स्कुल खोल्ने त्यो दौडधुप

- अर्जुन पन्थी | 2022-07-09

२००७ सालवरिपरि टोलटोलमा बग्रेल्ती खोलिएका घरेलु स्कुल प्रजातन्त्रपछि आध्यारो कोठाबाट खुला स्थानमा आए । ‘सास फेर्न सजिलो भएजस्तो’ महसुस गरे पनि केही स्कुल सााघुरो ठाउँमै चलिरहेकै थिए । प्रभातीय दिनका केही पब्लिक स्कुलले पाएका ती जमिन कालान्तरमा कसरी र केका लागि प्रयोग भइरहेका होलान् ?

हात्तिसार, बयलखाना, सिकारी कुकुर राखिने कुत्ताखानाहरू खाली हुँदै गए । ती खाली ठाउँमा नयाँ–नयाँ शिक्षालय खुल्दै गए ।

द्वितिय विश्वयुद्ध (विसं १९९६–२००२) पछि अंग्रेजहरू बेलायत फर्कने पक्कापक्कीजस्तै थियो । त्योबेला भारत र नेपालमा जागरणका लहरहरू देखिन थालेका थिए । फलस्वरूप त्यसबखतको नेपालमा थोरैथोरै उज्यालो हुँदै गएको थियो । प्रजातन्त्रको मिर्मिरे हुँदै थियो । त्यो प्रभातीय समयमा विश्वयुद्धबाट फर्केका, शिक्षित र जागरुक युवकहरूले काठमाडौंको टुँडिखेल, चौर वा देवालयमा भेटिएर राजनीतिक, सामाजिक गफगाफ गर्ने, ‘गफ मण्डली’ बनाउँदै थिए । र, यही बेला विभिन्न संघ, संस्था र स्कुल खोल्नेबारे विमर्श गर्न थालिएको थियो ।

काठमाडौँ, भक्तपुर र ललितपुरको टोल टोलका घर–दलानमा यही समयमा विभिन्न नामले स्कुल पाठशालाहरू खोलिएको थियो । द्वितीय विश्वयुद्ध समाप्त भएपछिको सन्दर्भमा र विसं २००७ मा प्रजातन्त्र घोषणा हुनुअघि–पछिको समयमा खोलिएका पब्लिक स्कुलहरूको विवरणात्मक कथालाई यस लेखमा एकत्र पारिएको छ ।

हुन त पब्लिक स्कुल भनेर चैत २६, १९९५ मा काठमाडौंमा जुद्धोदय पब्लिक हाइस्कुल खोलिएको थियो । यो नै पहिलो पब्लिक स्कुल थियो । विसं १९९३ मा भूमिगत रूपमा खुलेको नेपाल प्रजा परिषद्ले प्रजातन्त्र ल्याउन चर्काएको आन्दोलनको प्रभावलाई राणाहरूले पन्छाउन नसकी काठमाडौं र तराईतिर एक–दुई पब्लिक हाइस्कुल खोल्न दिन करै लागेको थियो । किनभने आन्दोलन चर्काउन सक्ने युवकहरूलाई स्कुलमा भर्ना गरेर आन्दोलनको वेग कम गर्न सकिने सोच राज्यका प्रबन्धकहरूसँग रहेको हुन सक्छ । कुनै बखत जेपी स्कुलमा हेडमास्टर रहेका रामजीप्रसाद अर्याल लेख्छन्, ‘पब्लिक स्कुल खोल्न दिन कर लाग्यो भन्ने कुरा चैत २६ गते शुक्रबार जुद्धोदय पब्लिक हाइस्कुल खोल्नु र चैत २९ गते सोमबार मात्र शिक्षाको इस्तिहारमा

खड्गनिशाना हुनुले प्रत्यक्ष गराउँछ ।’ यहाँ उल्लिखित शिक्षाको इस्तिहार कानुनी मान्यताप्राप्त पहिलो शिक्षा–विधान थियो । यसले नै पब्लिक स्कुल खोल्न र सञ्चालन गर्न पाउने अधिकार दिएको थियो । यो इस्तिहारले १९९६ सालपछि जनतामा शैक्षिक संस्थाहरू पनि खोल्न पाइन्छ भन्ने चेतना ल्यायो । तैपनि अल्लि खुला भएर स्कुल खोल्न सकिएको थिएन, त्यसका लागि द्वितीय विश्वयुद्ध पछिको समय (२००३/२००४ साल) सम्म कुर्नुपर्‍यो । त्यसपछि भने तत्कालीन सत्ताका प्रबन्धकसँग ‘स्कुल राख्न पाउँ’ भनी बिन्ती हाल्ने क्रम बढेको थियो ।

