श्री ३ का पालामा जस्तै चाकडीमा जानैपर्ने नभए पनि...

- प्रणव खरेल, नरेश ज्ञवाली | 2024-10-21

चाकडीको स्रोत सांस्कृतिकभन्दा पनि राजनीतिक हो : प्रणब खरेल

तपाईं सरकारी कार्यालय जानुस् वा विद्यालय भर्ना गर्न, कर तिर्न जानुस् वा तपाईंको करमा बाँचेको मन्त्री भेट्न— सबै ठाउँमा भनसुन चल्छ, चाप्लुसी चल्छ, चम्चागिरी चल्छ र चल्छ चाकडी । यसले समाजको प्रत्येक क्षेत्रलाई आफ्नो बाहुपासमा कस्दै लगेको छ । 

गजबको कुरा के भने, यस विषयमा कोही छलफल गर्न चाहँदैन । शक्तिको स्रोतसम्म पुग्न वा आफ्नो काम फत्ते गराउन प्रत्येक व्यक्तिले कुनै न कुनै प्रकारको, कुनै न कुनै स्तरको भनसुन, चाप्लुसी, चम्चागिरी र चाकडी गरिरहेकै हुन्छन्, तर सबैको मुखमा एउटै जवाफ हुन्छ— म कसैको चाकडी गर्दिनँ । 

आखिर के हो त यसको राजनीति ? हाम्रो समाजमा यसका सामाजिक वा सांस्कृतिक तानाबाना कहाँसम्म फैलिएका छन् ? यसबारे बुझ्ने प्रयास गरेका छौँ, भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रणब खरेलसँग । 

समाज अध्ययनमा विशेष रुचि राख्ने अनुसन्धाता हुन् खरेल । हाल उनी प्राज्ञिक अनुसन्धानमूलक संस्था मार्टिन चौतारीसँग आबद्ध छन् । उनले सम्पादन गरेको ‘रिडिङ नेपाली ट्रान्जिसन’ पुस्तक चौतारीबाटै प्रकाशन गरिएको छ भने ‘प्राक्टिसेस अफ् सोसियोलोजी इन् नेपाल’ पुस्तक उनले गौरव केसीसँग सह–सम्पादन गरेका छन् । उनै खरेलसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी । 

म तपाईंसँग चाकडी भनेको के हो भन्ने जान्न चाहन्छु ?

नेपाली समाजमा चाकडीका दुइटा स्वरूप विद्यमान छन् । पहिलो, समाजमा चलनचल्तीको व्यावहारिक स्वरूप । दोस्रो, संस्थागत स्वरूप । 

व्यावहारिक स्वरूपमा सत्ता र शक्तिको वरपर रहेका मानिसलाई उनैले मन पराउने गरी रिझाउने, सामान्य भेटघाट गरेर आफूलाई नजिक देखाउन चाहने, उपहार लिएर जाने, शक्तिशाली मानिसले भनेको उचित वा अनुचित काम गरिदिने परिपाटी पर्छ । संस्थागत स्वरूपमा राणाकालीन समयमा श्री ३ महाराज अर्थात् जंगबहादुरदेखि मोहन शमशेरको पालासम्म चाकडीमा जाने भन्ने हुन्थ्यो । श्री ३ का पालामा उनका नजिकका व्यक्तिको दिनचर्याको यो मुख्य कर्म हुने गथ्र्यो । जो चाकडीमा पुग्दैनथ्यो, उसमाथि शासकको वक्रदृष्टिमा पर्ने सम्भावना हुन्थ्यो ।

