर्म (मुख्यतः हिन्दु र सिख) लाई ‘अपवित्र’ हुनबाट बचाउन कयौं बाबु, दाजु, काका, मामाले आफ्नै छोरीचेलीको हत्यालाई उपयुक्त विकल्प माने। यस पुस्तकमा उल्लेख भएकामध्ये एउटा सिख परिवारको घटना कहालीलाग्दो छ। मुसलमान पुरुषबाट अपहृत वा बलात्कृत नहोस् भनेर एक सिख बाबुले आफ्नै छोरीको टाउको छिनाउँछन्।

यस्ता घटनाको विवरणपछि बुटालियाले केही गम्भीर प्रश्न उठाएकी छन्। ती छोरीहरू जो कुलको इज्जत बचाउन बाबुहरूबाट काटिए, के तिनको चेतनाले हतियार लिएर उभिएका बाबु अघिल्तिर निरीह बलि बन्न मौन भएरै स्वीकारे होलान् ? के इतिहासमा तिनका मौनता मात्रै सुनिन्छ ? महिलामाथि भएका र गरिएका बलात्कार लगायतका हिंसालाई ‘अन्य’ धर्मका मानिसप्रतिको द्वेष र बदलासँग जोडेर व्याख्या गरिन्छ। महिलालाई केवल शरीर, सम्पत्ति, समुदाय र राष्ट्रको इज्जतमा सीमित गरिएकोमा लेखकले प्रश्न उठाएकी छन्।

भारत विभाजनका बेला महिलाले गरेका सामूहिक आत्मदाहको घटना ‘द अदर साइड अफ साइलेन्स’ले उठाएका मध्ये अर्को महŒवपूर्ण प्रसंग हो। अर्को धर्ममा परिवर्तित हुनुपर्ने वा बलात्कृत वा अपहृत हुनुपर्ने भयले कयौं महिलाले आत्मदाह रोजे। तोआ खाल्सा भन्ने एक गाउँमा सयौं महिलाले एउटै इनारमा हामफालेर आत्महत्या गरे। यति धेरै महिलाले त्यो गहिरो इनारमा हामफाले कि थप महिलाले त्यही ठाउँमा आत्मदाह गर्न खोज्दा माथिमाथि तैरिएर ज्यान फाल्न सकेनन्।

महिलाको शवले भरिएको त्यो इनारको कल्पना मात्र गर्दा पनि सर्वांग शरीरमा कम्पन छुट्छ। यसरी महिलालाई रोज्न बाध्य बनाइएको सामूहिक आत्मदाहलाई ‘शहादत प्राप्त गर्ने वीरंगना’ भनेर व्याख्या गरिनु कस्तो राजनीति हो ? सयौं महिलाका लासमाथि उभिएर पुरुषले छाँटेको पितृसत्तात्मक राष्ट्रवादलाई इतिहास भनेर कहिलेसम्म पढिरहने ? बुटालियाको मुख्य प्रश्न यही हो।

शहादत भनेर प्रचार गरिएका त्यस्ता घटनाले महिलाको आत्मनिर्णयको अधिकार (एजेन्सी)लाई नकारेको बुटालियाको ठहर छ। आत्मदाह गरेका अधिकांश महिला आफ्ना लागि आफैं निर्णय गर्ने सार्वभौम मानिस हुन् वा धर्म र परिवारका इज्जत नामका मोहरा ? सो समयमा महिलाले आफ्ना विचार, तर्क वा चाहनालाई अभिव्यक्त गर्ने झिनो अवसरसम्म नपाएका व्याख्या इतिहासमा नगर्नु कसको स्वार्थ अनुकूल छ ? विभाजनको सो कालखण्डमा पुरुषले र ‘राष्ट्र’ले समेत महिला र उनीहरूमाथि भएका चरम हिंसालाई अति सीमान्तकृत गरेको दृष्टान्त अनगिन्ती भए पनि तिनको उचित उल्लेख र व्याख्या ऐतिहासिक दस्तावजेहरूबाट छुटे।

