प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल │प्रणब खरेल र गौरव के.सी.

- झकेन्द्र घर्ति मगर | 2022-02-11

प्रणब खरेल र गौरव के.सी., सं. । सन् २०२१ । प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल । काठमाडौँ : बज्र पब्लिकेशन । 

नेपालका कलेज तथा विश्वविद्यालयहरूमा अध्ययन-अध्यापन गरिने समाज विज्ञानका विषयहरूमध्ये समाजशास्त्र तुलनात्मक रूपमा अरूभन्दा बढी रुचाइने विषयमा पर्दछ । बर्सेनि हजारौँ विद्यार्थीहरूले समाजशास्त्रमा स्नातक तथा स्नातकोत्तरको डिग्री हासिल गर्नुले त्यसलाई पुष्टि गर्दछ । तर समाजको गतिशीलता बुझ्नसक्ने र व्याख्या गर्नसक्ने समाजशास्त्रीहरूको उत्पादन भने अत्यन्त कम छ, किन ? यो प्रश्नको उत्तर खोज्न नेपालमा समाजशास्त्रको अध्यापन र अनुसन्धानको अभ्यास कस्तो छ भनेर खोज्नुपर्ने हुन्छ । प्रणब खरेल र गौरव के.सी. द्वारा सम्पादित प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल पुस्तकमा सो अभ्यासको केही लेखाजोखा छ । 

नेपालमा समाजशास्त्रको विषयगत अध्ययन, अध्यापन, लेखन र प्रकाशन जस्ता प्राज्ञिक अभ्याससँग सम्बन्धित गतिविधिको सेरोफेरोमा लेखिएका परिचय सहित सात ओटा अनुसन्धानात्मक लेखहरू पुस्तकमा समेटिएका छन् । परिचय बाहेकका छ ओटा लेखमध्ये तीन ओटा लेखले समाजशास्त्रको शिक्षण अभ्यासको बारेमा र बाँकी तीन ओटा अध्ययन अनुसन्धान तथा जर्नल प्रकाशनको अभ्यासमा केन्द्रित छन् । 

परिचय खण्डको शुरूमै सम्पादकद्वयले पुस्तक तयार गर्ने परियोजनाको सोच कसरी आयो भन्नेबारे चर्चा गरेका छन् । करिब आधा दशकको प्रयासपछि मात्र यो पुस्तक प्रकाशन हुन सकेको सम्पादकहरूले बताएका छन् । यो दृष्टान्त आफै पनि नेपालमा समाजशास्त्रको लेखन र प्रकाशन अभ्यास झल्काउने एउटा आधार हो । त्यस्तै, पुस्तकमा समावेश लेखहरूको छनोट, पुस्तकको औचित्य र सीमाबारे सम्पादकीय स्पष्टीकरण छ । परिचय खण्डमा लेखकद्वयले नेपालमा समाजशास्त्र मानवशास्त्रको अभ्यासको शुरूआतबारे नयाँ तथ्य पेश गर्ने जमर्को पनि गरेका छन् । यस अघिका अध्ययनहरूमा नेपालमा समाजशास्त्रको अध्ययन सामान्यतः सन् १९५० को राजनीतिक परिवर्तनपछि विदेशी (पश्चिमा) अध्येताहरूबाट भएको र संस्थागत रूपमा सन् १९८० पछि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र मानवशास्त्र विभाग स्थापना भएपछि शुरू भएको दाबी गरिएको छ । तर सन् १९५० अघि पनि थुप्रै भारतीय तथा नेपाली अध्येताहरूले नेपाली समाजबारे लेखेका थिए भन्ने तथ्य प्रस्तुत गर्दै नेपालमा समाजशास्त्रको अध्ययन/अनुसन्धान त्योभन्दा धेरै अगाडिदेखि हुँदैआएको सम्पादकद्वयले तर्क गरेका छन् । पक्कै पनि ती नेपाली समाजका विविध पक्षबारे भएका अध्ययन त थिए तर समाजशास्त्र वा मानवशास्त्र जस्ता कुनै खास विधाको परिधिभित्र रहेर गरिएका अध्ययन भने थिएनन् । 

