ज्ञानकर्मको पर्यावरण चाखलाग्दो छैन

- भास्कर गौतम | 2021-09-24

काठमाडौँ — भास्कर गौतमले जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । करिब एक दशक मार्टिन चौतारीमा अध्येता रहेका उनी हाल विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सका अध्यक्ष हुन् । उनका लेखहरु जर्नलमा प्रकाशित छन् र उनले धेरै पुस्तकको सह–लेखन, सह–सम्पादन गरेका छन् ।

तीमध्ये ‘करेज इन केयोस : अर्लि रेस्क्यु एण्ड रिलिफ आफ्टर दि अप्रिल अर्थक्वेक’ (२०७२), ‘मधेस विद्रोहको नालीबेली’ (२०६४), ‘माओवादी विद्रोह : सशस्त्र संघर्षको अवधि’ (२०६४), ‘सहरीकरण : जीविकाका विविध आयाम’ (२०६३), ‘नेपालमा गरिबी बहस’ (२०६१) आदि प्रमुख पुस्तक हुन् । उनीसँग गरिएको किताब–वार्ता :

तपाईंको विचारमा पढ्नु केका लागि होला ?आफ्नो वरिपरिको परिवेश, मानवीय जीवन र जगत्लाई बुझ्न मानवजातिले पढ्ने गर्छ । म पनि त्यही उद्देश्यसहित पढ्छु । आधुनिक विश्वमा पढाइको दुइटा महत्त्वपूर्ण पाटा छन् । पहिलो, नवीन सीप र मानवीय सिकाइसँगै पढाइ जीविकोपार्जनको आधार बनिरहेको छ । दोस्रो, यो संसार विभेदकारी छ । यसलाई समतामूलक र न्यायप्रधान बनाउनसमेत पढ्नुपर्छ । यहाँ पढाइ परिवर्तनको आधारभूत साधन हो ।

हालसालै पढेको र हृदयस्पर्शी कुनै किताब ?पछिल्लो समय पढेमध्ये दुइटा पुस्तक मन पर्‍यो । एउटा, टोनि जोसेपको ‘अर्ली इन्डियन्स’ हो । जोसेपले दक्षिण एसियालाई केन्द्रमा राखेर मानवीय उत्पत्तिदेखि निकट विगतसम्मको प्रभावशाली वर्णन गरेका छन् । उनले जनसंख्याको आनुवांशिक पक्षलाई पुरातत्त्वको क्षेत्रमा भएका अनुसन्धान र भाषाशास्त्रमा भएका कामसँग जोडेर कथ्य रचेका छन् । हामी बसेको भौगोलिक परिवेशमा मानवसभ्यताको उत्पत्ति, प्रारम्भिक कृषिज्ञान, सहरीकरणका प्रारम्भिक प्रयासहरू र आर्यहरू कसरी अन्तिम निर्णायक प्रवासी हुन पुगेबारे पुस्तकमा चाखलाग्दो व्याख्या छ । अर्को, जेनी ओडेलको ‘हाउ टु डु नोथिङ ः रेसिस्टिङ द एटेन्सन इकोनोमी’ हो । अनुसन्धानको जगमा लेखिएको यस पुस्तकको कथ्य काव्यिक र दार्शनिक छ । लेखनमा इतिहास, दर्शन, विज्ञानका अनुसन्धान, साहित्य, पर्यावरण र पत्रकारिताको कथ्यशैली समेटिएको छ । मानवीय अवधानमा आधुनिक सञ्चार र प्रविधिको प्रभाव आक्रमक र वास्तविक दुवै हुँदाहुँदै पनि त्यो मूलतः सतही छ भनेर तर्क गरिएको छ । प्रकृति, कला, साहित्य र संगीतमा गहिरिने मानवीय चिन्तनलाई सञ्चार–प्रविधिले आधारभूत रूपमा भंग गर्न नसक्ने भन्दै ओडेलले मानवीय सम्बन्धका गहन आयाममाथि घतलाग्दो पुस्तक लेखेकी छन् ।

किताब असाध्यै मन पर्‍यो भने त्यसलाई के गर्नुहुन्छ ? देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?साथीसंगीसँग चर्चा गर्छु । समय र अवस्था हेरी अरूलाई पढ्न सिफारिस गर्छु । कसैलाई पुस्तक देखाउने वा अरू केही देखाइदिने कुरामा मेरो कुनै रुचि छैन ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको खास टिप्पणी सुनाउनुस् न?सोचेजसरी पछिल्लो समयमा निस्केको आख्यान/गैरआख्यान पढ्ने मेसो मिलेको छैन । मैले काम गरिरहेका विषयमा धेरै केही ननिस्केकाले समेत यस्तो भइरहेको छ । तथापि निर्धक्कसँग भन्न सकिन्न, आफ्नो निजत्व, संकुचित भौगोलिक परिवेश र राष्ट्रिय काल्पनिकीभन्दा फराकिलो चिन्तनले प्रायः कृतिमा ठाउँ पाउँदैनन् । परिणाम हामीले मानवीय अवस्थाका जटिलता र अनेकौं गहन पक्षहरूबारे गहिरिएर सोचिरहेका छैनौँ । चिन्तन नै सीमित भएपछि गहकिला पुस्तकको उत्पादन दुर्लभ हुने भइहाले ।

