सञ्चार सन्दर्भ ग्रन्थ

2021-10-18

- बसन्त महर्जन

सबै सामग्रीलाई पुस्तक, स्मारिका, छापा माध्यम, विद्युतीय सञ्चारमाध्यम, पत्रकार र पत्रकारका संघसंस्था, सरकारी सञ्चारसंयन्त्र, शिक्षण-प्रशिक्षण, लगानी व्यवस्थापन, मिडिया र अदालत, मिडिया र राजनीति, क्षेत्रीय मिडिया, विकास पत्रकारिता, वातावरण पत्रकारिता आदि ३१ शीर्षक र उपशीर्षकमा सामग्रीहरु बाँडिएका छन् ।

अध्ययन अनुसन्धानका लागि पूर्वकार्यको महत्व अनुसन्धातालाई हुन्छ । मिडिया क्षेत्रकै अनुन्धान गर्ने हो भने पनि सबैभन्दा पहिले आफ्‍नो विषयवस्तुमा कसले, कहिले, कसरी र केकति काम गरिसकेका रहेछन्‍ भन्ने कुरा हेर्नुपर्दछ, नभए सबैले शून्यबाट सुरु गर्ने र पुनरावृत्तिमै अल्झिरहने प्रबल संभावना हुन्छ । यसै सन्दर्भमा 'नेपाली मिडिया सन्दर्भ ग्रन्थ' (Nepali Media Bibliography) प्रकाशन हुनु आफैमा महत्वको कुरा हो ।

नेपाली मिडियासम्बन्धमा केही समययता सक्रिय मार्टिन चौतारीको प्रयासमा प्रकाशित यस ग्रन्थको आवश्यकता सोही ग्रन्थबाट उद्धृत गर्न सकिन्छ 'सन्दर्भ सामग्रीको सूची तयार पार्ने ससाना प्रयासले नेपाली मिडियाबारे सन्दर्भ सामग्रीको ठूलै संग्रह बनाउने हुटहुटी लगाएको थियो, ताकि मिडियाका विभिन्न पक्षमा थप अध्ययन, अनुसन्धान गर्ने चाहनेले यत्रतत्र छरिएर रहेका प्रकाशित, अप्रकाशित सामग्रीको जानकारी एउटै संग्रहमा पाउन सकून् ।'

प्रकाशित ग्रन्थ नै नेपाली मिडियाको सम्पूर्ण सन्दर्भ सामग्रीको सूची भने होइनन् । २०४६ सालयता काठमाडौंमा प्रकाशित नेपाली मिडियासम्बन्धी लेखरचना र पुस्तकहरुको अध्ययनबाट यो ग्रन्थ तयार पारिए पनि त्यसअघिका भेटिएजति सामग्री समावेश छन् । यसका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्धैमासिक पत्रपत्रिका साथै पुस्तक, स्मारिका, विभिन्न कार्यक्रममा प्रस्तुत कार्यपत्र, अनुसन्धानका प्रतिवेदन, विश्वविद्यालयमा शैक्षिक उपाधिका लागि तयार पारिएका शोधपत्रको पनि अध्ययन भएको छ । पक्षका अनुसार सन्‍ २००१ र २००२ मा मात्रै नेपाली मिडियाबारे प्रकाशित पुस्तकको संख्या चार दर्जनभन्दा बढी पुगेको छ । पुस्तकबाहेक थुप्रै सामग्री प्रकाशित भएका छन् । नेपाली मिडियासम्बन्धी प्रकाशित दुई सय चारवटा पुस्तक र लेखहरुको शीर्षक, लेखक, प्रकाशन भएको साल, प्रकाशन संस्थाको सूची तथा परिचय र अनुक्रमणिका गरेर तीन सय ५९ पृष्ठको ग्रथ बन्न गएको छ । सबै सामग्रीलाई पुस्तक, स्मारिका छापा माध्यम, विद्युतीय सञ्चारमाध्यम, पत्रकार र पत्रकारका संघसंस्था सरकारी सञ्चारसंयन्त्र, शिक्षण-प्रशिक्षण, लगानी व्यवस्थापन, मिडिया र अदालत, मिडिया र राजनीति, क्षेत्रीय मिडिया, विकास पत्रकारिता, वातावरण पत्रकारिता आदि ३१ शीर्षक र उपशीर्षकमा सामग्रीहरू बाँडिएका छन् ।

