बालेनजी, न्यायतर्फ ढल्कनोस्

- भास्कर गौतम | 2023-01-17

प्रिय बालेनजी,
संयोग भनौं, तपाईंले लगत्तै पढ्नुहुने आशासाथ मकर संक्रान्तिको दिन यो पत्र लेख्दै छु । थारूले माघी, मगरले माध्या सकराती, नेवारले घ्य चाकु सं ल्हू, किरातले येले संवत्; अझ पर पूर्वतिर अखोमियाले माही, दक्षिणतिर बिहारी र झारखण्डीले माघी पर्व, पश्चिमतिर पन्जाबीले संक्रान्त, पश्चिमोत्तर जम्मुतिर उत्तराय(ण) र हिमाचलतिर मघा रा साझ आदि अनेकौं नाममा यो पर्व मनाइन्छ ।

हिमपर्वत खण्डदेखि ब्रह्मपुत्र, कोसी, गण्डकी, महाकाली, गंगा, जमुना, सिन्धु नदीवरिपरि बसोबास गर्ने अनेकौं जाति र समुदायमा यो पर्वले हर्षोल्लास ल्याउँछ । मौसमको हिसाबले सूर्यको उत्तरायण गति सुरु हुने दिन संक्रान्ति मनाइन्छ । यही दिनदेखि पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण सोझै पर्न थाल्छ । दिन लम्बिन्छ । रात छोटिँदै जान्छ । पृथ्वीमा न्यानोपन बढ्न थाल्छ । आशा गरौं, तपाईंको कार्यकालमा समेत सम्पूर्ण नगरवासीले न्यानोपन अनुभूति गर्न सकून् ।

तपाईंलाई लागिरहेको होला, आफूलाई कत्रो चटारो भएका बेला यता मकर संक्रान्तिको बहानामा कुरा सूर्यको किरण, पृथ्वीको परिक्रमा र मौसमको रापतापमा अल्झिएको छ ! मौसमकै कारण माघको सेरोफेरोमा सामान्यजनले खाने खाद्यान्नहरू आत्मनिर्भर जीविका र पौषिक आहारका प्रतीक हुन् । विशाल भूक्षेत्रमा फैलिएकै कारण मकर संक्रान्ति सामाजिक एकता, सांस्कृतिक विविधता र स्वनिर्भर जीविकालाई एकसाथ प्रतिनिधित्व गर्ने चाड हो । यही बेला तपाईंका कामहरू भने सामाजिक द्वेष बढाउने, एकल सांस्कृतिक पहिचान संवर्द्धन गर्ने र समृद्धिका नाममा परनिर्भरतामा आश्रित हुने शासकीय मार्गमा लम्केको छ । लमक पनि चानचुने होइन, तीव्र गतिको छ ।

नगरप्रमुखमा निर्वाचित भएपछिका राजनीतिक अभिव्यक्ति सुनिरहँदा तपाईंले कतै उटपट्याङ कामहरू त गर्नुहुने होइन भन्ने संशय थियो । तपाईंले कसरी जित्नुभयो भन्नेबारे जान्ने उत्सुकता पनि थियो । अद्यापि छ । परम्परागत दलहरूको निकम्मापनले मतदातालाई नयाँ उम्मेदवारतर्फ तानेको लहरभन्दा पर तपाईंको जितलाई मैले चित्तबुझ्दो तरिकाले बुझिसकेको छैन । आशा गरौं, बुझ्दै जानेछु । जब तपाईं सस्तो लोकप्रियतामा बढी रमाएको देखें, मेरो अनिच्छाको अर्थ भने खुल्दै गयो । बिनाठोस तयारी कहिले फोहोरमैला व्यवस्थित गर्ने, कहिले टुँडिखेलमा पार्किङ बनाउने, कहिले सुकुम्बासीको बास खोस्न डोजर चलाउने, कहिले सडक व्यापारीका जीविकाविरुद्ध उर्दी दिँदै गाँसबास खोस्ने उद्दण्डता नै तपाईंका काम बने । तपाईं निर्वाचित भएसँगै मडारिएका मेरा संशयहरू सतहमा आउन थाले । तपाईंको राजनीतिक दृष्टिकोणप्रति सतर्कता अपनाउनुपर्ने पत्रहरू आफ से आफ प्रस्ट हुन थाले, ननिको पाराले भइरहेका छन् ।

