मनोविज्ञानको डिग्री किन ?

- उज्ज्वल प्रसाई | 2022-12-23

मानसिक स्वास्थ्य सम्बन्धी जटिलता बढिरहेका दाबी थुप्रै छन् । वैश्विक स्तरमा यस विषयमा अध्ययन–अनुसन्धानका उपक्रम वृद्धि भएका छन् । स्वास्थ्य क्षेत्रका व्यक्ति, संस्था र समूहले मानसिक स्वास्थ्यलाई विमर्शको मुख्य विषय बनाउन थालेका प्रशस्त उदाहरण छन् । नेपालमा यसबारे हुनुपर्नेजति गहकिला विमर्श भए–नभएको विज्ञहरूले बताउलान्; मानसिक स्वास्थ्य विषयमा नेपालकेन्द्रित प्राज्ञिक अनुसन्धानको संख्यामा कति फरक परेको छ, कुनै ठोस आँकडा फेला परेन ।

काठमाडौंका कलेजमा स्नातक तहमा मनोविज्ञान पढ्ने विद्यार्थीको संख्यालाई संकेत मान्ने हो र यो विषय पढ्न आउने विद्यार्थीले बताएका कारण सुन्ने हो भने, मानसिक स्वास्थ्य आम चासो बनेको अनुमान गर्न सकिन्छ ।

मानविकी संकाय अन्तर्गत राखिएको स्नातक तहको मनोविज्ञान विषयमा विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केही वर्षपहिलेसम्म जसरी सोसल वर्कमा आकर्षण बढेको थियो, करिब सोही अनुपातमा अहिले ‘साइकोलोजी’ पढ्नेको होड छ । मानविकी र समाज विज्ञान संकाय पढाउने निजी कलेजमा सोसल वर्क र साइकोलोजीबाहेक अरू विषय पढाउन लगभग छोडिएको छ । काठमाडौंका निजी कलेजका विद्यार्थी संख्या र यी संस्थामा पढाइ भइरहेका विषयलाई आधार मान्ने हो भने, मानविकीलाई थेगिदिने अब यिनै दुई विषय मात्र बाँकी रहेजस्तो देखिन्छ । त्रिविका आंगिक कलेज र सामुदायिक स्तरमा चलेका कलेजको स्थिति फरक हुन सक्छ ।

काठमाडौंको एउटा निजी कलेजमा विद्यार्थीहरूलाई सोसल वर्क, मनोविज्ञान, समाजशास्त्र, पत्रकारिता, ग्रामीण विकास लगायतका विषय रोज्ने अवसर दिइएको थियो । आएकामध्ये ७० प्रतिशतभन्दा बढी विद्यार्थीले मनोविज्ञान रोजे । यीमध्ये कतिपय विषय कसैको रोजाइमा पनि परेनन् । मनोविज्ञान रोजेका सबै विद्यार्थीलाई त्यसको कारणबारे सोधिएको थियो । अधिकांश विद्यार्थीले मानसिक स्वास्थ्यप्रति चासो बढेकाले नै मनोविज्ञान रोजेको भने । मानसिक स्वास्थ्यका समस्या भोग्ने मान्छे धेरै भएकाले तिनलाई सहयोग गर्ने उद्देश्यले मनोविज्ञानमा उच्च शिक्षा लिन चाहेको बताउनेको संख्या पनि उति नै थियो । साथै, उल्लेख्य संख्याका विद्यार्थी आफैंले मानसिक समस्या भोगेकाले यसबारे थप बुझ्न मन लागेर मनोविज्ञान पढ्न आएको बताए ।

मनोविज्ञान नयाँ विषय होइन । यसबारे विश्वविद्यालय स्तरमा अध्ययन हुन थालेको धेरै भयो । त्रिभुवन विश्वविद्यालयमा पनि मनोविज्ञान सम्बन्धी पढाइ हुन थालेको दशकौं बितिसकेको छ । साथै, साहित्य र संस्कृति अध्ययनमा समेत मनोविज्ञानलाई एउटा महत्त्वपूर्ण बौद्धिक चासोका रूपमा लिइन्छ । अंग्रेजी साहित्यका विद्यार्थीले सिग्मन्ड फ्रायड र कार्ल ह्युङ, ज्याक्स लकाँ र एरिक फर्म, गिल्स डेल्युज र फेलिक्स गुआट्टारीजस्ता विद्वान्का बौद्धिक विमर्शबाट मानवीय मनोलोक पर्गेल्ने कोसिस गर्छन् । साहित्य, समालोचना र दर्शनजस्ता विषयका कक्षाकोठामा मस्तिष्कीय उतारचढाव सधैं विमर्शयोग्य विषय मानिएको हो । तर, मानसिक स्वास्थ्य बुझ्ने र समाधान गर्ने चिन्ताले नै मनोविज्ञान रोज्नुले फरक संकेत गरेको हुन सक्छ । मनोविज्ञान सम्बन्धी पढाइ सुरु भएको धेरै समय बितिसकेपछि अहिले आएर यो यति ठूलो चासोको विषय बन्नुले पनि केही नयाँ प्रश्नहरू सतहमा ल्याएको छ ।