तपाईंले पढेका सामाजिक–राजनीतिक–ऐतिहासिक किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्नुहुन्छ ?समाजविज्ञान, दर्शन, समालोचना आदि विभिन्न विधाका शोधपूर्ण किताबमा मेरो रुचि छ । शोधमा आधारित पुस्तक संरचनागत जटिलता र मानवीय अवस्था बुझ्न उपयोगी हुन्छ । त्यस्तै पुस्तक पढ्ने सल्लाह दिन्छु । उदाहरणका लागि, माइकल गोल्डम्यानको ‘इम्पेलियल नेचर’ जस्तो एथ्नोग्राफिक कार्य पढिनुपर्‍यो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको एथ्नोग्राफीमा आधारित यस पुस्तकले ज्ञानको अर्थराजनीतिमा फसेको विकासको खाका प्रारम्भदेखि नै असफल हुने किसिमले कोरिएकोले विकासोन्मुख राष्ट्रहरूको हितमा छैन भन्छ । नेपालबारे अनुसन्धान गर्ने विदेशी अध्येताले यस्तो किसिमको शोधकार्य गर्ने आँट गरेको देखिँदैन । नेपालका अध्येताहरूमा समेत यस्तो काम गर्ने रुचि देखिएको छैन । विकासको चर्चा गर्दा मार्टिन चौतारीले प्रकाशन गरेको तात्सुरो फुजिकुराको ‘डिस्कोर्सेस अफ अवेरनेस’ मा गोल्डम्यानको भन्दा भिन्न तर्क छ । नेपालमा विकासका अभ्यासले केही हदसम्म काम गरिरहेको तर्क फुजिकुराले प्रभावशाली साथ गरेका छन् । यी दुवै पुस्तक नेपाली भाषामा अनुवाद गर्न सके अहिले भइरहेको विकास–समृद्धिको बहसलाई आलोचनात्मक तवरबाट हेर्न ठूलो सहयोग पुग्छ ।

नेपालीमा कस्ता पुस्तक लेखिनुपर्ला ? कस्ता लेखिएकै छैनन् ? कारण के हुन सक्छन् ?काम गर्ने विषय धेरै छन् । जुन क्षेत्रमा काम भए पनि मूल कुरा हाम्रो स्थापित वैचारिकीका सीमाहरू औंल्याउन सक्ने पुस्तक लेखिनुपर्छ । नेपाली र नेपालका अन्य भाषामा शोधमूलक पुस्तकको ठूलो खडेरी छ । नलेखिएका पुस्तकका सूची धेरै लामो हुन्छ । उदाहरणका लागि, नेपालको प्राकृतिक सौन्दर्यबारे धेरै गुनगान हुन्छ । तर, पर्यावरणसँग जोडर हाम्रो बसोबासको इतिहास खासै लेखिएको छैन । त्यसैले हामीलाई हिमाली, पहाडी वा मधेसी बसोबासको संस्कृति, त्यहाँको जनजीवनको आर्थिक प्रणाली र उत्पादनमा आएको फेरबदल, श्रम र प्रविधिको अभ्यासमा भइरहेको तीव्र परिवर्तन, यी पक्षहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता नभएको राज्य आदिबारे हुनुपर्ने जति ज्ञान छैन । त्यस्तै काठमाडौँको वैभव, यहाँको कला–सम्पदा वरिपरि जे जस्तो सामाजिक–सांस्कृतिक काम हुन सक्थ्यो, त्यस्तो काम नेपाली वा अंग्रेजीमा नगन्य छ । नेवार भाषामा के–कति त्यस्तो काम उपलब्ध छ, मलाई थाहा भएन । अरू पनि धेरै विषय छन् ।यस्ता किताब नलेखिनुका धेरै कारण हुन सक्छन् । एउटा प्रमुख कारण आजका जनप्रतिनिधिहरू हिजोका राणाकालीन शासककै शैलीमा नेपाली श्रम विश्व बजारमा बेच्न आतुर हुनु हो । हाम्रो शासकीय मनोवृत्तिमा तात्त्विक सुधार आएको छैन । त्यसैले ज्ञानको क्षेत्रमा राज्यको लगानी बढाउँदै मानवीय क्षमतामा सुधार ल्याउन जनप्रतिनिधहरूमा कुनै सोच छैन । अनुसन्धानमा लगानी गर्ने चाहना त झन् छैन । त्यसैले अभावबीच शोधकार्य भइरहेको छ । यो क्षेत्रको प्रवर्द्धन गर्न जनप्रतिनिधहरू जति छिटो संवेदनशील हुन सके त्यति राम्रो ।