अब तपाईंले केकस्तो काम गर्नुहोला भनेर जान्न धेरै मिहिनेत गरिरहनुपर्दैन । विगतमा जनप्रतिनिधिहरूका असफलताबाट तपाईंले खासै केही सिक्नुभएको रहेनछ । तपाईंमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै काम गर्ने न प्रतिबद्धता देखिन्छ न धैर्य । आफूले नायकीय शैलीमा जितेकाले तपाईंमा नायक हुने तीव्र चाहना देखिन्छ । त्यसैले लोकतान्त्रिक मूल्यमान्यताविपरीत हठी शैलीमा आत्मकेन्द्रित काम गर्दै अमरत्व प्राप्त गर्ने गहिरो इच्छा प्रकट भइरहेको छ । नायक खोज्ने समाजलाई मात्र नियतिले ठग्दैन, नायकको भ्रम पाल्ने व्यक्ति झनै बढी दुःखी हुने खतरा रहन्छ । मेरो सदाशय छ, तपाईंको नियति त्यस्तो नरहोस् ।

मुलुकमा २००७ सालयता लोकतान्त्रिक व्यवस्था अन्तर्गत मात्र पाँच पटक स्थानीय चुनाव भए । ती चुनावमा अहिलेसम्म हजारौं उम्मेदवार निर्वाचित भए । तीमध्ये अधिकांश न आफ्नो नगरको नेता भए न देशको । ती तमाम राजनीतिकर्मी जस्तै तपाईंले पनि निर्वाचत त जित्नुभयो तर नेता हुने शील हासिल गरिसक्नुभएको छैन । चुनाव जित्दैमा कोही देश र जनताको नेता भइहाल्दैन । नेता हुन कम्तीमा इतिहासलाई गति दिन सक्नुपर्छ, समयको दास नहुने सक्षमता दर्साउनुपर्छ, प्रत्येक जीवन उत्तिकै महत्त्वपूर्ण रहेको वास्तविकता स्विकार्नुपर्छ । आठ महिनायताको कार्यशैलीले तपाईं नगरवासीको नेता हुने बाटामा नहिँडेको सन्देश दिन्छ, बरु नायक हुने भूलभूलैयामा अल्झिनुभएको देखिन्छ । तथापि यस्तो मति सच्याउन समय मनग्गे छ ।

कतै तपाईं समयको दास त हुनुभएन ? राजनीतिक समयबारे तपाईंको बुझाइ टीठलाग्दो छ । तपाईंलाई लाग्छ, आफ्नो कार्यकालमा धेरै काम गर्नु छ । त्यसैले औधी हतारमा हुनुहुन्छ । ठोस उपलब्धिबेगर दिनहरू बितिरहँदा तपाईंलाई लागिरहेको होला, कार्यकालको समय घर्किंदै छ । समयको आपूर्ति सीमित छ, रत्तीभर खेर फाल्नु हुन्न । समय रफ्तारमा चलिरहेकाले तपाईंलाई यस्तो महसुस भएको होइन । तपाईंको हकमा लोकतन्त्र र समय आपसी सरोकार नभएका अमूर्त वस्तुजस्तै हुन् । तपाईंले यसरी नै ग्रहण गर्नुभएको देखिन्छ । सहर र सहरी वास्तुकलाका लागि चर्चित अमेरिकी दार्शनिक र समालोचक लुइस ममफोर्डका अभिव्यक्ति सापटी लिँदा, ‘समय गणितीय मापनको सिलसिलामा टिकेको कुनै स्वतन्त्र संसार होइन ।’ काम र समय एकै सिक्काका दुई पाटा हुन् । समय कुनै छुट्टै बाकस होइन जहाँबाट हतारमा तपाईं नगरवासीलाई हानि हुने एकपछि अर्को कार्य वस्तुजस्तै गरी निकालिरहनोस् । बरु सामान्यजनका लागि सार्थक हुने काम गर्नासाथ समयको अर्थ बेग्लै हुन्छ । नगरवासीका लागि अर्थपूर्ण हुने एउटा राम्रो काम गर्न सके बाँकी राम्रा कामका लागि समय तपाईंकै साथ रहनेछ । आखिर परम्परागत दलहरूका प्रतिनिधिले कुनै गतिलो काम गर्ने छाँट छैन । समयले दिएको यो अवसरलाई हतारमा एकपछि अर्को उद्दण्ड काम गर्दै खेर फाल्नबाट बेलैमा जोगिँदा बेस ।

