हर्षमान महर्जन
विकसित देशमा पत्रपत्रिकाको अन्त्यको भविष्यवाणी धेरै पल्ट भए । धेरै पल्ट भविष्यवाणी फेल पनि भए । नयाँ प्रविधिले छापालाई विस्थापित गर्नसक्छ । होहल्लाले जन्माएको डरका कारण पत्रपत्रिकाले अनलाइनमा आफ्नो सामग्री उपलब्ध गराएका थिए । युवा पाठकको झुकाव छापाबाट कम हुँदै गएकाले पनि अनलाइन पत्रिकालाई पत्रिका कम्पनीले महŒव दिन थालेका थिए ।
सन् १९७० पछि नै बिस्तारै पत्रिकाले गैरछापाका सामग्री प्रसारित गरेको थियो टेलिटेक्स्ट र भिडियोटेक्स्टका रूपमा । सन् १९७० मा सुरु गरिएको टेलिभिजनमा तत्काल हेर्न र पढ्न सकिने एकतर्फी सूचनाको माध्यम टेलिटेक्स्टमा पत्रिकाको सामग्री पनि उपलब्ध भए । सन् १९७० को अन्त्य वा सन् १९८० को सुरुमा प्रचलनमा आएको दुईतर्फी सूचना आदानप्रदान गर्ने भिडियोटेक्स्ट टेलिटेक्स्टभन्दा उच्चतहको प्रविधि थियो । टेलिभिजन सेट र पछि कम्प्युटरमा टेलिफोनको लाइन जोडेर समाचार अनि बैङ्किङ सेवा लिन मिल्ने यो नयाँ प्रविधि आएपछि यसले छापा माध्यमको प्रयोगलाई नराम्ररी असर गर्ने बहस सुरु भयो । यसपछि नै अमेरिकामा केही अखबार कम्पनीले सन् १९८० मा भिडियोटेक्स्टको प्रयोग गरेका थिए ।
सन् १९९३ मा मोजाइक ब्राउजर र सन् १९९४ मा नेटस्केप न्याभिगेटर बनेपछि वेबसाइटमा आकर्षक फोटो राख्न सकिने भयो । त्यसपछि अमेरिकामा अमेरिकी अनलाइन, कम्पुसर्भ र प्रोडिजीजस्ता अनलाइन सेवा प्रदायकको सहयोगमा सन् १९९० का सुरुका वर्षमा अनलाइन पत्रिका उपलब्ध भए । यसको दुई, तीन वर्षपछि पत्रिका आफैले छुट्टै वेबसाइट प्रयोग गर्न थाले ।
नेपालमा नयाँ इतिहास सन् १९९५ सेप्टेम्बरमा नेपाली पत्रिकाको सामग्री अनलाइनमा उपलब्ध हुँदा यी समस्यासँग पत्रपत्रिकाले जुध्नु परेको थिएन । न नयाँ माध्यमले पुरानो माध्यमलाई विस्थापित गर्ने नेपालमा बहस थियो, न यस्तो अवस्था नै थियो । पाठकको सङ्ख्या पनि घटेको थिएन । प्रेस स्वतन्त्रताको प्रत्याभूति २०४७ को संविधानमा भएकाले, साक्षरता दर बढ्दै गरेको आदि कारणले पत्रपत्रिका पढ्ने पाठक बढ्दै थिए । नेपालभित्र सीमित वर्गमा इन्टरनेटको पहुँच थियो । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् १९९५ मा ०.००१ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट थियो । इन्टरनेट धेरै नै महँगो पनि थियो ।
