अमृता लम्साल । २०७६ । हजुरआमाका कथा । काठमाडौँ : अक्षर क्रिएसन्स नेपाल ।
पत्रकार तथा अभियन्ता अमृता लम्सालद्वारा लिखित हजुरआमाका कथामा ८० वर्ष उमेर कटेका २३ जना हजुरआमाका र तीन जना नातिनीहरूका अनुभूति समेटिएका छन् । पुस्तकमा समाविष्टमध्ये २२ ओटा कथा सेतोपाटी अनलाइनमा “हजुरआमाका कथा” नामक स्तम्भमा पहिल्यै प्रकाशित भइसकेका थिए । राजा-महाराजाका कथा मात्रै लेखिने समयमा आम मानिसका कथा लेखिएनन् । र जब आम मानिसका कथाहरू लेखिन थाले त्यसपछि पुरुषका मात्रै कथा लेखिए भन्ने धारणा लेखक लम्सालको छ ।
कुल १४ पेज लामो “प्राक्कथन” ले समाजमा महिलासँग जोडिएका कतिपय तथ्य र सन्दर्भ प्रस्तुत गर्छ । यसमा लेखकले “आगो ताप्तु मुढाको, कुरा सुन्नु बूढाको” भन्ने भनाइ पुरुषको हकमा मात्रै लागू भएको बताएकी छन् । महिलालाई तत्कालीन बौद्धिक जगतले हेर्ने नजरिया, विगतमा नेपाली महिलाका अधिकारका लागि भएका राजनीतिक घोषणा तथा कानूनका सन्दर्भ र सार्वजनिक रूपमा गुमनाम पारिएका इतिहासका तथ्यहरू पनि प्राक्कथनमा समेटिएको छ । किताबमा संकलित कथाहरूको सारांश सहित यो किताब कसरी तयार भयो भन्ने जानकारी पनि प्राक्कथनले दिन्छ ।
किताबका पाना पल्टाउँदै जाँदा यसमा एउटा समूहका मानिसका कथा मात्रै परेको हो कि भन्ने आभास हुन्छ । काठमाडौँको सार्वजनिक वृत्तमा परिचित व्यक्तिका आमाहरू उल्लेख्य संख्यामा समेटिनुले त्यस्तो लागेको हो । जस्तै, इन्द्रमाया पौडेल सांसद बिमला राई पौडेलकी आमा, कान्छीमाया दुलाल साहित्यकार आहुतिकी आमा, कृष्णकुमारी घिमिरे अभियन्ता तथा किताबकी लेखक अमृता लम्सालकी हजुरआमा, चोककुमारी पोखरेल पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलकी आमा, जमुना गुरुङ प्राज्ञ पुष्कर गुरुङकी आमा, जानकी के.सी. कार्टुनिष्ट राजेश के.सी.की आमा, पुन्यवता गुरागाईं पत्रकार गोपाल गुरागाईंकी आमा, मित्र कुमारी अधिकारी मोना श्रेष्ठकी सासुआमा, रुद्र कुमारी भुर्तेल जुगल भुर्तेलकी आमा, हरिकला लामिछाने एनआरएन नेता जीवा लामिछानेकी आमा हुनुहुन्छ । केही भने आफै नै सार्वजानिक वृत्तमा परिचित नामहरू हुन् । जस्तै, तुला राणा, शान्ति ठटाल, भगवती अधिकारी, रत्ना राई, नारायणदेवी श्रेष्ठ । र, किताबमा समेटिएका धेरै जसो हजुरआमाहरू अन्तरवार्ता लिएको समयमा काठमाडौँमै बसोबास गरिरहेका थिए । ।
यसरी काठमाडौँमा बसोबास गरेका वा सार्वजनिक क्षेत्रमा पहिचान बनाएका मानिसका आमाहरूका कथा समेटिनुको कारणबारे लेखकले प्राक्कथनमा “आफूले चाहँदा चाहँदै पनि काठमाडौँभन्दा बाहिर जान नसकेको” र कुनै आर्थिक सहयोग वा परियोजनामा आधारित नभएको भन्ने प्रस्टोक्ति दिएकी छन् । लेखकलाई हजुरआमाका कथामा खास चासो भएको हुँदा जो-जोसँग उहाँको पहुँच भयो, जो हजुरआमाका सन्तानहरूबाट कथा प्रकाशन गर्ने अनुमति मिल्यो, उहाँहरूको कथा किताबमा समावेश गरिएको बुझिन्छ ।
