पर्दाभित्रको प्राज्ञिक कसरत

- देवराज हुमागाईं | 2021-09-24

देवराज हुमागाईं

जर्नल सम्पादनमा लागेर कुनै तक्मा वा पुरस्कार पाइने होइन। पाइँदो हो त झन्डै २५ वर्षसम्म जर्नल सम्पादनमा चुर्लुम्म डुबेर काम गर्ने सिन्हास जर्नलका सम्पादक प्रत्यूष वन्त हुन् वा बागलुङ जस्तो ठाउँमा बसेर धौलागिरि जर्नल अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजीको १४ वर्षदेखि सम्पादन गर्दै आएका मानबहादुर खत्री जस्ता धेरै जर्नल सम्पादकका छातीभरि तक्मा झुन्डिएका हुन्थे।

जर्नल व्यवस्थापन कार्यशालामा सहभागी हुन इच्छुकलाई नाम दर्ताका लागि आह्वान गर्दै मार्टिन चौतारीको वेबसाइटमा सूचना प्रकाशित छ। जर्नल चलाउन चाहने तथा भर्खरै मात्र यसमा लागेका प्राज्ञिक समूहप्रति यो कार्यशाला लक्षित छ। यसमा जर्नल चलाउन आवश्यक तयारी, जर्नल सुरु गरेपछिका सम्पादकीय प्रक्रिया, सम्भावना र चुनौती आदिबारे अनुभवमा आधारित छलफल हुन्छ। प्राज्ञिक कर्ममा लागेका कतिपय व्यक्ति वा समूह जर्नल चलाउने ‘तन्नेरी जोस’साथ यसबारे हाम्रो अनुभवबाट ‘केही सिक्न’ बेलाबेलामा मार्टिन चौतारीमा आउने गर्छन्।

विभिन्न प्राज्ञिक संस्थामा आबद्ध व्यक्तिले पनि यस विषयमा चासो व्यक्त गर्दै कार्यक्रम गर्न आग्रह भएपछि केही तयारीसहित यो कार्यशाला गर्न लागिएको हो। यसअघि नै पोखरास्थित पृथ्वीनारायण क्याम्पसअन्तर्गतको शिक्षाशास्त्र विभाग र मार्टिन चौतारीको संयुक्त आयोजनामा २०७४ साउनमा यस्तै दुईदिने कार्यशाला सञ्चालन गरिएको थियो। सो क्याम्पसका अन्य विभाग एवं पोखरा आसपासका अरू केही क्याम्पसका सहभागी पनि उक्त कार्यशालामा उपस्थित थिए। तीमध्ये कोही जर्नल चलाइरहेकै थिए भने कोही सुरु गर्ने तरखरमा थिए।

जर्नलप्रति चासो राखेर कार्यशालामा सहभागी हुने वा भेट्न आउनेहरूको जिज्ञासा हुने गरेको छ— जर्नल के हो ? जर्नलमा कस्ताकस्ता सामग्री छाप्ने ? जर्नल सम्पादन कसरी गर्ने ? पियर रिभ्यु किन र कसरी गर्ने ? सन्दर्भ सामग्री प्रयोग (रेफरेन्सिङ)का लागि कुन शैली उपयुक्त छ ? यसका लक्षित पाठक को हुन् र बजारीकरण कसरी गर्ने ? आर्थिक स्रोत कसरी जुटाउने ? जर्नल प्रकाशनका सन्दर्भमा लिनुपर्ने आधारभूत जानकारी पनि यिनै हुन्।

यस लेखले यीमध्ये केही जिज्ञासाको उत्तर दिने प्रयत्न गर्छ। यसका लागि मैले कुनै गहिरो अध्ययन गरेको होइन, बरु यो मैले काम गर्ने संस्था मार्टिन चौतारीमा रहेर करिब १३ वर्ष नेपाली भाषाको वार्षिक जर्नल (पहिलेको मिडिया अध्ययन तर ११औं अंकदेखि समाज अध्ययनमा रूपान्तरण गरिएको)मा सम्पादकीय भूमिका निर्वाह गर्दाको अनुभवमा आधारित छ। साथै मार्टिन चौतारीका सहकर्मीबीच भएका दैनन्दिनका अन्तक्र्रियाको प्रतिफल पनि हो, यो आलेख।