चाकडीको संस्थागत स्वरूप अथवा भनौँ यसको एतिहासिक पृष्ठभूमि के हो ?
श्री ३ महाराजहरूको पालामा एउटा विशेष बैठक हुने गथ्र्यो । बिहानै त्यहाँ गएर स्वस्ती चढाउनुपथ्र्यो । त्यसलाई सामान्य बोलीचालीको भाषामा स्वस्ती गर्न जाने वा चाकडीमा जाने भनिन्थ्यो । चाकडीमा नियमित नहुनेहरू शासकको नजरबाट ओझेलमा पर्ने गर्थे । उनीहरूको पद, पदावधि, स्रोतमा कटौती हुन सक्थ्यो । अवसरबाट वञ्चित गर्न सकिन्थ्यो । त्यसको उच्चतम रूप भनेको उनीहरूलाई जात घटुवादेखि देश निकालासम्म गर्न सकिन्थ्यो । त्यसैले खास वर्गका मानिस नियमित चाकडीमा उपस्थित हुन्थे । 

यद्यपि, हामीले चाकडीमा जाने व्यक्ति को हुन् भनी बुझ्नुपर्छ । सामान्य रूपमा चाकडीमा त्यही व्यक्ति जान्थ्यो, जो तत्कालीन सत्ता, शक्ति र घरानाको नजिक हुन्थ्यो । स्वाभाविक रूपमा त्यस्ता व्यक्ति निश्चित जात, वर्ग र हैसियत भएकाहरू हुने गर्थे । यसको उदाहरणका लागि म तपाईंलाई एउटा दृष्टान्त दिन चाहन्छु । केही दशक अघिसम्म नेपाली सुरक्षा निकायमा प्रत्येक तल्लो युनिटको हाकिमले माथिल्लो युनिटको कमान्डिङ अफिसरलाई दसैँमा खसी–बोकाको व्यवस्था गर्नुपथ्र्यो । भन्नुको अर्थ चौकी इन्चार्जले जिल्ला प्रमुखलाई, जिल्ला प्रमुखले अञ्चल प्रमुखलाई र अञ्चल प्रमुखले प्रमुखले आफ्नो माथिल्लो कमान्डिङ अफिसरसहित आईजीलाई । 

नेपाली सेनाको हकमा कुरा गर्ने हो भने युएन मिसनमा जान होस् वा राम्रो ठाउँमा सरुवा–बढुवाका लागि, आजका दिन पनि उपहार लैजाने चलन छ । जर्नेलहरूकोमा रक्सी, मासु, घिउ उपहारस्वरूप लैजानु सामान्य चलन मानिन्छ । यो पनि चाकडीको संस्थागत स्वरूप हो । यस्तो किन गरिएको भन्दा– त्यो संस्थागत अभ्यास हो । यस्तो संस्थागत अभ्यास राज्यको सबैजसो निकायमा अझै पनि कायम छ । 

यो सबै तपाईं असक्षम भएर, अनुचित फाइदाका लागि गर्दै हुनुहुन्छ भन्ने हुँदैन । संस्थागत अभ्यास भइसकेपछि त्यसले संस्कारको रूप ग्रहण गर्छ र यस्तो नगर्ने व्यक्ति असहिष्णु देखिन पुग्छ । त्यसैले संस्थागत चाकडी प्रथामा इमानदार व्यक्तिले पनि त्यसलाई शिरोपर गरेर हिँड्नु परिरहेको हुन्छ, तर फेरि पनि यो सबैमार्फत कालान्तरमा तपाईंले शक्तिशाली व्यक्तिप्रति आफ्नो वफादारिता प्रकट गर्दै हुनुहुन्छ भन्नेमा कुनै शंका रहेन ।

नेपाली समाजमा चाकडीको सांस्कृतिक स्रोत के हो र यसले कसरी काम गरिरहेको हुन्छ ? 
मैले चाकडी प्रथाको सांस्कृतिक स्रोतलाई भन्दा पनि राजनीतिक स्रोतलाई बढी महत्त्वका साथ हेर्ने गरेको छु । राजनीतिक स्रोतबाट अभिप्रेरित भएर यो सांस्कृतिक मूल्य सिर्जना गर्नेतर्फ अघि बढ्छ । सत्ता र शक्ति केन्द्रीकृत भई जब यो सीमित घेरामा पुग्छ, तब त्यो घेराभित्र अटाएका व्यक्ति वा समूह मात्र त्यसबाट लाभान्वित हुने अवसर पाउँछन् । त्यसपछि त्यो लाभबाट वञ्चित तर त्यसप्रति आशक्ति बोकेका व्यक्ति वा समूहहरू त्यहाँसम्म पुग्ने लालसामा चाकडीलाई माध्यमका रूपमा अभ्यास गर्न पुग्छन्, भनेपछि मेरा लागि चाकडीको स्रोत सांस्कृतिक भन्दा पनि प्रथमदृष्टिमै राजनीतिक हो । 

