राज्यले शासकका रूपमा आफ्नो सांस्कृतिक राजनीतिको शक्ति बढाउन केबलकार परियोजनालाई अस्त्र बनाएको छ । निजी व्यापारिक कम्पनीले सामुदायिक भूमि तथा सम्पदा र प्राकृतिक स्रोतहरूको व्यक्तिकरण एवं दोहन गरी व्यावसायिक लाभ लिइरहनका लागि राज्य र दलहरूको उपयोग गरिरहेको छ ।
काठमाडौँ — पूर्वी नेपालको ताप्लेजुङमा ‘पाथीभरा’ भर्सेस ‘मुक्कुमलुङ’ र ‘केबलकार’ भर्सेस ‘नो केबलकार’ को द्वन्द्व चलिरहेको छ । यो द्वन्द्व उदार पुँजीवादी अवधारणा र प्रकृति–संस्कृतिको समन्यायिक रैथाने समुदायकेन्द्री ज्ञान पद्धतिअनुरूप ‘विकास’ अवधारणाबीचको टकराव हो ।
ताप्लेजुङ/पाथीभरा क्षेत्र विकास गर्ने उद्देश्यले ‘पाथीभरा देवी दर्शन केबलकार’ निर्माण गर्न एकपछि अर्को निजी व्यापारिक कम्पनी मरिहत्ते लागिपरेको छ । सरकारी संयन्त्रहरूले केबलकार बनाउने अनुमति दिएका छन् । केबलकार बनाउन असहमत पक्ष सशक्त प्रतिरोधमा उत्रिएकाले केबलकार परियोजनाका बाधा पन्छाउने र बाधकहरूलाई नियन्त्रण, रोकथाम र निगरानी गर्न सुरक्षा बलसमेत परिचालित छन् ।
राज्य–सरकार, प्रमुख भनिएका राजनीतिक दल, व्यापारिक कम्पनीका विरुद्ध उभिँदै आइरहेका छन्— आदिवासीहरू । द्वन्द्व हुनुको अनेक कारण छन् । जसमध्ये एक, भौतिक संरचनायुक्त सुविधाकेन्द्री कट्टर विकासे मानसिकता र मुन्धुमी ज्ञान परम्परामा आधारित प्राकृतिक स्रोत संरक्षण एवं जनजीविका व्यवस्थापनसहितको विकासको जब्बर अडानबीचको बेमेलपन हो ।
दुई, आदिवासीय सहअस्तित्व, सहपहिचानसहितको पर्यावरणमैत्री विकास कि आदिवासीय अस्तित्व, पहिचान, थातथलो, पर्यावरणीय शक्ति र प्राकृतिक एवं सांस्कृतिक सम्पदाको पुनर्उत्पादनको शक्ति मासेर हासिल गर्ने विकास ? भन्ने अवधारणागत मतभेद । तीन, एकल शासकीय सांस्कृतिक प्रभुत्व एवं अतिक्रमण र बहुसांस्कृतिक एवं बहुसहअस्तित्वको अवधारणाबीच ध्रुवीकरण ।
नेपालमा मात्रै होइन विश्वका आदिवासीहरू नै राज्य र निजी व्यापारिक कम्पनीको प्रकृति–संस्कृति विनाश गर्ने अन्यायी विकासविरुद्ध होमिँदै आएका छन् । जारी मुक्कुमलुङ संरक्षण र ‘नो केबलकार’ त्यस्तै एउटा सशक्त आन्दोलन हो । जसको अग्रपंक्तिमा याक्थुङ (लिम्बू) हरू उभिएका छन् । यो आन्दोलनले मुक्कुमलुङको पहिचानलाई पुनःस्थापित गर्ने र बलपूर्वक केबलकार बनाउने कार्यलाई पटकपटक स्थगन गराउने ल्याकत देखाइसकेको छ ।
