मंसिर ३, २०७९कान्तिपुर संवाददाता
काठमाडौँ — लेखक उज्ज्वल प्रसाईको किताब ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ प्रकाशित छ । प्रसाईलाई दीपक सापकोटाका प्रश्न :
तपाईंले भन्नुभएको थियो, ‘कसको जीवनी लेखिनुपर्ने हो, त्यो कसले तय गर्छ ? त्यो निकाय कुन हो ?’ यसको जवाफ सरल छैन र ? शक्तिशाली मान्छेको जीवनी लेखिन्छ । होइन र ?
जवाफ सरल थियो, अब रहेन । शक्ति संरचनामा उँचो स्थानमा बसेकाले आफू वा आफ्ना वरपरका कथा प्रसार गर्थे । बादशाह र उसका सेना, राजा र उसका विद्वान्, बौद्धिक ‘क्यानन’ निर्माण गर्ने दार्शनिक र संग्रामहरूको नेतृत्व गर्ने नेता, कथा यिनैका लेखिन्थे । समय बदलिएको छ, सत्ता चुनौतीविहीन छैन । आम मान्छेले आफ्ना कथा आफैं भन्ने, आफूजस्तै अन्यका कथा लेख्ने सामर्थ्य बनाएका छन् । महाश्वेतादेवीले रिक्साचालकलाई आफ्ना सुख–दुःख आफैं लेख्न हौस्याइन्, रिक्साचालक मजदुरी गर्दागर्दै लेखक बने । जात र भाषा, लिङ्ग र क्षेत्र, वर्ग र समुदायका आधारमा वञ्चितिमा परेकाको कथा लेखिन र छापिन थालेका छन् । त्यसैले हिजोको सरल जवाफ आज जटिल बनेको छ ।
भनिन्छ, विश्वको इतिहास केही पनि होइन, केवल महान् मान्छेहरूको जीवनी हो । यस भनाइमा व्यङ्ग्य निहित छ कि यसले जीवनीको महत्ता स्थापित गर्छ ?
महानता स्वयं बौद्धिक परीक्षणमा छ । हिजो महामानव बनाइएकालाई साधारण मान्छेका रूपमा तिनका व्यक्तित्वमाथि छ्यानविचार गरिएका छन्, पहिले जन्तु भनेर कज्याइएका प्राणीको यस धर्तीमा अधिकार छ भन्ने सोच अघि सारिएको छ । विश्वको इतिहासमा हिजो आम मान्छे बोल्दैनथे । आन्दोलन र क्रान्तिका आँधीबेहरी सृजना भएका बखत ती हजारौं मान्छे जनता र सेना, क्रान्तिकारी र उन्मादी भीडका रूपमा चित्रित हुन्थे । ई.पी. थम्पसनजस्ता विद्वान्ले गरिखाने वर्गका मान्छेका सोच र चिन्तन, तिनका कविता र गीत, तिनका वाणी र तिनैका आस्था, यी सबैलाई आफ्ना किताबमा मुखर तुल्याए ।
आम श्रमिकलाई केवल तथ्याङ्क होइन, ती सबैका आआफ्ना व्यक्तित्व र तिनका कथा छन् भनेर ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’ जस्तो किताब लेखे । त्यस किताबमा थम्पसनले भने, ‘श्रमिक वर्ग जति अरूद्वारा निर्मित हो, श्रमिक स्वयं सोही वर्गको निर्माता पनि हो ।’ त्यसपछि इतिहास पहिलेजस्तो नेपोलियन र निकोलस दोस्रो, पृथ्वीनारायण र चंगेज खाँको मात्रै रहेन । बुझ्दै जान थालियो, सत्ताभन्दा पर बसेका सिर्जनात्मक मान्छे जीवनी लेखिनलायक हुन्छन् ।
आत्मकथा प्रशस्त छापिए । नेपाली बजारमा भएका केही जीवनी पनि अरूलाई लेख्न लगाइएका आत्मकथा नै हुन् । जीवनी र आत्मकथाबीचको भेद नै मेटिएजस्तो लाग्छ । यी विधाबीच फरक हुँदैनन् ?
आफैंले आफ्नो जीवनबारे बोल्ने र त्यसरी भनिएको कथा अरू कसैले टंकण र सम्पादन गरेर छाप्दा, त्यो किताब कथा भन्ने व्यक्तिको आत्मकथा हुन्छ । अर्थात, किताबको लेखक सोही कथावाचक हो । टंकण गर्ने र सम्पादन गर्ने महत्त्वपूर्ण सहयोगी हुन् । मैले अहिले लेखेको किताब ‘एक बागी’ यसरी तयार गरिएको आत्मकथाको किताब होइन । विषयबारे अध्ययन र लेखन नै मेरो हो । यो किताबमा वर्णित खगेन्द्र संग्रौला मुख्य विषय र पात्र हुन्, लेखक म हुँ ।
त्यसैले यस किताबलाई जीवनी भनियो, आत्मकथा भनिएन । एक जिउँदा पात्रको जीवनका भोगाइ, उनले गरेका केही निजी र धेरैजसो सार्वजनिक गतिविधि, सर्जकका रूपमा उनले सिर्जेका साहित्य र बौद्धिकका रूपमा उनका लेखनलाई मुख्य मौलो बनाएर नेपाली इतिहासको सानो अंश लेख्ने सामान्य कोसिस गर्दा यो जीवनी बन्यो । यही किताब हेर्दा पनि आत्मकथा र जीवनी भनिने दुई विधाबीचको भेद स्पष्ट छ भन्ने बुझिन्न र ?