परिचय पछिको पहिलो लेखमा युवराज लुइँटेलले त्रिभुवन विश्वविद्यालयमा साढे तीन दशक संयुक्त रूपमा सञ्चालन हुँदैआएको समाजशास्त्र-मानवशास्त्र विभाग छुट्टिनुको राजनीतिक प्राज्ञिक चलखेलबारे विस्तृतमा चर्चा गरेका छन् । लेखमा सन् २०१५ मा विभाग छुट्टिनु अगाडिसम्म समाजशास्त्र विषयको अध्ययन-अध्यापनको सरल ऐतिहासिक विवेचना गरिएको छ, जुन समाजशास्त्रका विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी छ । खास गरी लेखमा तीन लहरमा नेपालमा समाजशास्त्रको अध्ययनलाई चर्चा गरिएको छ । यस सम्बन्धमा लेखकले पहिलो लहरका रूपमा सन् १९५३ मा स्थापित गाउँ विकास प्रशिक्षण केन्द्रको पाठ्यक्रममा समाजशास्त्रलाई विकासे तालिमको रूपमा समावेश गरिनुलाई मानेका छन् । त्यस्तै, दोस्रो लहर इन्स्टिच्यूट अफ नेपाल एण्ड एशियन स्टडीज अन्तर्गत सन् १९७३ मा डिपार्टमेन्ट अफ सोसियोलोजिकल रिसर्च स्थापना गरी शोधपत्र लेखनको आधारमा समाजशास्त्रको डिग्री दिनु र तेस्रो लहर सन् १९८१ मा समाजशास्त्र-मानवशास्त्रको संयुक्त विभाग स्थापनासँगै समाजशास्त्रमा स्नातकोत्तर अध्ययन-अध्यापन हुनुलाई मानेका छन् । त्यस आधारमा सन् २०१५ अक्टुबरमा अलग समाजशास्त्र विभाग स्थापना हुनु नेपाली समाजशास्त्रको चौथो लहर मान्न सकिएला । 

लेखको मुख्य विषय समाजशास्त्र विभागलाई मानवशास्त्रबाट अलग गर्न भएका प्रयास, राजनीति र लेखक स्वयंले खेलेको भूमिकाको भित्री कथा चाखलाग्दो छ । यद्यपि, विभाग अलग भए पछिका वर्षमा विषयगत प्राज्ञिक अभ्यासभन्दा विभिन्न स्वार्थ समूह र दलीय राजनीतिक चलखेलको कारण भएका घटनाहरूबारे लेख मौन छ । समाजशास्त्रलाई मानवशास्त्रबाट अलग गर्नुपर्ने कारणमध्ये सबैभन्दा जोड दिएर चर्चा गरिएको एकल जातीय पहिचानको राजनीति (मानवशास्त्र) विरुद्ध बहुल जातीय पहिचानको पक्षधरता (समाजशास्त्र) को सफलताको तर्कमा भने लेखकको आफ्नो वैचारिक साँस्कृतिक पृष्ठभूमिको “रिफ्लेक्शन” प्रस्ट झल्किएको छ । बहुल जातीय भर्सेज एकल जातीय राजनीतिक बहस न समाजशास्त्र विभाग अलग हुँदैमा सकिने कुरा हो, न कुनै एक समाजशास्त्रीय दृष्टिकोणले मात्र हेरिने मुद्दा नै हो । बरु नेपाल जस्तो बहुजातीय वा बहुसाँस्कृतिक समाजलाई बुझ्न समाजशास्त्रीय अभ्यास गरिने एउटा मुख्य थलो समाजशास्त्र केन्द्रीय विभाग होस् वा अन्य समाजशास्त्रीय संघसंस्थाहरू नै सबैभन्दा एकल जातीय वर्चस्वमा छन् । सम्भवतः यही कारण सार्वजनिक बहसहरूमा नेपाली समाजशास्त्रीहरूलाई नै नेपाली समाज बुझ्न नसकेको तथा पहिचानको राजनीतिलाई सही विश्लेषण गर्न नसकेको आरोप लागिरहन्छ । यसबारे यो लेखमात्र होइन सिंगो पुस्तक नै मौन छ । 

