बल्कोटको बतिलो !

- अर्जुन पन्थी | 2024-10-02

सन्दर्भ
पश्चिम अर्घाखाँचीमा पर्ने बल्कोट गाउँको महेन्द्र विद्यावोध हाई स्कूलले २०८० सालमा ६० औँ “हेप्पी बर्थडे” मनाउँदै थियो । त्यस अवसरमा, हीरक स्मारिका निकाल्दैछ, मेरो एउटा लेख सम्पादन गरिदिनुपर्‍यो, भन्ने आग्रह काठमाडौँमा रहेका एक जना व्यक्तिले गरे । त्यसलाई मैले मानेँ । त्यसपछि सम्पादकद्वय नारायण भट्टराई र युवराज पाण्डेले लेखक मोदनाथ प्रश्रितले पनि कुनै समयमा त्यस स्कूलमा पढाएका हुनाले उनले लेखेको कविता ल्याउने र बल्कोट स्कूलमा पढाउँदा उनको छोटो सम्झना उतार्ने जिम्मा मलाई दिए, त्यो पनि गरेँ । यति गरेपछि मैले पनि मेरो मावली गाउँको स्कूलबारे लेख्ने मौका किन गुमाउने, भन्ने भयो । आफूले बल्कोटको स्कूलमा नपढेकाले सम्झना खासै थिएनन् । तर त्यस स्कूलबाट २०३४ सालमा बतिलो भन्ने पत्रिका निस्केको थाहा थियो । कतै फेला पारे त्यसको बारेमा लेख्छु भन्ने उद्देश्यले बतिलोको खोजिमा हिँडे । संयोगले मदन पुरस्कार पुस्तकालयमा त्यो रहेछ । तर क्याटेलगमा मात्र, पत्रिकै चाहिँ भेटिएन । त्यही बेला सार्वजनिक निम्न माध्यमिक विद्यालय (निमावि) बाट २०३४ सालमा टुकी पत्रिका निस्केको पनि पत्तो पाएँ, जुन स्कूलमा पछि मैले पढेको पनि थिएँ । पुस्तकालयमा दुवै पत्रिका नभेटिएपछि, त्यहाँबाट सम्पादकको नाम टिपेर हिँडे ।

दुवै सम्पादकलाई फेसबुक र फोनबाट, तपाईंले फलानो पत्रिका सम्पादन गर्नुभएको रहेछ, त्यो पत्रिका तपाईंसँग छ, भनेर सोधेँ । टुकीका सम्पादक युवराज पाण्डेले पत्रिका आफूसँग हुनुपर्ने, खोजेर खबर गर्छु, भने । बतिलोका सम्पादकले चाहिँ, आफूसँग नभएको र यदि भेटियो भने मलाई पनि दिनुहोला भने । अब, स्मारिकामा लेख्ने रहर अधुरै रहने भयो, भन्ने पो भयो ।

चैत २७, २०७९ । साढे बाह्र बजेको समय, टण्टलापुर घाम लागिरहेको थियो । बल्कोटकै छिमेकी गाउँ केरुङ्गाका युवराजले, “टुकी पत्रिका भेटियो- हेर्न आउनुस् है” भने । आफूले पढेको स्कूले पत्रिका कस्तो रहेछ भनी खुसी हुँदै म काठमाडौँमा रहेको उनको घरमा गएँ । गाउँघरतिर समेत हराएको पत्रिका, सम्पादकका हैसियतले उनले जतन गरी राखेका रहेछन् । साल २०३४ मा अर्घाखाँचीको तत्कालीन छत्रगञ्ज र ठूलापोखरा दुई छिमेकी पञ्चायतभित्रका साना गाउँहरू – डिही, खैरेनी, धैरेनी, किसान, शिरारसम्म डुल्दै देउसी भैलो खेल्दा ४ हजार रुपैयाँ जम्मा भएको र त्यसैमा साथी सहयोगीसँग थपथाप गरी छत्रगञ्जको सार्वजनिक निमाविमा टुकी बालिएको रहेछ, युवराजले मलाई छोटो कथा सुनाए । 

कतै टुकी फेला पारेका सम्पादकले बतिलो पनि भेटाउँथे कि ! आश जाग्यो ।

यो आशयले मैले उनलाई सोधेँ, “सर बल्कोटको बतिलो पनि भेटिएला ?” सोध्दा वित्तिकै, उनी टुकी हातमै लिएर खोज्न गए र फर्केपछि भने, “भेटियो-भेटियो ।” उनी जस्तै म पनि ज्यादै खुसी भएँ- ताकी बतिलोबारे लेख्न पाइने भयो । सरले दुवै पत्रिका मलाई एकदिने पाहुना बनाउने गरी दिए ।

ती दुवै पत्रिका मैले त्यहाँ पल्टाइनँ, घरै गएर हेरुँला भनेर । बरु युवराजसँग अरू दुई-चार बात मारेर फर्कें । मेरो घरमा एक रात पाहुना बन्न आएका बेला, मैले दुवै पत्रिकाको फोटो खिचेर राखेको थिएँ । यीमध्ये आज टुकीको कथा भन्दिनँ, कुनै बेला कहुँला । आज बतिलो कै कहानी सुनौँ ।

बतिलो फलाउनेहरू
संयोगले फेला पारेको पत्रिका, व्यक्तिगत संग्रहको कुनामा बसिरहेकोले यसका अक्षर उडिसकेका थिए । त्यसैले लामै भए पनि यसको कहानी उतार्ने विचार राखेको छु । म यसको पन्ना पन्नामा डुल्ने विचारमा छु । आशा छ, लेखनीको विवरणात्मक यात्रामा साथ दिनुहुनेछ । 

काठमाडौँबाट छापेर लगिएको यो पत्रिका ए फोर साइजको पेपरमा ५५ पृष्ठमा छापिएको छ (हेर्नुहोस् तस्बिर १) ।

तस्बिर १ : राष्ट्र विकास सेवा (राविसे) र महेन्द्र विद्यावोध माध्यमिक विद्यालयले २०३४ सालमा प्रकाशन गरेको पत्रिका बतिलोको आवरण पृष्ठ (स्रोत : युवराज पाण्डे) ।

२०३४ पुसमा जन्मेको बतिलोको भित्री गाता उबेलाका महाराजधिराजको भक्ति आराधनाले भरिएको रहेछ । जसरी हामीले पनि स्कूले किताबको शुरूमा वीरेन्द्रका “महावाणी” घोक्नु पर्थ्यो, घोकाइएको त्यो महावाणी अझै पनि मेरो सम्झनामा छ :

   राष्ट्रिय प्रतिभालाई फुलाउने फलाउने तथा जनताको मनोभावनालाई विकासमूलक बनाउने नीति लिई लागू गरिएको यस राष्ट्रिय शिक्षा योजनाबाट केही वर्षभित्रै
   एउटा जागरुक, परिश्रमी र उन्नतिशील समाजको सिर्जना हुन सक्नेछ भन्ने मैले आशा लिएको छु – श्री ५ वीरेन्द्र ।

