हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी - समाज अध्ययन १४

2021-09-28

चैतन्य मिश्र । सन् २०१७ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी । काठमाडौँ : प्रोफेसर चैतन्य मिश्र फाउण्डेशन फर सोशियल साइन्सेज एण्ड सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलोजी, त्रिभुवन युनिभर्सिटी ।

 

सामान्यत: आर्थिक रूपमा विपन्न हुनुलाई गरिबी र आर्थिक तथा सुविधाको हिसाबले सम्पन्न हुनुलाई समृद्धि भन्ने गरिन्छ । तर बिस्तारै गरिबी र समृद्धिको परिभाषामा परिवर्तन भएको छ : आर्थिक मात्र होइन, व्यक्ति र समाजको समष्टिगत अवस्थालाई हेरेर मात्र गरिबी र समृद्धिको परिभाषा गरिन्छ । स्थान, समय र परिवेश अनुसार समृद्धि र गरिबीलाई आ-आफ्नै ढंगबाट व्याख्या गरेको पाइन्छ ।

समाजशास्त्री चैतन्य मिश्रले हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी पुस्तक मार्फत घरपरिवारको समृद्धि र गरिबीको बाटोलाई केलाएका छन् । यो पुस्तक मोरङको सोनापुर गाउँमा गरिएको अनुसन्धानमा आधारित छ । १५ जोडी दाजुभाइ गरी ३० जनाले १५, ३०, ४५ र ६० वर्ष हुँदा, अर्थात् १५ वर्षको उमेर अन्तरालमा, भए-गरेका कामलाई आधार मानी “कस्ता घरपरिवार समृद्धितर्फ र कस्ता घरपरिवार गरिबीतर्फ उन्मुख हुन्छन्” भन्ने विषयको निष्कर्ष यस पुस्तकमा निकालिएको छ ।

अन्तर्वार्ता, जीवनवृत्त, अवलोकन जस्ता गुणात्मक विधि प्रयोग गरी तथ्यांक बटुलिएको छ । ३० जना उत्तरदातासँग १५–२९, ३०–४४, ४५–५९ र ६० वर्षभन्दा माथि उमेरको हुँदा गरेका काम र ज्याला मजदुरी, पेशा र आम्दानी; स्वास्थ्य र शिक्षा; विवाह र दाइजो; प्रमुख खर्च र उनीहरूले विभिन्न पेशा-व्यवसायमा गरेको लगानीलाई सूचक बनाएर अध्ययनका लागि आवश्यक तथ्य संकलन गरिएको छ । तथ्य संकलनका लागि अनुसन्धान समूहले दुई पटक सोनापुर पुगेर तथ्य बटुलेको थियो । मुख्य गरी जमिन, पेसा र आर्थिक हैसियत अनुसार घरपरिवारलाई “धेरै गरिब,” “गरिब,” “मध्यम,” “समृद्धतर्फ उन्मुख” र “समृद्ध” घरपरिवारमा विभाजन गरी अध्ययन गरिएको छ ।

यो पुस्तक सात अध्यायमा विभाजित छ । पुस्तकको पहिलो अध्यायमा “गरिबी” आर्थिक, राजनीतिक, सामाजिक र बौद्धिक समस्या कहिले बन्यो भन्नेबारे सैद्धान्तिक विश्लेषण छ । उनका अनुसार सत्रौँदेखि उन्नाइसौँ शताब्दीको बीचमा गरिबी र समृद्धिबारे बहस हुन थाल्यो । जुन बेलादेखि पूँजीवादले जरा गाड्यो, त्यो बेलादेखि गरिबी सामाजिक समस्या हुन थाल्यो । पूँजीवादले गर्दा बसाइँसराइ, औद्योगिकीकरण, शहरीकरण बढ्यो । घरपरिवारको संरचना, सामाजिक हैसियत, कथित श्रेणीमा ठूलो विभेदीकरण ल्यायो । घरपरिवार अनुसार सम्पन्नता फरक हुँदै गयो । पहिलादेखि बन्दै आएका मान्यताहरू खलबलिए । भाग्यका कुरामा विश्वास गर्न छाडे । परम्परागत पेशाबाट बाहिर निस्के । आफ्ना पुर्खा जहाँ बसेका थिए त्यहीँ बस्नु पर्छ भन्ने मान्यता हट्दै गयो । यी र यस्तै सामाजिक उथलपुथलले लोकतान्त्रिक मूल्य-मान्यता स्थापित गर्न भूमिका समेत खेल्यो । साथै, पैतृक अधिकार र नागरिक अधिकार जस्ता अवधारणा स्थापित गरायो । त्यसपछि विपन्नले आफू गरिब भएको दाबा गरे । र गरिबीको सामाजिक र संरचनात्मक कारण खोजी गर्न थाले । विपन्नले पनि समृद्धितर्फ उक्लिनका लागि आन्दोलन गर्न थाले । कतिपय यस्ता आन्दोलन हिंसात्मक पनि भए । यी र यस्तै सामाजिक घटनाले राज्यको शासकीय स्वरूपको अवधारणमा नै परिवर्तन ल्यायो । अनि सामाजिक कल्याणकारी राज्यको अवधारणा शुरू भयो । मिश्रका अनुसार नागरिक अधिकार र नागरिकताको प्रावधान समेत यसै अवधारणाबाट आएको हो ।