अब काठमाडौं महानगरको पछिल्लो उर्दी नै हेर्नोस् । कुनै गतिलो विकल्पबेगर सडक व्यवसाय निषेध गर्ने निर्णय दुःखदायी मजाक हो । यस्तो आदेश कुनै लम्पट व्यक्तिले मात्र दिन सक्छ । त्यस्तो व्यक्ति जो एकसाथ वर्चस्वशालीको र समयको दास हो । यो निर्णय तपाईंले नै गर्नुभएको हो भने तपाईं पनि त्यही हुनुहुन्छ ।

सहरका पेटी र खुला स्थानबाट गरिबहरूको जीविका खोस्दैमा नगरबाट गरिबी हराउने होइन । धनले मात्र जीविका खरिद गर्न सक्थ्यो भने संसारमा धनीहरू मात्र बाँचिरहेका हुन्थे, सबै गरिब मरिसक्थे । जीविका खोसेर तपाईंले मार्न चाहँदैमा गरिबजन मरिहाल्दैनन् । विस्थापित भएका गरिबहरू बाँचिरहे तपाईंको सपना अधुरै रहन्छ । यसै पनि सहरमा चिसो याम छ । असमान आर्थिक थिति थप जीर्ण बनिरहँदा र चिसो थेग्न नसक्दा गरिबहरू कक्रिएकै छन् । एकाध कठ्यांग्रिएर मरिरहेकै छन् । त्यसमाथि ठोस विकल्पबिना दीनदुःखीको गाँसबास खोस्ने, संविधानविपरीत उत्ताउलो काम गर्ने, सामान्यजनको जीवन गौण ठान्ने, हिंसा थोपर्ने आदि अख्तियार तपाईंसँग छैन । यस्तो अख्तियारी कसैसँग छैन । गरिबलाई अदृश्य बनाउँदै गरिबी निस्तेज पार्न सकिन्छ भन्ने तपाईंको बुझाइ गलत मात्र होइन, प्रत्युत्पादक पनि छ ।

केही हजार डलरको आम्दानीलाई जीविकाको लागत ठान्ने अर्थतन्त्रले मानवीय जीवनलाई नितान्त गलत तरिकाले बुझेको छ । तपाईंको दृष्टिकोण पनि यस्तै छ । यस्तो सोचले सबैको सुरक्षालाई उत्तिकै महत्त्व दिने समाज बनाउन सक्दैन । सबैको जीवनले उत्तिकै महत्त्व पाउने समाजमा मात्र जीविकाका अदृश्य लागत सामान्य हिसाबकिताबमा सीमित हुँदैनन् । त्यस्तो समाजको गति र थितिले काम, ज्याला र लोककल्याणलाई आर्थिक लेनदेनमा मात्र संकुचित गर्दैन । बरु जीवनलाई समग्रमा लिन्छ । त्यहाँ आर्थिक थितिले स्वाभाविक र प्राकृतिक रूपमा एकअर्कालाई सुरक्षित राख्ने चासो दिन्छ । सांस्कृतिक विविधता सार्वजनिक सम्पदा बन्छ । सामुदायिक एकजुटता समृद्धिको आधार बन्छ । त्यस्तो समाजमा मात्र प्रत्येक जीवनले जीविकाको लागत कति भयो भनेर हिसाब गर्दै बाँच्नुपर्दैन । तपाईंले सोचिरहेजस्तो, जीवनको मूल्य चम्किला पूर्वाधार र केही हजार डलरको आम्दानीमा विलीन हुँदैन ।