बतिलोको भित्री गाता पनि मैले स्कूलका किताबको शुरूमा पढेको उल्लिखित महावाणी जस्तै महावाणीले भरिएको रहेछ । दोस्रो पानामा, पत्रिका निकाल्दा काम गरेका मान्छेको नाम छ । सम्पादकको रूपमा कमल प्रसाद ज छन् । मैले पत्रिका खोज्ने क्रममा रामेछापका चौलागाइँलाई काठमाडौँमा भेटेँ, पनि । चौलागाइँको नाम मुन्तिर ठाकुर प्रसाद पाण्डे सहसम्पादकको रूपमा देखिन्छन् । व्यवस्थापनमा हिम्मतबहादुर टण्डन (हेड सर) र अरू सरहरू – लक्ष्मणमणि ज्ञवाली, निमानन्द रिजाल र कृष्ण पन्थी पनि छन् । सहयोगीमा रामचन्द्र मैनाली, हरिप्रसाद पौडेल, लीलामणि पाण्डे, दलवीर सारु, एक जना पिसकोरका अमेरिकन नागरिक रवर्ट बाव गरजफ, टंक पन्थी र रुक्मागत पाण्डेको नाम छ । अरू धेरै स्थानीय मानिस भए पनि गरजफ पिसकोर अन्तर्गत बल्कोट आएका रहेछन् । 

सन् १९६१ मा खुलेको अमेरिकी संस्था पिस कर्पलाई प्रायः नेपालीले “पिसकोर” भन्दथे । यसका धेरै कामदार विद्यार्थी विश्वका विभिन्न देशमा शिक्षा स्वास्थ्यमा काम गर्न फिँजिएका थिए । 
रामचन्द्र मैनाली चाहिँ झापामा साल २०२८ मा भएको कम्युनिष्ट आन्दोलनमा भाग लिइ, त्यहाँबाट भागेर आइ बल्कोटमा चुपचाप बसेर पढाइरहेका थिए ।

पत्रिकाको प्रकाशक राष्ट्र विकास सेवा (राविसे) र महेन्द्र विद्यावोध माध्यमिक विद्यालय रहेको छ । प्रकाशकका मुनी “बल्कोट अर्धाखाँची” लेखिएको छ । यो “अर्धा” मैले धेरै ठाउँमा सुने र लेखेको देखेको छु । पूर्वतिरका कोही-कोही मानिसले “अर्घा” नभनेर “अर्धा” भनिरहन्छन् । यहाँ पूर्वेली सम्पादकले त्यही गल्ती गरेछन् । 

खैर प्रसङ्गतिरै जाउँ । अब अलिकति राष्ट्र विकास सेवा (राविसे) का बारेमा भनुँ । साल २०३१ तिर शुरू भएको यो कार्यक्रम अन्तर्राष्ट्रिय हिसाबले पिसकोरको जस्तै अवधारणा हो कि ? किनभने त्रिभुवन विश्वविद्यालयमा एमएमा दुई सेमेस्टर पढेका विद्यार्थीले गाउँ-गाउँमा भर्खर खुलेका विद्यालयमा गई अरू दुई सेमेस्टर बराबर करिब एक वर्ष बसेर जीवनोपयोगी (पढाउनु) काम गर्नुपर्ने रहेछ । 

त्यसको लागि तालिम लिएर विद्यार्थीहरू काठमाडौँबाट गाउँ-गाउँ गएका थिए । यस क्रममा बल्कोटमा रामेछापका कमल प्रसाद चौलागाइँ गएका थिए । बल्कोटको अर्को छिमेकी गाउँ पञ्चायत छत्रगञ्जमा पूर्वतिरकै खेमनाथ दाहाल र केशव पौडेल गएका थिए । उनीहरूको सोच र प्रभावमा यी दुवै पत्रिका निस्केको बुझिन्छ । तै पनि विद्यालयको सक्रियता ज्यादै देखिन्छ ।

चौलागाइँ त्रिचन्द्र कलेजमा बीएस्सी पढिसकेपछि कीर्तिपुरमा अर्थशास्त्रमा एमए पढ्दा पढ्दै गएका रे । उनीसँग कुनै दिन म अनामनगरको एक क्याफेमा गफिएको थिएँ । बल्कोटको स्कूलमा पुगेपछि उनले – भित्तेपत्रिका निकालौँ, भन्ने प्रस्ताव गरेछन् । उनको योजनामा सबै स्थानीय मास्टर सहमत भए, र त्यहीँका मास्टरले नाम पनि जुराइदिएछन्, “बतिलो” । यसको अर्थ हुन्थ्यो – फूल नझरेको चिचिले फल । 

हरेक शुक्रबार स्कूलको भित्तामा बतिलो टाँसिन थालियो । मास्टरको सहयोगमा विद्यार्थीले विभिन्न लेख कविता लेख्न थाले । समयक्रममा तिनै लेखलाई बटुलेर बतिलो पत्रिका बनाइएको थियो ।

बल्कोटे साहूहरू प्रतिको व्यङ्य 
अब मलाई काठमाडौँबाट पत्रिका बनेर आएको त्यो बतिलोको भित्री पानामा भएका र मलाई रुचि लागेका केही विषयवस्तु केलाउन मौका दिनुहुनेछ भन्ने ठानेको छु ।

पहिले त तुलशी राम पाण्डेको, “पैसा व्यापार नै मिठो” कै कुरा गरौँ । यो लेख पढ्दा मलाई खुब घत लागेको थियो । लेख्ने त यस्तो पो पाराले हो भन्ने पनि नभएको हैन ।

कक्षामा पढिरहेका तुलशी रामले सबैभन्दा पहिला त आफ्नो गाउँलाई चिनाउँदा यसरी लेख्छन्, “मेरो गाउँ एउटा पहाडी गाउँ हो । यहाँका थुम्किला डाँडा, खुम्चिला खोल्सा, झुम्किला जंगल, तन्किला खोला यो सबै नै गाउँको शोभा बढाउने खालका छन् ।” कस्तो मौलिक पारा हेर्नुस् त थुम्किला-खुम्चिला-झुम्किला-तन्किला । प्रकृति देखेर नै उनमा निस्केका शब्दहरू होलान् यी ।

तुलशी रामको गाउँ बल्कोटै त होला भन्ने अनुमान गर्दै म अझै अघि बढेँ । उनको गाउँमा कोही सुखी त कोही दुखी रहेछन् । यी दुखीया र सुखीयाको बीचमा बसेर व्यापार गर्न मन लागेको कुरा उनले यो लेखमा पोखेका छन् । उनी लेख्छन्, “यहाँका मानिसहरूमा व्यापार अती लोकपृय हुँदै गइरहेको छ । व्यापार पनि किसिम किसिमका हुँदा रहेछन्; धन व्यापार, सामान व्यापार, अन्न व्यापार ।”