राजनीति भन्ने शब्दले नै समाजको विहङ्गम शक्तिको स्रोतलाई दर्शाइरहेको हुन्छ । त्यसैले मानिस अनेकन् कारणले त्यो शक्तिसँग नजिकिन चाहन्छन् । यसलाई तपाईंले हाम्रो समाजको सानो एकाइ व्यक्तिमा र ठुलो एकाइ राज्यका हकमा पनि समान रूपले बुझ्न सक्नुहुन्छ । जसरी यो संस्थागत हुँदै गयो, यसले नेपाली समाजमा मात्रै नभएर नेपालजस्ता सामाजिक, सांस्कृतिक, राजनीतिक मूल्य बोक्ने अन्य मुलुकमा पनि यसले आफ्नो जरा फिजाउँदै लग्यो । हो, ती देशमा यसका स्वरूप आ–आफ्नै सांस्कृतिक लेपनसहित हुन सक्छन् । यही संस्थागत परम्पराले कालान्तरमा संस्कृतिको रूप ग्रहण गरेको हो ।

चाकडी भन्नासाथ मेरो दिमागमा आउने पहिलो नाम भनेकै मानवशास्त्री डोरबहादुर विष्टको हो । उनले आफ्नो पुस्तक ‘फेटलिजम एन्ड डेभलपमेन्ट : नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन’ मा यसबारे राम्रै व्याख्या गरेका छन् । उनले यसलाई ‘आफ्नो मान्छे’ प्रवृत्ति भनेका छन् । आफ्नो मान्छे को ? जो चाकडीमा आयो, जो नजिक छन्, नेटवर्कमा छन् उही । प्रश्न के हो भने तपाईंले ‘आफ्नो मान्छे’को घेरा किन बनाउनुपर्‍यो त ? यसका लागि हामीले नेपाली राज्यसत्ताको चरित्रलाई केलाउनुपर्ने हुन्छ । 

ऐतिहासिक रूपमै नेपाली सत्ताको केन्द्रमा विराजमान हुनेहरू वैध ढंगबाट भन्दा अवैध ढंगबाट सत्ताको केन्द्रमा पुगे । अवैध ढंगबाट सत्ताको केन्द्रमा आएकालाई जहिल्यै ‘म शक्तिमा आएको तरिकै अवैध हो, त्यसैले मलाई हटाउने तरिका पनि अवैध प्रयोग हुन सक्छ’ भनेर डराइरहेका हुन्छन् । त्यसपछि उनीहरू आफूलाई सत्तामा टिकाइराख्नका लागि आफ्नो वरपर निकै साघुँरो घेरा निर्माण गर्छन् । आजको समयमा जसलाई हामी ‘किचेन क्याबिनेट’ भनेर बुझ्ने गर्छौं । भन्नुको अर्थ, राज्य सञ्चालकमा रहेको त्यो सोचले ‘आफ्नो मान्छे’ भन्ने अवधारणाको निर्माण गर्छ । 

राज्य सत्तामा रहेकाले प्रयोग गरेको शैली समाजका अन्य हिस्सामा पनि त्यसरी नै विस्तारित हुँदै जान्छ । नभए पहिले भाइ–भारदारबाट सुरु भएको संस्कार आजको आधुनिक राजनीतिक प्रणालीसम्म आइपुग्दा छोराछोरी, सालासालीमा कसरी केन्द्रित हुन पुग्यो त ? किनभने यो राज्यसत्ता सञ्चालन गर्नेको न्यूनतम चरित्र बन्न पुगेको छ । मानौँ छोराछोरी, सालासाली अर्थात् आफ्नो मान्छेको घेरा नभए राज्य सत्ता वा कुनै संस्था नै चल्दैन ।

