२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीति आशा गरिएअनुरूप सङ्लिन सकेन । बरु एकपछि अर्को समस्याको जञ्जालमा मुलुक फस्दै गयो । राजनीतिको यो घनचक्करबाट मुलुक उम्कन नसके पनि समाजका विभिन्न क्षेत्रमा यो अढाई दशकको अवधिमा अभूतपूर्व परिवर्तन देखिएको छ ।

यस्तो परिवर्तनबाट समग्र शिक्षा क्षेत्रका साथै उच्च शिक्षा क्षेत्रसमेत अछुतो छैन । उच्च शिक्षा प्रदायक संस्था (कलेज) र विद्यार्थी संख्यामा यो कालखण्डमा उल्लेख्य विस्तार भएको छ ।

सरकारी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०४६-४७ सालमा नेपालमा स्नातक र सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ३३ हजार थियो । आर्थिक वर्ष २०७०-७१ मा सो संंख्या बढेर करिब ४ लाख ५९ हजार पुगेको छ । अर्थात् २०४६-४७ को भन्दा १४ गुणा बढी विद्यार्थी अहिले नेपालभित्रै उच्च शिक्षा अध्ययनरत् छन् । त्यसबाहेक, उच्च शिक्षा अध्ययनका लागि बर्सेनि विदेशिने नेपालीको संख्या उल्लेख्य छ । एक अनुमानअनुसार २०४६ सालमा जति नेपाली विद्यार्थी नेपालभित्रै उच्च शिक्षा अध्ययन गरिरहेका थिए करिब त्यति नै विद्यार्थी अहिले विदेशमा पढ्न जाने गरेका छन् । आफ्नै विगतको तुलनामा नेपालले अहिले गरेको प्रगति उल्लेख्य मान्न सकिए पनि अन्य देशको तुलनामा यो अझै कमजोर छ । नेपालको उच्च शिक्षाको कुल भर्ना दर अहिले पनि करिब १७ प्रतिशतमात्र छ जबकि समग्र विश्वको उच्च शिक्षामा कुल भर्ना दर ३० प्रतिशतभन्दा बढी छ । विकसित मुलुकहरुको सोही दर ७० भन्दा माथि देखिन्छ ।

यो २५ वर्षे अवधिमा नेपालको उच्च शिक्षामा देखिएको एउटा महत्वपूर्ण परिवर्तन छात्राहरुको संख्यामा देखिएको ठूलो वृद्धि हो । विश्वविद्यालय अनुदान आयोगको पछिल्लो इएमआइएस प्रतिवेदन (२०७०-७१) लाई आधार मान्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्नेहरुमा छात्रको भन्दा छात्राको संख्या धेरै भइसकेको छ । पछिल्ला वर्षमा एसएलसी परीक्षामा सम्मिलित हुनेहरुमा पनि छात्राहरुकै संख्या बढी हुन थालेको छ । स्मरणीय छ, लामो समय औपचारिक अध्ययनबाट वञ्चित नेपाली महिलाले २००२ सालमा पद्मशमशेर शासनारुढ भएपछि मात्र स्कुलमै गएर अध्ययन गर्न छुट पाएका थिए ।

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ का अनुसार नेपालमा २०४८ सालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमध्ये १५ प्रतिशतभन्दा कम छात्रा थिए (प्रमाणपत्र तहसहित जोड्दा २३ प्रतिशत) भने बाँकी करिब ८५ प्रतिशत पुरुष थिए । सो अनुपातमा व्यापक परिवर्तन भएर अहिले छात्राहरु ५१ प्रतिशतभन्दा बढी छन् भने छात्रको प्रतिशत ४९ भन्दा कम छ । यो ऐतिहासिक परिवर्तन हो र यसले नेपाली समाजमा दूरगामी प्रभाव पार्ने निश्चितै छ ।

 

थप उत्साहजनक तथ्य त के भने यो परिवर्तन मुलुकका पाँचै विकास क्षेत्रमा भएको देखिन्छ । २०४७-४८ सालमा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा उच्च शिक्षामा छात्राको भर्ना प्रतिशत करिब ७ र १४ प्रतिशत थियो (त्यो पनि आइएसमेत गनेर) जुन २०७०-७१ सालमा आइपुग्दा बढेर क्रमशः करिब ४९ र ५० प्रतिशत पुगेको छ । यद्यपि, कुल विद्यार्थी संख्याको हिसाबले यी दुवै क्षेत्र अन्य विकास क्षेत्रभन्दा अझै पछाडि छन् । पूर्वाञ्चल र पश्चिमाञ्चलका हकमा उच्च शिक्षामा भर्ना हुने कुल विद्यार्थीमध्ये छात्राको संख्या क्रमशः ५३ र ६० प्रतिशत छ । अर्थात् समग्रमा यी दुवै विकास क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने छात्रहरुको तुलनामा छात्राको संख्या निकै बढी छ । सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने मध्यमाञ्चलमा भने अझै पुरुषकै वर्चश्व छ ः छात्रा करिब ४९ प्रतिशत र छात्र ५१ प्रतिशत ।