आदिवासी र राज्य तथा पुँजी बजारबीचको द्वन्द्वमा आदिवासीमाथि गरिने सांस्कृतिक अतिक्रमणको आयाम निकै महत्त्वपूर्ण छ । मुन्धुमी दर्शनअनुसार अलौकिक शक्तिको नाममा मानव निर्मित कुनै पनि खालको संरचना खडा गरिँदैन । प्राकृतिक रूपमाथि कृत्रिम सजावट थोपरिँदैन । पछिल्लो समय अपनाउन थालिएको भौतिकीकरण र कृत्रिम साजसज्जा गैरआदिवासी संस्कृति एवं हिन्दुकरणअनुरूपको नक्कल हो । याक्थुङहरूकै शब्दमा मुक्कुमलुङलाई ‘पवित्र शक्तिदायक मुन्धुमी पहाड एवं चट्टानहरूको अद्वितीय शृंखला’ को रूपमा पुज्दै ल्याइएको हो । सिंगो मुक्कुमलुङ पर्वतलाई युमा साम्माङको प्रतीक मानी सांस्कृतिक एवं धार्मिक सम्पदाको रूपमा संरक्षण गरिँदै ल्याइएको हो ।
३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको मुक्कुमलुङलाई माथिबाट हेर्दा भरिएको पाथीझैं देखिन्छ । अधिकांशले भन्ने गरेका छन्— त्यही दृश्यअनुरूप पाथीभरा नाम जुराइयो । त्यसलाई हिन्दुकृत दृष्टिकोणद्वारा विस्तारित गरियो । राज्यले ‘पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश २०५३’ जारी गर्दै मुक्कुमलुङको मौलिकता र पहिचानलाई कानुनी रूपमै लत्याइदियो । मुक्कुमलुङलाई मात्रै होइन त्यस आसपासको याक्थुङहरूको किपट र पुर्ख्यौली बसोबास रहिआएको भूमिसमेतलाई पाथीभरा क्षेत्रमा अंकित गरी कानुनतः राज्यको स्वामित्वमा लग्यो ।
२०५८ सालमा मुक्कुमलुङको शिरमा पाथीभरा माताको रूपमा दुर्गा देवीको मूर्ति राखी हिन्दु विधि विधानअनुरूप पूजा अर्चना गर्न थालियो । पाथीभरा देवीको किंवदन्ती रची राजनीतिक–सामाजिक रूपमा वैधता हासिल गरियो । सोही स्थानमा रहेको शिलालुङलाई युमा साम्माङको प्राकृतिक प्रतिरूप मानी पुजिँदै ल्याइएको छ । शिलालुङको आडैमा दुर्गा माताको मूर्ति स्थापित गरियो । माताको मूर्ति पुज्ने क्रम व्यापक बन्दै गयो । शिलालुङलाई जमिनमुनि सुरक्षित छोपेर राखिएको छ भनियो । युमा साम्माङको प्रतिरूप जमिनमुनि सुरक्षित रहिरहेको विश्वास आन्दोलनको क्रममा टुट्न पुगेको छ ।
गत वैशाख ३१ गते केबलकार टाँग्ने बाटो बनाउन स्थानीय समुदाय र आन्दोलनरत पक्षलाई पत्तै नदिईकन सुरक्षा बलको संरक्षणमा जंगल फँडानी गरियो । त्यसको प्रतिवादमा वृक्षरोपण गर्ने तयारीमा लागे आन्दोलनरत पक्षहरू । वृक्षरोपण गर्नु पहिले मुन्धुमी विधिअनुरूप यक्वा पूजा गरियो । बाली लाउनुअघि माटोको उर्वर शक्ति कायम रहोस् र नयाँ बाली सप्रियोस् भनेर यक्वा पूजा गरिन्छ ।