पुस्तकमा समावेश घटना पढ्दा जोकोही संवेदनशील पाठक पटकपटक स्तब्ध बन्छ। मानिस त्यो हदसम्म कसरी क्रूर हुनसक्छ ? पुरुषले कुलको इज्जत र धर्मका नाममा महिलाको कसरी त्यस्तो कहालीलाग्दो संहार गर्न सकेका होलान् ? यस्ता प्रश्नले मथिंगल हल्लाउँछन्। ती असंख्य महिला जो भारत–पाकिस्तानको विभाजनमा घानमा परे, हिंसाको चरम रूपसँग साक्षात्कार गर्न बाध्य भए र बनाइए, तिनको पहिचान, आत्मनिर्णयको अधिकार, चेतना वा दृष्टिकोणले सो समयमा र इतिहासका पानाहरूमा समेत शून्य महत्व पाएको थाहा पाउँदा सारा स्थापित मान्यतामाथि शंकालु भइन्छ। त्यस्ता मौन बनाइएका आवाज सबै टिप्न सके दुनियाँको मौजुद इतिहासमा कति फरक आउँदो हो ?

लेखकको दाबीअनुसार यस पुस्तकको उद्देश्य इतिहासमा गरिने ठूला पात्रहरूको कथानक निर्माण र व्याख्याभन्दा अलग्ग ती सहायक पात्रका कथा उधिन्नु हो जो कहिल्यै कम महत्वका थिएनन्। ती सहायक पात्रहरू महिला, बालबालिका र कथित तल्लो जातका मानिस हुन्। यद्यपि यी सबै समूहका सबै कथाहरू यस पुस्तकमा अटाएका छैनन् र त्यो सम्भव पनि छैन। बरु यो किताब एउटा उदाहरण हो जसले इतिहासमा हजारौं पात्र र समूहका संघर्ष दबाइएका छन् भन्ने त देखाउँछ नै, तिनलाई समेटेर इतिहासको पुनर्लेखन सम्भव छ भन्ने पनि पुष्टि गर्छ।

पुस्तकमा कतिपय घटना दोहोरिएका जस्ता लाग्छन् किनभने उस्तै दुःख भोगेका धेरै मान्छेका कथा भन्न खोजिएको छ। दोहोरिनु जरुरी पनि होला तर कतिपय पाठकले उस्तै खाले घटना पढ्न झिँझो मान्न सक्छन्। केही मानक घटनाबाट यस्ता सयौं घटना छन् भनेर देखाइएको भए, पुस्तक केही चुस्त बन्ने थियो। त्यस्तै लेखकले धेरैपटक आफू इतिहासकार नभएको उल्लेख गरेकी छन् जुन जरुरी थियो जस्तो लाग्दैन। इतिहास लेखनका स्थापित मापदण्डलाई समेटेको छैन भनेर बुझाउन त्यसो भनिएको भए पनि गम्भीर पाठकलाई पुस्तकप्रति विश्वस्त नहुनुपर्ने कारण छैन। प्राज्ञिक पाठकले पुस्तकका धेरै कमजोरी औंल्याएका होलान् तर ती कुनै पनि कमजोरीले यो पुस्तकको महत्व घटाउन सक्दैनन्।

पुस्तक पढिसकेपछि मनमा उठेका प्रश्नले सम्भवतः सदैव झस्काइरहनेछ— नेपालमा त्यस्ता कति घटना होलान् जसका लिखतमा महिला र सीमान्तकृत मानिसका योगदान र संघर्षहरू छुटेका छन् ? ती सबै खोजेर इतिहासको पुनर्लेखन गर्न सके नेपाल कति फरक देखिँदो हो ?

(ओली मार्टिन चौतारीसँग सम्बद्ध अनुसन्धाता हुन्।)

स्रोतः http://annapurnapost.com/news-details/92337


About the Author

More Blogs