
सन् १९७० मा बागबजारस्थित पद्मकन्या क्याम्पसका विद्यार्थी ।
- सरकारी तवरबाट कन्या स्कुल खुलेको चारै वर्षमा र त्रिचन्द्र कलेज खुलेको ३३ वर्षपछि नेपालमा पहिलो महिला कलेज पद्मकन्या खुल्यो, २००७ सालमा राणा शासन फ्याँकिएर प्रजातन्त्र नआएको हुँदो हो त महिला कलेज खुल्न अझै कति समय कुर्नुपर्दो हो
भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यस बखतको नेपालमा लेखेका छन्– ‘२००३/०४ सालतिर (पद्मशमशेरको शासनकालमा) नेपालमा कुनै कुराको ठोस प्रगति केही भयो भने त्यो हो नारी शिक्षाको ।’
जुद्धशमशेरकै पालादेखि राणा प्रशासनमा लामो समय काम गरेका र राणा शासन समाप्तिपछि पनि राज्य–प्रशासनका थुप्रै उच्च पदमा रही काम गरेका पाँडेले लेखेको पुस्तकलाई धेरैले बलियो ‘सन्दर्भ–पुस्तक’ कै रूपमा लिन्छन् ।
पाँडेले लेखेपछि नमानिहाल्ने सुविधा भएन तर ‘साँच्चै त्यस्तो थियो र ?’ भन्ने शंका पनि सँगै मनमा उब्जन्छ । त्यो किन पनि भने– राणा शासनभरि साधारणजनलाई लेख्ने–पढ्ने सुविधा थिएन भन्ने हामीले सुन्दै–पढ्दै आएका छौं । २००७ सालको नेपालको साक्षरता दर (२ प्रतिशतभन्दा कम) ले पनि त्यही कुरालाई बल पुर्याउँछ ।
लगातार १३ वर्ष शासन सत्तामा हालीमुहाली गरेका प्रधानमन्त्री जुद्धशमशेरले मंसिर २००२ मा राजीनामा दिएपछि पद्मशमशेर नयाँ प्रधानमन्त्री बने । त्यतिखेर छिमेक र बाहिरी विश्वमा स्वतन्त्रताका लागि ठूल्ठूला आन्दोलन भइरहेका थिए । परिवर्तनको हावा बहिरहेको थियो । नेपाली सरहदभित्र समेत त्यस्तो झञ्झा छिरिसकेको थियो ।
परिवर्तनको जुन झञ्झावात थियो, त्यसलाई नपछ्याउने हो भने शताब्दी लामो राणा शासनको वटवृक्ष भाँच्चिएर जाने तयप्रायः थियो । पद्मशमशेर यस तथ्यलाई आँक्न सक्ने देखिए । त्यसैले ‘रुन्चे महाराज’ को खिताब पाएका अलि उदारमना पद्म क्रमिक सुधारको पक्षमा उभिए । राणा शासनका अन्य खाँबाहरूलाई सुधार पाच्य नभए पनि प्रधानमन्त्री पद्मको पालामा समाजमा केही खुकुलोपना देखियो ।
त्यही खुकुलोपनाको फाइदा उठाउँदै खासगरी काठमाडौं उपत्यकाका सहरमा र केही बाहिरी जिल्लाका प्रमुख गौंडामा स्कुल खुल्न थाले । थप, पद्मशमशेरले ‘नेपाली नारीको चोखा शील–स्वभावमा हानि नहुने’ गरी महिलालाई पनि शिक्षा दिन हुन्छ भनेकाले लडकीहरूले पनि स्कुल जाने बाटो केही हदसम्म खुल्यो । पद्मको त्यस्तो भनाइपछि साधारणजनले कन्या स्कुल खोलिपाऔं भनेर लेखापढी गरे र त्यहीअनुरूप २००४ सालमा काठमाडौंमा सरकारी तवरबाट एउटा कन्या स्कुल खुल्यो । पहिले दरबार स्कुलमै बिहानी सत्रमा त्यो स्कुल चल्यो र पछि डिल्लीबजारमा सर्यो । त्यसको केही समयमै काठमाडौंमै गैरसरकारी तवरबाट एउटा र ललितपुरमा एउटा कन्या स्कुल थप खुले ।