धेरै विद्यार्थीको चासोमा मनोविज्ञान पर्नुको कारण, विद्यार्थीले बताएझैं, मानसिक स्वास्थ्य सम्बन्धी चासोमा वृद्धि भएकैले हो ? वा, धेरै मान्छेले आफ्नो मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको महसुस गरेकाले हो ? के मानसिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा अघिल्तिर आएकैले मनोविज्ञानको समाज वैज्ञानिक अध्ययन आवश्यक ठहर्‍याइएको हो ? मानसिक स्वास्थ्य सम्बन्धी जटिलता बढेको अनुमानका आधारमा सोसँग सम्बन्धित काम गर्ने संस्था (गैसस ?) मा वृद्धि भएकाले रोजगारीको अवसर सृजित भएर हो ? अथवा, हिजो सोसल वर्क एक्कासि आकर्षक देखिएझैं, शिक्षा बजारले मनोविज्ञानलाई पनि उसै गरी ‘फेसनेबल’ बनाइदिएकाले हो ? यिनै वा यीभन्दा भिन्न अरू धेरै कारणको गठजोडले मनोविज्ञानमा विद्यार्थीको संख्या बढेको हुन सक्छ । यीमध्ये कुनै एक वा दुई कारण बढी प्रभावी भएकाले पनि मनोविज्ञानको उच्च शिक्षा अध्ययनमा वृद्धि भएको हुन सक्छ ।

उच्च शिक्षालाई चासोका साथ हेर्नेहरूले गरेका सतही अनुमानका आधारमा भन्दा २०७२ सालमा गएको महाभूकम्पपछि मानसिक स्वास्थ्य ठूलो चासोको विषय बनेको हो । भूकम्पले गरेको क्षति र निम्त्याएको त्रासदीका कारण धेरै मान्छेले मानसिक सास्ती भोगे । समस्या सतहमा आउन थालेपछि केही संस्थाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न जरुरी ठानेर विभिन्न परियोजना सञ्चालन गरे । सोही उपक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा रोजगारीका अवसर पनि खुले । यसैबीच, कोरोना महामारी अनेक त्रासदीको स्रोत बनेर आइपुग्यो । सामाजिक र आर्थिक समस्याहरूसँगै गुजुल्टो परेर मान्छेलाई बिथोल्न थाले । मानसिक स्वास्थ्यमा थप आघात पर्न थाल्यो । त्यसैले मनोविज्ञान बुझ्ने र आइपरेका समस्या सम्बोधन गर्ने चाहनामा वृद्धि भयो । त्यसो त हचुवामा मनोवैज्ञानिक परामर्शदाता बनेर समस्या भोगेका मान्छेलाई जथाभावी सल्लाह दिएका उदाहरण पनि नभेटिएका होइनन् ।

अर्को उस्तै सतही अनुमानले भन्छ- इन्टरनेटको पहुँचमा वृद्धि र पछिल्लो समय आम नेपालीमाझ चर्चित भएका फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक भनिने विद्युतीय सञ्जालका (दुष्)प्रभाव समेतले मनोवैज्ञानिक समस्या उत्पन्न गरेको छ । अचेल मोबाइल र कम्प्युटर सहर र सुगम ग्रामीण भेगका बालबालिकाको सहज पहुँचमा मात्र होइन, उनीहरूको शैक्षिक आवश्यकतासमेत बनेको छ । कोभिडकालमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने भएकाले पनि इन्टरनेट नभई नहुने भइदियो । कतिपय अभिभावकले आफ्ना बालबच्चा अलमल्याउने सबैभन्दा सहज उपाय नै हाते फोनलाई बनाएका छन् । काँचका पर्दामा सहजै फेला पर्ने श्रव्यदृश्य सामग्रीमा घण्टौं भुलेर बालबालिकाले सामान्य शारीरिक खेलकुद गर्न छोडेका उदाहरण हरेक घरमा भेटिन्छन् । त्यसैले बालबालिकासमेतमा मानसिक समस्या उत्पन्न हुन थालेको बताइन्छ । यिनै कारणले पनि मनोविज्ञानको अध्ययनमा चासो बढेको हुन सक्छ ।