त्यसो त जर्नलको सम्पादक तयार पार्न भनेर कहीँ पढाइ हुँदैन र औपचारिक तालिम पनि दिइँदैन। यो त लामो अभ्यास र सहकार्यद्वारा नै एकबाट अर्कोमा हस्तान्तरण हुँदै जाने सीप हो। उल्लिखित कार्यशाला त यस क्षेत्रमा अनुभव हासिल गरेका व्यक्ति र समूहसँग बसेर यसमा लाग्न चाहनेहरूले जर्नलको सम्पादन र व्यवस्थापनबारे माथि दिइएजस्तै आफ्ना जिज्ञासा शान्त पार्ने एउटा अवसर मात्र हो। अन्यथा एक दिन त के एक हप्ताकै कार्यशालाले पनि यससम्बन्धी पर्याप्त सीप हासिल हुँदैन। सुरुसुरुमा आफूले लेखेका अनुसन्धानमूलक लेख जर्नलमा कार्यरत वा अनुसन्धानको लामो अनुभव भएका आफ्ना अग्रजलाई देखाइन्छ।

उनीहरूबाट पाइने सुझावअनुरूप लेखन, पुनर्लेखन र परिमार्जनको प्रक्रियामा होमिएपछि अग्रजहरूबाट सम्पादनको सीप बिस्तारै हस्तान्तरण हुँदै जान्छ। सँगसँगै आफ्ना साथी र सहकर्मीको लेख सामूहिक रूपमा पढ्ने र एकअर्कालाई सुझाव दिने प्रक्रियाले पनि सम्पादकीय सीप तिखार्दै लैजान मद्दत गर्छ।

यद्यपि हामीकहाँ यस कर्ममा लागेकाहरूले आफूले गरिरहेकै अभ्यासबारे सार्वजनिक रूपमा बोल्ने र लेख्ने गरेको बिरलै पाइन्छ। फलस्वरूप यसबारे बहस गर्ने वा एकअर्काबाट सिक्ने, बुझ्ने र परिष्कृत गर्दै लैजाने काम हुन सकेको छैन। हामीकहाँ विश्वविद्यालयमा समेत स्नातकोत्तर तहसम्म पुग्दा यसबारे लगभग छलफल नै हुँदैन। त्यसैले हाम्रा विश्वविद्यालयका धेरैजसो विद्यार्थीले जर्नलबारे त्यतिखेर मात्र राम्ररी चाल पाउँछन् जब विद्यावारिधिमा भर्ना पाउन वा विश्वविद्यालयमा शिक्षण वा अनुसन्धानको क्षेत्रमा जागिर खान आवेदन दिने बेलामा उनीहरूसँग जर्नलमा प्रकाशित लेखको सूची मागिन्छ।

जर्नल के हो ?

जर्नलको प्रकाशन प्राज्ञिक पूर्वाधार निर्माणको एक महत्वपूर्ण कडी हो। जर्नलले कुनै अनुसन्धानकर्ताले निश्चित विषयमा गरेको अनुसन्धानमूलक लेखनलाई आफूले निर्धारण गरेको स्तरीय ढाँचामा पाठकसामु ल्याउँछ। निश्चित विषयमा अनुसन्धानरत व्यक्तिहरूबीच प्राज्ञिक बहसको मञ्च उपलब्ध गराएर यसले विधागत ज्ञान निर्माण र प्रसारमा योगदान दिन्छ। अर्कातिर प्राज्ञिक कर्ममै आफ्नो भविष्य खोज्ने र खुट्किला चढ्न चाहनेलाई जर्नलमा लेख प्रकाशन गर्नु भनेको निकै महत्वपूर्ण अवसर हो। त्यसैले नेपालमै पनि जर्नलमा लेख छपाउन चाहनेको जमात जसरी बढ्दै गएको छ, जर्नल प्रकाशनको क्रम पनि उस्तै गरी बढोत्तरी हुँदै छ।

