तीन पुस्ताको रेडियो श्रवण
2021-10-18- यशोदा तिम्सिना
सूचनाप्रविधिले आफ्नो वर्चस्व कायम गरेका बेला सूचनाको जानकारी दिने पुरानो प्रविधि रेडियोको कुरा गर्नु समयसापेक्ष होइन कि जस्तो लाग्नसक्छ । तर, त्यसो होइन । यसै पनि पुराना प्रविधिलाई नयाँले विस्थापित गर्ने होइन, बरु समयसापेक्ष बनाउन प्रेरित गर्छन् । त्यस मानेमा रेडियो आजका घडीसम्म पनि उपयोगी, सस्तो र सशक्तमाध्यम हो अझ नेपालजस्तो भौगोलिक बनावट भएको र पछिल्लो सञ्चारप्रविधिमा पहुँचको मात्रा सीमित भएको अवस्थामा रेडियो अत्युत्तम माध्यम हो भन्न कन्जुस्याइँ गर्नुपर्दैन । यसै रेडियोका बारेमा जेठो, माइलो र कान्छो पुस्ताले सँगालेका अनुभव र अनुभूतिको सङ्ग्रह रेडियोसँग हुर्कदा हालै मार्टिन चौतारीले प्रकाशनमा ल्याएको छ ।
करिब ७५ वर्षअघि नेपालमा रेडियोको प्रवेश भएको सन्दर्भ पुस्तकमा पढ्न पाइन्छ । यसै मितिलाई आधार मानेर तीन पुस्तामा वर्गीकरण गरिएको रेडियोका श्रोताको संस्मरण रोचक छ । नेपालमा प्रवेशको प्रारम्भमा रेडियो सञ्चारसाधन कम, धनाढ्यहरुको 'सान' र 'सोख' को भाँडो बढी भएको कुरा अग्रजका संस्मरण पढेपछि प्रस्टिन्छ । उनीहरुले संसारमा भएका आश्चर्यमध्ये रेडियो पनि एक होला भन्ने हिसाबमा बुझेको कुरा लेखेका छन् । मध्यम पुस्ताका श्रोताले समेत पहिलोपटक यस बाकसमा कसरी मान्छे छिरे होलान् भनेर आफैँले आफैँलाई अनुत्तरित प्रश्न गरेको बालसुलभता प्रकट गरेका छन् । तर, समयक्रममा रेडियो कसरी उनीहरुको जीवनमा अभिन्न अङ्ग बन्न पुग्यो भन्ने कुरा पनि आफ्नो लेखमा समेटेका छन् ।
निश्चय नै, सुविधाभोगी कान्छो पुस्तालाई उल्लिखित प्रश्न गर्नुपर्ने जरुरी भएन । उनीहरुको यस साधनसम्मको पहुँच सुलभ छ । बरु प्रयोगका हिसाबले चाहिँ अपरिहार्य साधनका रुपमा उनीहरुले लिएका छन् । तर आज रेडियो सत्ताका 'कोप' भइरहेका बखत त्यसलाई यसरी छुटकारा दिलाउने भन्ने हुटहुटी पटिल्लो पुस्तामा नदेखिँदा रेडियोलाई माया गर्ने श्रोताको मन खिन्न हुनसक्छ ।
पुस्तक पढेपछि २००७ सालपछि स्थापित रेडियो नेपाल कसरी सत्ताको भजन गाउने साधनका रुपमा सीमित भयो भन्ने कुरा पनि प्रस्टिन्छ । सत्ता सञ्चालकको इच्छामा बज्ने त्यहाँका 'मङ्गलधुन' समेतले आजको घडीमा स्वच्छन्द हुन नपाएका पीडि लेखले इङ्गित गरेका छन् । एफएम प्रसारणले जनआवाजको प्रतिनिधित्व गर्दै जुर्मुराएका बखत सत्ताले त्यसलाई अङ्कुश लाउने दुष्प्रयास गरिरहेको छ भने रेडियो नेपाल पुरानै ढर्रामा आदेशका धुन बजाइरहेको छ ।
नेपाली जनजीवनका लागि रेडियो हरेक तरकारीमा मिसाएर पकाउन मिल्ने आलुजस्तै हो लाहुरेको काँधमा, भरियाको ढाकरमा, हलीको खतेबारीको डिलमा, गृहिणीले घर(पिँढीमा काम गर्दै सुन्न, सहरियाले प्रात: भ्रमणमा, कार्यालयमा, सवारीका साधनभित्र हरेक ठाउँमा फिट हुन्छ रेडियो । पुस्तकमा तीन जेठो,माइलो र कान्छो क्रमश: १६, २५ र २३ जना रेडियो श्रोता छन् । हरेक पुस्ताले एक युगको प्रतिनीधित्व गरेका छन् ।
तुलानात्कमक रूपमा पहिलो पुस्ता कालजयी छ, जसले त्यस समयदखि अहिलेसम्मको समय देखे, भोगेका छन्, जसमा सत्यमोहन जोशी, कमल दीक्षित, दुर्गाप्रसाद भण्डारी, रमेश विकल, अभि सुवेदी, खगेन्द्र सङ्ग्रौला, भुवन दुङ्गाना, मोदनाथ प्रश्रित, नोबलकिशोर राईलगायतका दिग्गज छन् । रेडियो सर्वसुलर्भ पनि नभइसकेको र अप्राप्य वस्तु पनि नरहेको पुस्ताको प्रतिनिधित्व गर्नेहरुमा वसन्त थापा, हेमबहादुर विष्ट, तुलसी भट्टराई, गोविन्दराज भट्टराई, श्यामल, रमण घिमिरे, केदार शर्मा, सुलोचना मानन्धर, दीपा गौतम, झलक सुवेदी, गुणराज लुइँटेल आदि छन् । यस्तै यत्रतत्र रेडियो देखेको कान्छो पुस्ताको प्रतिनिधित्व गर्नेहरुमा रघु मैनाली, धीरेन्द्र प्रेमषि, रमा पराजुली, रवीन्द्र मिश्र, भगीरथ योगी, बबिता बस्नेत, भाष्कर गौतम, हर्षमान महर्जन, कैलाश राईलगायत छन् ।
तीनपुस्ते नेपालीको रेडियोबारेको संस्मरणात्मक सँगोलो प्रस्तुत गरेर पुस्तकका सम्पादकद्धय शेखर पराजुली र प्रत्यूष वन्तले स्तुत्य काम गरेका छन् । केका आधारमा लेखकको छनोट गरियो भन्ने प्रश्न पाठकले गरे भने त्यसको जवाफचाहिँ पुस्तकमा पाइँदैन ।
स्रोतः नेपाल १३ कार्तिक २०६२