जनताका लागि वातावरणीय न्यायतविकता

2021-10-18

सामान्यत: आम नेपाली जनमानसले 'वातावरणीय न्याय' शब्द अदालतद्वारा दिइने वातावरणसम्बन्धी न्याय भन्ने भ्रम पालेर बसेको भेटिन्छ । तर यथार्थ त्यसो होइन भन्ने प्रस्टाउने प्रयास गरेका छन्‍, जनन्नाथ अधिकारी र शरद घिमिरेले आफूद्वारा सम्पादित पुस्तक 'वातावरणीय न्याय-स्रोत सङ्‍गालो' मार्फत्। राज्य अमेरिकामा शताब्दीयौंदेखि काला र अन्य जातिहरुमाथि निरन्तर हुँदै आएको राजनीतिक अन्यायका सम्बन्धमा विविध आन्दोलन चलेका थिए । तर सन्‍ १९८० को दशकमा कालाहरुले आफूमाथि जबर्जस्ती लादिएका प्रदूषणविरुद्ध आवाज उठाउने थालेका हुन् । सुरुमा राजनीति आन्दोलनका रुपमा देखिए पनि पछि यो अमेरिकाको गोरामुखी वातावरणीय कानुन, काला र अन्य अल्पसङ्‍ख्यक जातजातिको वासस्थान नजिकमात्र प्रदुषक उद्योग स्थापना गर्ने गोराहरुको अलिखित नीति, प्रदुषणको मारमा कालाहरु मात्र पर्नु पर्ने र फाइदा जति सबै गोराहरुले मात्र लिनेजस्ता अन्यायपूर्ण क्रियाकलापविरुद्ध आन्दोलनका रुपमा अगाडि आएको छ । र त्यसपछि यो एउटा वातावरणीय आन्दोलनका रुपमा संसारभरि फैलिएको हो, जुन केही हदसम्म नेपालमा पनि भित्रिएको छ । यी विषयवस्तु र आन्दोलनको इतिहास राम्ररी समेटेका छन्‍, जगन्नाथ र शरदले यो पुस्तकमा । वातावरण, दिगो विकास र वातावरणीय न्यायजस्ता शब्दावलीहरुको जन्जालमा आम पाठक फस्न सक्ने सम्भावना प्रशस्तै छ, तर, यसका सम्पादकहरुले यी सबैका उचित र यथासम्भव परिभाषा दिएर न्याय गरेका छन् । यो पुस्तकको खण्ड तीनसम्म वातावरणीय न्याय र समन्वयका अवधारणा, सिद्धान्त, त्यसको सामाजिक विश्लेषण र वातावरणको सूचना र सञ्चारजस्ता विषयमा मौलिक लेख र कार्यपत्र समावेश गरिएका छन् । त्यसपछि खण्ड दससम्म भने समाचारपत्र एवम्‍ पत्रिकामा प्रकाशित वातावरणीय न्याय र समन्वयसँग सम्बन्धित लेख, समाचार एवम्‍ आलेख समावेश गरिएका छन्‍ । नेपालमा वा अन्यत्र वातावरण आन्दोलन र त्यससम्बन्धी अनुसन्धानमा लागेका तथा वातावरणमा चासो राख्ने सामान्य पाठकका लागि अत्यन्त उपयुक्त हुने यो पुस्तकमा खोट लगाउने ठाउँ अत्यन्त कम दिएका छन्‍ सम्पादकहरुले । यति हुँदाहुँदै पनि आवरण तस्वीरहरु वातावरणीय न्यायसँग नै सम्बन्धित भइदिएका भए र अझ अलि मेहनत गरिएको भए यो पुस्तकको रुप पनि राम्रो हुन्थ्यो ।

 

स्रोतः समय २८ जेठ २०६१


About the Author

More Blogs