शकबहादुर बुढाथोकी
सार्वजनिक शिक्षा क्षेत्रमा सुधारका लागि विद्यालय सुशासन पहिलो महत्वपूर्ण पक्ष हो । सरोकारवालाको बिचमा निरन्तर रुपमा समन्वय एवं सहकार्य गर्न सकेको खण्डमा सो उद्देश्य हासिल गर्न सकिन्छ । उनीहरुको बिचमा खुल्ला संवाद अत्यन्तै आवश्यक हुन्छ । विद्यालयमा सामान्य रुपमा लिइएका कृयाकलाप पनि सल्लाह एवं छलफलबाट समाधान गर्न सकेमा क्रमिक रुपमा सुधारको बाटोमा अगाडि बढ्न सकिन्छ । साथै, सामुहिक प्रतिबद्धता पनि कायम गर्नुपर्ने हुन्छ । STEM II परियोजनाले कैलाली जिल्लाका तीसवटा सामुदायिक विद्यालयको सुशासनमा सुधार गर्न सरोकारवालासँग समन्वय एवं सहकार्य गरेको छ । उक्त परियोजनाको सिकाइ अन्तर्गत सरोकारवालाको जागरुकता एवं आपसी समझदारीको माध्ययमबाट विद्यालयको समग्र पक्षमा सुधार गर्न सकिन्छ भन्ने रहेको छ ।
परियोजनाले सरोकारवालाको सकृयताएवं सहभागिता बढाउन काम गरेको थियो । विद्यालय व्यवस्थापन समिति (विव्यस), शिक्षक अभिभावक संघ (शिअसं), शिक्षक, विद्यार्थी एवं सामुदाका नेतृत्वकर्ताको विद्यालय सुधारमा महत्वपूर्ण भूमिका हुने भएकोले परियोजनाले उनीहरुसँग विभिन्न चरणमा छलफल तथा बैठक सञ्चालन गरेको थियो । विव्यस र शिअसंका काम, कर्तव्य र अधिकार सम्बन्धी नीतिगत व्यवस्थाबारे पर्चा प्रकाशन गरी उहाँहरुलाई उपलब्ध गराउने काम भएको थियो । त्यसको उद्देश्य मुख्तः सरोकारवालाविच सचेतना फैलाउनु र उहाँहरुको जिम्मेबारी बोध गराउनु रहेको थियो । जसको फलस्वरुप विद्यालयको सुधारमा सकारात्मक पहलको थालनी होस भन्ने रहेको थियो ।
यसैगरी नेपाल सरकारले जारी गरेको गुनासो सुनुवाई कार्यविधि २०७४ अनुसार विद्यालयमा सुझाव पेटिका राख्नु पर्ने हुन्छ । र सुझाव पेटिकामा आएका सल्लाह एवं सुझावलाई विद्यालयमा गठित गुनासो सुनुवाई समितिले सम्बोधन गर्नु पर्दछ । विद्यार्थीले भोग्नु परेका विभिन्न किसिमका समस्या सुझाव पेटिकामा आउने गर्दछन् । विशेषगरी विद्यालयको व्यवस्थापन, भौतिकएवं विद्यार्थीको सिकाइ पक्षबारे सल्लाह एवं सुझाव आउने गरेका छन् । विद्यालयमा सुझाव पेटिकाको प्रबन्ध गर्न सकेमा विद्यार्थी, शिक्षक र विद्यालयले झेल्नु परेका समस्या समयमै उपयुक्त तरिकाले समाधान गर्न सकिन्छ र यसले गर्दा विद्यालयका विभिन्न पक्षमा सुधार गर्न सम्भव पनि हुन्छ ।
नेपाल सरकारको गुनासो सुनुवाई पेटिका राख्ने प्रावधान भए पनि विद्यालय तहमा यसका विभिन्न चुनौती विद्यमान छन् । सवभन्दा पहिलो विषय त सुझाब पेटिका कुन ठाउँमा राख्ने वा सुझाब पेटिका बालबालिकाको पहुँचमा छ या छैन । र यदि पहुँचमा छ भने पनि विद्यार्थीलाई यसको प्रयोग कसरी गर्ने भन्ने पर्याप्त जानकारी छ कि छैन । यदि जानकारी छ भने प्रयोग गरेका छन् कि छैनन् । अनि यदि प्रयोग गरेका छन् भने उनीहरुको सुनुवाई भएको छ कि छैन आदि । यि चुनौती हल गर्नका लागि STEM II परियोजनाले विद्यार्थी एवं शिक्षकका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो । यसका साथै सुझाव पेटिकालाई कसरी व्यवस्थापन गर्ने वा कार्यान्वयन गर्ने भन्नेबारे पनि सहयोग गरेको थियो ।
STEM II परियोजनाले विद्यालयका सरोकारवालासँग काम गर्दै उनीहरुलाई विद्यालयको सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर एवं चुनौतीबारे विस्तृत रुपमा छलफल गरी कार्ययोजना निर्माण गर्न सहयोग गरेको थियो । विद्यालय तहमा धेरै काम यस्ता हुन्छन् जुन कुनै पनि आर्थिक खर्च बिना गर्न सकिन्छ । त्यसको लागि इच्छा शक्तिको मात्रै कमि हुने गर्दछ । परियोजना अन्तर्गत सरोकारवालाको सहभागितामा तयार गरिएका विद्यालय सुधार सम्बन्धी र्ययोजना अधिकांश पुरा भएका छन् । तसर्थ परियोजनाले उनीहरुविच उत्साह,सकृयता एवं इच्छाशक्ति जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनीहरुलाई एकै थलोमा ल्याई खुल्ला छलफल एवं संवाद गराउन सक्यो भने पनि विद्यालयको विभिन्न पक्षमा छलफल भई सकारात्मक उपाया एव पहलकदमी हुन्छ र यसले विद्यालयको सुशासनमा थप सघाउ पुर्याउछ ।