आखिरी राणाकालीन शिक्षा विभागको पाठशाला बन्दोबस्त अंग्रेजी फाँटका कर्मचारी राममान प्रधान काठमाडौं हनुमानढोकाबाट केही उत्तरमा रहेको प्रभात स्कुल (स्थापना २००७ साल) को एक स्मारिकामा लेख्छन्, ‘कर्मचारी भएको नाताले जिल्ला जिल्ला गई सहर टोलटोलमा खोलिएका स्कुलको रिपोर्ट रोजरोजै आएको देख्न पाउने सौभाग्य मैले पाएको थिएँ ।’ यो २००७ सालमा प्रजातन्त्र आउनु केहीअघिको कुरा हो । यसै क्रममा राममान प्रधान र उनका साथीहरूलाई पनि स्कुल खोल्न मन लागेकाले अरू शिक्षित वर्गको सल्लाहमा हनुमानढोकाबाट उत्तरमा पर्ने नघल टोलमा प्रजातन्त्र आउनु महिना दिनअघि प्रभात स्कुल खोलिएको थियो । प्रजातन्त्रको प्रातःकालमा खोलिएकाले यसको नाम पनि ‘प्रभात’ राखिएको हुन सक्छ ।

यो समयमा त्रिचन्द्र कलेज पढिरहेका युवकहरूले दरबार नजिक रहेर काम गर्ने ‘हजुरियाहरू’ लाई अघि सारेर वा माध्यम बनाएर स्कुल खोल्न तम्सिएका हुन्थे । दरबार निकटका मानिसहरूले स्कुल खोल्न निवेदन दिएपछि तत्कालीन सत्तापतिबाट ‘चिनेकै मानिसका छोरा रहेछौ राम्ररी काम गर्नु, बरु कुन ठाउँमा के कसरी खोल्छौ ?’ भन्दै उनीहरूलाई सोधनी गर्थे । यो कुरा रामजीप्रसाद अर्यालले आफ्नो संस्मरणमा लेखेका छन् । चिनेजानेका मानिसहरूलाई काखी च्याप्ने प्रवृत्तिले अरूहरूले स्कुल खोले पनि सञ्चालन गर्न कठिनाइ पर्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले चिनेका मानिसहरूले स्कुल खोल्ने प्रक्रिया पूरा गर्न शासकसमक्ष निवेदन दिने र शासकहरूकै नाममा स्कुलको नाम राखिदिने भनेर ‘दौडधुप’ चलिरहेको हुन्थ्यो । त्यो बेला ‘चिनेका’ मानिसहरूले खोलेको स्कुललाई शासक वर्गले चन्दा र जग्गा दिएर उन्नति गराइएका पनि छन् । जस्तो २००४ सालमा काठमाडौं नगरपालिकाको चुनाव गराएर शंकरदेव पन्त त्यसको अध्यक्ष बनेपछि उनले पुतलीसडकको दायाँ–बायाँका जमिनहरू ब्लक–ब्लक बनाएर बिक्री गर्न थालेका थिए । यो थाहा पाएर पद्मोदय नामबाट स्कुलका लागि स्वीकृति पाएका ईश्वरराज अर्याललगायत सात जना व्यक्तिहरू त्यतिबेलाका श्री ३ महाराज पद्मशमशेर बस्ने ठाउँ विशालनगर गई ‘स्कुललाई घर बनाउने जग्गा पाऊँ’ भन्दै बिन्ती गरेका थिए । यद्यपि यो स्कुलको प्रस्तावित नामचाहिँ ‘नेपाल हाइस्कुल’ थियो । यस स्कुलले त्यो बेला पानी जमेको एक गहिरो खाल्डो पाएको थियो, जसमा अहिलेको पद्मोदय स्कुलको अधिकांश भाग खडा भएको छ । यसरी शासकको नाम र निगाहबाट केही स्कुलले त्यो बेला जमिन पाएका थिए, तर सबै स्कुलको हकमा यो लागू हुँदैनथ्यो ।

