सहरीकरणमाथि बहस

2021-10-11

डा. भीमप्रसाद सुवेदी, प्रमुख, भूगोल केन्द्रीय विभाग, त्रिवि

सन् २००७ को तथ्याङ्कले विश्वको आधा र नेपालको १७ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको देखाउँछ । नेपालमा सहरी बसोबासको इतिहास लामै भएपनि सहरीकरण, सहरियापन र सहरी बस्ती जस्ता विषयमा कमै चर्चा हुन्छ । विश्व परिवेश ‘सहर पक्षपाती’ भएको अवस्थामा हाम्रो राजनीतिक नेतृत्व पनि गार्हस्थ उत्पादनमा सहरको योगदानलाई बेवास्ता गरी ‘विकासको मेरुदण्ड गाउँ’ भन्ने मान्यतामा अल्झेको छ । यसले गर्दा सहरीकरण र जीविकाका आयामसम्बन्धी मुद्दा ओझेलमा परेका छन् । भास्कर गौतम र जगन्नाथ अधिकारीले सम्पादन गरको पुस्तक सहरीकरणः जीविकाको विविध आयाम ले सहरीकरणसम्बन्धी बहसलाई अगाडि बढाएको छ । पुस्तकमा समेटिएका विविध सन्दर्भका १३ वटा लेखले नेपालमा सहरीकरण र सहरी सभ्यतासम्बन्धी सुस्त अवस्थामा रहेको बहसलाई उठाउन मद्दत पु¥याउने छन् ।

डा. पीताम्बर शर्माको पहिलो लेखमा सहरीकरणका सम्बन्धमा सरकारको दक्षिणमुखी सोचको विश्लेषण गरिएको छ । शर्माले नेपालमा आर्थिक विकासका लागि सहरीकरण अनिवार्य रहेको विश्लेषण गर्दै अहिले ‘गाउँको सहरीकरण’ भन्दा पनि ‘सहरको ग्रामिणीकरण’ भइरहेको तर्क गरेका छन् । ‘परम्परागत सहरबाट सिक्नुपर्ने पाठ’ शीर्षकको डा. सुर्दशन तिवारीको लेखमा ऐतिहासिक सन्दर्भलाई पन्छाएर राज्यले सहरीकरणसम्बन्धी गलत योजना र विकास शैली अपनाउँदा सहरी सडकहरु गोरेटोमा सिमित भएको उल्लेख गरिएको छ । काठमाण्डौंको सुकुम्वासी आन्दोलनको विस्तृत चर्चा गरिएको मासाको तानाकाको लेखमा अरु सहरी बासिन्दा जस्तै सुकुम्बासी पनि सहरका सम्मानित नागरिक भएकोले उनीहरुको पहिचानमा कञ्जुस्याँइ गर्न नहुने तर्क गरिएको छ । समिता भट्टराईको लेखमा अपाङ्घहरुको समष्टिगत स्थिति चित्रण गर्दैसरकारले सामाजिक न्याय र समानताको दृष्टिबाट प्रत्येक अपाङ्घलाई पूर्ण रुपमा आत्मनिर्भर र सामाजिकीकरण गर्नुपर्ने तर्क गरिएको छ । सहरी गरिबको मुद्दालाई सरकारले कसरी हेरेको छ भन्ने कुराको मार्मिक चित्रण छ झलक सुवेदीको लेखमा ।

‘अमेरिकाद्वारा आकर्षित काठमाण्डौंको गार्मेण्ट उद्योग र जीवनयापन’ शीर्षकको सीजू उपाध्यायको लेखमा नेपालको गार्मेण्ट उद्योगमा संलग्न मजदुरहरुको अनुभव, अनिश्चतता र चुनौतीहरुलाई सरल रुपमा प्रस्तुत गरिएको छ । राधा अधिकारी र इयान हार्परले नेपालमा नर्सिङ पेशाको विकास र सहरको स्वास्थ्य स्थितिको विश्लेषण गरेका छन् । लेखमा महिलाका लागि सुरक्षित भएको नर्सिङ पेशामा लागेका महिलाको जीवनका सपना र सम्बन्धहरुको इतिहास सीधै सशरसँग गाँसिएको तर्क गरिएको छ । काठमाण्डौं सहरको सन्दर्भमा केन्द्रित डा. जगन्नाथ अधिकारीको लेखमा सहरी खाद्य सुरक्षाका विविध पक्षबारे बहस चलाइएको छ । द्रुतगतिमा बढिरहेको सहरीकरणबाट केही वर्षभित्रै ‘खाद्य सुरक्षा’ गम्भीर समस्याको रुपमा देखापर्ने तर्क अधिकारीको छ । डा. अधिकारीको अर्को लेखले रोजगारीका अनौपचारिक क्षेत्रमा जीविकोपार्जन गर्नेहरुको अनुभव समेटेको छ । कम लगानीबाटै चल्ने यो क्षेत्रले काठमाण्डौंको झण्डै ६० प्रतिशत श्रमशक्तिलाई रोजगारी दिएको र यसको भूमिकालाई मान्यता दिन सरकारी नीति र संयन्त्रको आवश्यकता भएको अधिकारीले उल्लेख गरेका छन् ।

प्रकाश अमात्यको ‘काठमाण्डौंमा गरिबलाई खानेपानी’ शीर्षकको लेखमा खाजेपानीको परम्परागत अर्थ र उपलब्धताको पुष्ठभूमि खोतल्दै मेलम्ची आयोजनाको राजनीतिक विश्लेषण गरिएको छ । काठमाण्डौंमा दैनिक १७ करोड लिटर पानी भित्राउने लक्ष्य लिएको मेलाम्चीले गरिब र विपन्न समुदायको हित गर्ने उद्देश्य राखेपनि त्यसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको अमात्यले औँल्याएका छन् । चिरन मानन्धरको लेखमा सहरीकरणसँगै सडकमा खानेकुरा बेच्ने चलनको विकासले गाउँबाट सहर पसेका थुपै्र मानिसलाई ‘गरिखाने मेलो’ दिएको तर्क गरिएको छ ।

सहरीकरणको आयाम व्यापक भएकाले सबै पक्ष एउटै पुस्तकमा समेट्न गाह्रो छ । तर पनि यस पुस्तकमा समेटिएका लेखहरुमा विविधता र गुणात्मकता पाइन्छ । कुनै लेखमा सहरीकरणको सैद्घान्तिक पक्षको बढी चर्चा गरिएको छ भने कुनैमा यथार्थको प्रस्तुति । अङ्ग्रेजीबाट अनुवाद गरिएका लेखहरु सलल बग्ने गरी सरल छैनन् । पुस्तकमा केही प्राविधिक त्रुटि पनि छन् । सन्दर्भ सूचीमा कतिपय लेखकको नाम नहुने र प्रकाशकलाई मात्र श्रेय दिने कमजोरी देखिन्छ ।
 
जे होस्, विकासको सहरमूखी कार्यक्रमलाई प्राथमिकता दिने कि गाउँमुखी वा मध्यममार्ग अवलम्बन गर्ने भन्ने बहसलाई सार्थक र गहकिलो बनाउन महत्वपूर्ण सन्दर्भ सामग्री हुनसक्छ यो पुस्तक ।

स्रोतः हिमाल खबरपत्रिका, १६–३० असोज २०६४, वर्ष १७, अंक १२


About the Author

More Blogs