दोस्रो लेख प्रत्यूष वन्तको नेपाली समाजशास्त्र-मानवशास्त्रका विषयमा प्रकाशित हुने जर्नलहरूको सम्बन्धमा केन्द्रित छ । उनले हालसम्म नेपालबाट समाजशास्त्र मानवशास्त्रको नाममा प्रकाशित हुने जर्नलको संख्या, निरन्तरता र सन्दर्भहरूलाई केलाउँदै धेरैजसो जर्नल प्रकाशन अनियमित रूपमा कहिलेकाहीँ मात्र प्रकाशन हुँदैआएको तथ्य प्रस्तुत गरेका छन् । यसले अनुसन्धानमूलक लेखहरू लेख्ने र नियमित जर्नल प्रकाशन गर्ने जस्तो महत्त्वपूर्ण प्राज्ञिक अभ्यास नेपाली समाजशास्त्रले उल्लेख्य रूपमा गर्न नसकेको स्पष्ट रूपमा देखाएको छ । अझ चाखलाख्दो विषय यो छ कि, सन् १९८७ देखि सन् २०१७ सम्म समाजशास्त्र मानवशास्त्रका जम्मा ११ जर्नलहरू प्रकाशित भएका र तीमध्ये एउटा मात्र जर्नल धौलागिरी जर्नल अफ सोसियोलोजी एन्थ्रोपोलोजी नियमित रूपमा प्रकाशन हुँदैआएको देखिन्छ । यसरी जर्नल प्रकाशन नियमित हुन नसक्नुमा संस्थागत योजना र सहयोगको कमी, सम्पादकीय व्यवस्थापनमा सानो समूह हुनु र तिनीहरूको बीचमा समन्वयको अभाव, राम्रा अनुसन्धानमूलक लेखहरूको अपर्याप्तता र जर्नल प्रकाशनको लागि पर्याप्त आर्थिक सहयोगको अभाव जस्ता कारणहरू जिम्मेवार रहेको लेखकले तर्क गरेका छन् । लेखको निष्कर्षमा वन्तले उल्लेख गरेजस्तै झण्डै चार दशक पुग्न लागेको समाजशास्त्र-मानवशास्त्र विषयका जर्नलहरूलाई संस्थागत रूपमा नियमित प्रकाशन गर्न नसक्ने हो भने जर्नल प्रकाशन जस्तै कहिलेकाहीँ खुल्ने त्रिवि सेवा आयोगको विज्ञापनका लागि गरिने जर्नल प्रकाशनको अभ्यासले मात्र समाजशास्त्र मानवशास्त्रको विषयगत उन्नयन हुन सक्दैन । त्यस बाहेक विद्यार्थीहरूलाई स्नातक तहदेखि नै जर्नल लेखहरू लेख्ने अभ्यास गराउन सक्ने हो भने जर्नलका लागि लेखहरूको अभाव पूर्ति हुन सक्छ । 

पुस्तकमा समावेश तेस्रो लेखमा टीकाराम गौतमले त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गर्दाको आफ्नो अनुभवबारे सविस्तार चर्चा गरेका छन् । खास गरी त्रिभुवन विश्वाविद्यालयबाट सामाजिकशास्त्र संकाय अन्तर्गत गरिने वा गराइने पीएचडी डिग्री गुणस्तरीय हुँदैनन्, सजिलै पूरा गर्न सकिन्छ वा विषयगत विशेषज्ञको निर्माणमा भन्दा पनि नामको अगाडि “डा.” लेख्ने सामाजिक प्रतिष्ठाको खपतको लागि मात्र गरिन्छ भन्ने जस्ता हल्लाहरूलाई लेखकले आफ्नो अनुभवको आधारमा लेखमा खण्डन गर्ने प्रयास गरेका छन् । यो लेखले सामाजिक शास्त्रमा त्रिविबाट पीएचडी गर्दै गरेका वा गर्न चाहनेहरूका लागि एउटा राम्रो जानकारी दिन्छ । पछिल्लो समय पीएचडी भर्नाका कतिपय व्यवस्थाहरू परिवर्तन भएर एमफील स्ट्रिम र कोर्स स्ट्रिमको लागि अलग-अलग व्यवस्था गरिएको छ, जुन लेखकले पीएचडी गर्ने बेलाको भन्दा भिन्न हो । त्यसो हुँदा लेखकको अनुभव कतिपय सन्दर्भमा अहिलेको परिस्थितिसँग मेल नखान सक्छ । लेखकको यो पीएचडी अटो-एथ्नोग्राफी पढ्दा पनि के स्पष्ट हुन्छ भने त्रिभुवन विश्वविद्यालयले अहिले पनि अपवाद बाहेक साँच्चिकै गुणस्तरीय पीएचडी गराउन सकेको छैन । 

