श्रमिक-हिंसाको सञ्जाल

- भास्कर गौतम | 2022-03-15

पछिल्ला केही दशकमा हिंसा प्रकट रूपमै समृद्धिको अभिन्न पक्ष भएको छ । सारमा हिंसा समृद्धिको अपरिहार्य पक्ष थियो नै, रूपमा पनि हिंसाको स्वीकार्यता बढ्दो छ । हिंसा समृद्धि–चिन्तन संस्कृतिकै अविभाज्य हिस्सा बनिरहेको छ । लामो समयदेखि एक थरीको मत छ, द्वन्द्वका कारण नेपाल समयमै समृद्ध हुन सकेन ।

यस्तो मत राख्नेहरूको जिरह छ- द्वन्द्वले राजनीतिक अस्थिरता निम्त्यायो, द्वन्द्वात्मक राजनीतिक अवस्था विदेशी लगानी र आर्थिक वृद्धिका लागि बाधक भयो, अहिले पनि बाधक बनिरहेको छ । अर्का थरीले प्रारम्भदेखि नै विकासको सोच र अभ्यासमा हिंसात्मक कार्यले गहिरो घर बनाएको भन्दै आएका छन् । वैदेशिक श्रमका सन्दर्भमा भर्खरै सार्वजनिक भएको एक अध्ययनले पछिल्लो तर्कलाई थप प्रमाणित गरेको छ ।

गत साता फेयर स्क्वायरले ‘भाइटल साइन्स : द डेथ्स अफ माइग्रेन्ट्स इन द गल्फ स्टेट्स’ शीर्षक प्रतिवेदन सार्वजनिक गरेको छ । बंगलादेश, भारत, नेपाल र फिलिपिन्सका संस्थाहरू संलग्न यो अध्ययन प्रतिवेदन कम ज्यालामा खाडी सहकार्य परिषद्का छ मुलुकमा कार्यरत श्रमिकहरूको मृत्युमा केन्द्रित छ । प्रतिवेदनले प्रत्येक वर्ष हुने १० हजारभन्दा बढी श्रमिकको मृत्युलाई ‘अनाहक’ ठहर्‍याएको छ । साथै खाडी मुलुकहरूलाई यत्तिका मृत्युका कारणहरूबारे न्यायोचित छानबिन गर्दै काम गर्ने वातावरणमा गुणात्मक सुधार ल्याउन आह्वान गरेको छ । त्यस्तै, सम्बन्धित देशहरूका सरकारलाई अनाहक मृत्यु हुने कारणबारे न्यायोचित छानबिनका लागि दबाब दिन अपिल गरेको छ ।

खाडी सहकार्य परिषद्का छ मुलुकमा मात्र कम्तीमा ३ करोड कामदार कार्यरत छन् । प्रतिवेदनले भन्छ, यो आँकडा त्यहाँको जनसंख्याको आधा संख्या हो । त्यहाँ विदेशी श्रमिकहरू मूलतः निर्माण, आतिथ्य र सत्कार क्षेत्रमा तथा घरेलु कामदारका रूपमा काम गर्छन् । त्यो पनि निकै न्यून ज्यालामा । प्रतिवेदन अनुसार प्रत्येक वर्ष कम्तीमा १० हजार श्रमिकको मृत्यु हुन्छ । यीमध्ये अधिकांश मृत्युको कारण खोतल्ने गरिँदैन, न ती मुलुकका कम्पनी, निजी साहु र सरकार श्रमिक र तिनका घरपरिवारका लागि जवाफदेह नै हुने गरेका छन् । यस अध्ययनले भन्छ, खाडी मुलुकका सरकारहरू श्रमिकको मृत्युबारे न सही आँकडा उपलब्ध गराउँछन्, न त काम गर्ने वातावरणमा तात्त्विक सुधार ल्याउन प्रतिबद्ध देखिन्छन् । नतिजा, न्यून आय आर्जनका लागि खटेका श्रमिकको ज्यानको कुनै मूल्य देखिन्न । सामान्य जीवनवृत्तिकै लागि प्रत्येक वर्ष हजारौं श्रमिक आत्मसम्मानबेगर बाँच्न र सार्थक प्रतिरोधबेगर मृत्युवरण गर्न अभिशप्त छन् । समृद्धिको यस्तो सिलसिलामा हिंसा प्रकट रूपमै छताछुल्ल छ । आर्थिक समृद्धिलाई नै सर्वोपरि ठान्नेहरूका लागि हिंसा धेरै हिसाबले स्वीकार्यसमेत छ ।