उच्च शिक्षाको क्षेत्रमा अहिले देखिएको महिलाको यो उत्साहजनक परिवर्तनका पछाडि केही कारण छन् । पहिलो र प्रमुख कारण 'लेबर माइग्रेसन' हो । पछिल्ला वर्षहरुमा उच्च शिक्षा अध्ययन गर्ने उमेर (१८–२५) का युवाहरु ठूलो संख्यामा कामको खोजीमा विदेशिने गरेका छन् । र, तीमध्ये अधिक संख्यामा पुरुष नै छन्, महिलाको संख्या सानो छ । पछिल्लो जनगणना (२०६८ साल) मा सबैभन्दा बढी अनुपस्थित जनसंख्या पश्चिमाञ्चल क्षेत्रकै थियो र यही क्षेत्रमा सबैभन्दा बढी महिला विद्यार्थी देखिएको छ । महिला विद्यार्थीको संख्या बढ्नुको अर्को कारण हो विदेशमा अध्ययन गर्न जानेमा पनि पुरुषकै बाहुल्य हुनु । त्यसबाहेक, विश्वभर नै खासगरी किशोर वयका केटाहरुले विभिन्न कारणले पढाइ बिचैमा छाडेको पाइन्छ । नेपालमा पनि त्यस्तो प्रवृत्ति देख्न थालिएको छ जसको राम्रो अध्ययन हुन सकेको छैन ।

सुदूरपश्चिम तथा मध्यपश्चिममा समेत उच्च शिक्षामा लैंगिक हिसाबले समानता आउन लागेको उल्लेख गरियो तर यस्तो समानता आउनुको एउटा कारण ती क्षेत्रका अभिभावकले आफ्ना छोरालाई काठमाडौँलगायतका क्षेत्रमा प्राविधिक र अन्य 'बजारमा बिक्ने' विषय पढ्न पठाउने र छोरीलाई स्थानीय तहमै पढाउने गरेकाले पनि हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने मुलुकको पश्चिमी भेकमा मेडिसिन विषय पढ्ने कलेज नै छैनन् भने इन्जिनियरिङ कलेज पनि ज्यादै कम । इन्जिनियरिङमा महिलाको सहभागिता यसै पनि निकै कम छ (समग्रमै करिब १० प्रतिशत मात्र) । र, यसले गर्दा नै मध्यमाञ्चलमा छात्राको भन्दा छात्रको संख्या बढी भएको भन्न सकिन्छ ।

अर्को तथ्य के छ भने पश्चिमी क्षेत्रमा अध्ययनरत् विद्यार्थीमध्ये धेरैले पढ्न पाउने विषय शिक्षा र व्यवस्थापन हुन् । र, यी विषयमा नै सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । शिक्षा संकायमा पुरुषको तुलनामा महिला करिबकरिब दोब्बर अध्ययन गर्छन् तर शिक्षा विषयको पास दर करिब १३ प्रतिशत र व्यवस्थापनको १८ प्रतिशत छ जबकि विज्ञान प्रविधिमा अलि धेरै (करिब ३६ प्रतिशत) उत्तीर्ण हुन्छन् । त्यसैले गर्दा पनि स्नातकोत्तर तहमा छात्राहरुको प्रतिशत स्वात्तै घट्छ । अर्थात् ग्रामीण र पश्चिमी नेपालका छात्राहरुले केही हदसम्म स्नातक तहमा अध्ययन गर्ने अवसर त पाउन थालेका छन् तर ती विषयमा जुन बजारमा सहजै बिकाउ छैनन्, जसको पढाइ स्तर (उत्तीर्ण दर, आदि) राम्रो छैन ।

उपलब्ध तथ्यांकलाई मिहिन पाराले केलाउँदा वृद्धिका केही पक्ष समस्यामूलक देखिए पनि एउटा प्रष्ट तथ्य के हो भने उच्च शिक्षा अध्ययन गर्ने पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको छ । निश्चित समुदाय, जस्तै दलित, मुस्लिम र केही अन्य समुदायबाहेक खास गरी निम्नमध्यम या मध्यम वर्गमा महिला शिक्षाले स्वीकृति पाएको मात्रै यसले देखाउँदैन् कि आउँदा दिनमा पुरुषभन्दा महिलाले बढी शैक्षिक योग्यता हासिल गर्ने स्थिति तयार हुँदै गरेकोसमेत प्रष्ट्याउँछ ।

समय अझै लाग्नेछ, तर त्यो दिन टाढा छैन भन्न सकिन्छ जब सरकारी र अन्य क्षेत्रमा 'भ्याकेन्सी' खुल्दा आवेदन दिनेमा महिलाको संख्या बढी हुनेछ । आरक्षण त छँदैछ, उनीहरु खुला प्रतिस्पर्धामा उत्तिकै संख्यामा उत्तीर्ण हुनसक्दा कार्यालयहरुको 'डाइनामिक्स'मा यसले परिवर्तन ल्याउनेछ । त्यसबाहेक, नेपाली समाजमा वैवाहिक सम्बन्धमा महिलाको भन्दा बढी शैक्षिक योग्यता भएको पुरुषको खोजी गर्ने जुन प्रचलन छ त्यसमा पनि यसले कठिनाइ र अन्ततः परिवर्तन ल्याउनेछ । र, अन्ततः परिवारको पुरुष सदस्यभन्दा महिला सदस्य बढी शैक्षिक योग्यता हासिल गरेको हुनेछ । यसले परिवारमा पुरुषको प्रभुत्व कम गरी नेपाली समाजलाई लैंगिक समानतातर्फ डो¥याउने अनुमान गर्न सकिन्छ । तत्कालका लागि यी सबै संकेत कोरा अनुमान जस्तो लागे पनि यसले आउँदा दिनमा नेपाली समाजको सामाजिक संरचनामा प्रभावित तुल्याउनेमा शंका छैन । नेपालको शिक्षा क्षेत्रमा छोटो समयमै देखिएको यो ठूलो लैंगिक परिवर्तनलाई मिहिन र व्यवस्थिततवरले अध्ययन-अनुसन्धान गर्नु जरुरी छ । अनुसन्धाता, मार्टिन चौतारी


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai