मार्टिन चौतारीको अर्को गहकिलो पुस्तक

2021-10-10

  • नेपालमा श्रमजीवी पत्रकारको अवस्थालार्इ कतिपयले बाधा मजदुरको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । अहिले पनि 'अरूका आङमा जुम्रा देख्ने पत्रकार आफ्नै आङमा भैंसी हिँडेको देख्दैनन्' भनेर पनि टिप्पणी हुने गरेको छ । कुनै कारखानाका मजदुरले दुर्इ महिनादेखि तलब पाएनन् भनेर पत्रकार स्वयं चाहिँ चार महिना भन्दा बढी समयदेखि तलब नपाइरहेको हुन्छ भन्ने 'जोक' पत्रकारिता क्षेत्रमा व्यापक छ ।
  • दैनिक पत्रिकारहरू आफ्नो प्रकृतिअनुरूप मूलत घटना केन्द्रित भए । तर एकथरी पाठकको चाहना घटना विशेषबारे जानकारी पाउनेमा मात्र सीमित थिएन, उनीहरू घटना-प्रवृत्तिनै बुझाउने खालको गहन समाचार वा विश्लेषण चाहन्थे । त्यो रिक्तता भर्ने काम म्यागजिनकारिताले गर्यो ।
  • समग्र पत्रकारिताको विगत र वर्तमानलार्इ हेर्दा कलाको विकास सँगै कला पत्रकारिताको विकास भएको देखिँदैन । यस अध्ययनका आधारमा भन्नुपर्दा पत्रपत्रिकाहरूमा समाचार लेखन, समाचारको स्तर र कला समीक्षाले पाएको स्थानलार्इ हेर्दा कला पत्रकारिता ज्यादै धीमा देखिन्छ ।
  • सामान्यतया समाचारले सत्य, निष्पक्ष र स्वतन्त्र सूचनाको सम्प्रेषण गर्छ भन्ने मान्यता हो । तर विराटनगरका केही अभ्यासलार्इ हेर्दा सूचनालार्इ तोडमरोड गरी ब्ल्याकमेलिङ गर्ने प्रकृया केहीको नित्य कर्म जस्तै बनिसकेको छ । यस्तो ब्ल्याकमेलिङ पनि कुनै बेला साँच्चिकै भएको समाचारलार्इ लिएर हुन्छ त कुनै बेला कसैको नकारात्मक कुराको चर्चा नगरी सकारात्मक पक्षलार्इ मात्र राखेर गरिन्छ । जस्तै भ्रष्ट, तस्कर र खराव प्रवृत्तिभएकाहरूलार्इ प्रोत्साहन हुने खालका समाचार, लेख प्रकाशन र प्रसारण गरिदिएर पनि रकम असुल्ने गरिएको पाइन्छ ।
  • मिडियाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको छ । यो आम उपभोक्ताप्रति मात्रै हैन पत्रकारहरूप्रति नै उत्तरदायी र जवाफदेहि छैन । नाम नखोल्ने सर्तमा कान्तिपुर पब्लिकेसनको सम्पादकीय टोलीका एक सहकर्मी भन्छन्, "प्रत्येक दिन कान्तिपुरमा गलत समाचारहरूको लस्कर देखिन्छ । ती समाचारलार्इ कान्तिपुरले सच्याउने चेष्टा गर्दैन । हरेक दिन यति धेरै सूचना सच्याउन सम्भव पनि हुन्न । तर लेखकहरूले सीधै सूचनालार्इ आधार बनाएर विचार लेखे भने त्यो विश्लेषण सही त हुँदैन नै स्वाभाविक रूपमा राम्रो र तथ्यपरक पनि हुँदैन ।"
  • शिक्षा विटका पत्रकारहरूले कक्षा कोठाबाहिरका गतिविधिलार्इ उठाए पनि कक्षाभित्र प्रवेश गर्ने वातावरण बनेको छैन । अर्थात कक्षाकोठाभित्र पठनपाठनको वातावरण कस्तो छ ? निजी विद्यालयमा पढाइने पाठ्यक्रम कस्तो छ, शिक्षकले आफ्ना विद्यार्थीलार्इ कसरी बढाउँछ आदिबारेमा रिपोर्टिङ गर्नका लागि कक्षाकोठामा पत्रकारले प्रवेश पाउँदैनन् । यसका लागि पत्रकारिता क्षेत्रले पनि त्यति आवाज उठाएको पाइँदैन ।

माथिल्ला प्रसंगहरू मार्टिन चौतारीले हालै प्रकाशित गरेको मिडिया अध्ययन ३ को हो । यस अघि पनि मिडिया अध्ययन १ र २ प्रकाशित गरिसकेको मार्टिन चौतारी मिडियाकै बारेमा यसरी बृहत् रूपमा अध्ययन गर्ने सम्भवत पहिलो संस्था हुनुपर्छ । पुस्तकको सम्पादन देवराज हुमागार्इं, प्रत्यूष वन्त, शेखर पराजुली र कोमल भट्ट रहेका छन् । यस पुस्तकमा न्यूजरुम संस्कृति, एफएम रेडियो र श्रोता, प्रेस स्वतन्त्रता र व्यवसायिकता, पोखरा र विराटनगरमा पत्रकारिता, संरचनाको हक र श्रमजीवी पत्रकार एन, छापामा कला, एचआइभी एड्स र शान्ति प्रक्रिया, सरकारी सञ्चारमाध्यमको पुनर्संरचना, संस्मरण/अन्तर्वार्ता/पुस्तक समीक्षा, नेपालमा म्यागेजिनकारिता, मिडिया नीतिशास्त्र र शिक्षा पत्रकारिता आदिको बारेमा खोजमूलक लेख रहेका छन् । जम्मा २२ वटा लेखहरू रहेको उक्त पुस्तक ६ भागमा बाढिएको छ र ४२६ पृष्ठ रहेको छ । पुस्तकको मूल्य १५० राखिएको छ ।

देशान्तर साप्ताहिक, ५ साउन २०६५ (20 July 2008), वर्ष २६, अङ्क १५, पृ ४


About the Author

More Blogs