एउटा घाती रिक्तता

- उज्ज्वल प्रसाई | 2023-05-12

टोपबहादुर रायमाझी र बालकृष्ण खाँड राजनीतिक पतनका दसी पक्कै हुन्, तर अहिले उद्घाटित उनीहरूको पतन लोकतन्त्रको सबलता एवं न्यायपूर्ण भविष्यको संकेत कति हो ?

अपराधमा संलग्न प्रभावशाली राजनीतिक नेता र उच्चपदस्थ कर्मचारीहरूको पोल खुल्दा तीन पेचिला विषय विचारणीय बने । पहिलो, लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनबाट उदाएका पुराना दलहरूप्रतिको आम विश्वसनीयतामा अपूरणीय क्षति भयो तर धमाधम ‘ठूला मान्छे’ पक्राउ परिरहेका दृश्यले राजनीति सङ्लिएर असल बन्छ भन्ने आशा सञ्चार हुन सकेन र न्यायिक प्रक्रिया स्वच्छ होला भन्ने आशा पनि झीनो रह्यो ।

दोस्रो, व्याप्त भ्रष्टाचारलाई मुख्य राजनीतिक नारा बनाएका नयाँ पार्टीहरू र टिकटकको प्रभावमा उदाइरहेका नेताहरूको आधारभूत वैचारिकता, सदाचार र लोकतन्त्रप्रतिको निष्ठा नै सन्देहास्पद हुनु अर्को त्रासदी हो । तेस्रो, आधारभूत मूल्यमा सम्झौता नगरेको बलियो पत्रकारितामार्फत आवश्यक सूचना आम मान्छेको पहुँचमा पुग्दा दलीय दलालीको दलदल र अपराधीकृत राजनीतिलाई सच्याउन मद्दत पुग्नेछ तर पत्रकारिता स्वयं भने संकटग्रस्त छ ।

नेपाली समाजको आमूल रूपान्तरण गर्ने सपना बाँडेर सञ्चालन गरिएको सशस्त्र आन्दोलनका आडमा मूलधारको राजनीतिमा उदाएका पात्र हुन्— टोपबहादुर रायमाझी । हिजो माओवादी नेताका रूपमा उनको आह्वान र सक्रियतामा सयौं युवा बलिदानका निम्ति तयार भए । भनिरहनु पर्दैन, कहरिला दिन काट्दै सयौंले आफ्नो अमूल्य समय, श्रम र ज्यान दिएकै कारण उनको नेतृत्वले केही अर्थ पाएको थियो । सोही आन्दोलनको बलमा प्राप्त लोकतान्त्रिक गणतन्त्रमा उनी सांसद र मन्त्री बने । सुकिला दौरा, सुरुवाल र ढाका टोपीमा सजिएर शक्तिको पटांगिनीमा शान प्रदर्शन गरे । एक पटक प्रवेश पाएको शक्तिकेन्द्रमा सधैं रमाइलो गरिरहन नै उनी एमाले बने । शक्तिको अकण्टक (दुर्) उपयोग गर्न दलको संरचनामा बलियो हुनु आवश्यक हुन्छ, निर्वाचनजस्ता प्रक्रियामा आफ्नो हात मजबुत बनाउनुपर्छ र यस्तो मजबुतीको पोषण केवल सम्पत्ति हो । सामान्य उद्यम गरेर भनेजति पैसा कमाउन असम्भव छ । दलीय राजनीतिको मूलधारमा आएपछि टोपबहादुरले पाएको सम्भवतः सबैभन्दा गहिरो शिक्षा यही थियो । त्यसैले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रकम असुल्ने प्रपञ्चमा उनी संलग्न भएको प्रमाण फेला पर्‍यो । टोपबहादुर अहिले कतै अलप छन् । हिजो क्रान्तिको प्रतिनिधि, आज अपराधको फरार आरोपी !

