मधेशबारे बुझ्न, मधेशको माटो चिन्न तथा त्यहाँको मनस्थिति र परिस्थिति जान्न सघाउने तथ्यपरक र वस्तुनिष्ठ पुस्तक आएको छ- मधेश प्रदेशमा पैदल अनुसन्धान।
काठमाडौंको केन्द्रीय मानसिकता मधेश र मधेशीप्रति अझै पनि सङ्कीर्ण छ। मधेशले हरेक पाटोमा उपेक्षा र हेला भोग्दै आएको छ। अर्कातिर वर्ण, भाषा, वेशभूषाका आधारमा कतिपयले मधेशका बासिन्दालार्ई नेपाली नागरिक नै नठान्ने प्रवृत्ति पनि छ।
मधेशलाई बुझ्नुपरेमा त्यस क्षेत्रलाई आधार बनाएर राजनीति गर्ने नेताहरूको आँखाबाट हेरिन्छ। जुन अपूर्ण, एकपाखे हुन सक्छ, जसले गलत धारणालाई मलजल गर्न सक्छ। यसर्थ मधेश र मधेशीलाई बुझ्न स्थलगत अध्ययन, स्थानीय बासिन्दासँग घुलमिल वा त्यस क्षेत्रबारे लेखिएका पुस्तक नै महत्त्वपूर्ण र उपयोगी हुन्छ।
मधेशबारे बुझ्न, मधेशको माटो चिन्न तथा त्यहाँको मनस्थिति र परिस्थिति जान्न सघाउने यस्तै तथ्यपरक र वस्तुनिष्ठ पुस्तक हो, मधेश प्रदेशमा पैदल अनुसन्धान। भुइँ तहमा पैरवी अनुसन्धान गरिरहेका अध्येता, अभियन्ता, अधिकारकर्मी, सञ्चारकर्मी वा साधारणजनले अध्ययन–अनुसन्धानमा रुचि राख्ने, लेख्ने कामलाई पैदल अनुसन्धान (बेयरफूट रिसर्च) भनिएको छ।
भुइँ तहबाटै सम्बन्धित क्षेत्रको सत्य र वास्तविकताको नजिक पुग्ने प्रयास नै यस्तो अनुसन्धानको मर्म हो। पैदल अनुसन्धानमै आधारित भएर यसअघि पश्चिम तराईका कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा केन्द्रित भई २०७६ सालमा पैदल अनुसन्धान प्रयोग र उपलब्धि पुस्तक प्रकाशन गरेको मार्टिन चौतारीको त्यस किसिमको यो दोस्रो पुस्तक हो।
विभेदका सामाजिक र सांस्कृतिक आयाम, संघ र प्रदेशमा सुशासनका विमर्श, भूस्वामित्वको समस्या, नागरिक र जनप्रतिनिधिका संघर्षको गाथा र सामाजिक तथा राजनीतिक हिंसा गरी पाँच खण्डमा विभाजित पुस्तकमा १२ लेख समाविष्ट छन्। पहिलो खण्डमा रहेको लेखमा गोपाल ठाकुरले मधेश प्रदेशको मिथिला क्षेत्रमा सोइत र सोलकनबीच झाँगिएको वर्गीय विभेद र अन्तर्द्वन्द्वबारे लेखेका छन्। लेखमा सोइत र सोलकनको चिनारी दिँदै उनीहरूमाझ भाषिक, सांस्कृतिक र अर्थ-राजनीतिक भिन्नताको स्तर, यस्तो भिन्नताले उनीहरूबीच सिर्जना गरेको विभेद तथा यो विभेद र अन्तर्द्वन्द्वले आम जनजीवनमा पारिरहेको प्रभावबारे चर्चा गरिएको छ।
बीपी साहले नयाँ मिडिया अर्थात् इन्टरनेटका सामाजिक सञ्जालमा मधेशी समुदायलाई गरिने विभेद केलाएका छन्। नयाँ मिडियामा मधेशी समुदायलाई लक्षित गरेर आउने गरेको घृणास्पद र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न राज्यले मधेशी समुदायको पहिचानबारे जनस्तरमा बुझाउनुपर्ने, सकारात्मक सामग्री प्रकाशन, प्रशारण गरिनुपर्ने र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका लागि नियामक निकाय जिम्मेवार हुनुपर्ने सझाव दिइएको छ।
‘संघ र प्रदेशमा सुशासनका विमर्श’ शीर्षकको खण्डमा समेटिएका लेखहरूमा मञ्जु यादव, सुरेन्द्रकुमार कामती र कुसुमलता तिवारीले शासन व्यवस्थामा देखिएको बेथितिबारे विमर्श गरेका छन्। यादवले मधेश प्रदेश सभाका सात वटा विषयगत समिति निष्क्रिय र निष्प्रभावी देखिएको, कामतीले नीति निर्माण गर्ने दायित्व बोकेका सांसदलाई संसदीय विकास कोष मार्फत विकासको रकम बाँडिँदा गतिलो काम हुन नसकेको र तिवारीले ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण अभियानमा भएको अनियमितता उजागर गरेका छन्।
‘भूस्वामित्वका समस्या’ खण्ड अन्तर्गत ओमप्रकाश रामले गरीब, भूमिहीन दलित कसरी वर्षांैदेखि बस्दै आएको जग्गाको लालपुर्जा पाउन वञ्चित छन् भन्ने विषय उठाएका छन् भने रञ्जित कनौजियाले महोत्तरीको गौशालामा मुसहर समुदाय, भूमि अधिकारमा काम गर्ने संस्था, स्थानीय समुदाय तथा स्थानीय तहबीचको शक्ति संघर्षले भूमिहीन दलितलाई कसरी भूमिविहीन नै बनाइराखेको छ भन्ने पक्ष लेखेका छन्।