श्री ३ को पालादेखि संस्थागत भएको यो परम्परा आजको हाम्रो दैनन्दिन जीवनमा कसरी प्रकट भइरहेको देख्नुहुन्छ ?
साथीहरूबिच कुराकानीका क्रममा हामी— चन्द्रशमशेरका पालामा रहेको व्यवस्था अझै कायम छ भन्ने गर्छौं । यो प्रसंग मैले यहाँ किन जोडेको भने श्री ३ राणाहरू गए, तर नयाँ राजनीतिक चेतना र संस्कार बोकेका भन्नेहरू, जसले उनीहरूलाई विस्थापित गरे, ती पनि उनीहरूभन्दा भिन्न देखिएनन् । हुँदाहुँदा यो संस्कार निजी व्यावसायिक संस्थाहरूमा पनि त्यति नै अभ्यासमा छ । उदाहरणका लागि तपाईं कुनै अफिसमा काम गर्नुहुन्छ । त्यहाँ तपाईंले प्रोत्साहन, हौसला, बिदा, बढुवा वा विशेष ग्राह्यता कामको क्षमताका आधारमा मात्रै पाइरहनुभएको छ वा आफ्नो हाकिमसँगको विशेष सम्बन्धका आधारमा ? प्रस्ट छ । राज्यका संस्थामा त यो झनै प्रस्ट छ । 

मैले माथि आफ्नो मान्छेको निर्माण कसरी हुन्छ भनेर सामान्य चर्चा गरेँ । त्यसका साथै आफ्नो मान्छे बनाउने अन्य अवयव के–के हुन् त ? त्यसमा पनि अलिकति चर्चा गरौँ । मलाई लाग्छ– चाकडीमा आउने, नजिक हुने र नेटवर्कमा हुनेहरूका साथै तपाईंको वर्ग, जात, लिङ्ग, क्षेत्र र राजनीतिक विचारधाराबाट पनि तपाईंको आफ्नो मान्छेको निर्माण गरिन्छ । यसले तपाईंलाई आफ्नो मान्छे बन्ने वा बनाउने प्रक्रियामा अतरिक्त सहयोगी भूमिका खेलिरहेको हुन्छ । 

उदाहरणका लागि तपाईंले कसैलाई भेट्नेबित्तिकै उसले सर्वप्रथम तपाईंको नाम सोध्छ । तपाईंले नाम मात्र भनेर पुग्दैन, तपाईंले थर पनि भन्नुपर्ने हुन्छ । तपाईंले आफ्नो थर भन्ने बित्तिकै तपाईंको पारिवारिक उद्गम थलो र कुन जातको मान्छे हो भन्ने उसले लख काटी सक्छ । त्यसपछि भेट्दै गरेको व्यक्तिले तपाईंसँग कस्तो व्यवहार गर्ने तय गर्छ । सबै कुराको निर्धारण यसैबाट हुन्छ भन्न खोजेको होइन तर यो महत्त्वपूर्ण आधार हो । यसका साथै नयाँ वर्गको जन्मसँगै काठमाडौँको मात्रै होइन, मुख्य सहरहरूको पुरानो शक्ति संरचनामा ठुलो फेरबदल आएको छ, यसले चाकडीको नयाँ–नयाँ स्वरूपलाई सतहमा ल्याइदिएको छ ।

यद्यपि के भन्न सकिन्छ भने अहिले श्री ३ को पालामा जस्तै बिहानै चाकडीमा जानैपर्ने बाध्यता त छैन, तर एकाबिहानै नेताहरूको ढोकामा लाम लागेको देख्दा व्यवस्था फेरिए पनि सांस्कृतिक चेतना चाकडी प्रथाबाट माथि उठ्न नसकेझैँ लाग्छ ।