त्रिविमा ठूलो संख्यामा युवा समाजशास्त्रीहरू उत्पादन गर्ने मुख्य कोर्स एमए समाजशास्त्रको नालीबेली सम्बन्धमा लोकरञ्जन पराजुलीको चाखलाग्दो लेख पुस्तकमा समावेश छ । पराजुलीले खास गरी तीन ओटा सवालमा लेखलाई केन्द्रित गरेका छन् । पहिलो, एमए समाजशास्त्रको पढाइ देशका विभिन्न कलेजहरूमा विस्तार भएसँगै पढाउने जनशक्तिको अभाव छ र त्यसले गर्दा समाज विज्ञानका दक्ष अनुसन्धानकर्ताहरू उत्पादन गर्न सकेको छैन । समाजशास्त्रमा डिग्री गर्ने विद्यार्थीहरूको संख्या बढ्दैमा नेपाली समाजशास्त्रको वृद्धि नहुने तर्क लेखकले गरेका छन् । तर लेखकले भने जस्तै पढाउने जनशक्तिको अभाव त छँदैछ, त्यसभन्दा पनि दयनीय अवस्था अर्को छ—भइरहेका शिक्षकहरूमध्ये पनि जो स्थायी छन्, उनीहरूमध्ये धेरैजसो प्राज्ञिक अभ्यास गर्दैनन् र आंशिक शिक्षकहरूको भर पर्नुपरेको छ, जसलाई विश्वविद्यालय सिस्टमले चिन्दैन । 

दोस्रो, त्रिविमा समाजशास्त्र एमए उतीर्ण गर्न शोधपत्र लेख्नैपर्ने अनिवार्यताको अर्थराजनीति केलाउँदै विद्यार्थीहरूको ठूलो संख्या शोधपत्र लेखनमा गैरप्राज्ञिक, अनैतिक र भ्रष्ट अभ्यास गर्ने भएकाले त्यस किसिमको प्राज्ञिक अपराधलाई रोक्न यसलाई ऐच्छिक बनाउनुपर्ने लेखकको सुझाव छ । लेखकले सुझाए झैँ शोधपत्र लेखनलाई ऐच्छिक बनाउनु नै समस्या समाधानको उपाय भने होइन । अरू सैद्धान्तिक विषयका जस्तै तीन-चार घण्टाको परीक्षा दिने विकल्पले विद्यार्थीको प्राज्ञिक क्षमता खासै वृद्धि हुँदैन । बरु शोधपत्रको विकल्पमा त्यस्तो परीक्षाभन्दा अनुसन्धानमा आधारित लेखहरू लेखाएर प्रकाशन गर्ने अभ्यास गराउन सके विद्यार्थीहरूको प्राज्ञिक क्षमता अभिवृद्धि हुने थियो । लेखमा तेस्रो महत्त्वपूर्ण सवाल समाजशास्त्र अध्ययन-अध्यापनमा अंग्रेजी भाषाको समस्याबारे चर्चा गरिएको छ । त्रिविमा समाजशास्त्र अध्ययन गर्ने अधिकांश विद्यार्थीहरूको अंग्रेजी भाषा तुलनात्मक रूपमा कमजोर हुने तर पाठ्यक्रममा विदेशी लेखकहरूले अंग्रेजी भाषामा लेखेका लेखहरू पढ्नुपर्ने बाध्यताले विद्यार्थीहरू कोर्समा पूर्ण रूपमा संलग्न हुन सक्दैनन् । तसर्थ विद्यार्थीहरूको आत्मविश्वास बढाउन नेपाली भाषामा लेखिएका विषयगत स्तरीय लेखहरूलाई पनि पाठ्यक्रममा समावेश गर्ने तथा नेपाली भाषामा पाठ्यपुस्तक लेखेर वा विषयगत राम्रा पुस्तकहरूको अनुवाद गरेर विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने लेखकले तर्क गरेका छन् । त्यसको लागि विश्वविद्यालयले नै एउटा मापदण्ड बनाएर नेपाली भाषामा (अन्य मातृभाषामा पनि) पाठ्यपुस्तक लेखन र अनुवाद गराउनुपर्दछ । अन्यथा व्यक्तिगत तहमा नेपाली भाषामा लेखिएका पाठ्यपुस्तकहरूले विद्यार्थीहरूको सृजनशीलतालाई प्रवर्धन गर्न सक्दो रहेनछ । यो लेख यस कारणले पनि धेरै महत्त्वपूर्ण छ कि समाजशास्त्रको अभ्यास गर्ने विद्यार्थीहरूको ठूलो संख्या यही पाठ्यक्रम अन्तर्गत प्रशिक्षित हुने गर्दछन् । 