उबेला साहु महाजनले रिन दिएर सयकडा ५।१० रुप्पे मैनावारी ब्याज खाइ व्यापार गर्थे रे, त्यसलाई उनले धनको व्यापार भनेका छन् । कसैले पाल्पा, रिडी, बुटवलका बजारबाट सामान ल्याइ, सामानको व्यापार गर्ने रहेछन् । धेरै खेत खलियान हुनेहरूले अन्नका भकारी राखेर अन्नको पनि व्यापार गर्दा रहेछन् ।

तुलशी रामका जेठा बा व्यापारमा यति सिपालु थिए रे कि- “एमकम पढेकाले पनि” उनीसँग नारिएर काम गर्न सक्दैन रे ।

पढेर के नै हुने हो र, भन्ने भएपछि तुलशी रामले जेठा बाको व्यापार कला हेरेरै बस्दा रहेछन् । जेठा बाले चाहिँ गाउँका केटाकेटी केही किन्न आए पाँच पैसा बढी भए पनि महँगै लिँदा रहेछन् । गाउँका प्रधानपंच (अहिलेका वडाध्यक्ष सरह) आए भने तोकिएको मोलमा केही घटाएर दिँदा रहेछन् । ठूला-ठूला सरकारी काम गर्ने मान्छे आए भने ठीक्कको मोलमा दिने । यसरी उनले गाउँमा तीन तरिकाले व्यापार भएको देखे ।

यो पढेपछि म तिरिराइँ भएँ । नौ कक्षामा पढ्ने यी तुलशी रामले आफ्ना जेठा बालाई उडाएका हुन् कि साँच्चै प्रशंसा गरेका ? 

अझ उनी जेठा बाको बखान गर्न कहाँ रोकिएका छन् र ?  उनी लेख्छन्, “अझ गाउँले आइमाई आए भने त यती काउलो (लोकाचार) पार्न सक्नुहुन्छ कि त्यो काउलाले गर्दा उनीहरू अरू दोकानमा जान पनि बन्द हुने पो हुन् कि !” यस्तो डर हुन्थ्यो रे ।

अब त यिनले जेठा बाको धुलै उडाउन थाले जस्तो लाग्यो । 

एकपटक गाउँका रविलाल अचार्दले जेठा बाको विरोधमा मुद्दा हालेछन् । उनी भन्छन्- जेठा बाको विरोध गर्ने त्यस “चोर” को पनि “घर खेत” भयो । अर्थात् सबै सम्पत्ति खोसिएछ । त्यसपछि त जेठा बालाई छुने कस्का बाको के ताकत ? 

जेठा बाको प्रसङ्गपछि तुलशी रामले एक्कैछिन रमेशका बाको कुरा गर्छन् । होलान् कुनै पात्र, उनैले जानुन् । तुलशी रामका अनुसार रमेशका बाको खेतिले त गाउँ नै पालिएको रहेछ । गाउँलेहरू छाक टार्नलाई उनैकहाँ अन्न बेसाउन आउँदा रहेछन् । सायद ॠणले तन्नम भएकाहरू आउँथे होला ।

एक वर्ष पानी नपरेर हो कि के हो खेती ठ्याम्मै भएनछ । अनिकाल परेछ । अन्नको व्यापार गर्ने रमेशका बा पनि के कम ? आफूकहाँ भएको अन्नको खुबै दाम पारेछन् । मौकामा चौका हान्न किन गुमाउँथे ।

तर गाउँका केही मान्छेले उनले मौका छोपेकोमा विरोध गरेछन् । यो चाल पाएका तुलशी रामलाई खुब रिस उठ्छ । त्यसैले उनी लेख्छन्, “आजकल २।४ जना कालले कुत्कुत्याएर हो कि किन हो, यो गाउँमा “कालो बजारी बढ्यो” भन्छन् अरे । रविलालको ठीक हुँदा अनि चेत्ने होलान् नाहीँ ।” 

माथि नै भनियो नि- रविलालले आफ्ना जेठा बालाई मुद्दा पार्दा उनी आफै घरखेत भएर भागेका थिए । यी तीन थरीका व्यापारी भएर गाउँमा बस्न सजिलो हुनाले तुलशी रामलाई व्यापार गर्न मन रहेछ । विरोधी भएर गाउँबाट किन कुलेलम ठोक्ने ?

अझ तीन व्यापारमध्ये सयकडा ब्याजबाट कमाउने सजिलो काइदा देखेपछि तुलशी रामलाई धनकै व्यापार गर्न झन् मन भइरहेको थियो । त्यसैमा उनका बा पनि खेति किसानीमा “दुख हुन्छ” भन्दा रहेछन् । फेरि व्यापारमा पनि अन्नको दोकान राखेर अरूको आँखी किन हुने ? भकारी राख, मानापाथी भर, झन्झट । बरु धनको व्यापार गरे मैनामारी (महिनाको) ५ का दरले १०० रुप्पे कसैलाई दिए एक वर्षमा ६० रुप्पे सजिलै आउने देखेर साह्रै लोभिएका थिए । 

उनलाई लाग्छ- एक-दुई वर्षसम्म २।४ हजार खेलाउन पाए त, “धन नाथे त कता कता थन्काउने ?” फेरि लगेकाले समयमा बुझाउन नसके उसैकहाँ- खै पैसा, भन्दै पाहुना लागेर २।४ छाक सम्काउन पनि पाइने । “आयस्ता माथि आयस्ता” उनलाई साह्रै जँचेको थियो त्यो धनको व्यापार ।

यसरी आफूले धनको व्यापार गर्न लागेको भनेर तुलशी रामले यो कुरा गाउँका गोपाललाई सुनाएछन् । गोपालले त, यसो गरे “जेल जानुपर्ला” पो भन्दा रहेछन् । तर तुलशी रामलाई त्यो गोपाल, “बुद्धू” हो कि जस्तो लाग्यो । किनभने “तमसुक लेख्दा मैनामारी नलेख्ने त हो नि ।” अर्थात् कलम घुमाउने ।

कसरी मुद्दा हारिन्छ ? फेरि यसै गरी गाउँमा धन कमाउने मान्छेको भुँडी कस्ले कोतरेको छ र ? सबैले पल्टाएरै हिँडेका छन् त । र उनले गोपाललाई पनि विरोध गर्ने- रविलालको घरखेत भएर तन्नम भएको कथा सम्झाउँछन् र चुप लाग्न भन्छन् । विरोध गर्ने हैन, भनेर ।