केटीहरूलाई पढाउने मेसै नभएको समयमा लगालग तीन वटा कन्या स्कुल स्थापना भएका थिए । अझ अन्य स्कुल पनि क्रमशः सहशिक्षातर्फ लम्कँदै गए । सहरका बाटाघाटामा लडकीहरू झोला बोकेर स्कुलतर्फ हिँडेको वा स्कुलबाट फर्कंदै गरेको अब मनग्गे देखिन थाल्यो । यसअघि कहिल्यै नदेखिएको दृश्यलाई भीमबहादुर पाँडेले तात्कालिक समयको ठूलो प्रगतिका रूपमा देखे भने त्यसलाई अन्यथा लिन परोइन । कन्या स्कुलहरू खुलेपछि केटीहरूले पनि पढाइका खुट्किला चढ्दै गए र सँगसँगै स–सानो संख्यामा एसएलसी परीक्षा दिने र उत्तीर्ण हुने क्रम पनि सुरु भयो । २००५ देखि नै प्राइभेट विद्यार्थीका रूपमा महिला (२ जना) ले एसएलसी परीक्षा दिए भने २००६ मा त नयाँ कन्या स्कुलबाट समेत ती एसएलसीमा उत्तीर्ण हुन थाले । यहीबीच २००७ को परिवर्तन आयो । रैतीलाई शिक्षा पाउनसमेत रोकेर राखेको १०४ वर्षे राणा शासन पनि ढल्यो ।
शासन सत्तामा आएको परिवर्तनसँगै सुरु भयो– धेरैले भन्ने गरेको ‘नवजागरणको युग’ । रैतीबाट जनतामा रूपान्तरित भएकाहरू अब आपसमा जुटेर आआफ्ना रुचि र चासोका सामाजिक कर्म गर्न तल्लीन भए । मुलुकैभरि अनेक थरी संघ–संस्था खुले । आफूलाई र आफ्ना सन्ततिका लागि भनेर पुस्तकालय र शिक्षालय खोल्ने लहरै उठ्यो । राजनीतिक क्षेत्रमा अपेक्षित सुधार हुन नसके पनि नेपाली समाजमा जुन जीवन्तता र जुन गतिशीलता देखियो, त्यसैलाई देखेर नै प्राध्यापक कमलप्रकाश मल्लले २००७–१७ को अवधिलाई ‘डिकेड अफ एक्स्ट्रोभर्सन’ वा बहिर्मुखताको दशक भनेका हुन् ।
परिवर्तनसँगै आममानिसका अपेक्षा र माग बढ्ने नै भए । महिलाले पनि आपसमा एकगठ हुँदै आ–आफ्ना तवरबाट विभिन्न माग उराल्न थाले । उनीहरूको यस्तै एक माग थियो– महिला कलेजको स्थापना । कन्या र अन्य स्कुलमा पढेका केटीहरू बिस्तारै कक्षा उक्लँदै जाँदा कलेजको माग हुनु अस्वाभाविक थिएन । महिला कलेजको माग गर्नेहरूमध्ये एक थिइन्, पुण्यप्रभादेवी । २००७ सालको परिवर्तनलगत्तै (चैतमा) आयोजित जेपी स्कुलको १२ वर्षे उत्सवमा भाषण दिँदै गर्दा उनले ‘नारी कलेजका निम्ति जोडदार आवाज’ निकालेको २७ चैत २००७ को गोरखापत्रमा प्रकाशित समाचारमा जनाइएको छ । २००७ सालको परिवर्तनपछि खुलेको अखिल नेपाल महिला संघकी नेता थिइन् पुण्यप्रभा र त्यही हैसियतमा उनलाई उत्सवमा वक्ताका रूपमा बोलाइएको थियो ।
२००७ सालको परिवर्तनको प्रभाव नेपालको पत्रकारिता क्षेत्रमा पनि प्रस्टै देखिन्छ । ७ फागुन २००७ को राजा त्रिभुवनको घोषणा सँगसँगै जस्तो निजीस्तरबाट जागरण साप्ताहिक र आवाज दैनिक प्रकाशन सुरु हुन थाले । पछि अरू थुप्रै पत्रपत्रिका पनि प्रकाशन भए । यही नयाँ पत्रिका जागरण साप्ताहिकको ११ औं अंक (१३ वैशाख २००८) को अन्तिम पातोमा ‘महिला इन्टरमिडियट कलेज’ शीर्षकको एउटा चिठी छापिएको छ ।