पछिल्ला वर्षहरूमा विस्तारित कार्यक्रमको रूपमा व्यवस्थापन, स्वास्थ्य, नर्सिङ, कानून, सूचना प्रविधि अध्ययन लगायतका संकायहरूमा पनि समाजशास्त्र विषय समावेश गरिएको छ । पुस्तकमा समावेश दुई ओटा लेख स्वास्थ्य विज्ञान र कानून अध्ययनमा समाजशास्त्र मानवशास्त्रको अध्ययन-अध्यापनसँग सम्बन्धित छन् । तीमध्ये देवेन्द्र उप्रेती र ओविन्द्र बहादुर चन्दले स्वास्थ्य विज्ञानमा समाजशास्त्र मानवशास्त्रको शिक्षण अभ्यासबारे लेखेका छन् । नेपाली विश्वविद्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य विज्ञान अन्तर्गतका चिकित्साशास्त्र, नर्सिङ र जनस्वास्थ्य (पब्लिक हेल्थ) का कार्यक्रमहरूमा समाजशास्त्र मानवशास्त्र विषय केवल औपचारिकताको लागि मात्र समावेश गरिएको लेखकहरूको ठम्याइ छ । पाठ्यक्रम निर्माण र परिमार्जनका क्रममा अध्यापनरत शिक्षकहरूसँग कुनै परामर्श गरिँदैन । विद्यार्थीहरूले पनि समाजशास्त्र र मानवशास्त्र विषयलाई न धेरै गाह्रो, न त सजिलो विषयको रूपमा लिने गर्दछन् र सिक्नेभन्दा पनि जसरी हुन्छ परीक्षा उत्तीर्ण गर्न शिक्षकसँग विषयगत नोटको माग गर्दछन् । समाजशास्त्र-मानवशास्त्र पढाउने शिक्षकहरूको भर्ना पनि व्यक्तिगत चिनजानको आधारमा हुने गर्छ । यी आधारमा स्वास्थ्य विज्ञानमा समाजशास्त्र-मानवशास्त्र प्राथमिकतामा पर्न नसकेको लेखकद्वयको ठहर छ । एउटा पाठकको दृष्टिकोणबाट हेर्दा लेखमा तर्क गरिए जस्तै पब्लिक हेल्थका विद्यार्थीहरूलाई समाजशास्त्रीय/मानवशास्त्रीय सोच प्रवर्धन गर्न पाठ्यक्रम किन असफल छ भन्ने प्रश्नको उत्तर भने यो लेखले दिँदैन । 

काठमाडौँ स्कूल अफ ल मा कानून विषयमा समाजशास्त्र-मानवशास्त्रको शिक्षण अनुभवमा आधारित रहेर लेखिएको सम्पादकद्वय प्रणब खरेल र गौरव के.सी.को लेख पुस्तकको अन्तिम लेख हो । कानून पढ्ने विद्यार्थीहरूका लागि समाजशास्त्र अध्ययनको महत्त्व बुझ्न अर्थात् समाजशास्त्र र कानून अध्ययन दुवै विषयको अन्तरसम्बन्धलाई केलाउन यो लेख उपयोगी र सान्दर्भिक छ । साथै, ल कलेजमा समाजशास्त्र र मानवशास्त्र शिक्षण अभ्यासबारे लेखकहरूको संलग्नता लेखमा रोचकपूर्ण तरिकाले वर्णन गरिएको छ । यो त्रिवि वा अन्य कलेजमा समाजशास्त्र मानवशास्त्र पढाउने शिक्षकहरूको लागि पनि अनुकरणीय हुन सक्छ । लेखकद्वयको अनुभवलाई यसभन्दा अघिल्लो उप्रेती र चन्दको लेखसँग तुलना गरेर हेर्दा कानून अध्ययनमा समाजशास्त्र मानवशास्त्रको पठनपाठन धेरै प्रभावकारी छ भन्ने देखिन्छ । यद्यपि, उही पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धमा सञ्चालित पब्लिक हेल्थ र कानून दुवै विषयमा सञ्चालित समाजशास्त्र मानवशास्त्र पठनपाठन खास के कारणले फरक हुन गयो भनेर ठम्याउन चाहिँ सजिलो छैन । 