सर्वविदित छ, श्रमिकहरूले काम पाउनु नै ठूलो कुरा हो । त्यसैले हम्मेसि काम रोज्ने अवसर हुँदैन । सामान्यतः धेरैले गर्न नचाहने अप्ठेरो काम मात्र उनीहरूले पाउने गर्छन् । सुकिलामुकिलाले नरुचाउने काम गर्न सजिलो हुन्न । काम पाइहाले पनि काम गर्ने वातावरण राम्रो हुँदैन । धेरै अवस्थामा कामको वातावरण अमानवीय छ । यी सबै भेदभावको गठजोडमा प्रायः श्रमिक निरन्तर आफ्नो स्वास्थ्य दाउमा राख्न र हठात् जीवन गुमाउन विवश छन् । त्यसमाथि खाडी क्षेत्रमा हुने उच्च आर्द्रता र तापक्रममा श्रमिकहरूलाई काम फत्ते गर्न सजिलो हुन्न । अर्कातिर, शोषणयुक्त काम गर्ने वातावरण, लामो काम र शून्यप्रायः विश्रामले कामदारहरूलाई अमानवीय अवस्थामा धकेल्ने गर्छ । वायु प्रदूषण र कामका असुरक्षित अभ्यासका कारण श्रमिकहरूको स्वास्थ्य अनवरत रूपमा खस्कँदो छ । त्यसले मनोवैज्ञानिक तवरमा समेत उनीहरूलाई कमजोर बनाइरहेको छ । यसरी जीवनवृत्तिको खोजीमा समृद्ध मुलुकमा खतरनाक वातावरणमा काम गर्न विवश श्रमिकहरूलाई प्रत्येक क्षण मृत्युले आमन्त्रण गर्ने गरेको छ ।

पाकिस्तानको न्याय परियोजनाका प्रवक्ता मोहम्मद शोएब यस प्रतिवेदनले दुइटा स्पष्ट निष्कर्ष निकालेको ठान्छन् । एक, मृत्युजस्तो महत्त्वपूर्ण सवालमा खाडी मुलुकहरूले ‘कमजोर तथ्यांक’ उपलब्ध गराएका छन् । अर्को शब्दमा, श्रमिकहरू अनाहकमा मृत्युवरण गर्न अभिशप्त छन् तर मृत्युको तथ्यांकसमेत भरपर्दो छैन । यस्तो अवस्थामा काम गर्ने वातावरणमा गुणात्मक सुधार ल्याउँदै उनीहरूको जीवनलाई सुरक्षित बनाउन गाह्रो छ । काम गर्ने क्रममा मृत्युसम्मै धकेलिनु नपर्ने गरी समस्याहरूलाई हल गर्दै सुधार ल्याउन सजिलो हुन्न ।

दुई, खाडी मुलुकमा न्यून आयमा काम गरिरहेका श्रमिकहरूको भोगाइ कठोर मात्र होइन, अत्यन्त डरलाग्दो छ । श्रमिकहरू कुनै पनि क्षण मृत्यु हुन सक्छ भन्ने भयसहित काम गरिरहेका छन् । यस्तो अमानवीय थितिमा श्रमिकहरूले जीवन गुजारा गरिरहँदा उनीहरूको र परिवारका सदस्यहरूको मनोदशामा राहतको पहल नगन्य छ ।

