गरिबीमाथि एउटा सार्थक बहस

2021-10-18

यता सुखीको बस्तीमा विकासको नारा घन्किरहेछ
उता गरिबको बस्तीमा भोकको ज्वाला दन्किरहेछ
सइन पल्टेको घाउझैँ दखिरहेछ दु:खी जिन्दगी
जिन्दगीमा केही मीठो गाँस खाने आशाहरू
बच्चाका आँखाहरूमा बालतोडझैँ रन्किरहेछ

अहुतिको यही कवितांशजस्तै काठमाडौँका सुखी मान्छेका क्लबहरूमा, गरिबी निवारण, भूमिसुधार, विपन्न वर्ग लक्षित कार्यक्रमसँगै समाजवाद्‍, समानता, सामाजिक न्याय, प्रजातन्त्र र देश विकासबारे आयातीत शब्दहरूको राम्रो जाल हालेर स्वादिलो विदेशी सहयोगको खोलामा माछा मार्ने काम हुन थालेको पचासौँ वर्ष भयो । उता दु:खीहरूका बस्तीमा लागेको दीर्घ अनिकाल जस्ताको तस्तै छ । डल्ले कामी, च्यान्टे दमाई, मादले सार्की, रामइकवाल मुसहरका सन्तानहरू सधै सुकेनाश लागेको पेट हल्लाए, अनुहारमा भन्केका झिँगा धपाउन नसकी रोइरहेछन्‍ । सन्‍ २००० आयो, गयो । आधारभूत आवश्यकता आयो, गयो । प्रजातन्त्रहरू आए, गए । नेताहरू आए, गए । कृषि विकास, लघुऋण, पञ्चवर्षीय योजना, वाषिक बजेट हुँदै आजभोलि त विकास फलाउने एनजीओ बाबुसाहेबहरू र मैयाँसाहेबनीहरू पनि आइरहेछन्‍ र गइरहेछन्‍ । रेडियोमा, भाषणमा स्कुलमा र चौतारीमा सुनिएका विकासका गफ गरिबहरूलाई हेर्दै नहेरी तर्कीतर्की हिँडिरहेछन्‍ । बरु बसाइँ हिँड्‍ने क्रम रोकिएको छैन । लाहुर भास्सिने क्रम रोकिएको छैन । किन भएको यस्तो ? कहिलेसम्म हुन्छ यस्तो ?केयसबाटपारपाउनसम्भवछैन ?

यसपालि मार्टिन चौतारीले चलनचल्तीका विकासे कुरा र सरकारी भाकामा भनिएका कुराको असली रुपमाथि अर्काथरी सुखीहरूले अर्कै कोणबाट लेखेका कहानी समेटेर एउटा पुस्तक बजारमा ल्याएको छ । चौतारीका तीन भाइ सम्पादकहरू मिलेर नेपालमा गरिबीको बहस नामक पुस्तकमा नेपालमा गरिबी र त्यसका नाममा भएका बहसलाई एकमुष्ट बनाएर सम्पादन गरेका छन्‍ । त्यहाँ गरिबीबारे बीपी कोइरालादेखि मेरी डेशेनसम्मका लेखहरू समाविष्ट छन्‍ । किन गरिबी बढेको हो भन्ने कुराको खोजतलास छ । ''म विकासको सिकार भएँ हजुर जनी गरेर मलाई मद्दत गर्नुस्‍'' भन्ने किसानहरूका चित्कार समेटेर आजसम्मको विकासे अवधारणमाथि व्यङ्‍ग्य गरेकी छिन्‍ मेरी डेशेनले ।

विदेशी सहायता, यसले लोकतन्त्रलाई पुर्‍याउँदै आएको खतरा एवं नेपालको विकास र गरिबी विश्लेषण पाइन्छ सेरा तामाङको लेखमा । हामी किन गरिब ? भन्दै हाम्रो राज्यका दोषपूर्ण नीतिमाथि ऐतिहासिक दृष्टि दिएका छन्‍ दीपक ज्ञवालीले । त्यस्तै छन्‍ यहाँ भरियाका कथा भन्दै गरेका कनकमणि दीक्षित । उता कुष्ण पहाडीले गरिबी निवारणलाई मानवअधिकारसँग गाँसेर अध्ययन गरेका छन्‍ । हरि रोकाले संरचनागत समायोजन कार्यक्रमले बढाएको गरिबीबारे लेखेका छन्‍ । पिताम्बर शर्मा, चैतन्य मिश्र, देवेन्द्रराज पाण्डे र विकास पाण्डेजस्ता स्थापित कलमहरू छन्‍ पुस्तकमा । पत्रकारिता क्षेत्रका खिम घले, बाबुराम विश्वकर्मा, गोपाल गुरागाई, हस्त गुरुङ, मोहन मैनालीहरूले द्वन्द्वस्रोत र गरिबीलगायतका विषय समेट्‍दै कलम चलाएका छन्‍ ।

पाँच खण्डमा विभाजित पुस्तकले गरिबीको सैद्धान्तिक पक्ष, गरिब समाज र राजनीति, क्षेत्रगत असमानता, पहुँच र स्रोत, योजना र विकास तथा सम्भावना र बहस गरी गरिबीको अध्ययनलाई सूत्रबद्ध बुझ्न सघाएको छ । र, यसले गरिबीको अध्ययनलाई तथ्याङ्‍कहरूको भुमरीबाट बाहिर निकाल्ने सार्थक तर प्रारम्भिक प्रयास गरेको छ ।

पुस्तकमा कमी नै नभएकोचाहिँ होइन । यसले गरिबी निवारणको राजनीतिक अर्थशास्त्रलाई मूर्तिकरण गर्ने पार्टी नीतिहरू र तिनका ड्राइभरहरूका लेखरचना समावेश गर्न सकेको छैन । अर्कोतिर देशलाई हल्लाइरहेको माओवादी विद्रोहको आर्थिक प्रस्थापना पनि समेट्‍न सकेको छैन । साथसाथै गरिबहरूका आवाज नै समेट्‍ने एकाध प्रस्तुति भएको भए गरिबीबारे गरिबहरू नै चाहिँ के भन्छन्‍ भन्ने थाहा हुन्थ्यो । यसले पुस्तकलाई बढी पूर्ण बनाउँथ्यो ।

 

स्रोतः नेपाल, ३ माघ २०६१ पृ ४६


About the Author

More Blogs