पढिरहुँ झैँ लाग्दा-लाग्दै यो लेख सकिन्छ । कति राम्रो व्यङ्ग्य शैली ? कता हराए हुनन् बल्कोटका यी मक्सिम गोर्की ? गोर्की किन भनेको भने, उनको कथा मुनी भँगेरे टाउके अक्षरमा गोर्कीको उद्गार लेखिएको थियो- “हातलाई भन्दा पहिले दिमागलाई सशस्त्र गर्न आवश्यक छ ।  - म. गोर्की” म अर्थात् मक्सिम ।

पञ्चायत र कम्युनिष्टको “कोलाज”
त्यसपछि बतिलोमा केही कविता आउँछन् । केही कविताले यसो भन्छन् । १. लोभैले गर्दा नेपाली भाइ विदेशमा विलाए : धन र जन दिएर सबै शत्रुलाई पिलाए । २. तिमी प्रवासीलाई देखेर रुन्छिन आमा नेपाल । ३. यो देशलाई अगाडि बढाउ, देश छोडी विदेश नजाउ ।

यी कवितामा रस नभएका होइनन् । सुन्दा राम्रै पनि लाग्छन् । तर मर्म नबुझेका हुन् कि ? के उबेला गाउँघरका मानिस रहरले विदेश लागेका हुन् र ? लोभले हो र ? बाध्यताले खेदिएका होलान् नि ! अघि तुलशी रामको लेख हेरौँ न, रविलाल अचार्द कसरी घरखेत भएर भागे । के उनी गाउँमा बस्न सके र ? धनको व्यापार गर्नेको लागि त्यही गाउँ सुन्दर होला, ॠण लिनेको लागि नहुन पनि त सक्यो । देशप्रेम भन्दैमा यतै खुरी खेलेर बस्न त सकिएन नि ?  

त्यसैले यस बतिलोमा चाहिनेभन्दा बढ्ता राष्ट्रप्रेमले कतै पञ्चायतको झल्को दिएको त हैन, मलाई त्यस्तै लाग्यो ।

राविसे अन्तर्गत गाउँ-गाउँमा आएका मानिसहरू केन्द्रीय पञ्चायतको प्रतिनिधि जस्तै मानिन्थे रे । राविसेमा काम गर्दाका वर्षमा अर्घाखाँची र काठमाडौँ आउजाउ गर्दा चौलागाइँले केन्द्र पञ्चायतका प्रतिनिधि विश्वबन्धु थापाको शुभकामना बोकेर गएको कुरा गर्थे । त्यो देखेर अरू मास्टर र गाउँलेहरूले उनलाई पञ्चायत सरकारका प्रतिनिधि जस्तै ठान्थे रे ।

हुन पनि उनले बतिलो मार्फत पञ्चायतका महावाणी विज्ञापनका रूपमा ल्याएका रहेछन् । विज्ञापन पञ्चायतका भए पनि विषयवस्तु पल्टाउँदै जाँदा माथि भनिए झैँ अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताका भनाइहरू पनि ठाउँ-ठाउँमा मोटा-मोटा अक्षरमा लेखिएको भेटिन्छ । जस्तो मक्सिम गोर्की, माओत्सेतुङ्ग, एंगेल्सका भनाइहरू पत्रिकामा राखिएको छ । गान्धी खोजेँ कतै देखिनँ । यो देख्दा पत्रिका कतै, पञ्चायतले विज्ञापन गरेको कम्युनिष्टको त होइन, भन्ने पनि लाग्छ ।

युवराज पाण्डेले मलाई भनेका थिए, राविसे भएर आएका सम्पादक चौलागाइँ त्यति बेला कम्युनिष्ट पार्टीको पुष्पलाल समूहमा थिए रे । होइन रहेछ उनी कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन (चौम) का मान्छे रहेछन् । त्रिचन्द्र कलेजमा पढ्न आएदेखि नै कम्युनिष्टको तालिममा खारिएर राविसेमार्फत बल्कोट गएका रे । त्यसैले उनले पत्रिकामा बाम-मसला पनि राखेका छन् । स्कूलले त्यो थाहा पाएपछिको टन्टोबारे म एकैछिनपछि भनुँला । 

अब मलाई अर्को मन परेको खुराकको कुरा गरौँ । त्यो चाहिँ केरुङ्गाका युवराज पाण्डेको हो । उनले, “दिदीले सुम्पेको दायित्व” कथा बतिलोमा लेखेका छन् । केही बेर यसको कथावस्तु सहित चर्चा गरौँ ।

एउटा सुन्दर कथा
एक जना सुन्दर भन्ने केटा साँझपख कतै एउटा साथीको निम्ता मान्न उसको घर जाँदै रहेछ । गाउँको बाटो त हो, दिनभर हिँडेर खोला तरी लखतरान परेर रुखमुनी यसो बिसाएको बेला खोला किनारामा एउटी युवती देखिइछन् । साँझको बेला, एकान्त ठाउँमा त्यसमा पनि केटी एक्लै हिँडेको देखिनु त्यो बेलाको गाउँले समाजमा तर्क वितर्ककै कुरा थियो । सुन्दरलाई नहुने कुरै भएन । 

यो अवस्थामा भेटिएकी ती युवतीलाई सुन्दरले रोकेर सोध्छ, “हैन हजुरको घर कहाँ होला ?” उत्तर आउँछ- हामी आइमाईको “घर नै कहाँ हुन्छ र ?” यस्तो जवाफ सुन्दा खोलामा ध्वनी गुञ्जिए झैँ लाग्छ । उनी बडो अप्ठ्यारोमा परेकी होलिन् झैँ लाग्यो सुन्दरलाई । तैपनि मान्छेको त घर हुन्छ नै, तपाईं पनि मानिस नै त हो, घर त होला नि भनेर सोध्दा उनले, “मानिस त तपाईं लोग्नेमान्छे मात्र हुनुहुँदोरहेछ” भन्छिन् । 

ज्यादै गहिरो-गहिरो बात भएको नाटकीय शैलीको कथा झैँ लाग्यो ।

एकान्तमा एक्लै हिँडेको प्रसङ्गमा कुरा चलिरहँदा, लोग्नेमान्छे र स्वास्नीमान्छेको अन्तर देखाउँदै ती युवतीले भन्छिन्, “हेर्नोस्, तपाईंहरू र हामीमा कत्रो अन्तर छ । तपाईंहरू जे पनि गर्न सक्नुहुन्छ, जे गरे पनि शुद्ध रहनुहुन्छ, लायक रहनुहुन्छ । हामीहरूलाई रातदिन डोको बोकाएर, कुटपिस गराएर आफ्नो इच्छा अनुसार नचाएर तपाईंहरू मोज उडाउनुहुन्छ । तपाईंहरूको सोचाइमा बलेनीको घेरो नै हाम्रो लागि संसार हो ।” बलेनी अर्थात् घरको छानाको किनारबाट पानी तप्किएको ठाउँ । त्यहाँबाट बाहिर जाने अधिकार गाउँका महिलालाई थिएन रे ।