यक्वा पूजाकै सिलसिलामा तेगी फाङसाङ, सेवासाबा र वृक्षरोपणका निमित्त त्यहाँ उपस्थित जनहरूले युमा साम्माङको दर्शन गर्न खोजे । शिलालुङको दर्शन त्यहाँ पुग्ने जोकोहीले गर्न सकिँदैन । यक्वा पूजाका दिन पनि पाथीभरा माताको मन्दिरका पुजारीसँग विशेष अनुरोधपश्चात् दर्शन गर्ने अनुमति मिलेको थियो । तर उनीहरूले शिलालुङको सट्टामा दुर्गा देवीको मानवनिर्मित छवि अंकित ढुंगाको दर्शन पाए । जुन उहिल्यैदेखि पुजिँदै ल्याइएको युमा सम्माङको प्रतिरूप प्राकृतिक शिलालुङ थिएन । प्रश्न उठ्छ—जमिनमुनि सुरक्षित रूपमा छोपेर राखिएको भनिएको युमा साम्माङको प्रतिरूप दर्शन गर्न खोज्दा दुर्गा देवीको छवियुक्त ढुंगा कसरी फेला पर्यो ? शिलालुङ आखिर कहिले, कसरी र किन गायब भयो ? अथवा कसरी मानवनिर्मित देवीको छवियुक्त ढुंगामा परिणत भयो ?
शिलालुङ गायब पारिनु राज्य पोषित सांस्कृतिक प्रभुत्वको उत्तम नमुना हो । शिलालुङको दर्शन नपाएपछि, तेगी फाङसाङ र सेवासाबाहरूको अगुवाइमा पुनःस्थापित गरियो, पुजियो । युमा साम्माङलाई पुनःस्थापना गर्दै मुक्कुमलुङ बचाउ आन्दोलनले सांस्कृतिक स्वत्वको खोजी मात्रै गरेन आदिवासीय संस्कृतिको पुनःदाबीसमेत गर्यो । त्यसको प्रतिउत्तरमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकद्वयले सरकारी हवाला दिँदै ‘जे जति राज्यको रेकर्डमा छ, त्यसबाहेक कुनै पनि कुरा थप्न पाइने छैन’ भने । आन्दोलनरत पक्षले प्रतिप्रश्न गरिरहेका छन्— सरकारी रेकर्ड आदिवासी अनुकूलित छँदै छैन, के दर्शनार्थीहरूले आस्थापूर्वक चढाएका चढावासहितको व्यवस्थित रेकर्ड राज्यद्वारा राख्ने गरिएको छ ?
एकल शासकीय सांस्कृतिक राजनीतिले मुक्कुमलुङको अस्तित्व र युमा साम्माङको चमात्कारिक शक्तिको गाथा याक्थुङहरूमाझ खुम्च्याइयो । पाथीभराको पहिचान सबैमाझ पुर्याइयो । पाथीभरा माताको दैवी शक्तिको गुणगान र पूजनीय हैसियत हिन्दु राज्यको सांस्कृतिक पुँजीमा रूपान्तरण गरियो । तब, युमा साम्माङलगायतका गैरहिन्दु दैविक शक्ति हिन्दुमा परिणत हुनुलाई चमत्कारको नाम दिइएमा आश्चर्य मान्नु पर्दैन ।
मुक्कुमलुङ क्षेत्र र युमा साम्माङको हिन्दुकृत नेपालीकरणद्वारा ताप्लेजुङका याक्थुङलगायतका गैरहिन्दु रैथानेहरूमाथि राज्यले सांस्कृतिक अतिक्रमण गर्दै आएको छ । उनीहरूको ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक एवं सामूहिक सम्पदा, भिन्न आस्था एवं मूल्य मान्यता र जीवनदर्शनलाई एकल शासकीय सांस्कृतिक पुँजी निर्माणका लागि बलि चढाइएको छ । र, एकल सांस्कृतिक प्रभुत्व आर्जन गरिएको छ । त्यही सांस्कृतिक प्रभुत्वकै आडमा शासकीय शक्ति आर्जन गर्ने र व्यक्तिकेन्द्रित आर्थिक पुँजी पुनःउत्पादनको लक्ष्यअनुरूप निर्मित परियोजना हो— पाथीभरा देवी दर्शन केबलकार ।
