सीमान्तीकृतहरूको पनि हो सहर

- उज्ज्वल प्रसाई | 2022-11-11

मेयर बालेन शाहले सडकमा चलाएको डन्डा र सोबाट प्रभावित मान्छेहरुका विषयमा अहिले सतहमा सुनिएका ताली र गालीभन्दा खँदिलो विमर्श आवश्यक हुन्छ ।

हाम्रा जनप्रतिनिधि, स्थायी शासक भनिने कर्मचारीतन्त्र, र बौद्धिक वृत्तका बहुसंख्यक सदस्यमा समेत समाज वैज्ञानिक अध्ययन–अनुसन्धानप्रति ठूलो उदासीनता छ । बिकाउ साहित्य लेख्नेबाहेक खँदिला काम गर्ने उत्साहजनक वातावरण छैन । 

भारतका धेरै सहर सुकिला देखाउने उद्देश्यले सडक किनारमा सामान बेच्ने र छाप्रा बनाउने सयौं मान्छेलाई धपाइयो । कहिलेकाहीँ केही महिनासम्म सडक फराकिला र चिल्ला देखिए, र कुनै बेला दुईचार वर्षसम्म त्यही थिति रह्यो । तर, समय अन्तरालमा सडक किनारमा फेरि सामान बेच्नेहरू आए, छाप्राहरू बने । सम्भवतः स्थानीय अर्थतन्त्र स्वयंले सडक किनारका हकर र छाप्रा खोज्यो र उनीहरू फर्के ।’

सेन्टर फर द स्टडिज इन सोसल साइन्सेस कलकत्ता (सीएसएससी) को आफ्नो कार्यालयमा बसेर प्राध्यापक पार्थ चटर्जीले मसँग यसो भन्दै गर्दा काठमाडौंमा मेयर बालेन शाहको चर्चा चुलिएको थियो । कतै सडक किनारमा सामान बेच्नेहरू लखेटिएका थिए भने अन्यत्र कतै डोजरको पौरख प्रदर्शन भइरहेको थियो । सयौंले विद्युतीय सञ्जालमा ताली पिटे, सहर सफा र फराकिलो भएकामा हर्षबढाइँ गरे । काम गर्न सक्ने उम्दा जनप्रतिनिधिका रूपमा मेयर बालेनको प्रचार भयो । उत्ति नै खेर रोजगारी खोसिएका दर्जनौंका आँखा रसाए । अनेक बाध्यताले सडक किनारमा आइपुगेका कतिपय साना पसले मुख खोलेरै आफ्ना विवशता बताउँदै थिए, क्यामेरा अघिल्तिर धरधरी रुँदै थिए ।

समाज विज्ञानको उपादेयताबारे चर्चा गर्दा प्राध्यापक चटर्जीले भने, ‘काठमाडौंमा अहिले जे भइरहेको छ, त्यो सामाजिक मुद्दा हो । एक थरी ताली पिट्ने र अर्का थरी आक्रोशित हुने अवस्था आफैंमा कसरी उत्पन्न भयो र भविष्यमा के हुन सक्छ भन्ने अध्ययनको विषय हो । समाज विज्ञानको उपादेयता यही अध्ययनको आवश्यकताले सिद्ध गर्दैन र ?’ धेरै मान्छेलाई रोजगारी दिलाउने उद्देश्यले होस् वा आकर्षक आर्जनको आशा सञ्चारित भएकाले होस्, व्यवस्थापन र प्राविधिक विषय बहुसंख्यकको प्राथमिकता बनेको छ । तर कुनै पनि सामाजिक परिघटना, चाहे त्यो सहर निर्माणको जटिलता होस् वा मानवइतर प्रकृतिमा आएका बदलाव होऊन्, ती सबै समाज विज्ञानकै अध्ययनको दायरामा पर्छन् ।