सुन्दरसँगको प्रश्नोत्तरमा उनले अझै थप्छिन्, “तपाईंहरू स्वतन्त्र हुनुहुन्छ … हामीजस्ता हज्जार वटा आइमाईहरू चुस्दै हिँड्न सक्नुहुन्छ… तर बलेनीको घेरो नाघ्नासाथ नै तपाईंहरूले हाम्रो पवित्रता मेटिएको ठान्नुहुन्छ ।”

कथामा यो “डाइलग” पढेपछि मैले लेखक युवराज पाण्डेलाई सोधेँ, “सर यो कथा लेख्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ?” उनले भने, “बीस वर्ष ।” बल्कोटकै हाई स्कूलबाट एसएलसी पास गरेका पाण्डेले पाटन क्याम्पसबाट आईएस्सी पास गरेर, छत्रगञ्जको सार्वजनिक निमाविमा पढाउँदै थिए । २०१४ सालमा जन्मेका पाण्डे सर, २०३४ सालमा जन्मेको बतिलो । जोशिलो जोवनमै लेखेका रैछन्, मैले मनमै कुरा गुथेँ । 

कथा अझै सकिएको छैन ।

यस्तो गहिरो-गहिरो कुरा गर्न सक्ने केटी पक्कै पढेलेखेको हुनुपर्छ भन्ने लागेर सुन्दरले फेरि सोध्छन्, “कति पढ्नुभएको छ ?” उनको नाम राधा रहेछ, राधा भन्छिन्, “आफ्नो परिचय दिन पनि पढेको हुनुपर्छ ? ... मैले अझै मानिसै पढेर सिध्याएकी छैन ।” 

ओहो ! फेरि म निकै तरल भएँ । पात्रको कस्तो विद्वता ? जीवन अनुभव नै पनि त एक पढाइ हो । राधाको वाणीले त्यही बोलिरहेको थियो ।

त्यसपछि सुन्दरले भन्छन्, “मैले तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु, तपाईं रिसाउनुहुन्छ कि ?” त्यसो भन्दा “किन रिसाउने” भन्दै उनी भन्छिन्, बरु “तपाईं पनि नरिसाउनुहोला । लोग्नेमान्छेको प्रकृति नै त्यस्तै । उनीहरू हामीहरूको अन्तर्वार्ता लिइरहन्छन् ।”

लोग्नेमानिसले “अन्तर्वार्ता” लिइरहन्छन्, स्वास्नी मानिसले दिइरहन्छन्, भन्ने वाणी मर्मस्पर्शी थियो । पढ्दै गर्दा “ब्रेक” लिएर यो कथाको नाटक हेरिरहेको र सबैभन्दा लामो ताली बजिरहेको कल्पना गरेँ ।

खोला किनारको त्यो बसाइमा सुन्दरले निकै कर गरेपछि राधाले आफू त्यहाँ आउनाको कथा बताउन थालिन् ।

उनी दश वर्षकी हुँदा २०।२५ वर्षको युवकसँग उनको विहे भएको रहेछ । स्वस्थानीका सतिदेवीको झैँ । त्यसपछि परदेश लागेका उनका पति सुरेश दुई वर्षपछि बितेछन् । खबर आउँदा १२ वर्षकी थिइन्, रुने कि नरुने अलमलमा पर्दा पर्दै अरू रोएको देखेर उनी पनि रोइछन् । पछि पतिवियोग भएको खबर बुझेपछि अझ धेरै रोइन् ।

सुन्दरलाई खोलाको किनारमा भेट्ने बेला उनी २० वर्षकी थिइन् । त्यस बीचका आठ वर्षमा के भए होला ? सुन्दरलाई उनको कथा सुन्ने खुल्दुली अझै लाग्छ ।

उनी भन्छिन्, “चाहे जतिसुकै मेहनत गरेर काम गरुँ- मैले कहिल्यै जस पाइनँ । सधै थप्पड, थूक, खकार, सिँगान, धम्की- यिनै मेरा मेहनतका फल हुन्थे ।”

यो पढ्दा मेरो शीर ठाडो भएन । निहुरीरह्यो । बेला-बेलाका राधाका वाणीले त्यस्तै भइरह्यो कथा पढुञ्जेल । त्यसपछि चार वर्ष बिहे घरमा बसेर राधाले त्यो घर छाड्छिन् । 

त्यसपछि माइतीमा बस्न थालिन् । माइतीमा पनि उनलाई पति पिराहा, अलच्छिनी भनिन्थ्यो रे । माइतीमा केही अनिष्ट भए, छुट्टिएर बसेका दाजुभाइको नजरमा समेत उनी नै त्यसको कारिणी हुन थालिन् ।

एक दिनको घटना हो १८ वर्षकी हुँदा अकस्मात चार-छ जनाले उनलाई छोपेर जबरजस्ती कतै लैजान्छन् । साँझ पखको बेला । मुखमा कपडा कोचिदिएर अन्तर्वार्ता लिन थाल्छन् । मन्टो हल्लाएर अन्तर्वार्ता दिनुपर्ने रे । वाणी गायब ! 

उनी भन्छिन्, “हाय यो बिसौँ शताब्दी । हाय यी सर्वशक्तिमान पुरुषहरू !!”

यसपछि कुनै घरको ४० वर्षे पुरुषले राधालाई भित्राउँछ । उनी मान्दिनन् । केही दिन फकाएर राख्ने कोसिस गर्छन् । नसकेपछि धामी झाँक्री ल्याउँछन् । त्यो पनि नभएपछि, लातोँ के भूत बातोँ से नहीँ मानते, भने झैँ लात लगाउन थालिन्छ । अनि उनी सुन्दरलाई भन्छिन्, “भैँसी बेच्न भन्दा पनि हामी आइमाईहरूलाई बेच्न यी पुरुषहरूलाई सजिलो हुँदो रहेछ ।”

त्यही लात खाइरहेको घरबाट फुत्किएर भागेको तीन दिनको साँझमा उनको भेट सुन्दरसँग खोला किनारमा हुन्छ । सुन्दर उनको कथा सुनेर ज्वाला हुन्छ । “हाम्रा दिदी बैनीहरू लुछेर मोटाउने लक्ष्य जुन किराहरूले लिइराखेका छन्” तिनलाई म बाँकी राख्दिन, भनेर क्रान्तिकारी हुँदाहुँदै उसले राधाले रगत बमन गरेको देख्छ । राधा त्यही खोलाको बगरमा सुन्दरको काखमा मर्छिन् । कथामा पर्दा खस्छ । “दिदीले सुम्पेको दायित्व” शीर्षकको कथा सकिन्छ ।

युवराज त्यति बेला बाम संगतमा परिसकेका थिए । जोशिलो उमेरमा कथा विछट्टै बनेछ । त्यसपछि उनबाट यस्ता कथा लेखिए लेखिएनन् थाहा भएन ।