कथामा समेटिएका हजुरआमाहरू कथा तयार गर्दाको समयमा काठमाडौँमै बसोबास गरिरहेको भए पनि १३ जना हजुरआमाका कथाले काठमाडौँ बाहिरको नेपालका महिलाहरूको प्रतिनिधित्व गर्छन् । ती १३ मध्ये तीन जना नेपालबाहिर जन्मिएका हुन् । बाँकी दश जना हजुरआमाहरूका कथाबाट भने महिलाका आँखाबाट काठमाडौँको तत्कालीन परिवेशबारे जानकारी पाइन्छ ।
कथाहरू पढ्दा हजुरआमाहरू काठमाडौँमा बसेका र सार्वजानिक वृत्तमा छवि बनाएका भए पनि उहाँहरूले शासक वर्गको प्रतिनिधित्व गर्नुहुन्न भन्ने महसुस हुन्छ । त्यसै गरी उहाँहरूको उमेर वा बाँचेको समय एकै भए पनि उहाँहरूका कथाको विषयवस्तु विविध छन् । शिक्षामा पहुँच, हिँडडुलको स्वतन्त्रता, विवाहको उमेर र जीवनसाथीको रोजाइ, नापेको भूगोल, भोगेको जिन्दगी र जिन्दगीको मूल्य-मान्यताबारे उहाँहरूको भोगाइ र दृष्टिकोण एकैनासका छैनन् ।
विवाहको कुरा गर्दा ब्राह्मण समुदायका हजुरआमाहरूले आफूहरूको विवाह ७ देखि १४ वर्षको उमेरमै भएको बताउनुभएको छ भने नेवार समुदायका महिलाहरूको विवाह १५ वर्ष पुगेपछि मात्र भएको देखिन्छ । ब्राह्मण र नेवार परिवार बाहेकका महिलाहरूको भने विवाहको उमेरमा कुनै समानता पाइँदैन । नेपाल बाहिर हुर्केका महिलाहरू आफ्नो जीवन साथी छान्ने विषयमा नेपालभित्र हुर्केका महिलाको तुलनामा बढी स्वतन्त्र रहेको कथाहरू पढ्दा थाहा हुन्छ ।
हजुरआमाका कथाहरूले चुलोचौको, सन्तान र गर्भका कथा त भन्छन् नै, साथसाथै तत्कालीन समाजका विविध परिवशबारे पनि यथेष्ट जानकारी दिन्छन् । इन्द्रमाया पौडेलको कथाले बर्माको भूमि उपयोग नीति र दास्रो विश्वयुद्धको त्रासदीबारे बताउँछ । कान्छीमाया दुलालको कथा एक समृद्ध परिवारको कथा हो । यस कथा मार्फत क्रान्तिकारी मानिएको वृद्धभत्ता कार्यक्रम कसरी सीमान्तकृत समुदायभन्दा उच्च वर्गका मानिसलाई मात्रै उपयोगी थियो भन्ने तथ्य बुझ्न पाइन्छ । कृष्णकुमारी घिमिरेको कथामा जुद्ध शमशेरले रोकेको तडकभडकपूर्ण विवाहको प्रसंग समेटिएको छ । चोककुमारी पोखेलका कथाले नब्बे सालको भुइँचालो र प्रधानमन्त्री परिवारको कुनै सदस्यको मृत्यु हुँदा देशले नै ४५ दिन शोक बार्नुपरेको जानकारी दिन्छ । तारादेवी राईको कथाले २००४ सालमा नै नेपालमा काँग्रेसहरूले कम्युनिस्टप्रति गरेको विभेदको कथा मात्रै भन्दैन, मलेसियामा कम्युनिस्टलाई दमन गर्न पुगेका ब्रिटिश गोर्खाका सिपाही आफै कम्युनिस्ट भएको तथ्य समेत प्रस्तुत गर्छ । त्यस्तै, तुला राणाको कथाबाट २०१४ सालमा अमेरिकी सहयोग नियोगको सहकार्यमा शुरू भएको महिला प्रशिक्षण केन्द्र, अमेरिकाका रेस्टुरेन्टहरूमा त्यति वेला काला र गोरा जातिका मानिसहरू बस्नका लागि छुट्टाछुट्टै ठाउँको व्यवस्था