खुसी लाग्यो
प्रत्युष वन्तको अन्तर्वार्ता पढ्दा एउटा पुरानो कुरा सम्झेंँ– २०४७ सालमा कामविशेषले काठमाडौं आउँदा नेपाली कांग्रेसका नेता सी.के. प्रसाईं (भरतबाबु) लाई भेट्न पुगेको थिएँ । बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि देशको सर्वांगीण विकासका लागि सरकारी स्तरबाट विज्ञहरूको थिंक ट्यांक बन्नुपर्छ भन्ने लागेर उनीसँंग मैले त्यो कुरा गरेँ । उनी चुप लागे– रेस्पोन्स गरेनन् । उनी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अत्यन्त निकटमा थिए । भोलिपल्ट डा. लोकराज बराललाई भेटेर भरतबाबुले रेस्पोन्स नगरेको कुरा सुनाएँ । डा. बरालले भने–पार्टीमा यत्तिका वर्ष संघर्ष र त्याग गरेर खारिएका मानिस हुँदाहुँदै केको थिंक ट्यांक भन्ठान्छन् नेताहरू ? भर्खरै एमालेका सांसद रवीन्द्र अधिकारीले थिंक ट्यांकको आवश्यकता महसुस गरेछन्, खुसी लाग्यो । काठमाडौं आएपछि देखेँ, हामीसँग हरेक विषयका विज्ञ र विद्वानको कमी छैन । तर एउटा विज्ञले अर्को विज्ञलाई गन्दैनन्, पत्याउँदैनन् । प्रत्यूष वन्तले विद्वानहरू– कृष्ण खनाल, कृष्ण हाछेँथु, लोकराज बराल, डा. पीताम्बर शर्माको नाम लिएछन्, खुसी लाग्यो । आशा गरौं– सोसल साइन्स रिसर्च काउन्सिल पनि बन्छ कि ?
– लीलाप्रसाद सापकोटा धुलाबारी, झापा
प्रत्युष वन्तले काठमाडौंमै नअटाउने इगो भएका मान्छे छन् भनेको कुरा ठिकै हो । यो देशमा मैमात्रै जान्ने र सुन्ने हुँ, अरू कसैले केही गर्दैनन् भनी फिरंगी बस्ने विदेशले भिसा नदिँदासम्म उसको पनि सत्तोसराप गर्ने र भिसा मिलेको भोलिपल्टदेखि स्वर्ग भनेको त्यही हो भनी गुणगान गर्ने नेपाली काठमाडौंमा मात्र होइन, गाउँघरतिर पनि छन् । कान्तिपुरमा सौरभको लेख छ भनेपछि खोजी–खोजी पढ्ने एकजना पाठक म पनि हुँ । सौरभ को हुन्, कस्ता मान्छेभित्र पर्छन्, थाहा भएन । उनका लेख पढ्दा भने उनी आफ्नो देश, भाषा र संस्कृतिप्रति गर्व गर्ने कठोर मिहिनेती अध्येता हुन् । उनका प्रकाशित लेखहरू पढ्दा पूर्वीय हुनुको गौरव प्राप्त हुने गर्छ । राष्ट्रकवि माधव घिमिरेको ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो’ गाउँदा प्राप्त स्वाभिमान नेपालका अन्य प्राज्ञहरूबाट प्राप्त हुनसकेको छैन । पत्रपत्रिकामा प्रकाशित हुने लेखहरूमा तत्काल प्रतिक्रिया दिएर थोरै भए पनि आफ्ना विचार गरिरहेका पाठकहरूलाई होच्याउनु राम्रो होइन ।
– गोविन्दराज कोइराला हर्कपुर, नवलपरासी
स्रोतः http://kantipur.ekantipur.com/printedition/news/2017-07-10/20170710083100.html