चटर्जीले सहर कस्तो बनाउने भन्ने विषय पूर्णतया प्राविधिक र कानुनी मात्र नभई, सो विषयका अर्थ–सामाजिक र सांस्कृतिक आयाम बढ्ता जटिल भएकोतर्फ इंगित गरेका थिए । यी विषयमा संवाद गर्दा, उदार लोकतन्त्रका सीमा र जटिलतासमेत उधिने । उनले भने, ‘बहुविध समूहका माग र आवश्यकता सम्बोधन गर्न उदारवादी प्रजातन्त्रका बनिबनाउ ढाँचामा एकदमै धेरै फेरबदल गर्नुपर्ने हुन्छ ।’ भारतीय व्यवस्थाले भोगेका चुनौतीका केही ठोस उदाहरणका आडमा उनले यस्तो धारणा राखेका थिए । यिनै विषयको विशद व्याख्या गरेरै उनले सन् २०२० मा ‘आई एम द पिपल’ शीर्षक किताब पनि लेखेका थिए ।

‘लिबरल डेमोक्रेसी’ भनिने व्यवस्थाका सीमाबारे सोच्ने क्रममा चटर्जीले सो व्यवस्थाले आशा गर्ने सूचित र सौम्य, संविधान र कानुनका दायरा बुझेको, र सोही अनुसार गतिविधि गर्ने भद्रलोक पाराको सचेत ‘सिभिल सोसाइटी’ अत्यन्त सीमित भएको सत्यलाई उजागर गरे । कानुन र संविधानका औपचारिक प्रावधानलाई बेकामे सिद्ध गर्दै स्थापित नियमका छिद्रबाट प्रवेश गरेर आफ्ना दर्जनौं आवश्यकता पूरा गर्ने ठूलो जनसंख्यालाई उनले ‘पोलिटिकल सोसाइटी’ नाम दिएका छन् । औपचारिक संस्था र प्रबन्धले अपेक्षा गर्ने नियमिततामा आधारभूत आवश्यकता पूरा गर्न नसक्ने जनताको उल्लेख्य पंक्तिलाई बाँध्न सकिँदैन । त्यसैले उदार लोकतन्त्रको चल्तीको ढाँचामा भारत र नेपालजस्ता देशका ठूला जनसंख्या आँट्न मुस्किल हुन्छ । काठमाडौंमा नेवाः संरचनाको संरक्षण र सुकुम्बासीका आवश्यकताले सतहमा उतार्ने जटिलता सम्झे पुग्छ । त्यसैले मेयर बालेन शाहले सडकमा चलाएको डन्डा र सोबाट प्रभावित मान्छेहरूका विषयमा अहिले सतहमा सुनिएका ताली र गालीभन्दा खँदिलो विमर्श आवश्यक हुन्छ ।

काठमाडौं वा ललितपुर महानगरमा भइरहेका कामका उदाहरणले देखाउँछन्- हाम्रा धेरै पेचिला समाजिक मुद्दा छन्, उसै गरी अस्तित्वमा छन् विविध सामाजिक आन्दोलन पनि । जबसम्म यी रहन्छन्, तबसम्म समाज विज्ञान र साहित्य, चिन्तन र विमर्श आवश्यक हुन्छन् । यी टड्कारा आवश्यकता हुँदा पनि समाज वैज्ञानिक अध्ययनमा राज्यको उदासीनता छ, साथै राज्यइतर पक्षबाट हुनुपर्ने स्रोतको उपलब्धतामा संकुचन छ ।

स्रोतजन्य यस्ता संकटतर्फ संवाद सोझिएपछि प्राध्यापक चटर्जीले आफ्नै इतिहास सम्झेका थिए । सन् १९८० को दशकमा भारतको इतिहास र समाज विज्ञानको फलकलाई फराकिलो बनाउन आफूले गरेको संघर्ष सुनाए ।

इतिहासवेत्ता रणजित गुहाको प्रस्तावमा सबाल्टर्न स्टडिज ग्रुप सुरु भएपछि पार्थ चटर्जी, दीपेश चक्रवर्ती, शहीद अमिन, ज्ञान पाण्डे लगायतले भारतीय पददलितका विभिन्न विषयमा अध्ययन गरे । ती अध्ययनबाट निःसृत लेखहरू बिस्तारै सँगाल्दै ‘सबाल्टर्न स्टडिजः राइटिङ्स अन साउथ एसियन हिस्ट्री एन्ड सोसाइटी’ शीर्षक किताबका शृंखला प्रकाशन गरे । यो प्रकाशन शृंखला सुरु गर्दा प्राध्यापक गुहाले लेखेका थिए, ‘दक्षिण एसियाका विभिन्न विषयमा मौजुदा प्राज्ञिक काममा रहेको एलिटिज्म चिर्न ... हामी वर्ग, जात, उमेर, लिंग आदिका आधारमा पराधीन बनाइएका आम पददलितका सवाल उठाउनेछौं ।’