‘श्री फलानो यति सालमा जन्मिए, यति पढे, यति देश घुमे, यति उमेरमा बिहे गरे, देशका नाममा यति योगदान गरे, यति पुरस्कार पाए र यति सालमा मरे’— नेपाली भाषामा लेखिएका अधिकांश जीवनीको जम्माजम्मी जमिन यत्ति हो । जीवनी भन्नु जम्माजम्मी यत्ति होइन र ? ‘एक बागी’ यसभन्दा बेग्लै के हो ? आफ्नै निर्मम समीक्षा गर्नुस् त ।
समीक्षा गर्ने पाठकहरू छँदै छन् । मुख्य उद्यम नै समीक्षा र समालोचना बनाएका प्रबुद्ध पाठकहरूले निर्ममतापूर्वक समीक्षा लेख्दै होलान् । अहिलेलाई यति भनौं– खगेन्द्र संग्रौलाजस्ता लेखक भए, ती त्यस्ता किन र कसरी भए भनेर खोज्ने प्रयत्न हो यो । नेपाली समाजमा भएका कस्ता परिवर्तन र त्यसबीच आम मान्छेमा परेका कस्ता प्रभावका कारण उनका विभिन्न लेखन सम्भव भए भनेर थाहा पाउने कोसिस हो ‘एक बागी’ ।
उदाहरणका लागि, ‘आमा र यमदूतहरू’ किताब लेख्ने लेखक किन र कसरी बने संग्रौला ? त्यो किताब लेखिएपछि नेपाली आमवृत्तमा कस्ता तरंग उत्पन्न भए ? ‘एक बागी’ मा वर्णित यो कथाले पाठकलाई व्यक्तिको सेखपछि गरिने काजक्रिया कति निजी र कति सार्वजनिक विषय हो भन्नेबारे सोच्न सघाउला । त्यसैगरी ‘नालापानीदेखि समरबहादुरसम्म’ र ‘नकटो दोर्जेको शालिक’ जस्ता चर्का राष्ट्रवादी कथा लेखेर ख्याति कमाएको एउटा लेखक ‘म राष्ट्रवादी रहिनँ’ भन्ने उद्घोष गर्ने ठाउँसम्म कसरी आइपुग्छ भनेर बुझ्न खोज्दा यो किताब बनेको हो । प्राज्ञिक अन्वेषण गर्ने कसैले किताबको यस्ता प्रसंगका आधारमा नयाँ खोजी गरेर अन्वेषणात्मक आलेख नै तयार गर्न सक्लान् ।
त्यसैले ‘एक बागी’ खगेन्द्र संग्रौलाले पाएका पुरस्कार वा देखाएका कथित महानताको प्रशस्ति होइन, बरु उनले गरेका सिर्जनात्मक एवं बौद्धिक प्रयत्न र त्यस क्रममा देखिएका अन्तरविरोधको खोजी हो । केन्द्रमा एक जना पात्र भए पनि जीवनीमा उसको समय, समाज, देश र दुनियाँ बोल्छन् । मेरो प्रयास समयको चित्र खिच्नमा केन्द्रित थियो । कति सफल भयो, पाठकले भन्नेछन् ।
‘एक बागी’ ले राम्रै प्रारम्भिक समीक्षा पाइरहेको छ । मेहनत गरेर लेख्नुभएको छ भन्ने टिप्पणीहरू सुनिन्छन् । समय पनि मनग्गे लिनुभयो, पाँच–छ वर्ष । यत्रो लामो समय किन लाग्यो ?