एउटा उदाहरण दिएमा तपाईंलाई आफ्नो कुरा राख्न थप सजिलो होला— वर्तमान प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुने तय भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडेर खुमलटार सर्नुपर्ने भयो । बिहान बालुवाटारबाट प्रचण्ड खुमलटार पुग्दा त्यहाँ एक हुल मान्छेहरू बाजागाजासहित, फूलमाला, अबिर, अक्षता लिएर स्वागत गर्न बसेका थिए । प्रचण्डलाई देखेपछि सबैले उत्साहमा ठुलो नाराबाजी गरे र प्रचण्डलाई ऐतिहासिक सरकारको नेतृत्व गरेको भनेर हुलले बधाई दियो । प्रचण्ड खुसी नहुने कुरै थिएन, उनी हौसिए र आफूले सरकारको नेतृत्व खतरै गरेँ भन्ने शैलीमा भाषण गरे । यसलाई के अर्थमा बुझ्ने ?
यसलाई शक्तिको नजिक पुग्न चाहने झुन्डको, विशुद्ध चाकडीका रूपमा बुझ्ने । प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसके, सक्रिय राजनीतिमै छन् । पार्टीमा उनलाई कसैले चुनौती दिन सकेको छैन । अनेक तिगडम गरेर फेरि प्रधानमन्त्री बन्ने सम्भावना पनि त्यति नै छ । अनि उनका पार्टीका नेता तथा कार्यकर्ताले, छिमेकीले, उनका घरबेटीले उनको चाकडी नगर्नुपर्ने कारण के छ र ? यो त्यसैको भद्दा रूप हो । 

तपाईंले त त्यत्रो सम्भावना बोकेका प्रचण्डको उदाहरण दिनुभयो, यहाँ त जिल्लाका विद्यार्थी नेताहरूलाई गरिएको चाकडी, स्तुतिगान र महिमामण्डन देखेर हाम्रो समाज कता गइरहेको हो भन्नुपर्ने अवस्था छ । पछिल्लो समय न्यु मिडियाको विकास र सामाजिक सञ्जालमा सबैको पहुँच स्थापित भएसँगै आफ्ना मान्छेको गुणगान र स्तुतिगान गर्नेको संख्या बढ्दो छ । यो चाकडीको आधुनिक स्वरूप हो भन्दा फरक नपर्ला । सामान्यभन्दा सामान्य नेताको पनि सामाजिक सञ्जालमा गरिने स्तुतिगान पछाडिको मनोविज्ञान के हो भनी तपाईं बुझ्न सक्नुहुन्छ । यो प्रकारान्तरले आफूलाई शक्तिको नजिक देखाउने चाहना नै हो ।

चाकडी हाम्रोजस्तै मूल्य–मान्यता बोक्ने समाजमा मात्रै हुन्छ कि विकसित भनिएका मुलुकमा पनि ?
हाम्रोभन्दा फरक पृष्ठभूमिबाट आएको पश्चिमा समाजको तुलनामा दक्षिण एसियाको समाजलाई यसले बढी गाँजेको देखिन्छ । तर, युरोप, अमेरिकामा नभएको होइन । पश्चिमा समाज मूलतः युरोप–अमेरिकामा ‘वल्ड बोइज नेटवर्क’ र ‘वल्ड स्कुल नेटवर्क’ अलिक बढी चर्चित छ । यसमा तपाईं कुन विद्यालय वा विश्वविद्यालयबाट पास–आउट हुनुभएको हो, त्यस आधारमा आजीवन त्यसको फाइदा पाउनुहुन्छ । तपाईंको विश्वविद्यालयको सिनियर कोही राम्रो ठाउँमा पुगेको छ भने तपाईं त्यहाँ जान चाहँदा उसले तपाईंलाई विशेष सहयोग गर्ने भयो । 