नेपालमा कति थरी जर्नल प्रकाशन हुन्छन् भन्ने पछिल्लो आधिकारिक आँकडा उपलब्ध छैन। सन् २०११ मा अनुसन्धाता प्रत्यूष वन्तद्वारा गरिएको एक अध्ययनअनुसार त्यति बेलासम्म मानविकी तथा समाज विज्ञान विधामा प्रकाशित जर्नलको संख्या कम्तीमा १२९ थियो।

त्यसभन्दा पछि थपिएका तथा अन्य विधा समेतका लाई पनि जोड्ने हो भने यो संख्या निकै बढ्छ। यद्यपि नियमितता र निरन्तरताको अवस्था भने दयनीय नै छ। वन्तका अनुसार प्रकाशन कर्ममा विश्वविद्यालयभित्रका विभिन्न विभाग, प्राज्ञिक गैरसरकारी संस्था, निजी प्रकाशक, विभिन्न पेसागत संस्था, सरकार मातहतका कतिपय निकाय तथा केही राजनीतिक दलका प्राज्ञिक एकाइ संलग्न छन्।

सामान्य भाषामा भन्नुपर्दा जर्नल भनेको अनुसन्धानमूलक केही लामा लेख/सामग्री संकलन गरी निकालिने आवधिक प्रकाशन हो। म्यागेजिनजस्तै आवधिक रूपमा निस्कने भए पनि यी दुईमा निकै भिन्नता हुन्छ। म्यागेजिनमा छापिने लेखको तुलनामा जर्नलमा प्रकाशन गरिने लेख केही लामा, नवीन खोजमा आधारित, प्राज्ञिक क्षेत्रका पाठकप्रति लक्षित र सम्बन्धित विषयमा उपलब्ध अन्य अध्ययन सामग्री पनि उल्लेख गर्दै निश्चित शैली अपनाएर स्रोत खुलाइएको हुन्छ।

त्यसैले, जर्नलमा लेख लेख्नका लागि अनुसन्धानद्वारा प्राप्त नयाँ तथ्य-तथ्यांकको आवश्यकता त पर्छ नै, सम्बन्धित विषयमा उपलब्ध अन्य विद्वान्का सामग्री अध्ययन गरी तीसँग आफ्ना तथ्य, तर्क वा निष्कर्षलाई तुलना गर्ने वा भिडाउने एवं त्यसरी प्रयुक्त सामग्रीको स्रोत खुलाउने सीप पनि हुनु जरुरी छ। सामान्य संरचनाका रूपमा जर्नल वा कुनै पनि अनुसन्धानमूलक लेखमा परिचय, अनुसन्धानबाट प्राप्त तथ्यांक प्रस्तुति, विश्लेषण र निष्कर्ष हुन्छ। साथै, जर्नलको लेखले पादटिप्पणी (फुटनोट) वा पुच्छर टिप्पणी (इन्डनोट), साइटेसन र सन्दर्भ सूची निश्चित ढाँचामा माग गर्छ जुन ढाँचा म्यागेजिनले माग्दैन।

जर्नलमा सामान्यतया अनुसन्धानमूलक लेखका अतिरिक्त पुस्तक समीक्षालाई पनि ठाउँ दिइन्छ। कतिपयले टिप्पणी, साहित्य समीक्षा (निश्चित विषयमा लेखिएका धेरै पाठ्य सामग्रीको समीक्षा), अन्तर्वार्ता, अभिलेख पनि जर्नलमा राख्ने गर्छन्। मार्टिन चौतारीका समाज अध्ययन र स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) दुवै जर्नलमा पनि यी सबै किसिमका सामग्रीले स्थान पाउँछन्। यद्यपि जर्नलको अधिकांश भाग अनुसन्धानमूलक लेखले नै ओगटेका हुन्छन्। जर्नलमा हरेक अंकमा सम्पादकीय अनिवार्य हुँदैन। कुनै विशेष सन्दर्भबारे जर्नलको कुनै अंक केन्द्रित छ र सम्पादकले केही प्रस्ट्याउनु वा आफ्नो धारणा व्यक्त गर्नुपर्ने भए सम्पादकीय लेखिन्छ।