विद्यार्थी कुमारी शीलाको नाउँमा प्रकाशित ‘महिला कलेजमा पढ्न चाहने’ चिठीले तात्कालिक समयमा महिला कलेज खोल्ने कसरत भइरहेको इंगित गर्छ– ‘हामीहरूका निमित्त एउटा इन्टरमिडियट कलेज खोल्ने यत्न कुनै–कुनै महानुभावबाट उद्योग भइरहेछ भन्ने कुरा सुनिन्छ ।’ सरकारले कन्या स्कुल खोल्दा प्रारम्भमा दरबार स्कुलमा बिहानी सत्रमा कक्षा चलाएझैं त्रिचन्द्र कलेजमा बिहानको समयमा महिला कलेज सञ्चालन गर्न सकिने उनले त्यस चिठीमा सुझाएकी छन् ।
खुल्ने भनिएको कलेजबारे छापिएको चिठी भनिए पनि ती विद्यार्थीको सरोकार अलि भिन्न छ, जसले गर्दा चिठी विद्यार्थीले लेखेको नभई कलेज पढाइरहेको कुनै शिक्षकले लेखेको पो हो कि भन्ने लाग्छ । उनी लेख्छिन्– ‘त्रिचन्द्र कलेजको शिक्षा र महिला–कलेजको शिक्षा एकै स्तरमा (स्टान्डर्ड) राख्नलाई हाल अनुभवी नेपाली प्रोफेसरहरूको अभावको कारणले सो अभाव पूर्ति नभएसम्म कलेजका प्रोफेसरहरूले नै प्रत्येक विषयको जुन–जुन पत्र पढाउनु हुन्छ, उनै प्रोफेसरहरूले महिला कलेजमा पनि उही–उही पत्र पढाउनु भए शिक्षा सन्तोषजनक हुनेछ ।’
एउटा साधारण, भर्खर कलेज पढ्न खोजेको विद्यार्थीको के–कस्ता शिक्षकले पढाउने भन्ने चासो अलि असुहाउँदो जस्तो लाग्छ । त्यस चिठीमा थप लेखिएको छ– ‘कलेजको प्रोफेसरलाई महिला–कलेजमा आफूले नपढाएको पत्र पढाउन परेमा कलेजको पढाइमा धक्का पर्छ । यसकारण हरेक प्रोफेसरले आफूले पढाएको पत्र मात्र पढाउनुपर्छ ।’
जे भए पनि, कुमारी शीलाले लेखेको एउटा कुरा सही थियो– त्यति बेला सरकारी तवरबाटै महिला कलेज खोल्ने सम्बन्धमा सोधीखोजी भइरहेको थियो । १५ असार २००८ को गोरखापत्रमा छापिएको ‘नेपाल–शिक्षा–विभागको कामको प्रगति’ सम्बन्धी सामग्रीका अनुसार नयाँ सरकार/शिक्षा मन्त्रीले शंकरदेव पन्तलाई त्यस कार्यको जिम्मा दिएका थिए र पन्तले पनि आफूलाई दिइएको जिम्मेवारीअनुरूप प्रतिवेदन शिक्षामन्त्रीलाई दिए । मन्त्रीले आफ्नो मन्त्रालयका कर्मचारी र अन्य मन्त्रीसमक्ष त्यस योजनामा छलफल गरे र महिला कलेज स्थापनाका लागि बजेट व्यवस्था गर्न पनि मन्त्रिपरिषद्लाई अनुरोध गरे ।

समाचारमा अगाडि भनिएको थियो– ‘क्याबिनेटबाट पास भयो भने योजनाअनुसार यो काम कलेज स्थापनाका लागि थालिने भएको छ । आर्थिक परिस्थिति साह्रै नाजुक भएको बुझिएकाले सरकारतर्फबाट भन्दा दुनियाँको सहयोग भएदेखि सरकारको यथाशक्य सहायताले खुल्न सक्छ ।’
महिला कलेज खुल्ने भयो भन्ने भइरहेका बखत अब त्यस्तो कलेज नखुल्ने भयो भन्ने हल्ला पनि काठमाडौंमा फैलियो– कवि भूपीले भनेको हल्लै हल्लाको सहर जो थियो । त्रिचन्द्र कलेजका तत्कालीन प्रिन्सिपल रुद्रराज पाण्डेले महिला कलेज खोल्ने योजनामा भाँजो हालेको आरोप दुई महिला शान्ता र सीताले जागरण साप्ताहिकमा चिठीमार्फत लगाए । र, धम्की दिए, ‘महिला–कलेज खुलेन भने शिक्षामन्त्रीको र प्रिन्सिपलविरुद्ध महिलाहरूको जुलुस निस्कनेछ ।’ यो आरोप बिलकुलै निराधार रहेको भन्दै शिक्षा मन्त्रालय र पाण्डे दुवैले जागरण साप्ताहिकमै भिन्नाभिन्नै प्रतिवाद गरे । साउन २००८ को पहिलो साता जागरण र गोरखापत्रमा महिला कलेजबारे एकैखाले समाचार छापिएका छन् । गैरसरकारी तवरबाट न्ह्योखामा खुलेको कन्या मन्दिर हाईस्कुलमा चाँडै इन्टरमिडियट तहको कक्षा सञ्चालन हुने गरी महिला कलेज खोल्न लागिएको जनाउ ती समाचारमा दिइएको छ । यसका लागि स्कुलका अधिकारी वर्ग र शिक्षामन्त्रीबीच कुराकानी भइरहेको पनि त्यहाँ बताइएको छ ।
सरकारी सहायतामा कन्या मन्दिरमा पहिलो महिला कलेज खुल्ने भएपछि त्यसबारे थप छलफल भए । कसैले महिला कलेज स्थापना गर्न समय नभएको भने । कसैले छुट्टै महिला कलेज चाहिँदैन, त्रिचन्द्रलाई नै सहशिक्षा कलेजका रूपमा चलाउनुपर्छ भने । अनि अर्का थरीले सरकारी सहयोगमा चल्ने हो भने किन सामुदायिक तवरबाट चलेको कन्या मन्दिरमा चलाउने, सरकारी स्कुलमै स्थापना किन नगर्ने भने । त्यस कलेजलाई सरकारी तवरबाट खुलेको पद्मकन्या विद्याश्रममै स्थापना गर्न ठूलै ‘लबिइङ’ सुरु भयो ।
अन्ततः ठूलै रस्साकसीपछि १७ असोज २००८ मा डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा नेपालको पहिलो महिला कलेज स्थापना भयो । पहिले रानीले उद्घाटन गर्ने भनिए पनि पछि राजा त्रिभुवनले नै भव्य समारोहबीच नेपालको पहिलो महिला कलेजको उद्घाटन गरे । उद्घाटनमा रानीद्वय, युवराज महेन्द्र, गृहमन्त्री बीपी कोइराला, शिक्षामन्त्री नृपजंग राणा आदि सम्मिलित थिए ।
१९७५ मा त्रिचन्द्र कलेज स्थापना हुँदा जम्मा ३ विद्यार्थी थिए । कन्या कलेजमा भने सुरुमै ९ विद्यार्थी भर्ना भए, जसलाई कन्या स्कुल र त्रिचन्द्रका शिक्षकले पढाउन सुरु गरे । कलेजमा आईए तहमा भूविद्या, इतिहास, मनोविज्ञान, नेपाली, अर्थशास्त्र र संस्कृत विषय पढाइन थालियो । कलेजको प्रिन्सिपल तोकिए बोधविक्रम अधिकारी, जो बिरामी थिए । देवीप्रसाद रिमालले उनलाई प्रतिस्थापन गरे ।
यसरी सरकारी तवरबाट कन्या स्कुल खुलेको चारै वर्षमा र त्रिचन्द्र कलेज खुलेको ३३ वर्षपछि नेपालमा पहिलो महिला कलेज ‘पद्मकन्या’ खुल्यो । २००७ मा राणा शासन फ्याँकिएर प्रजातन्त्र नआएको हुँदो हो त महिला कलेज खुल्न अझै कति समय कुर्नुपर्दो हो ! किनभने २००५ मै अलि उदार भनिएका पद्मशमशेरलाई धपाएर अनुदार मानिएका चन्द्रशमशेरका छोरा मोहनशमशेर सत्तामा आइसकेका थिए । उनी आफ्नै बाबुको पदचाप पछ्याउँदै परिवर्तनको बहावलाई रोक्न खोज्दै थिए । तर, जनता जुर्मुराए । मोहनशमशेरलाई मात्र होइन, समग्र राणा शासनलाई नै उनीहरूले समाप्तप्रायः पारे । र, खोले शैक्षिक जागरणको ढोका ।
प्रकाशित : असार २१, २०८२
स्रोत : https://ekantipur.com/koseli/2025/07/05/padmakanya-the-gate-of-female-consciousness-20-26.html
लोकरञ्जन पराजुली