बीपी कोइरालाले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको आधारभूत वैचारिकता प्रजातन्त्र र समाजवाद थियो । कांग्रेसमा त्यसो त एक समय पञ्चायती संस्कारप्रतिको चिढचिढाहट, समताको बलियो पक्षधरता, सदाचार र सरल जीवनको आकांक्षा पनि मजबुत थियो । बालकृष्ण खाँड सोही आदर्शले आकर्षित भएर कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय भए होलान् । कांग्रेसको नेतृत्वमा सञ्चालित लोकतान्त्रिक आन्दोलनका अभियन्ता बने होलान् । उनको नेतृत्वलाई स्विकारेर सयौं युवा प्रजातन्त्रका कठिन संघर्षमा होमिए । शेरबहादुर देउवा र रामचन्द्र पौडेलभन्दा पछिल्लो पुस्ताका प्रतिनिधिका रूपमा उनीबाट वैचारिक र कार्यक्रमिक ताजगीको आशा गर्ने कार्यकर्ता र सो पार्टीका शुभचिन्तक पक्कै थिए होलान् । जे होस्, आम नेपालीका नजरमा उनी समाजको लोकतान्त्रिक रूपान्तरणका निम्ति विगतमा भएका संघर्षका प्रतिनिधि थिए । आज नेपाली युवालाई फर्जी शरणार्थी बनाउने भन्दै रकम असुलेको आरोपमा पक्राउ परे । आन्दोलनको मैदानबाट प्रहरीको कब्जामा परेर कस्टडी पुग्दा गर्वले अनुहार धपक्क बल्थ्यो, अहिले पक्राउ पर्दा नीलो सर्जिकल मास्कले लाज छोप्ने असफल कोसिस गरेको देखिनु कति टीठलाग्दो !

ठूला नेता र कर्मचारीहरूसमेत अपराधमा संलग्न हुँदाको जोखिम लोकतान्त्रिक भनिएको यो व्यवस्थाप्रतिको अविश्वसनीयता हो । यसभन्दा उन्नत व्यवस्थाको परिकल्पनाका लागि अवसर बन्नु र त्यस्तो स्पेस तयार हुनु राम्रो हुन्थ्यो । तर सामान्तया विगतमोह बलियो हुने गर्छ । ‘हिजै ठीक थियो’ भन्ने संकथन द्रुत गतिमा प्रचारित छ । सो संकथनमा आजको खराबको चिरफार र भोलिका लागि सबल र व्यापक लोकतन्त्रको आकांक्षा मुखरित छैन । बरु, आजका उपलब्धिहरूको विरोध भने सबल हुँदै फैलन थालेको छ । सो संकथनले विगततर्फ मोहित तुल्याउन दोहोर्‍याउने स्थायी–अन्तराका शब्द यिनै छन्— गणतन्त्र बेठीक, संघीयता खराब, समावेशिता खत्तम, समस्या खासमा धर्मनिरपेक्षतामा छ, यस्ता विषय भएको संविधान त्याज्य छ । अन्तर्यमा राष्ट्रवाद ठीक, पाँच विकास क्षेत्रको खाका उत्तम, बरु ज्ञानेन्द्र नै असल, र अन्ततः पञ्चायत नै सर्वोत्तम । टिकटकमा यही आशय फैलिएको छ, युट्युबका सर्वज्ञानी करिब यही आशयका चर्का गाली प्रचार गरेर दिन–कटनी गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्ड यो पश्चगामी संकथनलाई सही प्रमाणित गर्ने खँदिलो बहाना बन्यो ।

टोपबहादुर रायमाझी र बालकृष्ण खाँड राजनीतिक पतनका दसी पक्कै हुन्, तर अहिले उद्घाटित उनीहरूको पतन लोकतन्त्रको सबलता एवं न्यायपूर्ण भविष्यको संकेत कति हो ? हिजोका लोकतान्त्रिक संघर्षमा खारिएका नेतृत्वहरू एकपछि अर्को गर्दै गल्दै र पतन हुँदै आफैंले खनेको गर्तमा पुरिँदा भयानक ठूलो रिक्तता छाएको छ । सोही रिक्ततालाई पुँजीकृत गर्दै केही नयाँ दल र नेता सतहमा देखिएका छन् । कतिपय चुनावी प्रतिस्पर्धामा खरो उत्रिसकेका छन् । विगतका कैयौं उदाहरणले प्रमाणित गरेको एउटा बिर्सन नमिल्ने सत्य छ- निर्वाचनमा प्रतिस्पर्धीलाई उछिन्नु र समाजको लोकतान्त्रिक रूपान्तरणमा संलग्न हुनु दुई फरक विषय हुन् । प्रश्न त्यसैले पेचिलो छ- टिकटक चलाउनमा पारंगत भएर, भ्रष्ट नेताका ‘नाकका डाँडी भाँचिदिने’ कसम प्रचार गरेर, तत्काल बहेको बतासको दिशा बुझेर निर्वाचन जितेकाले सदाचार र लोकतान्त्रिक निष्ठाको घाती रिक्तता पूरा गर्न सक्लान् ? अहिले नै निर्क्योल गर्न हतारो होला, ढुक्क हुन सक्ने अवस्था पनि पटक्कै छैन ।