पुस्तकमा समावेश सबै लेखहरू पढिसक्दा पुस्तकको नाम “प्राक्टिसेज अफ सोसियोलोजी एण्ड एन्थ्रोपोलोजी इन नेपाल” हुनुपर्ने जस्तो लाग्दछ । किनभने छ ओटै लेखहरूमा समाजशास्त्र-मानवशास्त्रको उत्तिकै चर्चा गरिएका छन् । समग्रमा यो पुस्तक आफैमा नेपाली कलेज तथा विश्वविद्यालयमा समाजशास्त्रीय अभ्यासको एउटा गहकिलो उदाहरण बनेको छ । नेपाली समाजशास्त्र-मानवशास्त्रबारे जान्न चाहनेहरूको लागि मात्र होइन, विश्वविद्यालय र कलेजहरूमा समाजशास्त्र अध्ययन-अध्यापनमा संलग्नहरूको लागि पनि पुस्तक उपयोगी छ । त्यसै गरी पुस्तकमा समेटिएका लेखहरूको कारणले मात्र होइन पुस्तकको संरचना, साजसज्जा र भाषा सम्पादनका दृष्टिले पनि पुस्तक स्तरीय र पठनीय छ । 

पुस्तक धेरै हिसाबले अब्बल हुँदाहुँदै पनि पुस्तकले समेट्नुपर्ने केही महत्त्वपूर्ण पक्षहरू छुट्न पुगेका छन् । मूलतः पुस्तकमा समाजशास्त्र-मानवशास्त्रको काठमाडौँ केन्द्रित अभ्यासले मात्र ठाउँ पाएका छन् । समाजशास्त्र-मानवशास्त्र सम्बन्धी जर्नल प्रकाशनको नालीबेली समेटिएको लेख बाहेक अन्य सबै समाजशास्त्र-मानवशास्त्र पढाइरहेका शिक्षकहरूको अनुभवमा आधारित लेखहरू समावेश छन् । समाजशास्त्र-मानवशास्त्र अध्ययनरत विद्यार्थीको अभ्यास र अनुभुति पनि समेटिएको भए पुस्तकले थप पूर्णता पाउन सक्थ्यो । त्यस बाहेक विश्वविद्यालय र कलेज बाहिर सार्वजनिक वृत्तमा समाजशास्त्रको अध्ययन अनुसन्धान वा सामाजिक बहस पैरवीका जस्ता महत्त्वपूर्ण अभ्यास पनि समावेश गरिएको छैन । लेखकहरू पनि सबै पुरुषहरू र एक जना बाहेक सबै खस आर्य समुदायका छन् । यसले के देखाउँछ भने पुस्तकमा समावेश गर्ने लेख र लेखकहरू छनोट गर्दा पर्याप्त ध्यान दिए जस्तो लाग्दैन । त्यस्तै, पुस्तकमा मूल्य अंकित छैन तर नेपाली बजारमा १,१०० सय रुपियाँमा बिक्री भइरहेको छ, जुन नेपाली विद्यार्थीका लागि महँगो हो । 

एउटा पुस्तकको आफ्नै सीमाहरू हुन्छन् नै । त्यस अर्थमा पुस्तकले स्पष्ट दुई ओटा सन्देश दिएको छ । पहिलो, नेपाली समाजशास्त्रको अभ्यासलाई साँच्चिकै प्रवर्धन गर्ने हो भने प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल जस्ता अरू धेरै पुस्तकहरू प्रकाशन हुँदै जानु अनिवार्य छ । दोस्रो, नेपाली कलेज र विश्वविद्यालयहरूमा समाजशास्त्र अभ्यासमै खोटहरू छन्, जसले बर्सेनि हजारौँको संख्यामा समाजशास्त्रको डिग्री त दिएको छ तर समाज बुझ्ने आलोचनात्मक चेत सहितको खाँटी समाजशास्त्रीहरूको उत्पादन उल्लेख्य रूपमा गर्न सकेको छैन । यो सन्देश विश्वविद्यालयका पदाधिकारी, पाठ्यक्रम निर्माता, विषय समिति र प्राज्ञिक परिषद्का सदस्यहरूका लागि झन् बढी उपयोगी छ ।

 


About the Author

Jhakendra Gharti Magar झकेन्द्र घर्ति मगर

Lecturer, Department of Sociology, Saraswati Multiple Campus, Tribhuvan University

More Blogs