समाज विज्ञानको एउटा हाँगोका रूपमा मनोविज्ञान विषय पढ्न चाहनेको संख्या बढ्दै गए शिक्षा क्षेत्रमा काम गरिरहेका प्राज्ञिक अनुसन्धाताले यसका कारणबारे थप खोजी गर्लान् । सतहमा देखिएका दृश्यका आधारमा अहिले नै केही विमर्श थाल्नु उचित हुन्छ । मानसिक स्वास्थ्य सम्बन्धी समस्या वृद्धि भएको मान्ने हो भने, अहिले सोध्नैपर्ने प्रश्नहरू यी हुन्- के हाल उच्च शिक्षाका रूपमा पढाइ भइरहेको मनोविज्ञान विषयले मानसिक स्वास्थ्यका समस्यालाई गहिराइमा बुझ्न, यस सम्बन्धी आमवृत्तमा छलफल चलाउन र समाधानको खोजी गर्न सघाउँछ ? मनोविज्ञानमा बी.ए. र एम.ए. पास गरेकाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा गर्ने काम केके हुन सक्छन् ? र, ती काम गर्न नेपालका कलेजमा भइरहेका उच्च शिक्षाको अध्ययन–अध्यापनले कतिको सक्षम जनशक्ति उत्पादन गर्छ ? क्लिनिकल साइकोलोजी अध्ययन गरेको जनशक्तिसँग अहिले त्रिविका कलेजमा बीए र एमए साइकोलोजी पढिरहेकाहरूले कस्ता काममा सहकार्य गर्न सक्छन् ? त्यस्ता सहकार्य भइरहेका छन् भने, ती केके हुन् र कसरी भइरहेका छन् ?

अहिले मनोविज्ञान पढ्न आएका विद्यार्थीहरू मात्रको बुझाइ सुन्दा लाग्छ, उनीहरू मानसिक स्वास्थ्यकै क्षेत्रमा बढी काम गर्न चाहन्छन् । मानसिक स्वास्थ्यका समस्या भोगेका मान्छेलाई सहज जीवनयापनका निम्ति सहयोग गर्न चाहन्छन् । मान्छेको मनोविज्ञान बुझ्ने, सो विषयमा प्राज्ञिक अध्ययन अघि बढाउने, र आम विमर्श सञ्चालन गर्नेभन्दा बढी सोझै मानसिक स्वास्थ्यका समस्यासँग जुझिरहेका मान्छेलाई नै आफ्नो मुख्य विषय मान्छन् । यो बुझाइ र अपेक्षा अनुसारको जनशक्ति बन्न अहिलेको अध्ययन कतिको भरपर्दो छ भन्ने प्रश्न पनि साथै जोडेर उठाउनु मनासिब हुनेछ । मानविकी अन्तर्गत मनोविज्ञान विभागमा अध्यापनरत शिक्षकहरूलाई यी प्रश्नबारे विमर्शका मुख्य सहभागी बनाउनु आवश्यक छ । जे र जस्ता विषयको जसरी अध्यापन भइरहेको छ, मानसिक स्वास्थ्यका क्षेत्रमा त्यसको के प्रभाव पर्ला ?

मानविकी र समाज विज्ञान सम्बन्धी उच्च शिक्षाले भोगेका संकट विविध छन् । दुनियाँका धेरै विश्वविद्यालयमा झैं नेपालका उच्च शिक्षा संस्थानका यी संकायमा विद्यार्थीको संख्या दिन–प्रतिदिन घटिरहेको छ । कहिले ग्रामीण विकास नयाँ आकर्षण लिएर आउने र विद्यार्थी बटुल्ने अनि अर्को समयमा सोसल वर्कका नाममा बजारमा टिक्ने उपक्रम चलेको धेरै भयो । त्यसो त अंग्रेजी साहित्य, समाजशास्त्र र मानवशास्त्रसमेत कुनै समय अत्यन्त आकर्षक विषय मानिन्थे, अहिले यी सबै ओझेलमा छन् । इतिहास र राजनीतिशास्त्रजस्ता विभाग धेरैको रोजाइमा पर्न सकेनन् भन्ने गुनासा सधैंझैं अहिले पनि छँदै छन् । समाज विज्ञानका केही आधारभूत विषयमा अध्ययन–अध्यापन गराउन आवश्यक छ भनेर प्रयास गर्ने कलेज सञ्चालकले अहिले भने ‘साइकोलोजीबाहेक अरू केही चल्दैनन्’ भन्न थालेका छन् ।

रोजगारीका अवसर मात्रले यस विषयमा आकर्षण बढेको नभई विद्यार्थी स्वयंले दाबी गरेझैं मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा भएको वृद्धि नै मुख्य कारण हो भने, यस विषयका धेरै आयाम सोच्नयोग्य छन् । शिक्षा र स्वास्थ्य क्षेत्रका सरोकारवालाको नेतृत्वमा यी विषयबारे आम विमर्श सञ्चालन हुनु उचित र उपयोगी हुनेछ । बिर्सन नहुने एउटा यथार्थ छ, शिक्षा बजारका सिद्धहस्त पसल सञ्चालकले सोझो आर्थिक लाभ हुने विषयबाहेक अन्य जरुरी प्रश्नमा आम विमर्श सञ्चालन गर्दैनन्; यसको जिम्मा अरूले नै लिनुपर्नेछ । सुरुआत सञ्चारमाध्यमले गहकिला रिपोर्टिङमार्फत गर्न सक्लान् ।

प्रकाशित : पुस ८, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/12/23/167175946061183496.html


About the Author

More Blogs