बतिलोका विविधता
युवराज पाण्डेको उल्लिखित कथा पढेपछि बतिलोमा बेला-बेलामा केही पञ्चायत गानहरू आउन थाले- म सेवक हुँ यो देशको, आदि-आदि । बतिलोमा घरीघरी पञ्च-मसला पनि छरिएको देखिन्छ ।

मेरो लागि बतिलो गतिलो अगतिलो दुवै थियो । कति कविता समाजमा भए गरेका विषयलाई बोकेका थिए । कति थिएनन् । कति मन पर्ने खालका बाल कविता पनि थिए । जस्तो ताराप्रसाद न्यौपानेको सम्झना भइरहने पंक्ति यस्तो छ :

   कति स्यानो त्यो सानो कमिला- प्रकृतिले होलाकी रचेको

यसले पनि मेरो मनलाई खुब रङमगाएको थियो । त्यसपछि तुलसी कँडेलको परिवार नियोजनको सफलताबारे लेखेको- लामो न लामो लेखको र्‍याइँर्‍याइँ आयो । पढ्ने कोसिस गरेँ अघि बढ्नै  सकिनँ । काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर । यस्ता विज्ञापन लेख किन छाप्या होला भन्ने नलागेको पनि हैन । 

मलाई मन पर्नु नपर्नु बेग्लै भयो, बतिलो विविध थियो ।

निमानन्द रिजाल र नारायण भट्टराईको “आफ्नो सुर” एकाङ्कीमा मैनामारी सयकडा ६ रुप्पे लिने साहुको कथा छ । त्यस एकाङ्कीका एक जना पात्र भीरकुने साहु, अरूले मैनामारी सयकडा बीस लिइरहेकोमा आफूले ६ रुप्पे मात्र लिएको छु, भन्दै त्यो कथामा सन्तोक मानेर बसेका छन् । सयकडा ब्याज लिने साहुका कथा आइरहने हुनाले, उनीहरू त्यो बेला समाजका समस्या रहेछन् भन्ने पनि बुझिन्छ ।

नरेश भट्टराईको, “कहिले भन्ने ?” शीर्षकको कथाले पनि मलाई खुसी नदिएको हैन । खेतिपातीको पुर्ख्यौली कामबाट उम्केर अफिसको टेबलमा काम पाएका पतिले, सधैँ- अफिस-अफिस भनेर हिँड्दा, पत्नीले उनीसँग घरका समस्या सुनाउनै पाएकी थिइनन् । तिनै पत्नीको आत्मपीर हो, नरेशको कथा । 

बिहानै अफिसतिर हिँड्न लागेको लोग्नेलाई समस्या सुनाउन खोज्दा पत्नीसँग झर्किँदै, “एका बिहानै यस्ता कुरा“ नगर भन्छन् । विचरा पत्नीले दिनभर कसलाई भन्नु । कामसाम सकेर राती सुत्ने बेला पनि, “सुत्ने समयमा यस्ता झन्झटहरू नसुनाउ” भन्दा रहेछन् । त्यसो हुनाले लेखक नरेशले, “कहिले भन्ने ?” शीर्षक जुराएका छन् । खेतीपातीबाट मानिसहरू अफिसको कामतिर “सिफ्ट” भएपछि समाजमा यस प्रकारका समस्या उत्पन्न भएको यो कथामा देखिन्छ ।

रमाइलो के छ भने महिलाका दुख बतिलोमा पुरुषहरूले नै लेखेका छन् । आफ्ना दुख महिला आफैले लेखेका छैनन् ।

माथि परिवार नियोजनको झैँ, अब यहाँ अर्को दनदन शुरू हुन्छ, “साहित्यमा प्रगतिवाद केही चर्चा शीर्षकमा ।” त्यसलाई पनि मैले हेरिनँ । चौलागाइँ सरले काठमाडौँबाट ल्याएको त्यो खुराकले मलाई उति तानेन । उतैबाट ल्याएको पारिजातको छोटो अन्तर्वार्ता भने पढेँ । त्यो पनि त्यति रोचक र प्रासंगिक देखिएन ।

बल्कोटको भित्तेपत्रिकामा टाँसिएका सामग्री बटुलेर काठमाडौँ गइ छापेर पत्रिकालाई “रातो” बनाइ फर्किंदा बल्कोटमा नेपाली काँग्रेसलाई समर्थन गर्ने हेड मास्टर हिम्मत बहादुर टण्डन रिसले आगो भएका थिए रे । फलस्वरूप जिल्ला शिक्षामा चौलागाइँको हाजिरी नै पठाइएनछ । स्कूलमा रिपोर्ट राम्रो नभए राविसेमा पास नहुने हुँदा- लौ न लौ, भनेर धन्न हेड सरसँग कुरो मिलाएछन् । सम्पादक चौलागाइँले मलाई त्यति बेलाको सन्दर्भ सुनाएका थिए ।

स्कूले विवरण
बतिलोको अन्ततिर स्कूलका हेडमास्टर हिम्मत बहादुर टण्डनले लेखेको स्कूले विवरण पनि राखेका छन् । मैले त्यो पनि हेरेँ । किनभने त्यहाँ स्कूल स्थापनाको कथा हुनसक्थ्यो । तर उबेलाको सरकारले अंकको प्रगति विवरण मागेकोले बल्कोट वरिपरिका मानिसले गरेको दुखको कथा त्यहाँ लेखिएको थिएन । कतिले पैसा दिए, कतिले जमिन दिए, त्यो जमिनलाई गाउँलेले खारेर स्कूलको भवन पनि बनाए । मास्टर खोज्न, पढ्ने विद्यार्थी खोज्न गाउँ-गाउँ गएका कथाहरू बतिलोमा छुटेका छन् । एक ठाउँमा हिम्मत सर लेख्छन्, स्कूलको प्रगतिको “मूल कारण त स्थानीय जनसहयोग नै मान्नुपर्छ ।” स्कूल खोल्ने आफ्ना गाउँलेलाई धन्यवाद दिनुको  विवरण बतिलोमा छैन, स्कूल खोल्ने काम कसरी भए होला त्यो इतिहास बतिलोमा छैन । 

२०३१ सालतिर नयाँ शिक्षा योजना अर्घाखाँची जिल्लामा पनि लागु भएपछि स्कूलले प्रगति विवरण पञ्चायत सरकारलाई राविसेमार्फत देखाउनुपर्ने भएकाले हिम्मत सरले यहाँ प्रगति विवरण लेखेका हुन् रे ।