नेपाली अनलाइन पत्रिकाको आवश्यकता व्यापारिक रूपमा इन्टरनेट उपलब्ध गराएको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गरेको थियो । अनलाइन मूलतः देशबाहिर रहेको नेपाली र गैरनेपालीलाई नेपालबारे जानकारी दिने माध्यम भयो । यस्तो अनलाइनले छापाको पत्रिका पढ्न नसक्ने पाठकमा पहँुच पु¥यायो । यसको नेतृत्व मर्कन्टाइल कम्युनिकेसनले गरेको हुँदा नेपालभित्र र बाहिरका व्यक्तिलाई नेपालमा भएको प्रयोगको जानकारी दिने माध्यम भएको थियो अनलाइनमा उपलब्ध नेपालबाट प्रकाशित पत्रिकाको सामग्री । यसरी हेर्दा पत्रपत्रिकाको चासोभन्दा इन्टरनेट कम्पनीको आफ्नो नाम प्रचार गर्ने र नेपालमा इन्टरनेट प्रयोगकर्ता बढाउन कारणहरूले नै अनलाइन पत्रिका नेपालमा सुरु भएको थियो ।
मर्कन्टाइल कम्पनीको नाम प्रचार गर्नुपर्ने समस्या समाधानको एक उपाय थियो अनलाइन पत्रिका । प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीका अनुसार इन्टरनेटको ग्राहक कम्तीमा एक हजार भएपछि मात्र मर्कन्टाइल नाफामा पुग्थ्यो तर अगस्ट १९९५ सम्ममा १२० जनाले मात्र मर्कन्टाइलको इन्टरनेटको प्रयोग गर्थे । इन्टरनेट उपयोगकर्ताका लागि अनलाइन पत्रिकाले स्थानीय सामग्री उपलब्ध गरायो ।
मर्कन्टाइलको चाहनाका कारण सन् १९९५ सेप्टेम्बरदेखि अमेरिकी विश्वविद्यालयमा अध्ययनरत राजेन्द्र श्रेष्ठको कलेजको होम पेजमा द काठमान्डु पोस्ट उपलब्ध गराइएको थियो । पछि १९९६ मै मर्कन्टाइलले साउथ–एसिया डट कम सुरु गरेको थियो । गोरखापत्र संस्थानको द राइजिङ नेपाल पनि १९९७ फेब्रुअरी २३ मा अनलाइनमा उपलब्ध गरायो । सन् १९९८ तिर सुरु गरिएको नेपाल न्युज डट कममा पैसा तिरेर पत्रपत्रिकाको सामग्री राखेको थियो । यही पैसाकै कारण यस साइटमा आफ्नो सामग्री बेच्न धेरैलाई हौस्यायो । । एक समय यस्तो पनि आयो जुन बेला नेपालबाट प्रकाशित सबैजसो दैनिक साप्ताहिक पत्रिका मर्कन्टाइलको वेबसाइटमा पढ्न सकिने भयो ।
विदेशमा जस्तै नेपालमा पनि सन् २००० पछि बिस्तारै पत्रपत्रिकाले छुट्टै वेबसाइट बनाउन थाले । २००० अप्रिल १३ मा कान्तिपुर पब्लिकेसन्सले आफ्नै छुट्टै साइट कान्तिपुर अनलाइन सुरु ग¥यो । यस साइटका सम्पादक सुमन प्रधानले आफूले अमेरिका बस्दा देखेजस्तो छुट्टै साइट खोल्न प्रकाशकलाई मनाए । यसपछि कान्तिपुर अनलाइन नेपाल न्युज डटकमको प्रतिस्पर्धी भयो । पत्रपत्रिकाको सामग्रीबाहेक हरेक दिन पत्रिकामा नछापिएको तर महŒवपूर्ण छोटो समाचार न्युज फ्ल्यास दिन नेपाल न्युजले पत्रकारको सानो र अल्पकालीन टिम बनाएझैँ कान्तिपुरले पनि यस्तो टिम बनाएको थियो ।
यसको प्रभाव अरू पत्रिकामा प¥यो । सन् २००१ मै इन्टरनेसनल मिडिया नेटवर्क (द हिमालयन टाइम्स) र स्पेसटाइम पब्लिकेसन्स (स्पेसटाइम) ले आफ्नो अनलाइन सुरु ग¥यो । किशोर नेपाल गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष र गोरखापत्रको सम्पादक नियुक्त भएपछि यस संस्थानले सन् २००२ मा अनलाइन सुरु ग¥यो । नेपाल समाचारपत्रले सन् २००३ मा अनलाइन सुरु ग¥यो । तर, सबैजसो दैनिक पत्रिकाले सुरु गरेको अनलाइन बिस्तारै सेलाउन थाल्यो । सन् २००८ मा दैनिकी डट कम र नागरिकन्युज डट कम आए ।
