माओवादी विद्रोहको नालीबेली
2021-10-11- श्रीधर न्यौपाने
माओवादी सशस्त्र विद्रोहको रणनीति परिवर्तन गरी शान्तिपूर्ण जनआन्दोलन र जनमतबाट सत्ता प्रवेश गरिरहँदा मार्टिन चौतारीले माओवादी विद्रोह, सशस्त्र संघर्षको अवधि नामक पुस्तक बजारमा ल्याएको छ ।
नेपालको राजनीतिक इतिहासमै सबैभन्दा लामो, धेरैको शहादत भएको र सफल विद्रोह माओवादी जनयुद्ध राज्य या माओवादी पक्षबाट पीडा भोग्न बाध्यले त बाँचुञ्जेल भुल्ने छैनन् तर समाचारमा मात्र देखेका-पढेका र सुनेकाहरूका लागि यो अब सम्झनामा मात्र छ । यस्तो अवस्थामा माओवादीले विद्रोह गर्नुको कारण खोतल्दै अघि सारिएका चालीसबुँदे मागदेखि १२ बुँदे समझदारीसम्मको अवधिमा विभिन्न व्यक्तित्वले युद्धबारेमा गरेको विश्लेषण, दृष्टिकोण समेटिएको सँगालो प्रकाशित भएको छ । यसलार्इ संयुक्त सम्पादन गरेका छन् मार्टिन चौतारीका भास्कर गौतम, पूर्ण बस्नेत र चिरन मानन्धरले ।
कुल छ खण्डमा विभाजित यस पुस्तकभित्र शुरुमै संघर्षको बहस छ । खण्ड १ मा संघर्षको विश्लेषण छ । गौरव, हृषीकेश शाह, मोहनविक्रम सिंह, एमाले र काँग्रेसको माओवादी विद्रोहबारेको दृष्टिकोण, हरि रोका, रामचन्द्र पौडेल, प्रदीप गिरी, हरि शर्मा, दीपक ज्ञवालीका विश्लेषण यस खण्डमा समेटिएका छन् ।
दोस्रो खण्डमा आर्थिक-सामाजिक न्याय, तेस्रो खण्डमा वैचारिक सांगठनिक रणनीति, चौथो खण्डमा फौजी संघर्ष र सुरक्षाक्षेत्र, पाँचौँमा नागरिकअधिकार र छैटौँ खण्डमा बदलिँदो राजनीतिक समीकरणको चर्चा छ । अनुसूचीमा संयुक्त जनमोर्चा नेपालको चालीस बुँदे समझदारी र जनयुद्धको अवधिमा मारिएकाहरूको संख्या राखिएको छ । यसभित्र माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टरार्इ, हिसिला यमी, किरण, पासाङ, एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, कांग्रेस नेता नरहरि आचार्यका तार्किक विश्लेषण छन् । त्यस्तै सीके लाल, कृष्ण खनाल, मुमाराम खनाल, खगेन्द्र संग्रौला, देवेन्द्रराज पाण्डेजस्ता लेखकको माओवादी जनयुद्धबारेको विश्लेषणसमेत गरी पाँच दर्जन शीर्षकभित्र सबैका आ-आफ्नै तर्क छन् ।
छोटोमा भन्नुपर्दा पुस्तक माओवादी विद्रोहको चौतर्फी विश्लेषणमाला बनेको छ । पूर्व प्रकाशित रचनाको सँगालो भएर पनि यो पुस्तक नेपाली राजनीति बुझ्न चाहनेले नपढी नहुने सँगालो बनेको छ ।
नेपाल समाचारपत्र 'सौगात-ख', ४ जेठ २०६५ (17 may 2005)