नेपालको ‘जातीय पोसाक’

- लोकरञ्‍जन पराजुली | 2021-09-24

लोकरञ्‍जन पराजुली

नेपालको राष्ट्रिय जनावर के हो ? उत्तर सजिलो छ— गाई ।

 

तर, कुनै जनावर वा पन्छीलाई पनि ‘राष्ट्रिय’ भन्नु–भनाइनुपर्ने किन ? राष्ट्रिय जनावर नहुँदा के हुन्छ ? के फरक पर्छ ? के गाई/डाँफेबाहेक अन्य जनावर वा पन्छी अराष्ट्रिय हुन् ? यी प्रश्नका उत्तर भने त्यति सहज नहोलान् । अझ कुनै जनावरलाई राष्ट्रिय जनावर बनाउन वा नबनाउन भएका प्रयास र प्रक्रिया (खास गरी नयाँ संविधान लेखन क्रममा) निरपेक्ष भावले हेर्ने हो भने त त्यो हास्यास्पदै देखिन्छ ।

राष्ट्रिय जनावर वा पन्छी भन्दा पर गएर त्यस्तै खाले अरू प्रश्न पनि गर्ने गरिएको पाइन्छ । जस्तो, नेपालको राष्ट्रिय पोसाक कुन हो ? नेपाली (राष्ट्रिय) खाना के हो ? अथवा यस्तै प्रश्नहरूको संश्लेषित स्वरूप— नेपाली संस्कृति के हो ? यी प्रश्नमध्ये पहिलो प्रश्नको जवाफ पञ्चायतकालसम्म सजिलो र सपाट थियो । २०४६ सालको जनआन्दोलनपछि त्यो अलि कठिन बन्यो ।

संसद्‌मा जब हिजोसम्म राष्ट्रिय पोसाक भनिएको दौरा–सुरुवाल–कोट–टोपी नलगाई आफ्नै समुदायका दैनन्दिन पोसाकमा ठाँटिएर केही सांसद संसद् पुगे, आफ्नै भाषामा शपथ लिए, भाषण गरे, तब तिनले कथित ‘राष्ट्रिय पोसाक’ र ‘राष्ट्र भाषा’को ‘राष्ट्रियपन’को धरातल कति कमजोर रहेछ भनेर तत्क्षण देखाइदिए ।

दोस्रो जनआन्दोलनपछि अझ ठूलो संख्याले कथित राष्ट्रिय पोसाक र राष्ट्रभाषालाई चुनौती दिए । नेपाली समाजको बहुलता, विविधताको इन्द्रेणी तिनले संसद्‌मा प्रस्तुत गरे । ‘राष्ट्र गान’ले नै बोल्यो— ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल’ । यद्यपि, व्यवहारमा विविधतालाई राष्ट्रले आत्मसात् गरेको पाइन्न । बरु, वर्षौंदेखि घोकाएर, पढाएर, थोपरिएको पुरानै खाले ‘सरकारी राष्ट्रवाद’ पछिल्लो समयमा पन्पिएको छ । पहिलेका ‘अथक क्रान्तिकारी’हरूको क्रान्तिकारीपनको नक्कली जामा खुइलिएको छ । तिनको मुखुण्डो उत्रिएको छ ।

धेरैलाई अनौठो लाग्ला, तर नेपाली राष्ट्रिय या जातीय पोसाकबारेको बहस नयाँ होइन । यो बहस कम्तीमा आठ दशकभन्दा बढी बूढो छ । सरकारी समाचारपत्र गोरखापत्रले नेपाली पोसाक उपर उहिल्यै (१९९४ चैतमा) सम्पादकीय लेखेको थियो (हेर्नुहोस् बाकस) । खास गरी पहाडवासीहरूले लाउने दौरा–सुरुवाललाई नेपाली जातीय पोसाकका रूपमा उभ्याउने उसको प्रयत्न अहिले पढ्दा निकै रोचक लाग्छ । र, संकीर्ण पनि ।