अतिरिक्त आम्दानी
पत्रिकाका लागि अनलाइनबाट विज्ञापनमार्फत आउने आम्दानी अहिलेसम्म अतिरिक्त नै हो । छापा र अनलाइनबाट पत्रिका कम्पनीले कति आम्दानी गरिरहेका छन् भन्ने थाहा पाउन नेपालमा सजिलो छैन । तापनि भन्न सकिन्छ, मुख्य आम्दानी छापाबाटै आउँछ ।
गुगल एडसेन्स नआएसम्म अनलाइन पत्रिका स्थानीय विज्ञापनमा भर पर्थे । तर, स्थानीय विज्ञापनको मात्रा कम थियो । सन् २००० मा कान्तिपुर अनलाइन सुरु भएपछि सन् २००२ देखि नियमितजसो विदेशी नेपालीलाई लक्षित गरी सुरु गरिएका सेवा मुन्चा डट कम र ठमेल डट कमको विज्ञापन छाप्न थालेको थियो । तर, त्यो नगन्य मात्रामा थियो । सन् २०१४ पछि भने केही पत्रिकाहरूले डिजिटल मार्केटिङमा ध्यान दिए । २०१६ मा फेसबुकले मोबाइल फोनको बढ्दो प्रयोगकर्तालाई लक्षित गरी ल्याएको ‘इन्स्ट्यान्ट आर्टिकल’ मा प्रकाशित विज्ञापनबाट पनि आम्दानी गर्न थालेको छ । गुगल एडसेन्स र ‘इन्स्ट्यान्ट आर्टिकल’ मार्फत गरेको आम्दानी सरकारको करको दायरामा थिएन ।
कान्तिपुर मिडिया ग्रुपका महेश स्वाँरले सन् २०१८ फेब्रुअरीमा एक भारतीय अनलाइनलाई दिएको अन्तर्वार्तामा नेपाली विज्ञापन बजारको ५५ प्रतिशत हिस्सा छापाको रहेको उल्लेख छ । डिजिटल मिडियाको हिस्सा १० प्रतिशत मात्र छ । अनलाइनले कम विज्ञापन पाउने हुँदा पत्रिका कम्पनीको ध्यान छापामै छ । लगानीमा पनि यसको असर परेको छ ।
सुहाउँदो लगानीयस्तो अवस्थामा अनलाइन पत्रिकाले डिजिटल भविष्य हेरेर लगानी गरिरहेका थिए र छन् । यो लगानी पनि धेरैजसो प्रविधि र प्राविधिकमा केन्द्रित छ । डिजिटल प्रविधि सुहाउँदो भिडियो अनि मल्टी मिडियाका लागि लामो समयसम्म पत्रपत्रिकाले लगानी गरेको थिएन । कान्तिपुर प्रकाशन र गोरखापत्र संस्थानको उदाहरणले यसलाई पुष्टि गर्छ ।
यसले नेपालमा दुई थरीका पत्रिका कम्पनी देखाउँछ । पहिलो आफ्नै नेटवर्कमा छापाबाहेक रेडियो र टीभी भएका पर्छन् । कान्तिपुर पब्लिकेसन्स, नेपाल रिपब्लिक मिडिया र अन्नपूर्ण मिडिया नेटवर्क यसका उदाहरण हुन् । कान्तिपुरलाई नै ध्यान दिने हो भने सन् २०१४ मा कान्तिपुर मिडिया ग्रुपले प्रविधि र प्राविधिकमा ठूलो लगानी गर्नसक्यो । यसरी प्रविधि र प्राविधिकमा लगानी गर्दै कान्तिपुर डिजिटल भविष्यका लागि तयारी गरिरहेको छ । यसले आफ्नो नेटवर्कभित्र कान्तिपुर डिजिटल कर्पजस्तो सूचना प्रविधि कम्पनी स्थापना गरिसकेको छ ।