चाकडीजस्तै अन्य सम्बन्धलाई मानिस किन कायम राख्छन् भन्दा त्यसले तपाईंलाई सजिलो बनाउँछ । कुनै विशेष समूहको सदस्य भएकै कारण फाइदा र अवसर दुवै पाइन्छ भने तपाईं त्यसलाई प्रयोग गर्न चाहनुहुन्छ । हामीले माथि चर्चा गरेको आफ्नो मान्छे भन्ने अवधारणालाई यस्ता कुराले पनि बल पुर्‍याइरहेका हुन्छन् । नेपालको हकमा केही प्रतिष्ठित विद्यालयबाट पढेकाले त्यहाँबाट पास–आउटलाई बढी ग्राह्यता दिने गर्छन् भनेजस्तै हो ।

उदाहरणका लागि चीनमा ‘गुवाङ्क्सी नेटवर्क’ भन्ने गरिन्छ । चिनियाँ समाजमा यसलाई नकारात्मक रूपमा बुझिँदैन । ‘ग्वानसी’ भन्नुको अर्थ एउटा त्यस्तो समूह हो, जुन तपाईंले आफ्नो फाइदाका लागि निर्माण गर्नुभएको हो । त्यहाँ विविध खाले मानिस आबद्ध हुन्छन्— तपाईंलाई पर्दा उनीहरूले र उनीहरूलाई पर्दा तपाईंले व्यक्तिगतदेखि व्यापारिक तहसम्म सहयोग गर्नुहुन्छ । यो संस्कार चाकडी प्रथाभन्दा भिन्न हो तर आफ्नो मान्छे वा आफू नजिकको मान्छेलाई कसरी सहयोग गर्ने भनेर अभ्यास भइरहेका छन् । 

त्यस्तै ‘वल्ड स्कुल नेटवर्क’ले अँगालेको अर्को महत्त्वपूर्ण संस्कृति हो– ‘कल्चर अफ् रेकमेन्डेसन’ । ‘रेकमेन्डेसन’ भन्ने जो–कोहीले जो–कोहीका लागि लेख्दैन । सभ्य भाषामा भनिने रेकमेन्डेसन आधुनिक दुनियाँको सिफारिस वा भनसुन हो । 

प्रशंसा गर्नु, प्रोत्साहित गर्नु र चाकडी गर्नुमा के भिन्नता छ ? 
यसमा ठुलो अन्तर छ । तपाईंलाई राम्रो काम गर्दा प्रशंसा तथा प्रोत्साहन गर्ने व्यक्तिले गलत गर्दा आलोचना पनि गर्छ । कसैले चाकडी गरिरहेको छ भने आलोचना गर्ने सामथ्र्य उसले राख्दैन । चाकडीमा प्रशंसा होइन, स्तुति गाइन्छ । जो व्यक्तिले चाकडी मन पराइरहेको हुन्छ, उसले तपाईंबाट चाहने भनेकै स्तुति हो । किनभने त्यसबाट उसको अहंकारको तुष्टि भइरहेको हुन्छ, तर चाकडीमा आलोचना मिसाउनुभयो भने त तपाईं चिप्लिनुभयो । 

हामी मानिस हौँ । पृथ्वीको जुनसुकै कुनामा भए पनि मानिसले आफ्नो प्रशंसा मन पराउँछ । आफ्नो राम्रो कुरा सुनेर खुसी हुन चाहन्छ । म नेपाली, अमेरिकन, अफ्रिकी वा ल्याटिन भए पनि मलाई प्रशंसा र मपाईंत्व मन पर्छ । भनेपछि डिजिटल आधुनिक युगमा आत्मप्रशंसाका स्वरूपहरू कसरी विस्तार भइरहेको देख्नुहुन्छ ? 
हो, तपाईंले भनेको सही हो । प्रत्येक मानिस आफ्नाबारे राम्रो कुरा सुन्न चाहन्छ । त्यति मात्र होइन, ऊ प्रशंसालाई स्तुतिमा फेर्न चाहन्छ । उसलाई कसैले राम्रो भनेन भने ऊ आफैँ ‘म कति राम्रो हुँ, ल हेर’ भनेर तुष्टि लिन चाहन्छ । मानिसको प्रवृत्ति नै गुणगान मन पराउने खालको छ । तर, तपाईंले आफ्नै चेतनाबाट छुट्ट्याउन सक्नुपर्‍यो कि मलाई कुनै व्यक्तिले प्रशंसा गरिरहेको छ वा मेरो स्तुति गरिरहेको छ । 