‘नवजागरणका लहरहरू उर्लिरहेको’ त्यो बेलामा अन्य गैर–हजुरियाहरू, शिक्षित युवकहरू पनि स्कुल खोल्न सक्रिय थिए । प्रजातन्त्र ल्याउने क्रान्तितिर झुकाव भएकाहरूले सरकारी गुप्तचरसँग लुकीलुकी घर घरमा स्कुल खोलेको बुझिन्छ । प्रभात स्कुलका दिव्यरत्न तुलाधरका अनुसार, टोलैपिच्छे खोलिएका स्कुलहरू ‘प्रकटमा आउन उकुसमुकुस थिए, कतिपयले त स्वीकृति पाउन दरखास्त दिई पर्खेका थिए ।’ स्वतन्त्रता पर्खेर बसेका उनीहरूले प्रजातन्त्र आउला अनि केही त होला भन्ने आशा राखेको बुझिन्छ ।

एउटै टोलमा धेरै स्कुल खोलिएकाले त्यसलाई मिलान गरी नयाँ स्कुल खोल्ने अभ्यास पनि त्यति बेला गरिएको थियो । जस्तो काठमाडौंको हनुमानढोकाभन्दा उत्तरमा रहेका न्हैकन्तला, नघल, किलाघल र भेँडासिंका विभिन्न घर, चोकमा ‘जागरुक नवयुवकहरूले’ चलाएका स्कुललाई एकीकृत गरी २००२ सालमा शान्तिनिकुञ्ज स्कुल खोलिएको थियो । शान्तिनिकुञ्जका शिक्षकहरू प्रजातन्त्र ल्याउन क्रान्तिमा लागेकाले यसलाई मानिसहरूले ‘क्रान्तिनिकुञ्ज’ पनि भन्थे । २००७ सालको क्रान्तिमा सहयोगी बनेका यसप्रकारका स्कुलहरूको राजनीतिक पृष्ठभूमिले गर्दा तत्कालै शासकबाट चन्दा र भूमि निगाह पाउने सम्भावना थिएन । तैपनि प्रजातन्त्रोत्तर समयमा केही पाइएला कि भन्ने आशा यिनीहरूमा थियो ।

क्रान्तिपूर्वको समयमा विभिन्न ठाउँमा खोलिएका नयाँ संस्थाको सम्पत्तिको रूपमा आफ्नै घर जमिन हुने कुरा दुर्लभ थियो । स्कुल खोल्न जाँगर देखाउनेहरूले उनकै घर, छिँडी, चोटामा स्कुल खोलेका थिए । उनीहरू आफैं धसिएर पढाउँथे वा निःशुल्क पढाइदिने मास्टर खोजिन्थ्यो । त्यतिबेला उनीहरूको सार्वजनिक सम्पत्तिमा पहुँच पनि थिएन र अर्थाभाव थियो । प्रजातन्त्र घोषणा नभएको, तर मिर्मिरेको समयमा पनि विद्यार्थीको संख्या बढ्दै जाँदा इष्टमित्रका घर, व्यायामशाला, १९९० सालमा भूकम्प गएपछि बनाइएका टहरा, साहुका घर, घर नजिकैका पाटी, मन्दिरको भजनपाटी, पौवा, मन्दिरका पेटी, बौद्ध विहारको दलान, शासक परिवारका घर, बयलखाना वा घोडातबेला, आदिमा घुम्दै फिर्दै स्कुल चलेका देखिन्छन् । त्यो बेला स्कुलका लागि जग्गाको खोजी त हुन्थ्यो तापनि धेरै स्कुलले जमिन पाउन सकेका थिएनन् । निगाहाबिना जग्गा पाइन्नथ्यो । यस्तो अर्थाभावको समयमा पायक परेको ठाउँमा जग्गा किन्न सक्दैनथे, जग्गा माग्नु र भाडामा बस्नुको विकल्प थिएन ।