जीवनको समग्रतालाई जीविकाको लागतमा खुम्च्याउनु सामाजिक मनोरोग पनि हो । यस्तो मनोरोग हाम्रो समाजमा गहिरिएको छ । जुन समाजको आम मानसिकता जीविकाको लागतमा अड्किएको छ, त्यसको सांस्कृतिक दृष्टिकोणमा आधारभूत समस्या छ । जीविका कसैले पाउन सक्ने र कसैले नसक्ने फगत वस्तु कदापि होइन । जुन समाजमा जीविका हुनेखानेले मात्र ग्रहण गर्न सक्ने वस्तु बन्छ, त्यस्तो समाजमा विग्रहले बास गर्छ । मानिस सामाजिक हुनुको महत्त्वपूर्ण आधार भनेकै अपसी सुरक्षा महसुस गर्दै बाँच्न सक्नु हो । तर जीविकालाई केवल वस्तु ठान्दै न्यून लागतका कारण भुइँमान्छेलाई थप असुरक्षित बनाउनु भनेकै शासकीय सोचबाट मानवीयता र सामाजिक भावलाई ताछ्नु हो । त्यसपछि शासक केवल हिंसामा टिक्छ । यसले हामीलाई केवल विध्वंसतर्फ धकेल्छ । मानिस हुनु भनेको आफूले चाहेको वस्तु हासिल गर्ने त्यस्तो व्यक्तिगत सफलतामा डुब्नु मात्र होइन जहाँ बाँकी हजारौंको जीवन नारकीय बनोस् । प्रकारान्तरले यस्तो शासकीय सफलताले लोकतन्त्रलाई निषेध गर्छ । आम मानिसलाई सक्रिय हुनबाट रोक्छ । सामान्यजनको योगदान गर्ने सम्भावनालाई छेक्छ । मानिसहरूबीच विश्वसनीय सम्बन्ध बनाउने सामाजिक सञ्जाललाई भत्काउँछ । तपाईंले अस्वीकार गर्न सक्नुहुन्छ तर तपाईं यस्तै कार्य गर्न उद्यत हुनुहुन्छ ।

सर्वविदित छ, सामाजिक न्यायतर्फ तपाईंको झुकाव छैन । वितरणमुखी न्याय तपाईंको राजनीतिक दृष्टिकोण होइन । तथापि थोरबहुत मानवीयता प्रत्येक मानिसमा हुन्छ, उसले त्यसको प्रयोग कहाँ गर्छ भन्ने मात्र हो । तपाईंले सक्रिय राजनीति गर्ने निर्णय गर्नु नै आफूमा रहेको मानवीयतालाई समाजमा फैलाउने बाटो रोज्नु हो । त्यसैले सामाजिक न्यायकै आशा नराखे पनि तपाईंले कम्तीमा न्यायतर्फ झुकाव राख्न सक्ने अपेक्षा राख्न मिल्छ । न्यायतर्फको झुकाव वितरणमुखी न्यायजस्तो अमूर्त विचार होइन । कम्तीमा प्रत्येक जीवनको महत्त्व हार्दिकतापूर्वक स्विकार्दै माया, अवदान र सदाशयलाई शासकीय थितिबाट विमुख हुन नदिए पुग्छ । नगरवासीले तपाईंसँग यति न्यूनतम अपेक्षा त राख्न मिल्ला नि ! अहिलेसम्मका तपाईंका काम र कार्यशैली हेर्दा योभन्दा बढी आशा राख्न मिल्ने सन्देश पनि त छैन ।

अन्त्यमा, हामीसँग एकसुरे लम्पट राजनीतिकर्मीको कमी छैन । त्यही लाममा थपिन चाहनुहुन्छ भने तपाईं नेता बन्न नसक्ने लगभग निश्चित छ । थप अर्को बकम्फुसे भएर पुनः चुनाव जिते देश र जनताका लागि सार्थक काम गर्नेभन्दा वर्चस्वशालीको स्वार्थ मलजल गर्ने कार्य नै तपाईंको उपलब्धि हुनेछ । तपाईंलाई जिताएर कुनै गतिलो काम नगरेको चाल नगरवासीले पाइसके । होइन, नगरवासी गलत हुन् र केही सार्थक काम गर्नकै लागि चुनाव जितेको भ्रम तपाईंमा अद्यापि छ भने, बेलैमा नयाँ प्राथमिकता र कार्यशैली हेर्ने मौका सबैलाई मिलोस् ।

प्रकाशित : माघ २, २०७९
स्रोत : https://ekantipur.com/opinion/2023/01/16/167383469112678322.html


About the Author

Bhaskar Gautam भास्कर गौतम

Research Fellow, Kyoto University