गरिएको जस्ता पक्षबारे जानकारी पाइन्छ । देवमाया मानन्धरको कथाले नेपाली नोट आउनुभन्दा अगाडि चलनचल्तीमा रहेको पानीढिकी (महेन्द्रमल्ली वा मोहोर) का कुरा र भगवती उप्रेतीका कथाले नेपालमा फ्रान्सेली पर्यटक र पर्यटक गाइडको इतिहास बताउँछन् । त्यसै गरी रजिया बेगमको कथाले तत्कालीन राजा त्रिभुवनको परिवारसँग उहाँको परिवारको निकटताबारे बताउँछ भने विष्णुकुमारी श्रेष्ठका कथाले तनहुँको सदरमुकाम २०२५ सालमा बन्दीपुरबाट दमौली सार्दाका प्रसंगबारे जानकारी गराउँछ ।
पुस्तकमा समेटिएका २३ कथाहरूले समय र स्थानको आधारमा सामाजिक व्यवस्था, सरकारी नीति र स्थान विशेषका इतिहास र समयक्रमसँगै तिनमा आएका परिवर्तनलाई उजागर गर्छन् । त्यसका आधारमा हामी त्यस बखतको र अहिलेको समाजको बीचमा तुलना गर्न सक्छौँ ।
यो पुस्तकले ८० वर्ष यता हाम्रो समाजमा महिलाको प्रगतिमा के-कस्ता परम्परा र संस्कृति कसरी बाधक बने भन्ने चित्र पनि प्रस्तुत गर्छ । महिलाले गीता पाठ गरेर प्रलय निम्त्याएको वा अलच्छिन लगाएको भन्दै पञ्चायत बस्ने, विदेश अर्थात् सात समुद्र पारी गएको भनेर फर्केपछि गौदान गराउने, परिवार नियोजन ग¥यो भने पितृ भाग्छन् र समाजमा मानिसले भात पानी काढ्छन् भन्ने डरले परिवार नियोजन नगर्ने जस्ता चलन वा परम्पराबारे हजुरआमाहरूले आफ्ना कथाहरूमा बताउनुभएको छ । त्यस्तै, ब्राह्मण परिवारका सदस्यले हलो जोत्न नहुने, पहिलो श्रीमतीबाट छोरीछोरी जन्मेपछि दोस्री श्रीमती भित्र्याउने, बालविवाहको प्रचलन, अन्तर्जातीय विवाह र जातका आधारमा बुहारीमाथि हुने भेदभाव, महिलाले पढे बोक्सी हुन्छन् भन्ने जस्ता रुढिवादी मान्यता र सामाजिक कुरीतिबारे पनि पुस्तकबाट जानकारी पाइन्छ । साथै, यस्ता परम्परागत मूल्य मान्यताका कारण कसरी महिलाको जीवन, बौद्धिकता र स्वास्थ्य प्रभावित भयो भन्ने विश्लेषण गर्न पुस्तकले सघाउँछ ।
यस पुस्तकमा रुढीवादी परम्पराले महिलालाई बाँधेका कथाहरू मात्र छैनन्, गलत परम्परा तोडिएका कथाहरू पनि प्रशस्तै पाइन्छ । दुई ओटा उदाहरण हेरौँ । पहिलो, इन्द्रमाया पौडेलले गीता पाठ गर्दा पञ्चायत बसेर पढ्न नदिने भन्ने मानिसहरू पछि इन्द्रमायासँग नै सरसल्लाह लिन आएका थिए । दोस्रो, नानीछोरी श्रेष्ठका बूढा ससुरा, जो ब्राह्मण पुजारी थिए, ले नेवार महिलासँग प्रेममा परेर विवाह गरेपछि आफ्नो थर नै नेवार राखे । यस्ता रोचक प्रसंगहरू पनि पुस्तकमा छन् ।
यो पुस्तकबाट तत्कालीन नेपालमा शिक्षाको अवस्थाबारे पनि थाहा पाउन सकिन्छ । २३ जनामध्ये आठ जना हजुरआमाहरूले बाल्यकालमै पढ्न पाउनुभएको रहेछ । केहीले आफ्नै रहरले, कुचोले बढार्दा आउने धुलोमा लेख्दै, चुलाका गालामा कोर्दै वा सन्तानले पढ्ने-पढाउने भएपछि पढ्नुभएको रहेछ । आफ्ना अभिभावक र श्रीमान्को साथ र सहयोग पाएका हजुरआमाहरूले पढ्नुभएको मात्रै छैन सार्वजनिक क्षेत्रमा पुरुष सँगसँगै बलियो उपस्थिति पनि देखाउनुभएको छ । जो हजुरआमाहरूले पढ्न पाउनुभएको छैन, उहाँहरूले आफ्ना सन्तानलाई हुर्काउन अनेक संघर्ष गर्नुभएको छ । आफ्नै श्रीमान्लाई पनि आधुनिक शिक्षा दिलाउन मिहिनेत गर्नुभएको छ ।