कम्तीमा, हिजोदेखि सतहमा देखिएका तथ्यका ससाना विन्दु जोडेर सग्लो चित्र बनाउन सक्नेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दल र नेताहरूका पक्षमा लेग्रो तानेर गीत गाइहाल्न सक्दैन । ठूला लाभका अवसर आउँदा नयाँ नेताले सदाचारको महत्त्व सम्झेलान्, लोकतन्त्र र आम जनताप्रतिको इमानदारी ख्याल गर्लान् भनेर विश्वस्त हुन गाह्रो छ । सो पार्टीको नेतृत्व गरिरहेका मान्छेले हिजो गरेका कामका आधारमा यति ढुक्क हुन दिँदैन । लोकरिझ्याइँका खातिर कुशलतापूर्वक दुई–चार मोहक ‘स्पेक्टेकल’ रच्न जान्नुलाई न इमानदारी भन्न मिल्छ, न गहिरो राजनीतिक सुझबुझ । राजनीतिक बजारमा बिकाउ नाराका पुडिया तयार गर्ने कौशलले पनि आजको त्रासदी सम्बोधन गर्न सक्दैन । कुनै चर्चित विद्वान्ले क्षणवादी आकलनका आधारमा पत्याएको र केही लाभ उठाएको विषयलाई ठूलो आँकेर सो पार्टीको भविष्य अनुवाद गर्दा क्षणवादी निष्कर्ष नै निस्कने हो । आगतको बलियो अन्दाज हुँदैन ।

सामाजिक आन्दोलनका महत्त्वपूर्ण प्रश्न, गरिखान हम्मे परेका सीमान्तका मान्छेका मुद्दा र ऐतिहासिक वञ्चितिका सवाल उठ्नासाथ यी नयाँ नेताहरूको कमजोर वैचारिकता उद्घाटित हुन थाल्छ । फरक शब्दमा उनीहरू पनि भन्न थाल्छन्, ‘विचारभन्दा माथि देश !’ विचार र ‘वाद’ चाहिँदैन भन्नु ‘रायमाझी र खाँडले विचार भनेर के भो’ भन्नु मात्र हो, त्यसले नयाँ र उन्नत लोकतन्त्र सम्भव तुल्याउँछ भन्नु होइन, आम मान्छेको जीवन रूपान्तरण गर्छु भन्नु होइन, राजनीतिलाई ज्ञान र विवेकका आधारमा निःस्वार्थ सेवाको माध्यम बनाउँछु भन्नु हुँदै होइन । त्यसैले रास्वपाजस्ता पार्टीहरूको उदयले अहिलेको भयानक रिक्तता पुर्न सक्दैन ।

रायमाझी र खाँडहरूले पारेको रिक्ततामा ठाउँ खोज्नेहरूमा राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीजस्ता प्रकट लोकतन्त्रद्वेषी खेलाडी पनि छन् भन्ने हेक्का राख्न उत्तिकै जरुरी हुन्छ । आज सतहमा देखिएका अनेक सीमा र समस्याको सबैभन्दा मुख्य दोषी आम मान्छेले पाएको स्वतन्त्रता हो भन्न नहिचकिचाउनेहरूले यही रिक्ततालाई अझै फैलाउने काममा मद्दत गर्नेछन् । आम मान्छेमा छाउन थालेको अविश्वसनीयतालाई उकेरा लगाउन भरमग्दुर प्रयत्न गर्नेछन् । त्यसैमा आफ्नो उपादेयता सिद्ध गर्न खोज्नेछन् । केही सफलता हात लागे, उनीहरूले सत्तोसराप गरेकै नेता र दलसँग कुम जोडेर दोहनमा सहभागी हुन जानेछन् । त्यति गर्दा पनि आफू र आफूजस्तै नेताभन्दा लोकतन्त्र नै खराब हो भन्न उनीहरू फेरि हिचकिचाउनेछैनन् । विडम्बना एउटै छ, उनीहरूले त्यसो भनेको पत्याएर भोट दिने बाध्यतामा हुनेछन् आम मतदाता ।