किताब छान्ने कसरी ? आफ्नो अनुभव ?मूलतः अनुसन्धानको आवश्यकताले नै किताब छानिन्छ । मलाई विभिन्न विषयमा एकैपटक रुचि भइरहने हुनाले मेरो पढ्ने क्षेत्र फराकिलो छ । हाल म धार्मिक अभ्यास र दर्शन, पर्यावरण र मानवीय समाज तथा मार्क्सवादी पठन संस्कृतिबारे काम गर्दै छु । यिनै विषयको किताब छान्छु ।

नेपाली समाज–इतिहासमाथि लेखिएका किताबका अति कमजोर पक्ष के होलान् ?अपवादबाहेक इतिहास लेखन कालक्रम र वंशावली वरिपरि केन्द्रित भयो । इतिहासलेखन हिरो खोज्न र वीरगाथामै रुमल्लियो । वैकल्पिक इतिहास लेख्छु भन्नेहरू ‘हिजोका नायकलाई आज खलनायक’ बनाउने घात–प्रतिघातको खाकामै अल्झिए । कुनै पनि कालखण्डमा ऐतिहासिक अवस्थाको सामाजिक थिति तथा वैचारिक अवधारणासँग घर्श्रण चलिरहन्छ । यस्तो प्रक्रियाले आममानिसको जीवन र संघर्षलाई अनेकौं किसिमले प्रभावित पारिरहेको हुन्छ । तर, वीरगाथा, वंशावली र कालक्रममा केन्द्रित विधिले सर्वसाधारणको संर्घष, मानवीय अवस्था र सामाजिक जनजीवनलाई राम्ररी समेट्नसक्दैन । समाज–इतिहासमाथि लेखिएका पुस्तक यहीँ चुकिरहेका छन् ।

पठनले केलाई सघाउँछ ?मेरा लागि पढ्नु समतामूलक र न्यायप्रधान समाज निर्माणार्थ ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउनु हो । सामूहिक स्वतन्त्रता सम्भव रहेकाले त्यस्तो सम्भावनालाई वैचारिक रूपमा जीवित राख्नु र व्यावहारिक रूपमा त्यस्तो जीवनपद्धतिको खोजलाई सघाउनु हो ।

पढेमध्ये ॅबेस्ट बुक’ कुन लाग्छ ?एउटै बेस्ट भन्ने छैन । थिएन पनि । समय, अवस्था र आवश्यकतासँगै मन पर्ने लेख र कृतिहरू परिवर्तन हुन्छन् । तथापि मलाई अल्बर्ट कामु, जँन बर्जर, युआर आनन्थमुर्थी र महाश्वेता देवीका केही कृतिमन पर्छन् ।

हुर्कंदै गर्दा घर वा स्कुलको पुस्तकालयमा कस्ता खाले किताब थिए ?घरमा संस्कृत वाङ्मय र ज्यातिषका केही पुस्तक थिए । स्कुलको पुस्तकालय राम्रै थियो । तर, विश्व इतिहास, अंग्रेजीका केही जासुसी उपन्यासबाट म छिट्टै नेपाली साहित्यतर्फ लागेँ । त्यसबेला पढेकामध्ये मलाई गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, बालकृष्ण समको ‘नियमित आकस्मिकता’ र दौलतबिक्रम विष्टको ‘चपाइएका अनुहार’ मन परे ।

किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?धेरै काम गर्छ । धेरै पढाइ अध्ययनको सिलसिलामा हुने भएकाले काम गर्नुपूर्व लाइब्रेरी रिचर्स गर्ने, त्यो विषयको दायराको मेसो पाउने, आधारभूत पुस्तक ठम्याउने र त्यसैअनुसार पुस्तक छान्ने गर्छु ।

स्कुल वा क्याम्पसका सुरुआती दिनमा पढेका कस्ता किताब जीवनमा उपयोगी भए ?ती दिनहरूमा म हिन्दी र रुसी साहित्यतर्फ तानिएँ । मेरा मित्र उत्पल सुधांशुको घरमा अंग्रेजी र हिन्दी साहित्यका पुस्तक थिए । सम्भवतः हिन्दी साहित्यले रचेको परिवेश सहजै बुझ्ने भएकाले म सुरुदेखि त्यसतर्फ तानिएँ । त्यसबेला मैले शरदचन्द्र चट्टोपाध्यायका प्रायः पुस्तक, फणिश्वरनाथ रेणु र निर्मल बर्माका रचना पढेँ । लक्ष्मीप्रसाद देवकोटाका कविताहरूसँगै अज्ञेय, सूर्यकान्त त्रिपाठी ‘निराला’ र जजानन माधव मुक्तिबोधका कविताहरू रुचाएँ । कनीकुथी मिर्जा गालिब, फैज अहमद फैद र साहिर लुधियानभीका रचनाहरू पढेँ । रुसी साहित्यमा टोल्स्टोय कनेर पढियो भने एन्टोन चेखोव र फ्योदोर दोस्तोयभ्स्की रुचिसाथ पढेँ ।त्यो समयको पढाइले मूलतः दुइटा कुरा उपयोगी भयोजस्तो लाग्छ । पहिलो, केही लेखपढ गर्ने लत बसेकाले भाषामा रस बस्यो । लेखपढ जीविकाको माध्यमसमेत बन्ने आधार तयार हुँदै गयो । दोस्रो, मानवीय जीवनको सीमा र क्षणभंगुरता बुझ्ने कार्य पढाइबाटै प्रारम्भ भयो । पछि दार्शनसम्बन्धी केही कृति पढेपछि, संसार नै हासिल गरे पनि त्यो कुनै समयको क्षणिक कहानी मात्र हुनेछ भन्ने जीवनदृष्टिले ममा त्यहीँ बेलादेखि घर बसायो ।

तपाईंसँग कति किताब छन् घरमा ? तीमध्ये प्रिय पाँचको लिस्ट?खोइ यकिन भएन । अनुसन्धानका लागि काम चलाउने सानो पुस्तकालयजस्तो संग्रह छ भनौँ । त्यो पनि संग्रह गर्ने रहरबाट जन्मिएको होइन । लेखपढ गर्ने कार्यसँगै बन्दै गयो ।पाँचओटा पुस्तकको नाम लिनुपर्दा पिएरे जोसेप प्रोधोनको ‘वाट इज प्रोपर्टी’, कार्ल मार्क्सको ‘इकोनोमिक एन्ड फिलोसोफिक मेनुस्क्रिट्स अफ १८४४,’ जेक रान्सियरको ‘डिस्एरिमेन्ट : पोलिक्टिस एन्ड फिलोसोफी’, पिएरे क्लेस्ट्रर्सको ‘सोसाइटी एगेन्स्ट द स्टेट’ र डेभिड ग्रेबरको ‘डेट : द फ्रस्ट ५००० इयर्स’ को नाम लिन्छु ।

लेखन–अनुसन्धानमा बेहोर्नुपरेको प्रमुख अप्ठेरोके हो ?अनुसन्धानमा मलाई प्रत्यूष वन्तले डोर्‍याउनुभएको हो । उहाँको छत्रछायामा आफूलाई हुर्काउने अवसर पाएकाले मैले धेरै अप्ठेरो बेहोर्नुपरेन । साहित्यको पठनपाठनबाट समाजविज्ञानतर्फको फड्को मात्र मार्नुपर्‍यो । के काम गर्ने, शोधकार्यका लागि कस्तो विधि अपनाउने, विषयअनुसार के कसरी पढ्ने–लेख्ने आदि कुराहरू उहाँसँग काम गर्दागर्दै त्यही प्रक्रियामा सिकियो । सबैलाई यस्तो अवसर नजुर्ने भएकाले मैले लेखन–अनुसन्धानमा जे–जति सिकेँ, त्यसका लागि उहाँप्रति कृतकृत्य छु । उहाँको अभिभावकत्वमा धेरै कुरा सहज हुँदाहुँदै पनि अध्ययन–अनुसन्धानको समग्र अवस्था टीठलाग्दो छ । दीर्घकालीन सोचसहित लगानी गर्ने नीति राज्यले लिएको छैन । स्रोत–साधनको ठूलो अभाव र अनुसन्धानमुखी पूर्वाधारको कमी छ । नेपाली प्राज्ञिक जगत्मा रहेको रचनात्मक शून्य काल्पनिकीले ज्ञानकर्मको वातावरण अपेक्षाकृत चाखलाग्दो छैन । न ज्ञानको माग हुने न खपत हुने पर्यावरणमा हामी बाँचेका छौँ । त्यसैले सदैव अप्ठेरो परिस्थितिमा काम गरिरहनुपरेको छ ।

स्रोतः https://ekantipur.com/koseli/2020/02/01/158053948100997047.html

रकाशित : माघ १८, २०७६, पृ. च


About the Author

Bhaskar Gautam भास्कर गौतम

Research Fellow, Kyoto University