चौथो खण्डमा समाविष्ट लेखहरू अनुसन्धानभन्दा अनुभवमा आधारित छन्। सलमा खातुनले पुरुषसत्तात्मक संरचनामा महिला जनप्रतिनिधि भएर काम गर्दा भोग्नुपरेको कठिनाइ कहेकी छन्। यस्तै, देवनारायण मण्डलले धनुषाधाम वन संरक्षणका लागि गरिएको संघर्षबारे लेखेका छन्।
जितेन्द्रकुमार कुसवाहाको लेखमा उनले नागरिकता पाउन गरेको संघर्षले ल्याएको सुखद परिणामसँगै कानून संशोधन नहुँदा नागरिकताको पर्खाइमा रहेका लाखौं व्यक्ति मनोसामाजिक पीडा झेल्न बाध्य भएकोबारे चर्चा गरेका छन्। नागरिकता व्यक्तिको नैसर्गिक अधिकार भए पनि नेपालमा यो मुद्दा पेचिलो छ। जन्मसिद्ध नागरिकका सन्तान नागरिकताविहीन छन् भने मधेशमा नागरिकता नपाउनेको संख्या ठूलो छ।
पुस्तकको अन्तिम खण्ड ‘सामाजिक तथा राजनीतिक हिंसा’ मा समाविष्ट गुन्जन राय (गुञ्जा)को लेखमा बलात्कार जस्तो जघन्य अपराधलाई पनि इज्जतसँग जोडेर गाउँघरमै मिलाउने प्रवृत्ति मधेशी समाजमा कायमै रहेको चर्चा गरिएको छ। बलात्कार घटनाका पीडित न्यायिक प्रक्रियामा जाँदा पाइलैपिच्छे कठिनाइ सामना गर्नुपर्ने, पीडित ‘होस्टाइल’ बन्ने र अपराधी निर्दोष सावित हुने तीतो यथार्थ पनि लेखमा चित्रण गरिएको छ।
यस्तै, चुरे भावर राष्ट्रिय एकता पार्टी सम्बन्धी सविन खनालको लेखले उक्त दलको उत्पत्ति, विस्तार र पतनबारे जानकारी दिन्छ। मधेश आन्दोलन र पहिचानजन्य आन्दोलनको एउटा दुष्प्रभावको कथा हो यो।
मधेशका विविध विषयमा तथ्यपरक सामग्री समेटिएको पुस्तकमा केही कमजोरी पनि भेटिन्छ। स्रोत उल्लेख गर्दा ‘बिडारी, सुरेश’ हुनुपर्नेमा ‘बिडारी, सन्तोष’ र ‘देव, श्रवण’ हुनुपर्नेमा ‘देव, रमण’ भएको छ। कुनै एक ठाउँमा गरिएको अनुसन्धानलाई आधार बनाएर पूरै परियोजनालाई राम्रो वा नराम्रो देखाउन खोजिएको छ।
सुरेन्द्र कामतिले सिरहाको चार वटा निर्वाचन क्षेत्रमा संसदीय विकाष कोष मार्फत भए गरेका कामको विश्लेषण गरेको भनिएको छ। केन्द्र र प्रदेशका सांसदले आफू पनि भ्रष्ट हुने र भ्रष्टाचारलाई स्थानीय स्तरसम्मै पुर्याउने काम गरेको भनी आरोप लगाउँदै गर्दा लेखलाई बल पुग्ने तथ्य भने भेटिदैनन्।
कुशुमलता तिवारीको लेखमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम प्रभावकारी मान्नुपर्ने उल्लेख छ। छात्रालाई साईकल वितरण र त्यसले पारेको प्रभावको चर्चा गर्दा अनियमितताको पाटोलाई पनि उठाएको भए हुन्थ्यो।
त्यस्तै, गोपाल ठाकुरले लेख मार्फत सोइत र सोलकनबारे चर्चा गर्दा सामाजिक अन्तरद्वन्द्वको उजागर गरेका छन्। विज्ञ ठाकुरबाट सोइत र सोलकनको वर्णन गराउनुभन्दा उपेक्षित सोलकन समुदायका प्रतिनिधिबाटै उनीहरुको दबिएको आवाज बाहिर ल्याउँदा बढी प्रभावकारी हुने थियो।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि २०६४ सालमा भएको पहिलो स्थानीय निर्वाचनबाट चुनिएका थोरै मुस्लिम महिला जनप्रतिनीधि मध्येको एक हुन् सल्मा। उनले ‘जुनसुकै दलबाट निर्वाचित भए पनि कम्तिमा आफ्नो कार्य अवधिभर कुनै पूर्वाग्रह विना जनताको सेवक भएर काम गर्ने नियत धेरै उप प्रमुखहरुमा थियो’ भनेर लेखेकी छन्। काम गर्न खोजेको पनि उचित वातावरण नपाएको उजागर गरेकी छन्। यसमा ध्यान दिन जरुरी देखिन्छ।
प्राज्ञिक अनुसन्धानमा पहुँच नभएका अधिकारकर्मीलाई पैदल अनुसन्धानमा ठाउँ दिने भनिए पनि पुस्तकमा प्राज्ञकै लेख राखिनु, जनप्रतिनिधिसँग जवाफदेही खोज्नुको साटो गुनासो गर्ने ठाउँ दिनुलाई कमजोरी नै मान्न सकिन्छ। तथ्याङ्क दोहोर्याएर प्रस्तुत गर्ने, कतिपय लेखमा एउटै व्यक्तिको नाम बारम्बार राख्ने जस्ता कार्य नगरिएको भए ‘सुनमा सुगन्ध’ हुने थियो।
प्रकाशित ३० वैशाख, २०८०
स्रोत : https://www.himalkhabar.com/news/135778