मृत्यु वा मृत्युलाई प्रत्येक क्षण अमानवीय किसिमले वरण गर्ने बाध्यकारी अवस्था श्रमको लेनदेन र मोलमोलाइमा हुने ठगीबाट मात्र आउँदैन । जीवनवृत्तिकै लागि श्रमिकले भोग्नुपर्ने यस्तो अमानवीय थिति अहिले नेपालमा समेत प्रभावशाली रहेको समृद्धिको सोच र संस्कारबाट जन्मन्छ । यदि नेपालले अहिले रोजेको जस्तै समृद्धिको बाटोलाई निरन्तरता दिइरह्यो भने कामदारहरूको जीवन गौण ठान्ने, अमानवीय अवस्थामा उनीहरूलाई धकेल्ने र हिंसाका स्वरूपहरूलाई आर्थिक वृद्धिको अपरिहार्य अंश ठान्ने कार्य स्वाभाविक हुन्छ । हिंसाको संस्कार स्वीकार्य बन्दै जान्छ ।

यस्तो विभेद खाडी मुलुकहरूमा मात्र छैन । भारतको समृद्धियात्राकै उदाहरण लिऔं । भारतमा समेत कामदारको अवस्था तात्त्विक रूपमा फरक छैन, हिंसाका स्वरूपहरू मात्र फरक छन् । एक थरीले भारतको आर्थिक वृद्धिको चर्चा गरिरहँदा त्यही अवधिमा भारतीय कृषकहरूमा आत्महत्या कहालीलाग्दो प्रवृत्ति बनिरह्यो । प्राकृतिक सम्पदाबाट ग्रामीण जनता जबरजस्ती विस्थापित पारिएसँगै भारतका सहरहरूमा झुपडपट्टीहरू तीव्र गतिमा बढे । किनकि ग्रामीण क्षेत्रमा भइरहेका विकास गतिविधिमा उनीहरूको रोजगारी सुनिश्चित भएन । तर भारतमा आर्थिक वृद्धि जुन आँकडामा भयो, त्यही अनुपातमा रोजगारीमा विस्तार भएन । त्यसैले केरलाजस्तो उच्च साक्षरता रहेको राज्यबाट समेत रोजगारीका लागि खाडी मुलुक भासिने अवस्थाले थप तीव्रता पाइरह्यो । नतिजा यस प्रतिवेदनले औंल्याएजस्तै, प्रत्येक वर्ष हुने १० हजारभन्दा बढी श्रमिकहरूको मृत्युमा भारतीय कामदारहरूको संख्या उल्लेख्य रहने गर्छ ।

भारतकै तीन दशकको आर्थिक वृद्धिलाई तन्काउँदा, त्यहाँ औद्योगिकीकरणले सबैभन्दा पहिले कृषि अर्थतन्त्रमा जीवन निर्वाह गरेकाहरूलाई प्रहार गर्‍यो । भारत संसारमा सबैभन्दा बढी कृषकहरूले आत्महत्या गर्ने देशमा गणना हुन थाल्यो । पछिल्लो समय भइरहेको किसान विद्रोह, अन्य पक्षका अलावा, समृद्धिले निरन्तर रूपमा निम्त्याइरहेको संरचनागत असमताहरूको परिणाम हो । त्यस्तो समृद्धि जसले कृषिमा जीवन निर्वाह गरिरहेकाहरूलाई आत्महत्या गरिरहनुपर्ने संरचनागत अवस्थामा धकेल्यो ।