जस्तो संकटको संघारमा यो दुनियाँ छ अनि त्यसबीच जति दुरूह र जटिल अवस्थितिमा नेपाल छ, अहिलेको रिक्तताले यो गुजुल्टोलाई महासंकटमा रूपान्तरण गर्ने निश्चित छ । यस्तो त्रासदीपूर्ण अवस्थामा संकटबारे गहकिलो संवाद गर्न सक्ने बौद्धिक र त्यसका लागि आवश्यक सूचना ल्याइदिने र खँदिलो विमर्शको तारतम्य मिलाइदिने निर्भय पत्रकारिता चाहिन्छ । अनेक अफवाह, पश्चगामी संकथन, र झुटा सूचनाको प्रभावकारी फैलावटका बीच सही सूचनाको सिपालु खोजी असाध्यै दुरूह छ । यो दुरूहता चिर्न हिजोको भन्दा बढी मिहिनेत र लगानी आवश्यक छ । साथै, सूचनाको सबल खोजी र प्रसारका लागि पत्रकारको कौशल र साहस वृद्धिमा गहकिलो प्रयास गर्न जरुरी छ । सही सूचनाका आधारमा गरिने विमर्शलाई आम पहुँचमा पुर्‍याउने सृजनात्मक उपाय अवलम्बन गर्न पनि उत्तिकै आवश्यक छ ।

नक्कली शरणार्थी बनाउने अपराधमा संलग्न ठूला नेता र उच्चपदस्थ कर्मचारीहरूका कर्तुत बाहिर ल्याउन सही सूचनाको खोजी गर्ने, हात लागेका सूचनाको सत्यताको परख गर्ने र ती सूचना बाहिर ल्याएबापत आइपर्ने जोखिम सामना गर्न सक्ने क्षमता चाहिन्छ । युट्युबका सर्वज्ञानी र टिकटकका सेलेब्रिटीकै भरमा सूचनाको खेती रहन्थ्यो भने यो अपराध बाहिर आउन सम्भव थिएन । तर कहिलेकाहीँ फाट्टफुट्ट यति हुने र साबिक अवस्थामा खास नेताकै कथ्यलाई ‘हेडलाइन’ बनाइरहने उद्यम गर्नुले पत्रकारिता सबल बन्दैन । धेरैजसो दलीय राजनीतिको रिपोर्टिङ केही बेर खास नेताहरूसँग गरिएका गफगाफका आधारमा गरिन्छ । ती खास नेताले व्यक्त गरेका आशयको अन्तर्य नकेलाई, तिनले कुनै सूचनालाई दिएको खास ‘स्पिन’ नबुझी वा बुझ्न नचाहेर लेखिएका समाचार वा टिप्पणीमै सीमित छ दलीय रिपोर्टिङ । व्यावसायिक भनिएका पत्रकारका हातबाट समेत खास नेताले नै समाचार लेखिरहेको सहजै भेउ पाइँदा पत्रकारिताप्रतिको विश्वसनीयता कम हुन्छ । अर्थात्, यहाँ पनि एउटा रिक्तता नै छाउँछ । यही रिक्ततामा टिकटक र युट्युबमार्फत लोकतन्त्रद्वेषी संकथन प्रभावकारी रूपमा फैलिन्छ ।

रिक्तता चिर्ने सबल वैचारिक र बौद्धिक हस्तक्षेपले हो । रायमाझी र खाँडसम्मको पुस्ताले दिएको धोकालाई क्षतिपूर्ति गरिदिन कुनै मसिहा प्रकट हुनेछैन । ‘वाद’ र विचारविरोधी फेसनको मोहले झनै हुनेछैन । चालु दलीय अभ्यासको सामूहिक असफलताबाट पाठ सिक्ने र उन्नत लोकतान्त्रिक अभ्यासको प्रादुर्भाव गर्ने राजनीति गर्न अघि सरेका नयाँ पुस्ताका मान्छेहरूको जिम्मेवारी हो यो । साथै, सूचना र ज्ञान प्रसारमा काम गरिरहेकाहरूको जिम्मेवारी पनि अत्यन्तै सघन छ । यी राजनीतिक नेता, पत्रकार र बुद्धिजीवीमा क्षणिक तालीका लागि रचिने तमासा (स्पेक्टेकल) मात्रको मोह रहुन्जेल रिक्तता निरन्तर फैलिरहनेछ ।

प्रकाशित : वैशाख २९, २०८०
स्रोत : https://ekantipur.com/opinion/2023/05/12/168385696486088073.html


About the Author