त्यति बेला बल्कोटको थुम्कोमा विद्यालयको लागि २०/२५ रोपनी जमिन छुट्याइएको रहेछ । त्यहाँ “यु” आकारको ११ कोठे भवन र २५० जना जति विद्यार्थी अट्ने कार्यशाला भवन पनि बनाइएको रहेछ । त्यो भवन कसरी बनाइए होला ? त्यसको मसिनो कथा त गर्भमै हरायो कि ? अरूले लेख्लान् । जे होस् स्कूलको “प्रगतिको मूल कारण स्थानीय नै हुन्” भनेबाट पनि कम्तिमा शुरूमा खटिएका मानिसलाई सम्झेको बुझिन्छ । 

अंककै कुरा गरौँ, उबेला विद्यार्थीहरूको विवरण यसप्रकार रहेछ : २०३१/३२ सालमा २११ जना; २०३२/३३ सालमा २७१ जना र २०३३/३४ सालमा ३५७ पुगेछन् । पछिल्लो वर्षमा सबै गरेर ४१ जना छात्राहरू स्कूल पढ्न आउँदा रहेछन् । स्कूल खोल्ने शुरू-शुरूमा त स्कूलका मास्टर र व्यवस्थापकहरू गाउँ-गाउँमा गएर विद्यार्थी खोजेर ल्याउँथे रे । 

त्यस स्कूलमा क्रमशः केरुङ्गा, बल्कोट र चिदिका जस्ता गाउँ पञ्चायत बाहेक अरू गाउँ पञ्चायतहरू : वाङ्ग्ला, छत्रगञ्ज, ठूलापोखरा, अर्घातोष, भगवती र पालीसम्मका विद्यार्थी दुई-तीन घण्टा हिँडेरै आउन थाले । 

स्कूलबाट फर्किँदा भोकले डाम्रिएका पेटलाई फकाउन हिउँदमा काफल, किम्मु खाँदै, बर्खामा काँक्रा चोर्दै गएका कथा, बाबुले स्कूलमा तिर्न दिएको १० रुप्पे फिसबाट जोगिएको डेड रुप्पेले “खाजा बिस्कुट” टोक्दै घर फर्केका कथा उबेलाका विद्यार्थीमा सम्झना बनेर बसेका छन् । मैले त्यति बेला पढेका एक जना विद्यार्थीलाई सोधेर थाहा पाएको थिएँ ।

स्कूलबाट फर्किँदा, हिउँदमा भए परालका भारी, बर्खामा भए खर र घाँसका भारी बोकेर डेढ-दुई घण्टा उकाली ओराली गर्दै पढेको, किताब नहुँदा सुनेका भरमा परीक्षा दिएको, नजान्दा चिट चोर्न शुरू गरेको कथा त्यस स्कूलका पूर्व विद्यार्थीबाट सुन्न सकिन्छ । ती सम्झनाहरू बतिलोमा छैनन् । मैले सुनेका यी कथा फेरि कतै कहुँला । 

यसरी दुखैदुखले गाउँ-गाउँबाट पढ्न आएका विद्यार्थीलाई पढाउन त्यो बेला यस हाई स्कूलको शिक्षकमा ६ जना ग्रेजुयट (बीए पास) मास्टर रहेछन् । ६ जनामध्ये २ जना विज्ञान पढाउने रहेछन् । एक जना पूर्व व्यावसायिक र एक जना पिटी तथा स्काउट तालिम लिएका शिक्षक रहेछन् । एक पियन र एक प्रशासकीय सहायक तथा एक जना अमेरिकन पिसकोर स्वयंसेवक रवर्ट बाव गरजफ र १ जना राविसे छात्र कमल प्रसाद चौलागाइँ भए । 

स्काउटका दलवीर सरले कहिले चार-पाँच घण्टा हिँडेर लाग्ने उत्तरको रेसुङ्गा लेकमा, कहिले उत्ति नै समय लाग्ने घेराको लेकमा घुमाउन लैजान्थे रे ।

पिसकोरका रवर्ट बाव गरजफले त आफू बस्ने डेरा नजिकैको जंगलमा एउटा पाइखाना समेत बनाएका रहेछन् । गाउँको बाटोका डिल-डिलमा फोहोरका थुप्रा देखेका उनले विद्यार्थीलाई पाइखानामा गएर सौचाआदी गर्न सिकाउने काम पनि गरेका रहेछन् । पाइखानामा गएर दिशापिसाब गर्नेलाई १० पैसा इनाम पनि दिन्थे रे । एक दिन मलाई त्यहाँ पढेका मेरा एक काका गोकर्णराज पन्थीले भनेका थिए । काकाले स्वयंसेवकको नाम अझै भूलेका रहेनछन् । 

पिसकोरका यस्ता स्वयंसेवक कसैले त लामो अध्ययन गर्थे आफूले अध्यापन गराएका क्षेत्रको । तर हाम्रा रवर्टले के गरे कुन्नी ?

२०१६ सालमा राजा महेन्द्र शाह पश्चिमाञ्चल भ्रमणको बेला गुल्मी अर्घाखाँचीमा स्थानीय स्रोतबाट खुलेचलेका स्कूललाई अनुमति दिएका थिए । यस सन्दर्भमा गुल्मी अर्घाखाँचीमा नाम चलेको ठाउँका स्कूलमा महेन्द्र नाम जोडिएको देखिन्छ । जस्तै गुल्मी सदरमुकाम तम्घासको स्कूलको नाम अहिले पनि श्री महेन्द्र उच्च माध्यमिक विद्यालय छ । “बल्कोटको हाई स्कूल” भनेर चिनिए पनि यसलाई २०२० सालमा - महेन्द्र विद्यावोध माध्यमिक विद्यालय (मविवोमावि) बनाइएको थियो ।

विद्यालयकै आफ्नै कथा पनि बतिलोमा भेटिएन ।  बरु हाई स्कूल भए पछिका तत्कालीन हेड मास्टरहरूको नाम क्रमशः लेखिएको रहेछ । चोलराज ज्ञवाली, केशरमणि पोखरेल, गीरी बहादुर केसी, होमनाथ भट्टराई, यज्ञमूर्ती अर्याल, भरतमणि ज्ञवाली, राजेन्द्र प्रसाद शर्मा, भवानी बहादुर थापा, केशव कँडेल, हिम्मत बहादुर टण्डन । पछि चोलराज त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका प्रमुख भए । केशरमणि कम्युनिष्ट राजनीति गरेर अन्तिम समयमा काँग्रेसको पनि सदस्य भए । होमनाथ भट्टराईले त्रिभुवन विश्वविद्यालयमा काम गरे । यी हेड मास्टरहरू कोही राजनीति गरेर टिके, कोही राजनीतिको कारणले फालिए । राजनीतिक दाउपेचका कथा पनि यहाँ भित्र कति लुकेका होलान् । यही दाउपेचमा परि मैले स्कूल छाडेको हुँ, भनेर होमनाथ भट्टराईले आफ्नो एक संस्मरणमा कतै लेखेका पनि छन् । 

