भावना ओली
चलचित्र मूलतः निर्देशकको अभिव्यक्ति हो। निर्देशकको सोच, सीप, सिर्जनशीलता, विषयवस्तुमाथिको पकड र उसको विश्वदृष्टिकोणले नै चलचित्रलाई राम्रो वा नराम्रो बनाउँछ। मलाई लाग्छ, निर्देशकले सोचेको कथालाई पटकथामा उतार्ने, कथा लेख्ने वा चलचित्रको मुख्य भावभूमि तयार गर्नेहरूको पनि चलचित्रमा कम प्रभाव हुँदैन।
चलचित्रको मूलधारे विमर्शमा सफल चलचित्र त्यसैलाई मानिन्छ जसले विषयवस्तुको प्रस्तुतीकरणमा विशिष्टता ल्याउँछ र त्यसैका आधारमा गतिलो आम्दानी गर्छ। यी मापदण्डले निर्धारण गरेबाहेक कुनै चलचित्रले उठाएका विषय, सो विषयलाई अड्याउने स्थान–समय र कथा अभिव्यक्त गर्ने पात्रलाई कति गहिराइमा पुगेर सम्बोधन गरेको छ र कति न्यायोचित ढंगले प्रस्तुत गरेको छ भन्नेमा चलचित्रको सबलता मापन हुन्छ। प्रविधिको सबल प्रयोगको महŒवलाई पनि बेवास्ता गर्न मिल्दैन। यसै सन्दर्भमा मूलधारे नेपाली चलचित्रका विषयवस्तुको छनोट र प्रस्तुतीकरणले महिलाका मुद्दा वा स्वयं महिला पात्रलाई कत्तिको न्याय गरेका छन् भन्ने विमर्श हुन जरुरी छ। निर्देशक र चलचित्रका विषयवस्तु निर्धारण गर्ने लेखकले महिलासम्बन्धी कस्तो सोच राख्ने गरेका छन् भन्नेबारे बहस व्यापक बनाउन आवश्यक छ। यसै मेसोमा यो छोटो टिप्पणी लेखिएको हो।
नेपाली समाज पितृसत्तात्मक समाज हो। नेपाली चलचित्र क्षेत्रमा पनि पितृसत्ताको बलियो उपस्थिति छ भन्नु आफंैमा साधारण सत्यको पुनरोक्ति मात्रै हो। चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्ष जस्तै— निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पक्षमा पुरुष हावी छन्। यी सबैको नियन्त्रण मात्र पुरुषको हातमा होइन, बरु समग्रमा यी पितृसत्तावादका संवाहक हुन्। यस्तो अवस्थामा महिलाप्रधान चलचित्र निर्माण गर्ने वा महिलाका मुद्दालाई न्यायसंगत ढंगले उठाउने सवाल गौण हुने नै भयो।
जहाँसम्म पतिृसत्तात्मक संरचना, शक्ति सन्तुलन र व्यवहारको कुरा आउँछ, महिला सधैं दोस्रो दर्जाका मान्छे र नागरिक बनाइएका छन्। त्यसो त अग्रगामी समयको दस्तावेज भनेर दाबी गरिएको संविधान पनि मौजुद समाजकै छाया स्वरूप पितृसत्तावादी छ। पुरुषको तुलनामा शारीरिक वा भावनात्मक रूपमा कमजोर, सहनशील, त्यागी र मूलतः सौन्दर्यको मानकका रूपमा उभ्याइने प्रचलन सबैभन्दा मुखर रूपमा काहीँ देखिन्छ भने, त्यो मूलधारको नेपाली चलचित्रमा हो। त्यसैले महिलाका सबल पक्ष र स्वयं अभिनय कलाको उत्कृष्टता नै छायामा पर्छ। एकाध अपवाद छन् भने मात्रै नत्र नेपाली सामाजिक संरचनाको गहिरो बुझाइ, सो संरचनामा महिलाको स्थान र महिलाहरूले गरेका संघर्षलाई अनुभूत गरेर चलचित्र बनेका छैनन्।