यसका निर्माणकर्ता र त्यसका पक्षधरहरू विद्यमान ऐन कानुन, आदिवासीका अन्तर्राष्ट्रिय कानुनी औजारहरू, विकास निर्माण कार्यका लागि पूरा गर्नुपर्ने पूर्वसर्त र मापदण्डलाई बेवास्ता गर्दै ताप्लेजुङको विकास गर्ने अन्यायी अडानमा अडिग छन् । राज्यले स्थापित गरेको एकल शासकीय शक्ति र सांस्कृतिक प्रभुत्वले एकातिर शक्तिशाली खेमालाई ‘विकास गरिछाड्ने’ अडान लिने सुविधा प्रदान गरिरहेको छ । अर्कोतिर अस्तित्व, पहिचान र थातथलोको सट्टामा ‘घातक विकास’ नबेहोर्ने निहत्था जमात र समुदायलाई त्यसको विरोधमा उत्रिन बाध्य पारिरहेको छ । मुक्कुमलुङको मुन्धुमी पहिचान पुनःस्थापित नगरिएको खण्डमा त्यो याक्थुङ लगायतका रैथाने समुदायको सांस्कृतिक हत्या ठहरिनेछ । तसर्थ ‘नो केबलकार’ आन्दोलन सांस्कृतिक हत्या रोक्ने संघर्ष पनि हो ।
राज्यले शासकका रूपमा आफ्नो सांस्कृतिक राजनीतिको शक्ति बढाउन केबलकार परियोजनालाई अस्त्र बनाएको छ । निजी व्यापारिक कम्पनीले सामुदायिक भूमि तथा सम्पदा र प्राकृतिक स्रोतहरूको व्यक्तिकरण एवं दोहन गरी व्यावसायिक लाभ लिइरहनका लागि राज्य र दलहरूको उपयोग गरिरहेको छ । मुक्कुमलुङ बचाउ र केबलकार खारेजी आन्दोलनले पहिचान आन्दोलनको आयाम विस्तार गरिरहेको छ । बलशाली बनाउने सांस्कृतिक प्रभुत्वको सट्टा सहअस्तित्वतिरको यात्रा तय गरिरहेको छ । सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको पुनःउत्पादन गर्न सक्ने क्षमताको जगेर्ना गरिरहेको छ । सम्पदाको पहुँचबाट समुदायलाई अलग्गिन नदिई मुन्धुमी मौलिक सम्बन्धहरू पुनःनिर्माण गर्दै गइरहेको छ ।
आदिवासीय रैथाने ज्ञान पद्धतिमा आधारित संस्कृति–प्रकृतिको समन्यायिक विकास र उदार पुँजीवादी बजारकेन्द्रित अन्यायी विकासको अवधारणा र अभ्यासबीचको द्वन्द्व हो— मुक्कुमलुङ आन्दोलन । उदार पुँजीवादी लोकतान्त्रिक भनिएको राज्य र जनताको मुकुन्डोले छोपिएको राजनीतिक दलहरूले निजी कम्पनीलाई गरिरहेको पक्षपोषणविरुद्धको आवाज हो— ‘नो केबलकार’ आन्दोलन । मुन्धुमी वैचारिक–सांस्कृतिक चेत र समर्पणभाव बेवास्ता गर्दै फगत उदार पुँजीवादी बजारकेन्द्रित पुँजी निर्माणमा मात्रै जोड दिने हो भने द्वन्द्व कहिल्यै सकिँदैन ।
प्रकाशित : श्रावण ८, २०८१
स्रोत : https://ekantipur.com/opinion/2024/07/23/clash-of-development-and-culture-32-34.html