समृद्धिमा निहित हिंसा यहीँ सकिन्न । भारत संसारका थोरै त्यस्ता देशहरूमध्ये पर्छ जहाँ ग्रामीण जनताको विस्थापन तीव्र गतिमा भइरहँदा आर्थिक वृद्धिलाई भारतीय सरकारले थप हिंसात्मक बनाइरहेको छ । मूलतः खानी, खनिज वा प्राकृतिक सम्पदा अपार भएका ग्रामीण क्षेत्रहरूमा बढी । समृद्धिका नाममा ग्रामीण जनगणको जीवन निर्वाह खोजिएको छ, जमिन खनिएको छ र खास किसिमको सीप मात्र भएका कारण न्यायोचित आर्थिक लाभ लिनबाट समेत उनीहरू वञ्चित पारिएका छन् । नतिजा, ती सहरका झुपडपट्टीमा बास खोज्न बाध्य छन् कि वैदेशिक श्रम रोज्न अभिशप्त । समृद्धिका नाममा भारतीय राज्यले बल मात्र गरिहेको छैन, जनगणलाई तिनको थातथलोबाट विस्थापन गर्दै व्यापक प्राकृतिक विनाशसमेत निम्त्याइरहेको छ । न्याय र रोजगारीबेगरको समृद्धिले हिंसाका स्वरूपहरूको विस्तार मात्र गर्दैन, आफ्ना नागरिकलाई मृत्युको मुखमा समेत धकेल्छ । त्यसैले खाडी मुलुकमा हुने कामदारको मृत्यु हिंसाको प्रकट रूप मात्र हो । समस्या समृद्धिको चिन्तन, संस्कार र अभ्यासमै छ ।…

कामदारहरूले सहजै जीवन गुमाइरहँदा समेत समृद्धिको प्रभावशाली बुझाइ सही ठान्नेहरूलाई लाग्छ, आर्थिक वृद्धिमा स्वभावतः परोपकारी गुण हुन्छ । आर्थिक वृद्धिले असमानतालाई गहिरो बनाउँदै लैजान्छ, अनि हिंसाका स्वरूपहरू झाँगिइरहँदासमेत अनदेखा गरिन्छ । आर्थिक वृद्धिसँगै विकासको मापन गरिरहँदा हिंसाका पक्षहरूलाई लुकाउने गरिन्छ । अझ प्राकृतिक स्रोतसाधनवरिपरि शताब्दिऔंदेखि जीवन निर्वाह गरिरहेको जनगणलाई विस्थापन गर्दै प्राकृतिक सम्पदामाथि नियन्त्रण कायम गर्नु अपरिहार्य ठानिन्छ । खाडी मुलुकहरूमा हुने कामदारहरूको मृत्यु त यीमध्ये कुनै एक चक्रमा हुने परिघटना मात्र हो ।

यस्तो मान्यताविपरीत जसले विदेशी लगानी र विदेशी सहायतालाई फगत साम्राज्यवादी परियोजनाको हिस्सा ठाने, उनीहरूले त्यहाँ हिंसा मात्र देखे । उनीहरूले विकासका अनेकौं अभ्यास र परिणामहरूलाई अनदेखा गरिरहे । अनि हिंसाका विभिन्न स्वरूपतर्फ दिनुपर्नेजति ध्यान दिएनन् ।

तर समृद्धि र हिंसाको सम्बन्ध सधैं जटिल छ । समृद्धियात्रामा निहित हिंसाहरूले प्रायः जटिल स्वरूप ग्रहण गरिरहेका हुन्छन् । त्यसैले व्यापारको उदारीकरण र औद्योगिकीकरणका रणनीतिहरू भारतमा वा खाडी मुलुकमा जस्तै अनेकौं किसिमका हिंसाको सञ्जालमा जेलिएका छन् । हिंसाको त्यस्तो सञ्जालले धेरै अवस्थामा समृद्धिलाई परोपकारी हुन दिँदैन । बरु ठीक उल्टो हुने गर्छ । समृद्धिका नाममा मानवीय, सामाजिक र प्राकृतिक पुँजीले उन्नति गरेको ठानिरहँदा हिंसाका संरचनाहरूलाई समेत बलियो बनाइरहेका हुन्छन् । सामान्य जीवनवृत्तिका लागि समेत श्रमिकहरूले महँगो मूल्य तिरिरहेका हुन्छन् ।