यस क्षेत्रमा के-कति कसले काम गरेको छ र त्यो कहाँ पाइन्छ भन्ने थाहा पाउन प्रकाशित ग्रन्थले अनुसन्धातालाई सहयोग गर्नु नै सन्दर्भ ग्रन्थहरूको उद्देश्य हुने गर्छ भने यही उद्देश्यप्राप्तिका लागि प्रकाशक संस्था मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले काम गरेको बुझिन्छ । तर, सूचीकृत सामग्री कहाँ उपलब्ध हुन्छन् र अध्ययन गर्न पाइन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्‍छ । प्रकाशन संस्थाहरूसँग नै आफ्‍नो उत्पादन नरहने स्थिति छ भने प्रमुख पुस्तकालयहरूमा पनि सबै पुस्तक, पत्रपत्रिका, स्मारिकाजस्ता कुराहरू संकलन हुन्छ नै भन्ने छैन । ग्रन्थका सम्पादकहरू शेखर पराजुली, प्रत्यूष वन्त, कृष्ण अधिकारी, कोमल भट्ट र देवराज हुमागाईंकै अनुसार पनि लामो समय खर्चेर, बडो मेहनतसाथ ग्रन्थ तयार भएको हो । सामग्री संकलनका क्रममा निकै ठाउँमा भौतारिनुपर्‍यो होला, कति ठाउँमा शून्य हात लाग्यो होला । यस्ता कटु अनुभव अर्का अनुसन्धानकर्ताले भोग्नु नपरोस्‍ भनेर संकलित सामग्री कुन पुस्तकालय वा संस्थामा उपलब्ध हुन्छ भनेर सानो संकेत गरिएको भए कुन्थ्यो । यसरी नै प्रकाशित पुस्तक तथा लेख, शोधपत्र आदिको सारसंक्षेप भए आवश्यक सामग्री पहिल्याउन अझ सजिलो हुनेथियो । नेपालमा विषय-क्षेत्र केन्द्रित पुस्तकालयको अभाव छ । नेपाल राष्ट्रिय पुस्कालय, केन्द्रिय पुस्तकालय (त्रिवि), केशर लाइब्रेरी, मदन पुस्तकालय, आशा सफूकुथी (आशा आर्काइभ्स) आदि प्रमुख पुस्तकालयबीच आपसमा समन्वयको अभाव छ । एकसँग भएको सामग्री अर्कोसँग हुँदैन र भएको ठाउँबाट प्रतिलिपि निकालेर पाठकलाई उपलब्ध गर्ने अभ्यास भएको पाइँदैन । प्रतिलिपि निकाल्न नसकिने भए आफूसँग नभएको सामग्री कहाँबाट हेर्न सकिन्छ भन्ने सूचनामात्र उपलब्ध गरिदिने हो भने पनि अनुसन्धान गर्नेका लागि ठूलो सहयोग हुन्छ ।

नेपाली मिडियासम्बन्धी अध्ययन गर्न चाहनेका लागि सन्दर्भ ग्रन्थ उपयोगी हुनेमा शंका छैन । नेपाली, अंग्रेजी र नेपाल भाषामा प्रकाशित सामग्रीको संकलन भनिए पनि निश्चित अवधिमा बढी ध्यान दिइएको सम्पादन पक्षले स्वीकारेको तर सोही अवधिमा लेखिएका कतिपय सामग्री यसमा समावेश हुन सकेका छैनन् । ग्रन्थका आधारमा सामग्री खोज्दा कतिपय ठाउँमा गल्ती भेट्टाइने संभावना नभएको होइन । गल्ती र छुटेका कुरा पछिल्ला संस्करण वा अध्ययनमा समेटिएलान् । तर, प्रकाशित 'नेपाली मिडिया सन्दर्भ ग्रन्थ' बाट नेपाली मिडिया पुस्तकालयको आवश्यकता बोध भने हुन्छनै।

 

स्रोतः स्पेश विशेष (स्पेसटाइम) पृष्ठ, ३ २०६० भदौ १३, शनिबार


About the Author

More Blogs