किताब प्रकाशन गर्ने र आफ्ना कामलाई प्राज्ञिक विमर्शमा जोड्ने उपक्रमका लागि आवश्यक सम्मेलन र गोष्ठीका लागि भारतका विश्वविद्यालयले खुलेर सहयोग नगरेको सम्झे चटर्जीले । उनले भने, ‘सुरुमा यहाँका विश्वविद्यालयले हाम्रा कामलाई बेवास्ता गरे, धेरैजसो भेला र गोष्ठी पनि भारतबाहिर जहाँ सम्भव हुन्छ, त्यहाँ गर्‍यौं । भारतमा आयोजना गर्दा कन्फरेन्सका सहभागीलाई आफ्न निजी घरमा राख्यौं, कार्यक्रममा पाठ भएका पेपर भेला पार्दै फोटोकपी बेचेर निर्वाह चलायौं ।’ सीमित स्रोत र सहयोगमा भएका कामहरू कालान्तरमा अधिकांश विश्वविद्यालयका पाठ्यक्रममा समावेश भए । सयौं अध्ययन र अनुसन्धानका बलिया आधार बने । त्यसो त उनीहरूले गरेका कामका काफी आलोचना पनि नभएका होइनन्, साथै ती काममा रहेका अनेक अपूर्णतालाई औंल्याएर थप अध्ययन गर्ने उपक्रम पनि चलिरहेकै छन् ।

प्राध्यापक चटर्जीले सबाल्टर्न स्टडिज ग्रुपले बेहोरेका विभिन्न ओराली र उकालीका कथा सुनाएर समाज विज्ञानजस्ता विषयमा काम गर्दाका चुनौती पेचिला भए पनि र समय लागे पनि, गतिला काम गर्न सके बौद्धिक समुदायले ती कामको सराहना गर्छ भन्न खोजेका थिए । यसो भन्दा उनले समग्र शिक्षामा परेको नवउदारवादी प्रभावका कारण सृजित अप्ठ्याराहरूलाई पूर्णतया बेवास्ता गरेनन् । बरु अनेक चुनौतीका बीच एउटा जर्नल मात्रकै आडमा पनि खँदिला खोजबिन र विमर्श सञ्चालन भएका उदाहरण अघि सारे । साथै, सीमित स्रोतका भरमा आफूले बंगालका ग्रामीण भेगमा अध्ययन गर्दाका पुराना अनुभव पनि सुनाए । चटर्जीका अनुभव र विश्लेषणले नेपालबारे पनि केही आशावादी बन्न सघाएको थियो ।

हाम्रा जनप्रतिनिधि, स्थायी शासक भनिने कर्मचारीतन्त्र, र बौद्धिक वृत्तका बहुसंख्यक सदस्यमा समेत समाज वैज्ञानिक अध्ययन–अनुसन्धानप्रति ठूलो उदासीनता छ । बिकाउ साहित्य लेख्नेबाहेक खँदिला काम गर्ने उत्साहजनक वातावरण छैन । दुई–चार पढे–लेखेका मान्छेले बसाइँसराइदेखि कृषिसम्म, राजनीतिक पार्टीदेखि पूर्वीय दर्शनका जटिल प्रश्नसम्ममा ‘ज्ञानदान’ गर्नुपर्ने बाध्यता छ । यथार्थको अर्को पाटोमा भने, यहाँका अल्पसंख्यक संस्था र केही व्यक्तिले आफ्नै बलबुतामा गरिरहेका अध्ययन र लेखन महत्त्वपूर्ण छन् । साथै, विश्वका विभिन्न राम्रा विश्वविद्यालयमा पुगेर तन्नेरी अध्येताले गरिरहेका खोजबिन उत्तिकै खँदिला छन् ।