प्राज्ञिक जगत्मास्रोत सामग्री खुलाउने र सन्दर्भ सूची (बिब्लियोग्राफी) बनाउने विभिन्न शैली हुन्छन्। जर्नलको सम्पादकीय समूह वा प्रकाशकले एकरूपताका लागि आफ्नो प्रकाशनमा एउटा निश्चित शैली वा विधि अपनाएका हुन्छन्। छोटकरीमा एपीए (अमेरिकन साइकोलोजिकल एसोसिएसन), एमएलए (मोडर्न ल्यांग्वेज एसोसिएसन) भनिने विधि धेरै प्रयोगमा आएका विधि हुन्। यी दुई शैलीलाई परिष्कृत गरी विभिन्न विश्वविद्यालय वा अनुसन्धान केन्द्रले आआफ्नै शैली पनि बनाएका छन्। मार्टिन चौतारीको पनि आफ्नै शैली छ। यसर्थ जर्नल भन्नेबित्तिकै सन्दर्भ उल्लेख गर्ने शैली (रेफरेन्सिङ स्टाइल) पनि जोडिएर आउने गर्छ।

सम्पादकीय प्रक्रिया

सम्पादन भन्नासाथ कैंची लिएर कुर्सीमा बसेको मानव चित्र धेरैको दिमागमा आउँछ। लेखमा ‘कैंची चलाउने’बाहेक भाषा वा हिज्जे मिलाइदिने भन्ने अर्थमा सम्पादकीय कर्मलाई अधिकांश रूपमा बुझ्ने गरिन्छ। यो बुझाइ गलत नभए पनि अपूर्णचाहिँ हो। समग्रमा जर्नलका सम्बन्धमा सम्पादकीय कर्म लेखकको काममा ‘भ्यालु एड’ (गुणस्तर अभिवृद्धि) गर्ने प्रक्रिया हो। यो एक व्यक्तिले मात्र नभई सामूहिक रूपमा आपसी सहकार्यद्वारा गरिने अभ्यास हो। जसमा सम्पादक, पियर रिभ्युअर (समीक्षक), भाषा सम्पादक, प्रुफ रिडरले आआफ्नो स्थानबाट भूमिका निर्वाह गरेका हुन्छन्। जर्नलको सम्पादकीय कर्मभित्र विभिन्न चरण हुन्छन्। ती यसप्रकार छन् :

पहिलो चरणमा आफ्नो जर्नलको दायराभित्र पर्ने लेख/सामग्री जुटाउन सम्पादकहरू लागिपर्छन्। त्यस क्रममा लेख/सामग्री बुझाउन निश्चित मिति तोकेर सार्वजनिक आह्वान गर्नेदेखि सम्भाव्य लेखकहरूको सूची तयार पार्ने र व्यक्तिगत रूपमा अनुरोध गर्ने गरिन्छ। विषयवस्तुको दायरा, सामग्रीको प्रकृतिअनुसार सामान्य ढाँचा, शब्द सीमा, निश्चित अंकका लागि लेख आइपुग्नुपर्ने मिति (डेडलाइन), रेफरेन्सको शैली तथा टाइप गरी पठाउने सामग्री हो भने प्रयोग हुने फन्ट, लेआउट, सामग्री बुझाउने तरिका र ठेगाना आदि प्राविधिक पक्ष समेतबारे लेखकलाई जानकारी गराइन्छ। कतिपय जर्नलले यी सबै पक्ष समेटेर सम्पादकीय निर्देशिका नै बनाएका हुन्छन्। यसले लेखकलाई एउटा बाटो देखाइदिन्छ। सामान्यतया कम्तीमा ५-६ महिनाको ‘भाखा’ राखेर लेख आह्वान गरिन्छ। सुरुमा एकपटक भनेकै भरमा मात्र समयमा लेख प्राप्त नहुने हुँदा लेखकलाई बेला बेलामा सम्झाइरहनुपर्ने हुन्छ।