अधिकांश पुरुष निर्देशक हावी भएको नेपाली चलचित्र क्षेत्रमा महिला पात्रको प्रस्तुतीकरण कि त ग्ल्यामर र व्यावसायिक पक्षसँग जोडेर गरिन्छ कि त मुख्य पुरुष पात्रको कमजोर सहयोगी रूपमा चित्रण गर्ने गरिन्छ। धेरैजसो नेपाली चलचित्रमा नाच्न, गाउन, रुन, नायक र खलनायकबीच झगडा लगाउने निहुँ बनाउन मात्र उभ्याइने गरिएका छन महिलाहरू। हिन्दी सिनेमाका पुराना सूत्रलाई अझै बिर्सन नसकेका नेपाली निर्देशकहरूको मस्तिष्कमा आफ्नै पितृसत्तावाद पहिल्यैदेखि थियो, त्यसमा बलिउडका निर्देशकहरूको पितृसत्तावादी छाप पनि थपियो। मौलिक र सूत्रमार्फत आयातीत दुवै पितृसत्तावादले गाँजेको नेपाली चलचित्र खासमा महिला भएर हेर्नै नसकिने तहका धेरै छन्।
पुरुष निर्देशकको तुलनामा महिला निर्देशक न्यून रहेको चलचित्र क्षेत्रमा महिला निर्देशक पनि विचारधारात्मक रूपमा पितृसत्तावादी नै छन्। उदाहरणका लागि पछिल्लो समय बढी नै चर्चा पाएको र सफल भनिएको चलचित्र ‘छक्का पञ्जा’को निर्देशक महिला थिइन्। तर, पितृसत्तावादी मानसिकता त्याग्न नसकेका महिलाले सो जड विचारधाराभन्दा पृथक सोचेर चलचित्र बनाउन सकिनन्। सो चलचित्रका बारेमा पहिले काफी चर्चा भइसकेको छ। त्यसैले महिला निर्देशक कति छन् भन्ने प्रश्न महŒवपूर्ण हुँदाहुँदै विचारधाराका रूपमा पितृसत्तावादमाथि कत्तिको प्रहार हुन सक्यो भन्ने प्रश्नमा घोत्लिन सकिएन भने चलचित्रको गुणस्तरमा परिवर्तन आउँदैन।
चलचित्रमा महिला पात्रलाई प्राथमिकता दिने वा महिला कलाकारलाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्ने अर्को जिम्मेवार व्यक्ति भनेको पटकथा लेखक हो। औंलामा गनिने महिला पटकथा लेखक भएको मूलधारको नेपाली चलचित्र क्षेत्रमा पटकथाका रूपमा पुरुषकै मानसिकता ज्यादा उत्रिने गरेको छ। पुरुष लेखकका अधिकांश कथाको महिला चित्रणले अक्सर महिलाको शारीरिक आकर्षण वा कमजोर भावनात्मक पक्षलाई जोड दियो।
कलाकार सरिता गिरीको शब्दमा भन्दा ‘तोरीबारीमा नृत्य गर्ने’ दोस्रो दर्जाको कलाकारमै सीमित ग¥यो। मुख्यतः महिला पात्र वा महिलाका मुद्दालाई ख्याल गरेर कुनै पनि कथा वा डायलग नलेखिएको बताउने कलाकार गिरीकै कथनलाई सापटी लिने हो भने महिला वा महिलाका मुद्दालाई मूलधारका चलचित्रले समेट्ने कोसिस नै गरेका छैनन्। कुनै पनि चलचित्रका कथा लेखकले महिला पात्रलाई आफ्नो कथामा समावेश गरिरहँदा तिनका आवाजलाई मुखरित नगरेको र तिनलाई दोस्रो दर्जामा सीमित गरेको पाइन्छ।
नायिका अरुणिमा लम्साल, कुसुम अंसल, नूतन प्रधानहरू पटकथा लेखनमा सहभागी भए पनि सन्तुष्ट हुन सकिने काम कम भएका छन्। साहित्य सर्जक भागीरथी श्रेष्ठको कथामा आधारित भएर चलचित्र ‘भाग्यरेखा’ र पारिजातको उपन्यास ‘शिरीषको फूल’लाई चलचित्रमार्फत ल्याउने प्रयास नगरिएका होइनन्। यसैगरी पछिल्लो समयमा लेखक सरस्वती प्रतीक्षाको महिला पात्र प्रधान भएको उपन्यास ‘नथिया’माथि चलचित्र बनाउने घोषणाले नेपाली चलचित्रमा महिला पात्रको प्रधानताको केही आशा गर्न सकिएला। तर, के यी बन्दै गरेका चलचित्रका पटकथा लेखकहरूले नेपाली महिलालाई पितृसत्तावादको प्रभावमा नपरी लेख्न सक्लान् ? अहिले नै प्रश्न गर्नु आवश्यक छ।