धेरैजसो ८० वर्ष नाघेका हजुरआमाको कथा भएकाले उहाँहरूले भोग्नुपरेको वृद्धावस्थाका संघर्ष र भोगाइबारे पनि पुस्तकले केही समेटेको होला भन्ने स्वाभाविक अपेक्षा पाठकलाई हुन्छ । तर धेरै हजुरआमाका कथाको विषयवस्तु इतिहासमा केन्द्रित हुँदा उहाँहरूको वर्तमान जिन्दगीका पाटोबारे यो पुस्तकमा थोरै मात्र चर्चा भएका छन् ।
किताब सम्पादनमा भएको कमीकमजोरीका कारण ठाउँठाउँमा तथ्यगत त्रुटिहरू समेत बाँकी रहेका छन् । “दुईमुरी बिउ लाग्ने धान खेत” हुनु पर्नेमा “दुईमुरी फल्ने धान खेत” लेखिएको छ । वि.सं. १९९० को भूकम्पमा १०–१२ वर्ष जतिको थियो होला भनिएको मानिसको जन्म मिति १९९६ साल भनी उल्लेख गरिएको छ । विवाह १२ वर्षमा भएको र विवाहको छ वर्षपछि सन्तान जन्माउँदा १८ वर्षकी हुनु पर्नेमा १६ वर्षकी भएको उल्लेख छ । यस्ता गल्तीले पाठकलाई अलमलमा पारिदिन्छन् ।
झट्ट हेर्दा हजुरआमाका कथा नेपाली समाजमा आफ्नै कर्मले स्थापित भएका आमा तथा स्थापित व्यक्तिहरूका आमाका कथा जस्ता लाग्छन् । लेखकको सामाजिक पहुँच र काठमाडौँ बाहिर जान नसक्ने सीमाका कारणले यी महिलाहरूलाई छानिएको कुरा लेखकले नै बताउनुभएको छ, यद्यपि काठमाडौँमै बसिरहेका हजुरआमाहरूका यी कथा काठमाडौँ भित्रको परिवेशमा मात्रै सीमित छैनन् । एकै उमेर समूहका व्यक्तिका अनुभव र भोगाइ भए पनि पुस्तकमा एकै प्रकारका कथा छैनन् । पहुँच, अवसर र बन्धनका हिसाबले सबै महिला एकै छैनन् भन्ने निष्कर्ष अध्येता मीना आचार्य र उहाँका सहकर्मीहरूले वि.सं. २०३० को दशकमा नै निकाल्नुभएको थियो । साथै, “नेपाली महिला” भनेको कुनै एकै प्रकारका महिलाहरू नभई सामाजिक, सांस्कृतिक रूपमा विविधतायुक्त महिलाहरू हुन् भन्ने बारेमा वि.सं. २०५० को दशकदेखि अरू अध्येता (सेरा तामाङ, अमिना सिंह, सरिता परियार, कैलाश राई लगायत) ले गरेका तर्कलाई पनि हजुरआमाका कथाले थप पुष्टि गर्छ ।
यो पुस्तक तीन कारणले महत्त्वपूर्ण छ । पहिलो, यी कथाहरूबाट गएका आठ दशकको नेपाली समाज महिलाका नजरबाट हेर्दा कस्तो देखिन्छ वा त्यस अवधिको नेपाली समाज महिलाका लागि कस्तो थियो भन्ने प्रश्नको उत्तर दिन्छ । त्यसैले यसमा भएका कथाका सन्दर्भसँग वर्तमान महिलाका सन्दर्भको तुलना गरेर हेर्न सकिन्छ । दोस्रो, यी कथाहरूले आम मानिसको जीवन र संघर्षका कथाहरू बताउँछन् । तेस्रो, नेपाली महिलाको जिन्दगी विविधतापूर्ण छ भन्ने तर्कमा ईँटा थप्छन् र थप सार्वजानिक बहसका लागि ढोका खोल्छन् ।