दोस्रो चरणअन्तर्गत प्राप्त लेख/सामग्री सम्पादकीय समूहका एक दुई सदस्यले पढ्छन् र उक्त सामग्री विषयवस्तु वा प्रकृति र लम्बाइका हिसाबले जर्नलले माग गरेअनुसार भए नभएको, नवीन कार्य भए नभएको ठम्याउँछन्। एक पाठकका रूपमा सम्पादकले सामग्री पढ्दा लेखकले आफूले प्रस्तुत गर्न खोजेको विषयवस्तुलाई प्रस्टसाथ बुझाउन सक्यो वा सकेन भन्ने पनि हेरिन्छ।

यी कोणबाट हेर्दा लेख पियर रिभ्युका लागि तयार भएको लागे अगाडि बढाइन्छ। होइन भने प्राप्त मस्यौदा हेरेको सम्पादकले नै आवश्यक सुझाव दिएर पुनर्लेखन गरी निश्चित मितिभित्र पेस गर्न अनुरोध गर्छ। कतिपय लेखकले जर्नलमा लेख प्रस्तुत गर्नुअगावै आफ्ना साथी, सहकर्मीहरूलाई पढ्न दिन्छन्। एक पाठकको आँखाबाट ती सहकर्मीले हेर्दा लेखले दिन खोजेको सन्देश प्रस्ट भए नभएको, पाठकलाई विषयवस्तुले तान्न सके नसकेको र लेख पढेर कुनै नयाँ कुरा जाने नजानेको तिनले बताउन सक्छन्। यो आफ्नो लेख जर्नलका सम्पादकद्वारा सुरुमै अस्वीकृत नहोस् भनेर अपनाइने ‘चलाखी’ पनि हो।

तेस्रो चरणमा लेखलाई पियर रिभ्यु (समीक्षा) गराइन्छ। अनुसन्धानमूलक लेखबाहेक अन्य सामग्री पनि जर्नलमा समेट्ने गरिएको छ भने सामान्यतया तिनको पियर रिभ्यु हुँदैन। सम्पादकीय समूहले नै त्यो स्वीकार गर्ने, अस्वीकार गर्ने वा आवश्यक परिमार्जन गराएर मात्र प्रकाशन गर्ने निर्णय लिन्छन्। अनुसन्धानमूलक लेख हो भने त्यसको पियर रिभ्यु हुन्छ। सामान्यतया प्राज्ञिक अनुसन्धानमा लागेका व्यक्ति वा

सम्बन्धित विषय विज्ञलाई लेखको समीक्षा गरिदिन अनुरोध गरिन्छ। यद्यपि धेरैले ठान्ने गरेजस्तो पियर रिभ्यु गर्न निकै उच्चस्तरको विज्ञता नभई नहुने भने होइन। सम्बन्धित विषयमा रुचि राख्ने सम्पादकमध्येकै एक वा दुई सदस्य तथा प्राज्ञिक अनुसन्धानमा रुचि राख्ने एक सचेत पाठक नै पनि समीक्षक हुन सक्छन्।