विद्यालय, विद्यार्थी एवं अभिभावकपनि आ आफ्ना जिम्मेबारी तथा भूमिकाबारे स्पष्ट हुनुपर्दछ र तिनको राम्ररीपालना गर्नु पनि पर्दछ । यी तीन पक्षले विद्यालय सुशासनमा सकारात्मक भूमिका खेल्न सक्छन् । यसै कुरालाई मध्य नजर गर्दै परियोजनाले विद्यार्थी, शिक्षक एवं अभिभावकसँग सल्लाहर समन्वय गर्दै उनीहरुको लागि आचारसंहिता निर्माण एवं कार्यान्वयन गराउन सहयोगी भूमिका निर्वाह गरेको थियो । एउटा व्यवस्थित विद्यालयका लागि विद्यार्थीले के कस्ता भूमिका खेल्नु पर्ने हुन्छ । उदाहरणको लागि कक्षाकोठा एवं विद्यालयका सामान के कसरी व्यवस्थित गर्ने, सरसफाइ कसरी कायम गर्ने आदि । त्यसै गरी शिक्षकले के कस्ता भूमिका निर्वाह गरेको खण्डमा विद्यालय वातावरण राम्रो बनाउन सकिन्छ । जस्तैः नियमित रुपमा समयै कक्षामा उपस्थित भई विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने आदि । अभिभावकले पनि विद्यार्थी एवं शिक्षकका लागि सहयोगी भूमिका खेल्नु पर्ने हुन्छ । जस्तैः विद्यार्थीको आवश्यकताबारे विद्यालय एवं शिक्षकसँग नियमित रुपमा सम्पर्क एवं सहकार्य गर्ने आदि । यसरी सबैले आ आफ्ना जिम्मेबारी बहन गर्न सकेको खण्डमा विद्यालय सुशासनमा सुधार गर्न वा अझ व्यवस्थित गर्न सम्भव हुन सक्छ ।
परियोजनाले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि शिक्षक, विद्यार्थी, अभिभावक एवं स्थानीय सरकारसँग समन्वय गरेको थियो । विद्यार्थीका घर घरमा पुगेर अपाङ्गता भएका एवं विद्यालय छाडेका लगायत अन्य विषयमा तथ्यांक संकलन गरेको थियो । अभिभाव र विद्यार्थीलाई विद्यालय भर्ना हुन र विद्यालयका हरेक गतिविधिमा सहभागी हुन उत्साहित गरेको थियो । त्यस क्रममा विव्यस एवं शिअसंका काम,कर्तव्य र जिम्मेबारी सम्बन्धी पर्चा, पोष्टर एवं प्याम्पलेट वितरण पनि गरेको थियो । यसको प्रमुख उद्देश्य अभिभावकलाई पनि त्यसबारे ज्ञान होओस् र पैरवी गर्न सकुन भन्ने थियो । साथै विद्यार्थीले पाउने छात्रवृत्तिबारे पनि पर्चा, पोष्टर, प्याम्पलेटका साथै स्थानीय रेडियो स्टेशनबाट सन्देस प्रर्वाह गरिएका थिए भने होडिङ बोर्ड बनाएर विद्यालय प्राङ्गणमा राखिएका थिए । जसको कारण परियोजना सञ्चालन नगरेका भन्दा गरेका विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको प्रतिशत बढी थियो । तसर्थ,यसले के कुरा ईङ्गित गर्दछ भने सुचना प्रर्वाह गर्यो भने वा पारदर्शिता कायम गर्यो भने विद्यालयको अवस्थामा थप सुधार गर्न सकिन्छ । र, यी सबै कृयाकलापमा अभिभावक, विद्यालय र स्थानीय सरकारसँग समन्वय एवं सहकार्य गर्नुपर्ने हुन्छ ।
माथि उल्लेखित कुरा कुनै नयाँ विषय होइन । बरु सरकारले नै आफ्ना नीति नियममा उल्लेख गरेका विषय हुन । तर यस्ता कुराहरु विद्यालय तहमा व्यवहारिक रुपमा कायम गर्न कठिन भएका मात्र हुन । यसर्थ,STEM II परियोजनाले विद्यमान नीति एवं नियमको पालना गराउनको निम्ति सहयोगी भूमिका निर्वाह मात्रै गरेको हो । त्यसैले के भन्न सकिन्छ भने अहिले विद्यमान शिक्षा सम्बन्धी मौजुदा एन कानुनको राम्रोसँग पालना गर्न वा गराउन सकेको खण्डमा सुधारको सुरुआत गर्न सकिन्छ । नेपाल सरकार र यसका शिक्षा सम्बन्धी संरचनाले विद्यालय तहमा यस्ता एन, नीति एवं नियमको पालना कसरी गराउने भन्ने विषयमा आवश्यकता अनुसारको सहयोग एवं समन्वय गर्न नसकेको देखिन्छ । अहिलेको संघीय संरचनामा विद्यालय शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन अझै बाँकी नै छ किनभने शिक्षा सम्बन्धी नीतिगत प्रावधानले अझै पूर्णता पाउन बाँकि नै छ । यसर्थ, गर्न विद्यमान नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा पनि सकारात्मक परिवर्तन गर्न सकिन्छ ।
लेखक मर्सिकोर नेपालका शिक्षा संयोजक हुन् ।
प्रकाशन : ९ पुष २०७७स्रोत : https://www.eprabhatnews.com/details/9460