अहिलेको डिजिटल युगमा मपाईंत्व र स्तुतिको मात्रात्मक वृद्धि भइरहेको छ । उदाहरणका लागि हामी सामाजिक सञ्जालमा कसैबारे लेख्दा प्रशंसाबाट सुरु गर्छौं र स्तुतिमा टुङ्ग्याउँछौँ । सामाजिक सञ्जालमा हामी आफैँलाई एउटा वस्तुको रूपमा प्रस्तुत गर्छौं र विविध प्रयत्न गरेर ‘म पनि कम छैन’ भन्ने भाव प्रसारित गरिरहेका हुन्छौँ । त्यसैले यसले अधिकांश मानिसमा आत्मश्लाघाको मनोवैज्ञानिक तत्त्वलाई बढावा दिइरहेको हुन्छ । खासमा यसले मानिसमा मानसिक समस्या निम्त्याइरहेको छ । यसले परिपक्व मानिसलाई मात्र होइन, साना–साना नानीबाबुलाई पनि मनोवैज्ञानिक रोगी बनाइदिएको छ । यसलाई चाकडीसँग जोडेर भन्ने हो भने डिजिटल युगले पुरानो चाकडी संकारलाई निरन्तर अघि बढाइरहेकै छ । त्यसमा कुनै क्रमभंगता छैन । पुरानै स्प्रिटको आधुनिक निरन्तरता ।

आमरूपमा कुनै मासिनले ‘म तपाईंको बिग फ्यान’ हो भन्छ । ‘फ्यान’ भन्ने शब्द सिनेमा उद्योगमा बढी प्रयोग हुने गर्छ । कसैको ‘फ्यान’ बन्ने ‘पपुलर कल्चर’ले हामीमा रहेको चाकडीको तत्त्वलाई बढावा दिन्छ वा दिँदैन ?
हो, फ्यान भन्ने कुरा सिनेमा उद्योगमा बढी सुनिन्छ, किनभने त्यो पपुलर कल्चरको हिस्सा हो । पपुलर कल्चरले आममानिसको कल्पनाशीलतामा पखेटा त लगाइदिन्छ, तर उडान भर्न सक्ने क्षमताको विकास गराउँदैन । त्यसै कारण आममानिस जीवनमा जे बन्ने चाहना सँगालेर हुर्किन्छ, त्यो वास्तविकतामा परिणत हुन नसकेपछि ऊ पर्दाको नायकलाई देखेर आत्मतुष्टि लिइरहेको हुन्छ । 

यसलाई अंग्रेजीमा ‘भाइ क्यारियस लिभिङ’ भन्ने गरिन्छ । तपाईं आफूले बाँच्न चाहेको जिन्दगी बाँच्न नसकेको तर अरु कसैले त्यस्तो गरिदिँदा त्यसका माध्यमबाट तपाईं त्यसमा बाँच्नुभएको । तर, ‘फ्यान’ हुँदैमा तपाईंले कसैको चाकडी गर्नुपर्छ भन्ने हुँदैन । बरु ‘फ्यानसिप’ र ‘साइको फ्यानसिप’ बिच मसिनो सम्बन्ध होला ।

मिति : सोमबार, ०५ कात्तिक २०८१
स्रोत : https://www.ratopati.com/story/453489/as-in-the-time-of-mr--even-if-you-do-not-have-to-go-to-chalk


About the Author

प्रणव खरेल

समाजशास्त्री, काठमाडौँ स्कुल अफ ल

नरेश ज्ञवाली

रातोपाटी

More Blogs