९४ की कवि, को हुन् मधुधारा ?

- लोकरञ्‍जन पराजुली | 2021-09-24

लोकरञ्जन पराजुली

हिजो-अस्तिआजभन्दा करिब असी वर्षअघि (शुक्रबार, १९ भदौ १९९४)को ‘गोरखापत्र’को सम्पादकीयमा ‘कविता . मधुधारा’ शीर्षकमा छोटो सम्पादकीय टिप्पणीसहित एउटा कविता छापिएको छ। यो कविता मधुधारा छेत्रिनी (थर पत्ता लाग्दैन) ले रचना गरेको बुझिन्छ।

पूर्व २ नम्बर अथवा हालको रामेछाप-दोलखा इलाकाकी यी महिला श्रावणी अर्थात् जनै पूर्णिमाका दिन ‘जटारह भन्ने कुनै पाहाडी तीर्थमा’ गएकी रहिछन्। कवितामा वर्णित विवरण र तिथिले गर्दा यो ‘जटारह’ भनेको सम्भवतः गोसाइँकुण्ड÷गोसाइँथान हुनुपर्छ।

मधुधाराले तीर्थाटनमा देखेभोगेका विवरण र आफ्ना भावना समेटेर एउटा कविता लेखेकी रहिछन्, जुन ‘गोरखापत्र’का सम्पादकको हातमा कसैगरी प‍र्‍यो। सम्पादकले कविता रुचाए र लेखिकालाई सह्राउँदै पत्रिकामा यथोचित स्थान दिए।

त्यतिखेर ‘गोरखापत्र’का ‘म्यानेजर’ ना.सु. विष्णुध्वज जोशी थिए भने सम्पादक ‘डा.’ प्रेमराज शर्मा। प्रेमराज ‘गोरखापत्र’को सम्भवतः सबैभन्दा लामो समय सम्पादक रहे। यद्यपि, उनी ‘गोरखापत्र’मा निरन्तर सम्पादक रहिरहेनन्, प्रिन्टलाइन हेर्दा उनको नाउँ विभिन्न समयमा बिलाउँछ अनि फेरि देखा पर्छ। खासमा उनी कहिले गलहत्याइन्थे र पुनः बोलाएर सम्पादक÷म्यानेजर बनाइन्थे। अर्को उल्लेख्य कुरा के छ भने प्रेमराजका बाबु चिरञ्जीवी र छोरा रामराज पनि ‘गोरखापत्र’का सम्पादक भएका थिए। यहाँनेर प्रेमराजको अगाडि झुल्केको फुर्को ‘डा.’को अर्थ खुल्दैन। अनि उनको यो फुर्को पनि अघिपछि देखिँदैन, बीचका केही महिना मात्र देखिन्छ।

जे होस्, ‘गोरखापत्र’का सम्पादकद्वारा प्रशंस्याइएकी यी कवयित्री मधुधाराका अरू कविता अन्यत्र कहीँ कम्तीमा यो लेखकले पढ्न पाएको छैन। न नेपाली महिला साहित्यकार या कवयित्रीबारे लेखिएका पुस्तकमा पनि यिनको चर्चा भएको भेटेको छ। यद्यपि, मधुधाराभन्दा पहिले ‘शारदा’ या ‘गोरखापत्र’मा आफ्ना रचना प्रकाशन गर्ने लोकप्रिया देवी, प्रियदर्शिनी देवी, तारा देवी जस्ता लेखिकाबारे भने ती पुस्तकमा सामान्य चर्चा पाइन्छ।

आफ्ना समकालीनहरूभन्दा सुन्दर कविता कोर्ने र यति माधुर्यसहित यात्रा–वर्णन गर्ने यी कवयित्रीबारे थप जानकारी ‘गोरखापत्र’मा उपलब्ध छैन। लेखाइको गुणवत्ताका हिसाबले उनी पर्याप्त शिक्षित हुनुपर्ने इंगित गर्छ। तर, उनी हुन् को ? उनका थप कविता किन प्रकाशित भएनन् ? आशा छ, नेपाली साहित्य र साहित्येतिहासबारे चासो राख्ने अन्वेषकहरूले आउँदा दिनमा यी र यस्तै प्रश्नहरूबारे पक्कै सोधीखोजी गर्नेछन्। र, सम्पादकले भनेझैं ‘पाहाडका कुनामा लुप्त गुप्त भैरहेकी’ यी कवयित्री र उनका थप कविता (छन् भने) लाई बाहिर ल्याउनेछन्।

गोरखापत्रको टिप्पणी र कविता

‘गोरखापत्र’मा छापिएको मधुधाराको कविता र सम्पादकीय टिप्पणी यहाँ जस्ताको तस्तै उतारिएको छ। हिज्जेसमेत चलाइएको छैन। नबुझिएको या संशय भएको ठाउँमा चारपाटे कोष्ठकभित्र प्रश्नवाचक चिह्न (? ) राखिएको छ। अर्धचन्द्राकार कोष्ठकभित्र रहेको प्रश्नवाचक चिह्न (? ) भने मूल पाठमै छापिएको हो।

कविता . मधुधारा

कवितामा मधुधारा हुनु जरूरी छ। साँचो कवितामा माधूर्यको धारा हुने गर्दछ। भनाइमा केही विशेषता भएन भने त्यो कविता व्हैन। तुक्का जोड्दैमा कविता बन्दैन। नवरसलाई तप तप चुहाउन शक्नु नै कविता हो। कविता पद्यमा भै दियो भने बेश, तर पद्य हुँदैमा कविता भन्न पनि हुन्न।

जनैपूर्णिमाका दिन ‘जटारह’ भन्ने कुनै पाहाडी तीर्थमा एउटी कवियित्री गै छन्। उकालो, खोलो, निगालोको झाडी, जुकाको रेलो, हिमच्छादित पर्वत, इत्यादिको उनले वर्णन गरिन्, त्यो वर्णन कस्तो भएको छ : यै हो-

महकै धारो जस्तो कस्तो मिठो कविता ! लेखिकाको नाम पनि रहेछ-‘मधुधारा’ नै। जात छेत्रिनी, घर पूर्व दुइ नम्बर पाहाडमा।

पाहाडका कुनामा लुप्त गुप्त भैरहेकी यी कवियित्रीको हामी श्रद्धा र आदर पूर्वक स्वागत गर्दछौं।

स्रोतः http://annapurnapost.com/news/123443


About the Author