पियर रिभ्युका क्रममा समीक्षकले मुख्यतः लेखले उठाएको विषयवस्तुले त्यस विषय वा विधाको ज्ञान निर्माणमा कुनै योगदान पुर्‍याए नपुर्‍याएको, प्रस्तुत गरिएका तर्कलाई तथ्य/प्रमाणद्वारा पुष्टि गरिए नगरिएको जाँच गर्छन्। त्यस्तै, अनुसन्धान विधिमा कुनै खोट भए नभएको, सम्बन्धित विधामा पूर्वप्रकाशित साहित्यबारे लेखक जानकार रहे नरहेको र प्रस्तुति प्रस्ट भए नभएको विषयलाई पनि समीक्षाको तराजुमा राखिन्छ। त्यही आधारमा समीक्षकले लेख प्रकाशनयोग्य भए नभएको वा के कसरी परिमार्जन गरी छाप्न सकिन्छ भन्नेबारे सिफारिस गर्छन्। कतिपय जर्नलले पियर रिभ्युका लागि निर्देशिका पनि बनाएका हुन्छन्। सो निर्देशिकामा समीक्षकले के के कुरा जाँच्ने, केलाई कति महत्व दिनेदेखि आफ्नो सिफारिस कसरी सम्पादकीय समूहलाई उपलब्ध गराउने भन्नेसम्मको विवरण हुन्छ।

पियर रिभ्यु प्रक्रियामा ‘सिंगल ब्लाइन्ड’ वा ‘डबल ब्लाइन्ड’ शब्दावली प्रचलित छ। यो भनेको लेखक र समीक्षकलाई एकअर्काको परिचय खुलाउने वा नखुलाउने विषय हो। लेखकलाई समीक्षकको नाम नभन्ने तर समीक्षकलाई लेखकको नामसमेत राखेर लेख पढ्न दिने हो भने सिंगल ब्लाइन्ड र दुवैलाई दुवैको नाम गोप्य राख्ने हो भने डबल ब्लाइन्ड रिभ्यु भनिन्छ। खासगरी समीक्षाका क्रममा एकअर्काको परिचयले कुनै किसिमको प्रभाव पर्न सक्छ र निष्पक्ष समीक्षा नहुन सक्छ भन्ने लागेमा यो विधि अपनाइन्छ। अन्यथा, परिचय खुलाउनु कुनै आपत्तिको विषय हुँदैन।

चौथो चरणको काम हो लेखकलाई सुझाव र परिमार्जित मस्यौदा प्राप्ति। सम्पादक समूहले आफ्ना र समीक्षकका सुझाव तथा टिप्पणी एकीकृत गरी सम्पादकीय निर्णयसहित लेखकलाई खबर गर्छन्। समीक्षकको सिफारिसका आधारमा लेख प्रकाशन नै गर्न नमिल्ने भएमा अस्वीकार गरिएको खबर लेखकलाई दिइन्छ। परिमार्जन आवश्यक छैन र प्रकाशनयोग्य छ भने स्वीकार गरिएको बताइन्छ र सामान्य वा प्रशस्त परिमार्जन आवश्यक भए सोहीअनुसार गरी पुनः पेस गर्न अनुरोध गरिन्छ।

लेख परिमार्जन गरी बुझाएपछि पहिले दिइएको सुझावअनुसार काम भए नभएको जाँच गरिन्छ। साथै, परिमार्जित मस्यौदा पढ्दा कुनै नयाँ सुझाव वा टिप्पणी भए त्यो पनि लेखकलाई दिइन्छ र प्रकाशनयोग्य नहुन्जेल पुनः परिमार्जन गर्न लगाइन्छ। धेरै नै परिमार्जन गरिएको लेख हो भने आवश्यकताअनुसार पहिलेकै समीक्षकलाई वा नयाँ समीक्षकसमेत खोजेर पुनः समीक्षा गराइन्छ। सम्पादक वा समीक्षकको टिप्पणीमा लेखकको कुनै असहमति वा प्रश्न भए सो राख्न पनि भनिन्छ। लेखकले पनि आफ्नो लेखको उद्देश्यअनुसार कुन टिप्पणी वा सुझाव सान्दर्भिक वा औचित्यपूर्ण छ र कुन छैन भनेर छुट्याउन सक्छन्। त्यसैले लेखमाथि गरिएका सबै टिप्पणी वा सुझाव अक्षरशः पालना गर्नैपर्छ भन्ने पनि हुँदैन। यद्यपि त्यो किन सान्दर्भिक छैन भन्ने कुरा भने लेखकले प्रस्ट्याउनुपर्छ।