समृद्धिमा निहित हिंसाका स्वरूपहरू सरल रेखामा हिँड्दैनन् । हिंसाका स्वरूपले बाङ्गोटिङ्गो रेखा र अप्रत्याशित गति समाउने गर्छन् । अर्को शब्दमा, समृद्धिसँग छाउने हिंसाले खास सन्दर्भमा खास किसिमले काम गर्न सक्छ । कामदारहरूको मृत्यु मानवीय जीवनको दृष्टिले अन्तिम विन्दु मात्र हो ।

समृद्धिमा परोपकारी सम्भावना देख्ने धेरैले भन्लान्- नेपाल लोकतान्त्रिक मुलुक हो, मलेसिया वा खाडी मुलुकहरूजस्तो निरंकुश राष्ट्र होइन, त्यसैले यहाँ समृद्धिले गति समात्न थालेपछि त्यस्तो हुनेछैन । भन्नलाई भारत पनि लोकतान्त्रिक मुलुक नै हो । धेरै लोकतान्त्रिक राज्यले श्रमिकहरूलाई कस्तो व्यवहार गर्छन्, त्यसका लागि विकासमा निहित हिंसाको पाटोलाई नै हेर्नुपर्दैन । महाव्याधिका प्रारम्भिक हप्ताहरूमा श्रमिकहरूलाई रातारात गाँस, बास र कपासबाट कसरी बेदखल गरियो, त्यसबारे हामी अवगत छौं । महाकाली नदीमा हाम फालेर नेपाल प्रवेश गर्ने श्रमिकको पीडादेखि नेपालमा काम नभएर भारततर्फ जाँदा तुइनबाट महाकालीमै खसेर जीवन गुमाएको परिघटनासम्मले हिंसाकै विविध स्वरूपतिर संकेत गर्छन् ।

समृद्धिको सोच, संस्कार र अभ्यासमै फेरबदल नल्याएसम्म प्रत्येक जीवनसँगै कामदारको जीवनलाई पनि मूल्यवान् ठानिँदैन । श्रमिकहरूलाई हेर्ने नजरिया बदलिँदैन । उनीहरूको आधारभूत अधिकार सुनिश्चित हुँदैन । आर्थिक वृद्धिलाई सर्वेसर्वा ठान्नेहरूले विश्व अर्थतन्त्रको संरचनामा श्रमिकहरूलाई केवल मूल्यहीन एवं सम्मान र स्वाभिमान नभएको त्यस्तो प्राणाी मात्र ठान्ने गर्छन्, जसको मूल अभिभारा उनीहरूको समृद्धि–सपनालाई सकार बनाउनु मात्र हो । त्यसैले खाडीका मरुभूमिमा पुग्नुभन्दा धेरैपहिले, नेपालका गाउँबस्तीमै श्रमिकहरूको मृत्युयात्रा प्रारम्भ हुन्छ । किनकि समृद्धिको वैचारिकी र काल्पनिकीमा उनीहरूको जीवनको तात्त्विक मूल्य छैन । आखिर समृद्धिको सोच, संस्कार र अभ्यासले श्रमिकको जीवनलाई केवल आर्थिक नाफाघाटामा परिणत गरिसकेको छ । श्रमिकको जीवनवृत्ति हिंसाका अनेकौं स्वरूप र हिंसाको सञ्जालमा धकेलिसकिएको छ । त्यसैले खाडी मुलुकहरूमा भइरहेको मृत्युको छानबिनलाई अघि बनाउने कार्यले मात्र यस्तो थितिमा फेरबदल ल्याउन सम्भव छैन । त्यो त गर्नैपर्छ, तर व्यापक फेरबदल आजको न्यूनतम माग हो ।

प्रकाशित : फाल्गुन ३०, २०७८
स्रोत : https://ekantipur.com/opinion/2022/03/14/164722333251514772.html


About the Author

More Blogs