प्रजातन्त्रको घोषणा भएपछि स्कुलहरू पनि प्रकटमा आए । विद्यार्थी संख्या पनि पहिलेभन्दा ह्वात्तै बढ्यो । त्यसपछि आफ्नो घर छिँडीमा पढाइरहेका मानिसहरूले स्कुलका लागि जग्गा खोज्न र स्थायी घर खोज्न थाले । त्यो बेला धेरै जग्गाहरूको स्वामित्व शासक परिवार, साहु र जमिनदारसँग हुने हुनाले संघसंस्था खोल्ने ‘उत्साही’, ‘सक्रिय’ वा ‘होनाहार’ वा ‘जागरुक युवकहरूले’ आफू नजिक रहेका भूस्वामीहरूसँग संस्थाका लागि विनयपूर्वक जग्गा र पैसा माग्दै गए । घर, भजनपाटी इत्यादिले थाम्न नसकेपछि नजिकै रहेका सार्वजनिक जग्गामा फोहोर र घाँसका झाडी सफा गर्दै स्कुलका लागि भूमि तयार गरिँदै गयो । त्यसपछि संस्थापकहरूले एकअर्कासँग पैसा उठाएर घरटहरा बनाएका पनि उदाहरण छन् । जस्तो, हनुमानढोकाबाट उत्तरमा रहेको न्ह्योखाको कन्या मन्दिर स्कुलका नारायणबहादुर श्रेष्ठ स्कुलको एक स्मारिकामा लेख्छन्, ‘छिँडीबाट २०१० सालमा इखापोखरीको मैदानमा सर्दो फोहोरमैलाहरू सफा गरी त्यहीँ पढाउन थालियो । केही समयपछि आआफ्नो गहनाहरू बेचबिखन गरेर सानो टहरो बनायौँ ।’

प्रजातन्त्र आएपछिको समयमा स्कुलहरूले बिनासंकोच खुलेरै जमिन माग्न थाले । यसका लागि पूर्वराणा शासकहरूले प्रयोग गरेर छाडेका जमिनहरू धेरैको आँखामा पर्दै गए । जस्तो राणाकालीन समयमा विभिन्न दरबार बनाउन इँटा, काठ ओसार्न चाहिने राँगाहरू राख्ने ठाउँ, जसलाई ‘बयलखाना’ भनेर चिनिन्थ्यो । राणा शासनको अवसानपछि ती ‘बयलखाना’ निष्क्रिय हुँदै गएका थिए । त्यसैगरी तिनै गाडा तान्ने राँगाहरू डुबुल्की मार्ने आहालपोखरी पनि खाली हुँदै गए । इँटागोदाम, काठगोदाम पनि खाली हुँदै गए । हात्तिसार, सिकारी कुकुर राख्ने कुत्ताखाना आदि ठाउँ खाली हुँदै गए । जहाँजहाँ ठाउँ खाली हुँदै गए वा निष्क्रिय भए तिनलाई अर्को ठाउँमा सारेर नयाँ खुलेका शिक्षालयका लागि जग्गा माग्ने र पाउने क्रम चलिरह्यो ।

अहिले लैनचौरमा भएको स्कुल शान्ति विद्यागृह (शान्तिनिकुञ्ज होइन) ले २००८ सालमा बयलखाना भएको ठाउँ पाएको थियो । ती बयलखानामा रहने राँगाहरूले राणा दरबारका लागि काठका मुढा ओसार्ने काम गर्थे । लैनचौरको बयलखाना नजिकै काठ गोदाम पनि थियो । शान्ति विद्यागृहको एक स्मारिकामा छत्रविक्रम शाहले लेखेअनुसार, त्यो गोदामको केही जमिन र बयलखानाका राँगाहरू डुबुल्की मार्ने आहाल पोखरी अमृत साइन्स कलेजले मागेर पाएको थियो । लैनचौरकै शान्ति विद्यागृहमा विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल पछाडिको जग्गा, जहाँ ‘सिकारी कुकुर राख्ने कुत्ताखाना’ थियो, त्यो जग्गा तत्कालीन नेपाली सेनाका जर्नेल श्री रङ्गविक्रम शाहको सहयोगमा २०१३ सालमा सो स्कुलले पाएको थियो । यी बयलखाना र आहाल पोखरी, कुत्ताखाना राणाहरूको शासन सकिएपछि ‘निष्क्रिय’ भएका थिए, जुन प्रजातन्त्रोत्तर समयमा खोलिएका विभिन्न संस्थाले मागेर पाएका थिए ।