पाँचौं तथा अन्तिम चरणमा प्रकाशनका लागि योग्य ठहर्‍याइएको सामग्रीमा प्रस्तुतिलाई आकर्षित पार्न लेखको संरचना चुस्त बनाउने, भाषागत सम्पादन गर्ने, रेफरेन्सिङको तरिका मिलाउने, आवश्यकताअनुसार तस्बिर, चित्र, आदि राख्न वा थपघट गर्न लगाउने र मिलाउने, प्रुफ हेर्ने जस्ता काम गरिन्छ। अनि बल्ल जर्नलको आकारमा लेआउट गरी लेखकलाई अन्तिम पटक देखाएर प्रेसमा पठाइन्छ।

यसरी हेर्दा ‘पियर रिभ्युड’ जर्नलको मर्मअनुसार लेखकको काममा राम्रैसँग गुणस्तर अभिवृद्धि गरी प्राज्ञिक समुदायमा पस्किने हिसाबले काम गर्ने हो भने जर्नल सम्पादन प्रक्रिया निकै लामो र परिश्रमपूर्ण कार्य हो। यद्यपि केवल उपस्थितिका लागि मात्र जर्नल प्रकाशन गर्ने प्रचलन नेपालमा मात्र होइन, बाहिर पनि छ्याप्छ्याप्ती देख्न सकिन्छ। तिनले लेखकले पठाएका सामग्रीलाई सामान्य रूपमा सम्पादन गरी वा कतिपयले तथ्यगत तथा हिज्जेको त्रुटिसमेत नहेरी हतारमा जर्नल निकाल्ने गरेको पाइन्छ। यस्तो अभ्यासले जर्नल प्रकाशन जस्तो गहन प्राज्ञिक कर्मलाई निकै हल्का तुल्याइदिएको छ।

सम्पादकीय चुनौती

प्राज्ञिक अनुसन्धानको क्षेत्रमा निकै पछाडि रहेको हाम्रोजस्तो देशमा जर्नल प्रकाशन गर्नु र त्यसलाई निरन्तरता दिनु आफैंमा एक चुनौतीपूर्ण काम हो। राज्य वा सम्बन्धित निकायको उपेक्षा, आर्थिक प्रोत्साहन र अन्य उत्प्रेरणाको अभाव, निरन्तर रूपले लगनशील भई काम गर्ने सम्पादकीय समूह निर्माणका कठिनाइ जस्ता पक्षलाई बिर्सने हो भने पनि जर्नल चलाउनका लागि पर्याप्त सामग्रीको अभाव नै मुख्य व्यवधान हो। उदाहरणका रूपमा ३०० पृष्ठ हाराहारीको समाज अध्ययनमा अनुसन्धानमूलक लेखबाहेक माथि भनिएझैं अन्य सामग्री पनि समावेश गरिन्छ। तैपनि एउटा अंकका लागि औसत ६-७ हजार शब्दका कम्तीमा ५-६ वटा अनुसन्धानमूलक लेख त चाहिन्छ नै। एक वर्षमा त्यति मात्रामा लेख जुटाउनु नै कठिन हुने गरेको छ।

अंग्रेजीमा निस्कने सिन्हासको सन्दर्भमा लेख प्राप्त गर्न तुलनात्मक रूपले थोरै बढी सहज छ। किनकि नेपाली भाषाको तुलनामा अंग्रेजीमा लेख लेख्ने व्यक्ति नेपालभित्रै पनि केही बढी छन्। त्यसमाथि अझ विदेशी प्राज्ञहरू पनि यसको सम्पादकीय समूहमा रहेका कारण उनीहरूको सञ्जाल तथा नेपालबारे अनुसन्धान गर्ने विदेशीले पनि यसमा अंग्रेजीमा लेख्न सक्छन्। र, यो जर्नल नेपाल अध्ययन गर्नेहरूका लागि निकै स्थापित नाम पनि हो। यति हुँदाहुँदै पनि पर्याप्त मात्रामा लेख प्राप्त गर्न यो जर्नललाई पनि सहज छैन।