पछिल्लो समयमा नेपाली चलचित्रका पटकथा लेखनमा नेपाली साहित्य क्षेत्रमा स्थापित भइसकेका र प्रशंसा बटुलेका नयाँ पुस्ताका बुद्घिसागर, स्वप्नील स्मृति, श्याम शाह लगायतका लेखक आउनु सकरात्मक हो। के यी उम्दा पुरुष लेखकहरू महिलाप्रति संवेदनशील भएर पटकथा लेखिरहेका छन् ? उनीहरूद्वारा लिखित कथा चलचित्र बनेपछि महिलाका कोणबाट ती चलचित्रको उचित मूल्यांकन हुने नै छन्। उनीहरूबाट केही नयाँपनको आशा भने अहिलेदेखि नै गरिएको छ। महिला साहित्यकारका कृतिहरू नेपाली साहित्य क्षेत्रमा बढ्दै गरेको वर्तमान समयमा ती कृतिमाथि वा महिला सर्जकका कथालाई पनि चलचित्रमा समावेश गराउन प्रयत्न गर्दासमेत नेपाली चलचित्रमा रहेका अपूर्णतालाई सम्बोधन गर्न सकिएला।
यसै सिलसिलामा महिला कलाकारबारे केही भन्नु पनि उत्तिकै आवश्यक छ। नेपालमा महिला कलाकारको कमी पक्कै छैन। अब्बल क्षमता भएकाहरू पनि प्रशस्तै छन्। नाटक र चलचित्रमा थुप्रै महिलाले काम गरिरहेका छन्। तर, नाटकको तुलनामा चलचित्रमा महिलाहरूले आफ्नो कलाकारिता निखार्ने र साँचो अर्थमा सबल कलाकारिता गर्ने ठाउँ कमै पाएका छन्। सशक्त रूपमा आफूमा निहित कलात्मक क्षमता अभिव्यक्त गर्न नपाउँदासम्म महिला कलाकारहरूको सम्मान उँचो हुँदैन। न उनीहरूले आफ्ना काममा विविधता नै दिन सक्नेछन्। आफ्नो क्षमता र सामथ्र्यलाई उचित ढंगले प्रकट गर्न पाउने अवस्थाले महिला कलाकारको आत्मविश्वास चुलिने पक्का छ। बजारले स्थापित गरेका साँघुरा मान्यताहरू तोडेर अघि बढ्ने सम्भावना पनि तब मात्रै सम्भव हुनेछ। साथै पितृसत्तावादी निर्माता, निर्देशक र अन्य शक्तिशाली मानिसहरूका अवाञ्छित चाहनालाई सहजै दुत्कार्न पनि सक्षम हुनेछन्।
नेपालमा निर्माण भएका केही छोटा फिल्म वा डकुमेन्ट्रीले महिलालाई मुख्य पात्र बनाउँदै महिलाका मुद्दा जस्तै बालविवाह, महिला भ्रूण हत्या, वेश्यावृत्ति, रजस्वला आदि विषय उठाएका छन्। तर प्रश्न उठ्छ, यी छोटा फिल्म वा डकुमेन्ट्रीको बजार र दर्शक मूलधारका चलचित्रका तुलनामा कति छन् ?
उत्तर सहज छ— अत्यन्त न्यून। अतः नेपाली समाजमा दृश्यसञ्चार र मनोरञ्जनको एउटा गतिलो माध्यम बनेको नेपाली फिचर फिल्ममा महिला सरोकारका विषयले प्राथमिकता पाउन आवश्यक छ। हालसम्म पुरुषले पुरुषको हितमा र पुरुषका लागि बनाइरहेको नेपाली चलचित्रले नेपाली समाजको सग्लो प्रतिनिधित्व गर्न सकेको छैन। पितृसत्तावादलाई चुनौती दिनसक्ने महिला नै अघि नबढी यो अवस्था बदलिनेमा ढुक्क हुन सकिँदैन।