कोही राणाकालको इतिहास उधिन्दै छ, कोही खोज्दै छ अरनिकोको यात्रा भने कोही नेपाली महिलाका संघर्षका ऊहापोह पहिल्याइरहेको छ । त्यसो त वैज्ञानिक र पर्यावरणीय खोजका विभिन्न क्षेत्रमा पनि सक्रिय छन् नेपाली अध्येताहरू । चटर्जीले पनि अनुमान लगाउँदै भने, ‘नेपालबारे अंग्रेजीमा लेखिएका सामग्री पढेको आधारमा पनि त्यहाँ गतिला काम भइरहेको अन्दाज गर्न सकिन्छ । मलाई लाग्छ, नेपाली भाषामा पनि काफी साहित्य लेखिएको हुनुपर्छ ।’

भारतीय आम मान्छेका भोगाइ अध्ययन गरेर सिद्धान्त नै निर्माण गर्न रणजित र पार्थ, दीपेश र सहिदलाई सम्भव भयो । दक्षिण एसियाली भनेर प्रसारित भए पनि सबाल्टर्न स्टडिज ग्रुपका मुख्य काम भारतकेन्द्रित थिए । उनीहरूका अधिकांश अध्ययनले भारतीय इतिहास र समाज विज्ञानमा भएका ‘एलिटिस्ट बायस’ लाई चुनौती दिए । सोही चुनौती दिने शोधका तकनिकी र शैली भारतइतरका धेरै समाज अध्ययन गर्न काम लाग्यो । त्यसरी नै नेपालीका भोगाइ र ऊहापोह पनि कुनै पश्चिमा सिद्धान्त प्रमाणित गर्ने सामल मात्र बन्ने थितिबाट अघि बढ्न सकिएला । हाम्रा सामूहिक भोगाइका आधारमा विभिन्न समाज वैज्ञानिक सिद्धान्त निर्मित होलान् र नेपालइतर समाज अध्ययन गर्न ती काम लाग्लान् ।

केही सातापहिले कलकत्तास्थित प्राध्यापक चटर्जीको कार्यालयमा भेट हुँदा उनी बंगाली भाषामा लेखिएको मोटो लिखत टेबलमा राखेर बसेका थिए । उनका अग्रज रणजित गुहाले पछिल्ला वर्ष बंगाली भाषामा मात्रै लेख्ने उद्घोष गरे र सोही अनुसार बंगाली किताब मात्र प्रकाशन गरे । आगामी मे महिनामा १०० वर्षका हुने उनै गुहाको सम्झना र सम्मानमा यही डिसेम्बरमा एउटा गोष्ठी आयोजनाको तयारीमा छन् चटर्जी र उनका साथीहरू । कलकत्ताको प्रेसिडेन्सी युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा सम्भवतः गुहाले अध्ययन, प्राध्यापन, लेखन र प्रकाशनका लागि गरेका साधना र संघर्षबारे विमर्श गरिनेछ ।

गुहाले आफ्नो सक्रिय प्राध्यापनकाल सन् १९६० देखि १९८० सम्म किन एउटै लेख वा किताब प्रकाशन गरेनन् र कुनै सम्मेलनमा पनि किन सहभागी भएनन् ? र जीवनको उत्तरार्द्धमा किन मातृभाषा मात्रमा केन्द्रित हुने निर्णय गरे ? यी विषयमा गरिने रोचक संवाद भारतइतरका समाज विज्ञान एवं साहित्यमा रुचि हुनेका लागि पक्कै गहकिला खुराक हुनेछन् । हरेक सफल प्राज्ञिक व्यक्तित्व वा संस्थाले भोगेका चुनौती, तिनले छिचोलेका अक्करिला बाटा नयाँ पुस्ताका लागि हौसलाका पोषण हुन् । गुहाको जीवनी होस् वा पार्थ चटर्जीसँगको संवाद, त्यस्तै हौसलाका प्रमाण हुन् ।

प्रकाशित : कार्तिक २५, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/11/11/16681313807243008.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai