मिडियामा प्राज्ञिक बहस

2021-10-10

- गोविन्द छन्त्याल

खोजपूर्ण लेखहरूको सँगालो मिडिया अध्ययन-३ मार्टिन चौतारीको पहलमा आम पाठकको सामु देखापरेको छ । ४२६ पृष्ठको सो पुस्तक देवराज हुमागार्इं, प्रत्यूष वन्त, शेखर पराजुली र कोमल भट्टले सम्पादन गरेका छन् ।

पुस्तकमा लेख, विशेष सन्दर्भ: मिडिया र कानुन, टिप्पणी, संस्मरण, अन्तर्वार्ता, पुस्तक समीक्षा लेखन परिचय र सामग्रीहरू समावेश गरी फरक फरक अध्यायमा छुट्टयाइएको छ । आम सञ्चार क्षेत्रका मिडियाकर्मी, अनुसन्धानकर्ता अभियानकर्ताको लेखनको साझा चौतारी बनाउने ध्येयले सन् २००६ बाट सुरु गरिएको वाषिक जर्नल मिडिया अध्ययन ३ तेस्रो अङ्क हो ।

लेख अध्याय अन्तर्गत युवराज घिमिरेको छापामा कलाको स्थान समाचार र समीक्षाको विवेचना, भास्कर गौतमको प्रेस स्वतन्त्रताको व्यावसायिक र राजनीतिक सन्दर्भ, प्रत्यूष वन्तको स्वतन्त्र रेडियो र श्रोत: बहससँग केही सवाल, अनित क्षेत्रीको शान्ति प्रक्रियामा दैनिक पत्रिको भूमिका, केशवराज पराजुलीको पोखरेली पत्रकारिता: २०१७-२०४६, ब्रोडसिट दैनिकका एचआइभी र एड्स जस्ता गहकिला लेखहरू समावेश गरिएको छ । मिडिया र कानुन अध्याय अन्तर्गत माधव कुमार बस्नेतको सूचनाको हक र यससम्बन्धी नेपाली कानुन : छोटो टिप्पणी र रमेश बडालको श्रमजीवी पत्रकार नयाँ मिडिया क्षेत्रका श्रमिक कानुनी संरक्षणका बाटोमा समावेश गरिएको छ ।

टिप्पणी अध्याय अन्तर्गत सुधीर शर्मा, रमा पराजुली, हर्षमान महर्जन, सरस्वती कार्की, निर्मलमणि अधिकारी, सौरभ र गणेश रार्इका टिप्पणीहरू राखिएको छ । दीपा गौतमको संस्मरण तथा रवीन्द्र मिश्र र मण्टेश्वरी राज भण्डारीको अन्तर्वार्ता पनि कम महत्वका छैनन् । पुस्तक समीक्षा अध्याय अन्तर्गतमा रेडियो नेपालको सामाजिक इतिहास (प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागार्इं, कृष्ण अधिकारी र कोमल भट्ट, सम्पादक), संकटकालमा समाचार (बद्री पौड्याल र रघु मैनाली, लेखक), काँचको पर्दा : नेपाली टेलिभिजनमा महिला (दीपा गौतम), मिडियाको लोकतान्त्रिकरण (विनयकुमार कसजू) का पुस्तकहरू क्रमश: त्रिरत्न मानन्धर, दिनेश गौतम, रमिता महर्जन र किरण अधिकारीले विश्लेषणात्मक ढंगले समीक्षा गरेका छन् ।

मिडिया अध्ययन ३ मा 'पहिलो' र 'दोस्रो' अंकभन्दा फरम टिप्पणी संस्मरण र अन्तर्वार्ता थप गरिएको छ । सम्बन्धित क्षेत्रका विज्ञ वा पत्रकारिताको लामो अभ्यास गरेका व्यक्तिहरूका संस्मरण र अन्तर्वार्ता जर्नलमा प्रकाशन गर्दा यी सामग्रीले प्राज्ञिक बहस र अनुसन्धानलार्इ आवश्यक सहयोग पुर्याउने देखिन्छ । बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रको अन्तर्वार्ता सुरु गरेपछि अन्त्य भएको चालै नपाइने खालको छ । दीपा गौतमको संस्मरण नेपालजस्तो पितृसत्तात्मक विचार बोकेको समाजमा एउटा नारीले पत्रकारिता भित्र पनि टेलिभिजन पत्रकारितामा कति संघर्ष गर्नुपर्छ भन्ने कुरा उजागर गरिएको छ । कम्युनिकेसन कर्नरका अध्यक्ष मण्टेश्वरी राजभण्डारीको अन्तर्वार्ता सामयिक छ ।

मिडिया क्षेत्रमा संलग्न सञ्चारकर्मी हेतु, प्राज्ञिक व्यक्तिहरूले पढ्नै पर्ने मिडिया अध्ययन ३ भित्र मूलभूत रूपमा न्यूजरुम संस्कृति, एफएम रेडियो र श्रोता, प्रेस स्वतन्त्रता र व्यवसायिकता, मोफसलमा पत्रकारिता, सूचनाको हक र श्रमजीवी पत्रकार एेन, छापामा कला, एचआइभी/एड्स र शान्ति प्रक्रिया, सरकारी सञ्चारमाध्यमको पुनसंरचना, नेपाल म्यागेजिन कारिता मिडिया नीतिशास्त्र र शिक्षा पत्रकारिता विषयहरू समाविष्ट गरिएका छन् । पत्रकारिता भित्रका विषयहरूलार्इ गहकिला ओजपूर्ण विषयवस्तुहरूलार्इ समावेश गरिएता पनि मातृभाषाको क्षेत्रमा गरिने पत्रकारिता जस्तालार्इ समावेश नगरिनाले केही त्रुटीयुक्त वा असमावेशी देखिन्छ । महिलाहरूको खाँचोलार्इ पूरा गर्ने प्रयास मात्र गरेको देखिन्छ ।

पहिलो अध्यायमा समावेश लेखकहरू उत्तम छन् । टिप्पणी अध्याय अन्तर्गतका सामग्रीहरू पनि कम महत्वका छैनन् । समष्टिगत रूपमा पुस्तक मिडियाकर्मी, अनुसन्धानकर्ता, अभियानकर्ता र प्राज्ञिक व्यक्तिहरूको लागि एकपटक पढ्नै पर्ने आवश्यकतालार्इ झकझकाउन्छ । मार्टिन चौतारीले नियमित रूपमा यस जर्नल प्रकाशन गरिरहोस् जसले गर्दा नेपाली मिडियाको गुणात्मक सुधारको लागि यसका गतिविधि र अन्तर्वस्तुमाथि समीक्षागत थप बल पुग्नेछ ।

हामी राष्ट्रिय मासिक, भदौ २०६५, वर्ष २, अंक २, पृ ४२


About the Author

More Blogs