पुस्तकको दोश्रो अध्याय “पाथवेज टु प्रोस्परिटी एण्ड पोभर्टी” मा गरिबी र समृद्धिको बारेमा लेखिएका साहित्यको समीक्षा गरिएको छ । विशेष गरी सन् १९८५ पछि कुनै घरपरिवार कसरी समृद्ध हुन्छन् र कुनै कसरी गरिब उन्मुख हुन्छन् भन्ने सन्दर्भमा गरिबी र समृद्धि सम्बन्धी लेखहरू प्रकाशित भएको पाइन्छ । यी लेखले गरिबी, राज्यसँग सम्बन्धित विषय भए तापनि कुनै घरपरिवार गरिबीतिर उन्मुख हुनु र कुनै समृद्धितिर उन्मुख हुनुको प्रमुख निर्धारक तत्त्व घरपरिवार आफै हो भन्ने मान्यता राख्छन् । यी अध्ययनले प्राकृतिक विपत्ति, घरपरिवारको आन्तरिक कारण (जस्तै : विवाह, जन्म, मृत्यु, नयाँ घर निर्माण, बुढ्यौली र स्वास्थ्य अवस्था) ले घरपरिवारको समृद्धि र गरिबीको खाका तय गर्छ भन्ने तर्कलाई बढी जोड दिएको देखिन्छ । मिश्रका अनुसार यी अध्ययनले ऐतिहासिक कालदेखि जीविकोपार्जनमा कस्ता खाले “विविधीकरण” आए भन्ने कुरा देखाएका छैनन् । त्यसै गरी, कस्ता खाले घरपरिवार समृद्धि उन्मुख हुन्छन् र कस्ता खाले घरपरिवार गरिबीतर्फ उन्मुख हुन्छन् भन्ने तथ्यलाई समग्रमा भन्न सकेका छैनन् । घरपरिवारको समृद्धि र गरिबीलाई सूक्ष्म ढंगबाट मात्र बुझ्न नसकिनेमा मिश्र जोड दिन्छन् । मिश्रले घरपरिवारको समृद्धि र गरिबीलाई बुझ्न परिवारका सदस्यदेखि ऐतिहासिक पक्ष र सामाजिक संरचना सम्मलाई हेर्नुपर्छ भनेका छन् । गरिबी र समृद्धिलाई बहु-आयामिक पक्षबाट विश्लेषण गर्नुपर्ने मिश्रको जोड छ ।

पुस्तकको छैटौँ अध्याय अनुसन्धानको मूल निष्कर्षमा केन्द्रित छ । अध्ययनले त्यस्ता घरपरिवार समृद्धितर्फ लागेको देखिएका छन् जसले जीविकोपार्जनको माध्यमलाई “विविधीकरण” गरेका छन् । अर्थात्, उनीहरूले कृषिबाट गैर-कृषि पेशातर्फ परिवारलाई लगेका छन्; शिक्षामा लगानी गरेका छन्; वैदेशिक, औपचारिक क्षेत्र वा शहरी क्षेत्रमा रोजगारी गरेका छन् । स-साना पसल, डेरी, पशुपालन, चिया पसल, धान कुट्ने मिल जस्ता शहरमा हुने काम गाउँमै बसेर गर्ने घरपरिवार छिट्टै सम्पन्नतातर्फ लागेको देखिन्छ । त्यस्ता घरपरिवार गरिबीतर्फ उन्मुख छ जसले परम्परागत ढाँचाबाटै जीविकोपार्जन गरिरहेका छन् वा आफूलाई समय अनुकूल परिवर्तन र उत्पादनका स्रोतलाई विविधीकरण गर्न सकेका छैनन् ।

उदाहरणका लागि पुस्तकमा अध्ययन गरिएका १५ जोडी दाजुभाइमध्ये तीन जोडी दाजुभाइको जीविकोपार्जनलाई हेरौँ । पहिलो जोडी दाजुभाइमध्ये एक भाइ जीविकोपार्जनमा विविधीकरण गरी सम्पन्नतातर्फ गइरहेको छ भने अर्को भाइले खासै जीविकोपार्जनमा विविधीकरण गर्न सकेको छैन । त्यसै गरी, दोस्रो जोडी दाजुभाइमध्ये एक भाइ शिक्षित छ र उसको स्थायी जागिर पनि छ, अर्को भाइ खेती किसानीमै छ । खेती किसानी गर्ने भाइको तुलनामा शिक्षित, जागिर भएको भाइ धेरै सम्पन्न छ । त्यस्तै, तेस्रो जोडी दाजुभाइमध्ये एक भाइ कृषिलाई व्यवसायीकरण गरी डेरी, चिया पसल, मिल सञ्चालन गरी सम्पन्नतातर्फ उन्मुख छ, भने अर्को भाइ परम्परागत खेती किसानी नै गर्छ ।