त्यो बेला विद्यालय व्यवस्थापन समितिको मानिसहरूको पनि नामलिस्ट बतिलोमा पढ्न पाइन्छ । अध्यक्षमा दिव्यदेव ज्ञवाली, सदस्यहरूमा : जिल्ला पञ्चायत उपसभापति कृष्ण प्रसाद खनाल, बल्कोट गाउँ पञ्चायतका प्रधानपञ्च श्यामप्रसाद श्रेष्ठ, केरुङ्गाका नेत्रलाल ज्ञवाली, गुणनिधि आचार्य, शिक्षकका तर्फबाट रामचन्द्र मैनाली र हिम्मत बहादुर टण्डन सदस्य सचिव रहेको देखिन्छ ।

बतिलो निकाल्न त्यो बेला भैलो पनि खेलिएको रहेछ । कसरी कहाँ-कहाँ गएर खेलियो त्यो विवरण नभए पनि दाताहरूको नाम त्यहाँ छ । बल्कोटको छिमेकी चिदिका गाउँका हर्ताकर्ता मानबहादुर ज्ञवालीले सबैभन्दा धेरै २७२ रुपैयाँ दाम दिएका रहेछन् । र कम्तिमा २० रुपैयाँ दिएकाको नाम पत्रिकामा लेखिएको छ । खर्च के कति भयो भन्ने विवरण भने लेखिएको छैन ।

बतिलोमा त्यति बेला अर्घाखाँचीमा खटिएका राविसे छात्रहरू- १३ जनाको नाम छ । तर उत्तरको छिमेकी गाउँ छत्रगञ्जमा पढाइ रहेका राविसे मास्टरको नाम छैन । किन हो थाहा भएन, छत्रगञ्जमा उनीहरूको सहयोगमा टुकी नामको पत्रिका सोही समयमा निस्किएको चर्चा यसअघि भइसक्यो । तर तत्कालीन हेड मास्टर युवराज पाण्डेले काठमाडौँबाट पत्रिका निकालेर ल्याउँदा सम्पादकमा आफ्नो नाम नराखिदिएकोले राविसेका विद्यार्थी रिसाएका थिए रे । 

राविसेहरूले त्यति बेला गाउँ-गाउँमा रात्रि प्रौढ शिक्षा चलाउने, कतै पुस्तकालय, कतै फर्निचर बनाउने, कतै भैलो खेलेर पत्रिका प्रकाशन गर्ने, कतै चर्पी निर्माण गर्ने, कतै धारा मर्मत गर्ने, कतै स्कूलको गिरान (ग्राउन्ड) बनाउने, कतै बाटो बनाउने, कतै एकांकी नाटक गर्ने, कतै वृक्षारोपण गर्ने आदि काम गरेको कुरा पत्रिकामा उल्लेख छ । यी काममा राविसेले संयोजन गरे पनि त्यसलाई सफल बनाउने काम चाहिँ स्थानीय मानिसहरू र विद्यालयले गरेको देखिन्छ ।

अन्त्यमा,
बतिलोको यस उदाहरणले- २०३० सालको दशकमा स्कूल वातावरणभित्रको विभिन्न क्रियाकलापबारे वस्तुगत कल्पना गर्न, त्यो समयको दुर्गम समाजको सामाजिक अवस्थालाई पत्रिकामा उतार्न सघाएको छ । जस्तो, गाउँमा महिना पुगेपछि ब्याज खाने साहु महाजनको दबदबाको संकेत तुलशी रामको र अरूहरूको लेखले पनि देखाएका छन् । जुन त्यो बेलाको सामाजिक समस्याका रूपमा देखिन्छ । युवराज पाण्डे र अरूको कथाले पनि त्यो बेलाको समाजका पुरुषहरूको चरित्रलाई चोटिलो प्रहार गरेको छ । तत्कालीन समयमा महिलाको सामाजिक अवस्थाको चित्र उतारेको छ । तथापि, बतिलोमा महिलाका कथा पुरुषले नै लेखेका छन् । यद्यपि, यस पत्रिकाका लेखले सामाजिक विकृतिमाथि व्यङ्ग्य प्रहार गरेको चाहिँ देखिएको छ ।

स्कूलले एउटा पत्रिका निकाल्न थाल्दा गाउँलेहरूमा अपार उत्साह देखिन्छ । विद्यार्थी, शिक्षक, समाजका गन्यमान्य व्यक्ति पत्रिका निकाल्नको निम्ति गाउँ-गाउँमा देउसी भैलो खेलेर रुपैयाँ जम्मा गरेका छन् । तर तत्कालीन राजनीतिक प्रतिस्पर्धाले पत्रिकालाई छाडेको छैन । विभिन्न राजनीतिक चेतनाले भरिएको ठाउँ सन्दर्भमा पत्रिकाका सम्पादक तटस्थ हुन नसक्दा र पत्रिकालाई आफ्नै राजनीतिक विचारको आस्थातिर डोर्‍याउँदा यसको विमोचन उत्साहप्रद नदेखिएको हो । 

पत्रिकामा राजनीतिक र सामाजिक चेतनाका विषयवस्तु देखिए पनि शिक्षकहरूले बल्कोटमा पढ्ने विद्यार्थीलाई के-कसरी शैक्षिक खुराक दिए, स्कूलको आफ्नै इतिहास के थियो भन्ने शैक्षिक कथाहरू छुटेका छन् । यसबाट पञ्चायतकालको मध्यतिर गाउँघरमा खोलिएका स्कूलहरू राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा रहेको बुझिन्छ ।

बतिलो जस्तै साल २०३० को दशकमा नेपालका विभिन्न ठाउँमा गएका राविसेका विद्यार्थीले विभिन्न प्रकारले पत्रिका छापेका हुनसक्छन् । त्यसको अध्ययनबाट ठाउँ-ठाउँको शैक्षिक, राजनीतिक गतिविधि बुझ्न सकिन्छ । यी पत्रिका तत्कालीन स्कूल व्यवस्थापन र समाजलाई बुझ्न महत्त्वपूर्ण दस्तावेज हुने देखिन्छ । यसै सन्दर्भमा छिमेकी गाउँ छत्रगञ्जमा रहेको सार्वजनिक स्कूलको टुकीले के-कस्ता सन्दर्भ ल्याएको रहेछ भन्ने कुरा अर्को बसाइमा गरौँला ।

अहिलेलाई बतिलोको कुरा यति नै ।

यो लेखको छोटो रूप (पन्थी, अर्जुन । २०८० । बल्कोटको “बतिलो” । हीरक स्मारिका-२०८० । नारायण भट्टराई, युवराज पाण्डे र राजेन्द्र कुमार आचार्य, सं. पृ. १५१–१५६ । अर्घाखाँची : श्री महेन्द्र विद्यावोध माध्यमिक विद्यालय छत्रदेव-४, केरुङ्गा बल्कोट) मा प्रकाशित छ ।


About the Author

More Blogs