रेडियो नेपालको नालीबेली

2021-10-18

- बद्री पौड्‍याल

सञ्चारमाध्यम, समाज, इतिहास, विकास , वातावरण, कानून आदि क्षेत्रको अध्ययन-अनुसन्धानमा लागेको मार्टिन चौतारीको पछिल्ला चार वर्षमा दुई दर्जन पुगिसकेको 'चौतारी पुस्तक शृङ्‍खला' मा थपिएको छ– रेडियो नेपालको सामाजिक इतिहास । 'नेपाली समाजमा रेडियो' भन्ने चौतारीकै छुट्टै अध्ययन शृङखला अन्तर्गत लेखिएको यो किताब सम्पादक मण्डलका सदस्य र रेडियोसँग सम्बन्धित व्यक्तिका नयाँ-पुराना लेखहरूको सँगालो हो । यसले झण्डै आधा शताब्दीसम्म मुलुकको प्रसारण जगतको एक्लो घोडा रहेको र ५० भन्दा बढी एफएम तथा करीब आधा दर्जन टेलिभिजन खुलेपछि आम बहसबाट केही टाढिँदै गएको रेडियो नेपालबारे बहस र जनरुचि बढाउन खोजेको छ ।

रेडियोको विश्वव्यापी विकास र नेपालमा रेडियो सुन्ने क्रमदेखि रेडियो स्टेशन स्थापनासम्मका धेरै विवरण छन्‍ यसमा । तारिणीप्रसाद कोइरालाको लेखमा क्रान्तिकारीहरूले लडाइँको मोर्चाबाट चलाएका प्रजातन्त्र नेपाल रेडियो, जुनपछि रेडियो नेपालको रूपमा स्थापना भयो, ले मुक्ति सेनाको विजयका कुरा फुकिदिएर एकैपटक हजारौँ गोली पडकाएको अनुभव उल्लेख छ । यस्तो प्रसारण सुनेर बबरशम्शेरले आफ्नो रेडियो सेट लात्ताले हानी फुटाइदिएका जस्ता रोचक प्रसङ्ग पढ्‍न पाइन्छ ।

किताब पढ्‍दा प्रजातान्त्रिक आन्दोलनले जन्माएको-हुर्काएको रेडियो नेपालको छविलाई एकलौटी प्रचारयन्त्र बनाउने पञ्चायत र दलगत स्वार्थमा प्रयोग गर्न खोज्ने बहुदलका क्रियाकलापले कसरी बिगारे र सङ्कीर्ण बनाए भन्ने कुरा पनि छर्लङ्ग हुन्छ । तैपनि विशाल भौतिक संरचना र पहुँचक्षेत्रको विकास गर्न सफल रेडियो नेपालले आजको प्रतिस्पर्धात्मक वातावरणमा कसरी आफ्ना उपयोगितालाई सिद्ध गर्नुपर्छ भन्ने सुझाव पनि लेखक/सम्पादकहरूले दिएका छन् । सिंहदरबार परिसरबाट बाहिर आउनुपर्ने, नयाँ अत्याधुनिक प्रविधितफ जानुपर्ने, बहुलबादतिर उन्मुख हुनुपर्ने– तीमध्ये केही सुझाव हुन् । एउटा प्रसङ्गमा देवराज हुमागाईंले लेखेका छन्, ''(रेडियो नेपालले) हालचाल बोकेर घर-घर पुग्दैमा आफ्नो दायित्व पूरा भएको ठान्नुहुँदैन, त्यो निष्पक्ष र पूर्वाग्रहरहित पनि हुनुपर्छ ।''

किताबमा रेडियो नेपालको 'सामाजिक' पक्षलाई खोतल्न खोजिएको छ । रेडियोबारे अध्ययन नै कम, भएका पनि श्रेता सर्वेक्षण, सम्भाव्यता अध्ययन, कार्यक्रम मूल्याङ्कन जस्ता औपचारिकतामै सीमित रहेका स्पष्ट गर्दै सम्पादकहरूले सामाजिक अनुसन्धानका दुष्टिले रेडियो नेपालको अध्ययन प्राय: हुँदै नभएको ठोकुवा गरेका छन् ।

 

स्रोतः हिमाल, जेठ १६-३१, २०६२ पृ. ४८


About the Author

More Blogs