मिश्रका अनुसार घरपरिवारको सम्पन्नता र विपन्नताको बाटो सबै पुस्तामा एउटै हुँदैन । जमिन पहिला सम्पन्नता र विपन्नताको आधार थियो भने अहिले शिक्षामा लगानी, जीविकामा विविधीकरण, कृषिमा व्यवसायीकरण महत्त्वपूर्ण तत्त्व भएका छन् । साथै, एउटै घरका सदस्यहरू जसले विभिन्न थरीका काम गर्छन्, ती घरहरू सम्पन्नतातर्फ उन्मुख देखिएका छन् । घरमूली वा परिवारका अन्य सदस्यहरू बिरामी वा दीर्घरोगी तथा अपांग छन् भने ती घरपरिवार अरूको तुलनामा विपन्न छन् ।

उदाहरणका लागि, त्यहाँ त्यस्ता केही घरपरिवार छन् जसको जमिनको पहुँच बराबर छ तर कसैको जीविका राम्रोसँग चलिरहेको छ भने कसैको छैन । अध्ययनको पहिलो घरपरिवार र दोस्रो घरपरिवारसँग क्रमशः ४.३ र ६ हेक्टर जमिन छ । उनीहरू उच्च आय स्रोत भएको परिवारमा पर्छन् । पहिलो घरपरिवारको तीन छोराले उच्च शिक्षा प्राप्त गरी अहिले कारखाना/उद्योग मालिक, शिक्षक र पुलिस भएका छन् । उनीहरू विवाह गरेर छुट्टाछुटै देशको विभिन्न ठाउँमा बस्छन् । दोस्रो घरपरिवारको छोराले भर्खर विद्यालय शिक्षा पूरा गरेका छन् । पछि गएर उसले पनि गैर-कृषि क्षेत्रमै आफ्नो भविष्य खोज्ने देखिन्छ । यसरी हेर्दा, पहिलो घरपरिवारले जीविकामा विविधीकरण गरी फाइदा लिइरहेको छ । त्यसै गरी २९ र ३० नम्बरका घरपरिवारसँग प्रशस्त जग्गा जमिन भए पनि जीविकामा भने विविधीकरण छैन । परम्परागत खेती किसानी नै गरेर बसेका छन् । २९ नम्बरको घरपरिवारमा चार जना छोरी छन्, जसमा एउटाले विवाह गरिसकेको र तीन छोरी उच्च माध्यमिक तहमा पढ्दै छन् । छोरीको पढाइ खर्च तिर्दा-तिर्दा घरको आर्थिक हैसियत खस्किरहेको छ । पढाइले गर्दा छोरीले ज्याला मजदुरी गर्ने समय पनि मिलेको छैन । घरमा आमा दीर्घरोगी छिन् । जसले गर्दा उक्त घरपरिवार विस्तारै विपन्नतातर्फ उन्मुख हुँदै गएको छ । ३० नम्बरको घरपरिवारको अवस्था पनि त्यस्तै छ । घरमा लामो समयदेखि आमा बिरामी छिन्, जसले गर्दा उक्त घरपरिवारको आर्थिक हैसियत तल झर्दै गएको छ ।

समग्रमा हेर्दा कस्ता घरपरिवार समृद्धितर्फ उन्मुख हुन्छन् र कस्ता घरपरिवार गरिबीतर्फ उन्मुख हुन्छन् भन्ने कुरालाई देखाउन मिश्र सफल भएका छन् । तथापि, उनले गरिबी र समृद्धि सम्बन्धी पूर्व अध्ययनमा इतिहास तथा सामाजिक संरचनालाई कम ध्यान दिइयो र अध्ययनको विधि मिलेन भनिरहँदा अन्ततः उनी आफै पनि ती कुराहरूमा चुकेका छन् । जस्तो, कुनै घरपरिवार समृद्धिमा जानु, कुनै विपन्न हुनु र कुनै यथावत रहनुमा प्रशस्त व्याख्या भए पनि त्यसको संरचनागत र ऐतिहासिक विश्लेषण पुस्तकमा कम छ । उदाहरणको लागि, उनले घरपरिवारको दुई पुस्ताभन्दा माथिल्लो पुस्ताबारे अध्ययन गरेका छैनन् । त्यसै गरी, घरपरिवारको समृद्धि र गरिबीको बाटोमा विभिन्न जात, जाति र लिंग/लैंगिकताको भूमिकालाई मिश्रले देखाउन सकेका छैनन् । यसरी हेर्दा, उनको तर्क पनि खासै पृथक् मान्न सकिन्न । समग्र देशको समृद्धि र गरिबी बुझ्न थोरै घरपरिवारमा गरिएको यो अध्ययन पर्याप्त हुन सक्छ कि सक्दैन भन्नेमा प्रश्न उठाउन सकिन्छ ।

 

सञ्जिला तामाङ

मार्टिन चौतारी


About the Author

More Blogs