अहिले हामी अंग्रेजीको ‘नेसन–स्टेट’ वा राष्ट्र–राज्य भनेर जेलाई बुझ्छौं, नेपालले त्यसको प्रारम्भिक स्वरूप लिँदै गरेको समय (फम्र्याटिभ स्टेज) को गोरखापत्रको यो सम्पादकीयले देखाउँछ, शासक/सम्भ्रान्तको परिकल्पनामा नेपालको चौहद्दी काठमान्डु खाल्डो मात्र हो । चाहे ती पहिलेका शासक हुन् वा अहिलेका नवसम्भ्रान्त/शासक, तिनले यो कूपभन्दा बाहिर हेर्दैनन्, देख्दैनन् ।

गोरखापत्रले नेपाली जातीय पोसाकबारे सम्पादकीय छाप्नुको एउटा कारणमा खास गरी पहिलो विश्वयुद्ध क्रममा नेपालीहरूको बाहिरी विश्वसँग भएको संसर्ग र त्यससँगै भित्रिएका वस्तु, पहिरन वा ‘फेसन’ले गरेको हस्तक्षेप प्रमुख देखिन्छ । सँगसँगै, विश्वबजारले सेंध लगाएका कारण पहिलेका स्थानीय ‘घरबुना’ र अन्य उद्योगहरू धराशयी हुँदै थिए । बजारमा नयाँ–नयाँ ढाँचाका पहिरन र भावभंगिमा मान्छेहरू देखिन थालेका थिए, जुन पुरातनपन्थीहरूलाई पच्ने कुरा थिएन । त्यसैले त्यो नपचेको कुरा कुनै न कुनै तवरबाट बाहिर अभिव्यक्त भइरहन्थ्यो । गोरखापत्रको यो सम्पादकीयलाई पनि सोही सामाजिक–सांस्कृतिक परिवेशको आलोकमा हेर्नु उपयुक्त हुन्छ ।

गोरखापत्रको सम्पादकीयअनुसार नेपाली राष्ट्रिय या जातीय पोसाक भनेको ‘दौरा, सुरुवाल, कोट, इस्टकोट, भोटो, टोपी, चोलो, फरिया, खास्टो, पटुका, मोजा, जुत्ता’ थियो । यो सूचीले तात्कालिक नेपालको पोसाकको विविधता र सीमिततासँगै दर्साउँछ । साथै तिनमा आएको परिवर्तनलाई पनि देखाउँछ । ‘क्वाँच’ (? ) कस्तो वस्त्र हो भन्ने त त्यति बेलै धेरैलाई थाहा थिएन भन्ने कुरा संकेतचिह्न राखेर अर्थ दिनुले प्रस्टिन्छ । अनि, उहिलेका हाम्रा टोपीका प्रकार (तकुवा, कार्चोपी, डम्बरकुमारी, आदि), जुत्ताका प्रकार (कानफट्टा, ग्याँठवाल, फित्तावाल, आदि) यो सम्पादकीयले बताउँछ । त्यस्तै, भोटो, दौराको फेर र पटुका अथवा खास्टोको ‘उपयोगिता/महत्ता’बारे पनि हामी जानकार हुन्छौं । भलै विश्वास गरौंला/नगरौंला, मुसुक्क मुस्काउँछौं ।

भन्नु परोइन, त्यतिखेरका नयाँ पुस्ताकाहरू भने यी जातीय पहिरनमा सीमित थिएनन् । उनीहरू क्रमशः तिनलाई त्याग्दै थिए, जुन सम्पादकलाई, शासकहरूलाई पाच्य लागिरहेको थिएन । बजारमा जुन नयाँ ‘फेसन’ आइरहेको थियो, त्यो सम्पादकीय नजरमा नक्कली थियो, कागले मयूरको प्वाँख लगाएसरी थियो । र बेइज्जती हुने कुरा थियो । तर त्यही भइरहेको थियो, ‘नक्कली प्वाँख’ लगाएकाहरूका बिगबिगी बढ्दै थियो ।

गोरखापत्रले नेपालको ‘जातीय पोशाक’ भनेर सूचीकृत गरेका केही पोसाक ‘नेपाली’ थिएनन् । त्यो जोसुकैले उतिबेलै पनि जाने–बुझेको कुरो थियो । त्यसैले आफ्नो सूचीलाई अरूले सहजै पंगु बनाउन, उल्याउन सक्छन् भन्ने तथ्यबारे सम्पादक सचेत थिए । सोही कारण उनले ‘कोट र इस्कोट’ किन नेपाली हुन्, वा भइसके भन्ने बुझाउन ठूलै मेहनत गरेका छन् सम्पादकीयमा ।

