Martin Chautari. 2018. Bibliography of late Baburam Acharya’s Writings. [version 1; 9 March]. First published at this site.
बाबुराम आचार्य र उनका रचना सम्बन्धी सन्दर्भसूची
बाबुराम आचार्य नेपालको इतिहासको विशद र गहन अध्ययन गर्ने पहिलो पुस्ताका मूर्धन्य इतिहासकार हुन् । उनको योगदानलाई कदर गर्दै नेपाल सरकारले उनलाई इतिहास-शिरोमणि उपाधिले पनि विभूषित गरेको थियो । आजभन्दा १३० वर्षअघि (२९ फागुन १९४४ मा) काठमाडौंमा जन्मिएका बाबुरामले पहिले रानीपोखरी पाठशालामा र पछि बनारस गइ औपचारिक अध्ययन गरेका थिए । शुरूमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहकहाँ र पछि सरकारी कार्यालय (स्कूल गोश्वारा) मा उनले लामो समय काम गरेका थिए । जीवनको उत्तरार्धमा आँखा नदेख्ने हुँदा पनि उनको इतिहास-लेखन रोकिएको थिएन । ८५ वर्षको उमेरमा (२१ भदौ २०२९) मा देहत्याग गरेका बाबुरामका थुप्रै छोटा-लामा लेखहरू विभिन्न ठाउँमा प्रकाशित छन् । बाबुरामको मृत्युको केही महिनापछि तत्कालीन नेपाल र एशियाली अध्ययन संस्थान (हाल नेपाल र एशियाली अनुसन्धान केन्द्र) ले बाबुराम आचार्य र उहाँका कृति नामक पुस्तक प्रकाशन गरेको थियो । यो पुस्तकमा साकेत विहारी ठाकुर (२०२९) ले बाबुरामका १३३ ओटा सामग्रीको विवरणात्मक सूची (एनोटेडेड बिब्लियोग्राफी) संकलन गरेका छन् । बाबुरामको शतवार्षिक समारोह मनाउने क्रममा निकालिएको बाबुराम आचार्य स्मृतिग्रन्थमा पनि बाबुराम र उनीबारे लेखिएका सामग्रीको विवरण दिइएको छ (नाम नखुलेको २०४६) । पहिलोभन्दा पछिल्लो सूचीमा धेरै सामग्रीको विवरण भए तापनि पहिलोमा ती सामग्रीबारे संक्षिप्त जानकारी समेत दिइएकाले हामीले ती दुवै सन्दर्भ सामग्रीको पीडीएफ यहाँ दिएका छौं । २०४६ सालयता बाबुरामका अन्य कृति पुस्तकाकार रूपमा पनि छापिएका छन् र तिनको छुट्टै सूची बनाउनु पर्नेछ, जुन हामीले आउँदा दिनमा बनाउने विचार गरेका छौं । सो सूची तयार भएपछि त्यसलाई पनि यहाँ उपलब्ध गराइने छ ।
ठाकुर, साकेत विहारी । २०२९ । इ. शि. बाबुराम आचार्यका कृतिहरूको विवरणात्मक सूचीपत्र । बाबुराम आचार्य र उहाँका कृति । प्रयागराज शर्मा, संयोजक, पृ. १०७–१४८ । काठमाडौं : नेपाल र एशियाली अध्ययन संस्थान । *
नाम नखुलेको । २०४६ । बाबुराम आचार्य सम्बन्धी प्रकाशित लेख-रचना र अन्तर्वार्ताहरू/बाबुराम आचार्यका प्रकाशित लेख-रचनाहरू/ बाबुराम आचार्यका केही अप्रकाशित लेख-रचनाहरू । बाबुराम आचार्य स्मृतिग्रन्थ । कृष्णचन्द्रसिंह प्रधान, ज्ञानमणि नेपाल, गोविन्द टण्डन, माधव भट्टराई र श्रीकृष्ण आचार्य, सं. पृ. ३७५–३८४ । काठमाडौं : इतिहास-शिरोमणि बाबुराम आचार्य शतवार्षिक समारोह समिति । *
* Available to download