म साह्रै व्यवस्थित र भयंकर जाँगरिलो लेखक नभएकाले समय धेरै लागेको होला । खगेन्द्र संग्रौलाका किताब र समग्र लिखत भेला पार्न नै मलाई हम्मे भयो । यस्ता खोजबिन गर्नमा बानी परेका अन्वेषकलाई सहज हुँदो हो, मलाई भएन । उनका लेखनबाहेक अन्य कस्ता र कति सामग्री जुटाउने, अन्तर्वार्ताहरू कति र कसरी गर्ने, सुनेका र पढेका विषय कति र कसरी समेट्ने, फेला परेका ससाना विन्दुलाई उनेर सग्लो कथा कसरी भन्ने, यी सबै तय गर्न मेरा लागि सहज थिएन । २००३ सालदेखि २०७६ सम्मको समय खिच्न पनि कठिन भयो । अनि, यही किताबकै मात्र काम गरेर बसेको भए, ३/४ वर्षमै प्रकाशित भइसक्थ्यो होला । जिन्दगीका उल्झन, क्षमताको अल्पता र समयको व्यवस्थापन गर्ने सीपको न्यूनताका कारण आवश्यकभन्दा धेरै समय लागेको होला ।
जीवनीको नायकसँग जीवनीकारको निकटताले कस्तो अर्थ राख्दो रहेछ ? पात्रलाई ॅऊ जस्तो छ, उस्तै रूपमा’ प्रस्तुत गर्न गाह्रो नहोला ? सत्यका सवालमा सम्झौता नगरिएला र ? लेखक संग्रौलासँगको आफ्नो निकटतालाई सन्दर्भित गर्दै जवाफ दिनुहोला ।
खगेन्द्र संग्रौलालाई एक अग्रजका रूपमा म सम्मान गर्छु, लेखकका रूपमा उनीबाट प्रभावित छु, पछिल्ला केही वर्षदेखि म उनको साथी भएको छु । हाम्रो यस सम्बन्धका कारण नै मलाई उनको जीवनी लेख्न दकस लागेको थियो । जे लेखिन्छ, त्यो प्रभाव र स्नेह, आदर र दोस्ती मात्रको दसी हुन पुग्ला भनेरै म सकसमा थिएँ । तर, गहिरिएर सोच्दा लाग्यो, यो निकटता आफैंमा एउटा सामर्थ्य पनि बन्न सक्ला । निकटताबारे सचेत हुँदै काम गरें । र, हामीबीचको सम्बन्धमा पर्दा हालेर शतप्रतिशत शुद्धताको जिरह गरेको छैन । संग्रौलाका लेखनी र सार्वजनिक गतिविधिमा मैले देखेका अन्तरविरोध र बेमेलहरू सतहमा ल्याउने प्रयत्न गरें । उनका आलोचकले उनका लेखन र व्यक्तित्वबारे गरेका दाबी र तिनका कारण खोज्ने कोसिस भएको छ । त्यसैले यो जे बन्यो, मेरो निकटता र त्यो निकटताका प्रभावप्रतिको मेरो सचेतताबीच बन्यो ।
तपाईं आफू जीवनी विधा कत्तिको पढ्नुहुन्छ ? कस्ता जीवनी पढ्नुभएको छ ?
मैले धेरैजसो बौद्धिक र लेखकहरूका जीवनी पढेको छु । कुनै लेखकबारे थप जान्न उत्सुक भएपछि तिनका राम्रा जीवनी छन् भने खोजेर हेर्छु । समाज विज्ञानसम्बन्धी अनुसन्धानका लागि पनि जीवनी उपयोगी औजार मानिन्छ ।
पछिल्लो समय पढेका दुई जीवनी मन परे : अक्षय मुकुलले लेखेको भारतीय हिन्दी साहित्यका प्रसिद्ध लेखक अज्ञेयको जीवनी र विनित गीलले लेखेको अर्का सर्जक निर्मल वर्माको बौद्धिक जीवनी । मुकुलको किताबमा अज्ञेयका निजी जीवनका रोचक घुम्तीसहित हिन्दी साहित्य संसारका उतारचढाव खिचिएका छन् । गीलले भने वर्माका लेखनीलाई मुख्य आधार बनाएर बौद्धिक अन्वेषण गरेका छन् । यी दुवै कृति मैले आफ्नो किताब लेखिसकेपछि बजारमा आएका हुन् ।
गत वर्ष टिमोथी ब्रेननको ‘प्लेसेस अफ माइन्ड : अ लाइफ अफ एड्वार्ड सइद’ पढेको थिएँ । किताबमा सइदको निजी जीवनका केही रोचक झलकहरू भए पनि मूलतः उनको बौद्धिक जीवनीमा केन्द्रित किताबले सइदका कृति पढेका पाठकलाई उनीबारे थप स्पष्ट हुन सघाउँछ । प्याट्रिक फ्रेन्चले भीएस नयपालबारे लेखेको ‘द वर्ल्ड इज ह्वाट इट इज’ पनि मन परेको काम हो । प्रख्यात बौद्धिक सुसन सोन्ट्यागको जीवन र लेखनीमा अन्वेषण गर्दा बेन्जमिन मोसरले ६ सयभन्दा बढी मान्छेसँग अन्तर्वार्ता गरेको थाहा पाउँदा आत्तिएको थिएँ, त्यो किताब भने पूरा पढ्न सकेको छैन ।
प्रकाशित : मंसिर ३, २०७९
स्रोत : https://ekantipur.com/koseli/2022/11/19/16688293431813655.html