गोरखापत्रको सम्पादकीयको अन्तिम अनुच्छेदले गहिरो राजनीतिक अर्थ बोकेको छ । सम्पादकले सानो स्वरमा आफ्ना जातीय पोसाकहरू स्वदेशी वस्त्र वा घरबुना भएदेखि उत्तम हुन्थ्यो भनेका छन् । तर, घरबुनाको या खादीको वस्त्र लगाउनु भनेको राजनीतिक ‘स्टेटमेन्ट’ दिनु पनि हुन्थ्यो । भारतमा तत् समय गान्धीको स्वराज/स्वदेशी आन्दोलन दन्किरहेको थियो, विदेशी वस्त्र त्यागेर भारतीय उत्पादन (खादी) को प्रयोग गर्ने अभियान चलिरहेको थियो । सोही आन्दोलनसँग जोडेर शंकाको दृष्टिले हेरिन्थ्यो, नेपालमा घरबुनाको कपडा लगाउनुलाई ।

तात्कालिक शासनसत्ता स्वयं दोधारमा थियो । एकातर्फ उसलाई स्वदेशी उद्योग खोल्नु र जगेर्ना गर्नु थियो— किनकि विदेशी वस्त्रको उपलब्धताको समस्या (कहिले बिगबिगी, कहिले अभाव) थियो, र घरेलु उद्योग धराशयी भएका थिए । अर्कोतर्फ, भारतमा चर्केको सामाजिक–राजनीतिक आन्दोलनले यहाँसमेत प्रविष्टि पाउला भन्ने भय शासकलाई उत्तिकै थियो । यो असमञ्जस कायमै राख्नुभन्दा, अथवा घरबुनालाई राजनीतिक अभिव्यक्तिको साधन बन्न दिनुभन्दा त्यसलाई ‘अप्रोप्रियट’ गर्नु उपयुक्त हुन्छ भन्ने तात्कालिक प्रधानमन्त्री जुद्धशमशेरले ठानेको देखिन्छ । त्यसैले उनले १९९३ सालमा आफ्नो जन्मोत्सव मनाउँदा स्वयं आफू र आफ्ना छोरा–नातिलगायतलाई घरबुनाको स्वदेशी वस्त्र लगाउन लगाएर सार्वजनिक रूपमा देखा परेका थिए ।

प्रधानमन्त्री र उनको परिवारले उत्सव मनाउँदा स्वदेशी वस्त्रको प्रयोग गरे पनि अरू सामान्य दिनमा समेत घरेलु कपडा लगाउने गरेको छनक पाइन्न । न सामान्यजनले नै भारतमा जस्तो सक्रियतापूर्वक स्वदेशी कपडा प्रयोग गरेको र स्वदेशी कपडा उद्योग फस्टाएको संकेत पाइन्छ । यद्यपि, गोरखापत्रले ‘स्वदेशी वस्त्रको कदर दिन पर दिन बढ्दै गएको’ र ‘नेपाली मात्रको नेपाली पोशाक नेपालकै कपडाहरूद्वारा तयार हुने दिन धेरै टाढा’ नभएको उल्लेख गरेको छ । गोरखापत्रले उबेला टाढा नदेखेको नेपाली कपडाको उज्ज्वल भविष्य अझै आएको छैन, गर्तमै कतै अल्मलिएको छ ।

नेपाली पोसाक र त्यसको अर्थ–राजनीतिक पक्षबारे यति चर्चा गरिसकेपछि अब पढौं गोरखापत्रको सम्पादकीय । हिज्जे जस्ताको तस्तै राखिएको छ । गोरखापत्रको मूलप्रतिमै संकेत चिह्न (८) दिएर लेखको अन्तमा क्वाँच (? ) को अर्थ दिइएको छ ।

स्रोतः http://annapurnapost.com/news/128121


About the Author

More Blogs