रेडियो सुन्दाको अनुभव
2021-10-18विभिन्न अनुसन्धानमा सक्रिय संस्था मार्टिन चौतारीले 'रेडियोसँग हुर्कदा' नामक पुस्तक प्रकाशित गरेको छ । 'नेपाली समाजमा रेडियो' शीर्षकअन्तर्गत अध्ययन-अनुसन्धानमा क्रममा सो पुस्तक तयार गरिएको मार्टिन चौतारीले जनाएको छ । यसअघि उक्त संस्थाले 'रेडियो नेपालको सामाजिक इतिहास' र 'सामुदायिक रेडियो सम्भावना र चुनौती' प्रकाशित गरिसकेको छ । प्रत्युष वन्त र शेखर पराजुलीद्वारा सम्पादित 'रेडियोसँग हुर्कंदा' मा तीनपुस्तै नेपालीका ६४ वटा संस्मरणातक लेख समावेश छन् । तीन खण्डमा विभाजित गरिएको ती संस्मरणहरुलाई जेठो पुस्ता, मध्यम पुस्ता र कान्छो पुस्ताको रुप दिइएको छ । जेठो पुस्तामा कमल दीक्षित, सत्यमोहन जोशी, रमेश विकल, मोदनाथ प्रश्रित, दुर्गा भण्डारी, भैरव रिसाल खगेन्द्र संग्रौला, भुवन ढुंगाना, नोवलकिशोर राई आदि गरी १६ जनाको रेडियोसँगका अनुभवहरु परेका छन् । यस्तै मध्यम पुस्तामा हेमबहादुर बिष्ट, दीपा गौतम, तुलसी भट्टराई, विनय कसजु, तीर्थ श्रेष्ठ, कृष्ण धराबासी, सुलोचना मानन्धर, गुणराज लुइँटेल, शशीकला मानन्धर, झलक सुवेदी, सुधा त्रिपाठी, केदार शर्मालगायत २५ जनाका अनुभवहरु परेका छन् । त्यसैगरी कान्छो पुस्तामा रघु मैनाल, रविन्द्र मिश्र, धीरेन्द्र प्रेमर्षि, भगीरथ योगी, रमा पराजुल, भाष्कर गौतम, शरद केसी, बबिता बस्नेत आदि गरी २३ जनाका अनुभवहरु समेटिएका छन् ।
पारिवारिक, राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभुमि फरकफरक भएका ती लेखकहरुको बाल्यकाल कस्तो थियो भन्ने कुराको झलक संस्मरणहरुले दिएका छन् । सार्वजनिक जीवनमा भएका कतिपय व्यक्तित्वहरुको पृष्ठभूमि जान्न चाहेर पनि सोध्न अप्ठ्यारो मानिरहेकाहरुका निम्ति यो पुस्तकबाट सहयोग पुग्ने निश्चित छ । विभिन्न भौगोलिक परिवेशमा हुर्किएका ती व्यक्तित्वहरुले प्रसंग रेडियोको भए पनि इमान्दारी साथ आफनो बाल्यपनलाई संस्मरणमा उतारेका छन् । पुस्तकका संलग्न लेखकहरु भिन्नभिन्न कालखण्डमा जन्मेका हुन् भने हुर्केबढेका भूभाग र परिवेशमा पनि ठूलै विविधता छ । रेडियोकसँग गाँसिएका संस्मरणका यो संगालोले रेडियो श्रवण प्रक्रियाका विभिन्न आयामलाई उतारेको छ । साथै तत्काकलीन समाजको राजनीतिक र आर्थिक स्थितिसँग रेडियो कार्यक्रमको सम्बन्ध बुझ्न पनि सजिलो बनाएको छ ।
स्रोतः घटना र विचार २०६२ भदौ २२, पृ. ४