राणा शासक परिवारसँग नजिक नहुने कतिपय मानिसहरूले आफ्नो टोलका साहुहरूलाई गुहारेर स्कुलका लागि जग्गा मागेका छन् । हनुमानढोकाबाट उत्तरमा रहेको नघल टोलको बौद्ध विहार नजिकै रहेको प्रभात मावि (स्थापना २००७) लाई साहु मानकाजी शाक्यले २०१६ सालमा ४ आना जग्गा दिएका थिए, २०२८ सालमा थप ४ आना किनिएको थियो । नघलका शाक्य बन्धुहरू र न्ह्योखा टोलका मानन्धर परिवारले गर्दा ‘स्कुलले बास’ पाएको थियो र त्यसपछि स्कुल ‘डेरा सराइको दुःखबाट मुक्त’ भएको थियो । प्रभात माविका प्रधानाध्यापक विद्यानन्द बज्राचार्य लेख्छन्, ‘साहु मानकाजी शाक्यज्यूले विद्यालयलाई जग्गा प्रदान गर्नुभएबाट सास फेर्न सजिलो भएजस्तो महसुस गरियो ।’

यस्तो मुक्तिको कथा अरू स्कुलको सन्दर्भमा पनि लागू हुन्छ । भुवनलाल प्रधान र विश्वरामभक्त माथेमाका अनुसार, २००२ सालमा खोलिएको शान्तिनिकुञ्ज स्कुललाई गणेशमान सिंहको अनुरोधमा तत्कालीन राजा त्रिभुवन शाहबाट २००९ सालमा मरुहिटीमुनि भगवतीबारीमा १७ रोपनी जग्गा ‘निगाह’ भएको थियो । स्कुलको स्मारिकामा शेषराज दलीले उल्लेख गरेअनुसार, गणेशमानकै अनुरोधमा भारतीय दूतावासबाट आर्थिक सहयोग पाएपछि शान्तिनिकुञ्जले एकतले घर बनाएको थियो । टहरो बनाएपछि २०१० मा शान्तिनिकुञ्ज स्कुल खुला ठाउँमा बस्न गयो । यस स्कुलले २०१० सालमा चौर पाएपछि काँचो इँटा र बाँसले बारबेर गरेर टहरो पनि बनाएको थियो । त्यो बेला शान्तिनिकुञ्जका एक विद्यार्थी साफल्य अमात्य सम्झन्छन्, ‘२०१० सालको कुरो हो । हाम्रो स्कुल मरुहिटी भगवतीबारीको ठूलो फाँटमा सर्‍यो । निकै ठूलो र खेल्नलाई पनि मनग्गे ठाउँ पुग्ने हुनाले हामी विद्यार्थीहरू पनि साह्रै रमाएका थियौँ ।’

द्वितीय विश्वयुद्धपछिको प्रभातीय समयमा खोलिएका पब्लिक स्कुलहरूले सुरुसुरुमा डेरा सरिरहनुपर्ने गरी अस्थायी जीवन बिताइरहेका थिए । प्रजातन्त्र आएपछि विद्यार्थी संख्या बढ्दै गएको हुनाले स्कुलहरू आफैं तत्काल चलिरहेको ठाउँभन्दा पर पुगेर भए पनि उनीहरूले घर–जग्गाको व्यवस्थापन गरी स्थायित्व दिन खोजेजस्तो देखिन्छ । त्योबेला धेरै स्कुलसँग जमिन थिएन र भएकासँग पनि प्रशस्त जमिन थिएन, यद्यपि घरेलु स्कुलले जमिन पाउन थालेको मूलतः २००२ सालपछिको समयमा हो ।

२००७ सालवरिपरि टोलटोलमा बग्रेल्ती खोलिएका यी घरेलु स्कुल प्रजातन्त्र आएपछि अँध्यारो कोठाबाट खुला ठाउँमा आएको र ‘सास फेर्न सजिलो भएजस्तो’ महसुस गरेको भने पनि केही स्कुलहरू साँघुरो ठाउँमै चलिरहेका थिए । त्यो प्रभातीय बेलाका केही पब्लिक स्कुलहरूले जसरीतसरी पाएका ती जमिनहरू कालान्तरमा कसरी र केका लागि प्रयोग भइरहेका होलान् ? यो प्रश्न सोचनीय छ ।

प्रकाशित : असार २५, २०७९
स्रोत : https://ekantipur.com/koseli/2022/07/09/165734019588149232.html?author=1


About the Author