गोरखापत्र संस्थान, कामना प्रकाशन राजधानी न्युज पब्लिकेसन्सले अनलाइनको प्रविधिमा लगानी त्यति गरेका छैनन् । यस्तो प्राविधिकको अभावमा यसको वेबसाइटमा सानासाना परिवर्तन गर्न गाह्रो थियो । वेबसाइटमा समस्या आउँदा तत्काल समाधान गर्न नसकिने अवस्था हुन्छ ।
प्रविधिमा लगानी हुनु र नहुनुले अनलाइन पत्रिकाको पाठक बढ्ने र नबढ्ने हुन्छ । यस्तो लगानीले वेबसाइटलाई अझ आकर्षक बनाउन सकिन्छ । वेबसाइट प्रयोग गर्न सजिलो भए पाठक बढ्ने सम्भावना हुन्छ । छापाको भविष्यको आकलन गरेर पनि यस्तो लगानी बढाउने र घटाइने हुन्छ ।
छापाको भविष्य विकसित देशको तुलनामा नेपालमा कागजमा छापिने पत्रिकाको भविष्य छ भनिन्छ । अर्को १५ वर्ष नेपालमा छापा पत्रिकाको भविष्य उज्ज्वल छ त ? अरू देशमा गरिने भविष्यवाणी तथ्याङ्कमा आधारित हुन्छ । त्यहाँ पत्रपत्रिका कति छापिन्छ, कति बिक्री हुन्छ, कुन समूहको व्यक्तिले कति पढ्छ, पत्रपत्रिकाले कति आम्दानी गर्छ भन्ने थाहा पाउन सकिन्छ । पत्रिकाले यस्तो तथ्याङ्क सार्वजनिक गर्छ । नेपालमा यो सम्भव छैन । त्यसैले आफ्नो अनुभव वा आफ्नो कम्पनीको निजी तथ्याङ्कका आधारमा यस्तो भविष्यवाणी वा आकलन नेपालमा गरिन्छ ।
नेपालमा छापा पत्रपत्रिकालाई अनलाइनले कहिले विस्थापित गर्छ त्यो भविष्यले भन्ला तर वर्तमान भने छापाकै देखिन्छ । नेपालमा अनलाइनमा पहुँच धेरैको छैन । हुन त नेपाल दूरसञ्चार प्राधिकरणको २०७५ फागुनको आँकडाअनुसार नेपालमा इन्टरनेटको पहुँच जनसङ्ख्याको ५९.९८ प्रतिशतसँग छ । यो हेर्दा आधाभन्दा धेरै नेपालीले तारबाट, तारबिना वा मोबाइलमार्फत इन्टरनेट प्रयोग गरिरहेको देखाउँछ । यसमा ४६.२९ प्रतिशत मोबाइलबाट भएको हो । सायद वितरण गरिएको सिमकार्डलाई ध्यान दिएर यो प्रतिशत पत्ता लगाइएको थियो । इन्टरनेट प्रयोगकर्ता सहरमा धेरै छन् । गाउँगाउँमा इन्टरनेटको राम्रो पहुँच हुन बाँकी नै छ ।
नेपालमा छापाको भविष्य कतिसम्म हुन्छ भन्न सकिन्न तर यति भन्न सकिन्छ, नेपाली पत्रपत्रिकाको डिजिटल सङ्क्रमण केही वर्ष रहने छ । छापा र डिजिटल सँगसँगै जाने छन् । अनलाइन पत्रिकाले छापा पत्रिका पढ्ने पाठकलाई घटाउन अवश्य सक्छ तर पूरै विस्थापित गर्न गाह्रो छ किनभने छापा र अनलाइन फरक माध्यम हुन् । यी दुवैले समाजमा पाउने मान र माया फरक छ । धेरै अवस्थामा अनलाइन पत्रिका निःशुल्क माध्यम हो भने छापा सःशुल्क । छापा पत्रिकाका लागि न्युजप्रिन्टमा छापेर मात्र पुग्दैन । पत्रिका वितरण गर्न आवश्यक छ । यी दुवैका लागि लगानी आवश्यक पर्छ । अनलाइनमा वितरण इन्टरनेटमार्फत हुन्छ ।
प्रविधिमा राम्रो लगानी गरे अनलाइन पत्रिकाको बिक्री सजिलो हुन्छ ।
(लेखक मिडिया अनुसन्धाता हुनुहुन्छ)