यहाँ लेखको प्राप्ति भन्नाले माथि भनिएका सम्पादकीय प्रक्रिया पूरा गरी प्रकाशनको चरणसम्म पुर्‍याउन तत्पर हुने गरी लेख आउँछन् या आउँदैनन् भन्ने सन्दर्भ पनि जोड्न खोजिएको हो। नेपालको सन्दर्भमा जर्नलमा लेख्नुलाई एक थरीले निकै हल्का ढंगले बुझेका छन्, जो निश्चित पेज संख्या पुर्‍याएर पेस गरिदिएपछि सम्पादकले मिलाएर छापिदिइहाल्छन् भन्ने सोच्छन्। माथि भनिएझैं धेरै जर्नल त्यसैगरी निस्किएकै पनि छन्। यस श्रेणीमा पर्नेहरू पनि कोहीचाहिँ सम्पादकीय प्रक्रियाबारे अनभिज्ञ भएकाले त्यो अपेक्षा राख्छन्। कोही भने आफैंलाई नै सर्वज्ञानी ठान्नेहरू हुन्छन्, जो आफ्नो लेखनमा अरूले टिप्पणी गरेको र परिमार्जन गर्न लगाएको सहज रूपले पचाउन सक्दैनन्। त्यसैले तीमध्ये धेरैजसो आफ्नो पहिलो मस्यौदामा सुझाव पाउनेबित्तिकै ‘गायब’ हुन्छन्।

कोही कोही पटकपटक परिमार्जन गर्ने कोसिस गर्दा पनि टुंगोमा पुर्‍याउन नसकेर बीचैमा थाकेर छाड्छन्। अर्काथरी छन् जो विश्वविद्यालयमा शोध लेखनमार्फत अनुसन्धान कर्ममा लागे पनि जर्नलमा लेख्न निकै ठूलो दक्षता हुनुपर्छ र त्यो आफ्नो बुताभन्दा बाहिरको कर्म हो भन्ठान्छन्। त्यसैले ती हतपत जर्नलमा लेख्ने आँट गर्दैनन्। यद्यपि यिनलाई भने यो भनेको लेख्दै परिमार्जन गर्दै अघि बढ्ने यात्रा हो भन्ने यथार्थ बुझाएर लेखाउन सकिन्छ।

जर्नलले सामान्यतया लेख छापेबापत पारिश्रमिक दिँदैन। यो विश्वव्यापी चलन हो। यद्यपि नियमित स्रोत जुटाउन सक्ने थोरैले कतिपय अवस्थामा दिएका पनि छन्। त्यसो हुँदा आफ्नो मेहनतको आर्थिक फल पाउनुपर्छ भन्नेहरू स्वाभाविक रूपले टाढा हुने भइहाले। त्यसैले, यसमा लेख्न जोस देखाउने भनेका नै आर्थिक उपार्जनभन्दा पनि प्राज्ञिक क्षेत्रमा आफ्नो यात्रा सहज बनाउन चाहनेहरू नै हुन्।

साथै, आर्थिक र पेसागत भविष्य दुवैको मतलब नभए पनि आफूले काम गरिरहेको विधामा भइरहेका प्राज्ञिक बहसमा आफूलाई उभ्याउन चाहनेहरू पनि जर्नलका लेखक हुन्। तसर्थ हामीकहाँ जर्नलका लागि लेख प्राप्त गर्न किन कठिन छ भन्ने प्रश्नको उत्तर उल्लिखित दृष्टान्तले नै दिन्छन्। ‘समाज अध्ययन’मा रूपान्तरण हुनुभन्दा अघि ‘मिडिया अध्ययन’ १० वर्ष चलाइएको थियो। त्यो चलाउँदा हुने समस्या नाम र दायरा फेरिँदा पनि झन्डैझन्डै ज्यूँका त्यूँ हुनुले विधागत वा विषयगत दायरा साँघुरो हुनु र फराकिलो हुनुले पनि तात्िवक अन्तर नपार्ने रहेछ भन्ने प्रस्ट हुन्छ।

अन्त्यमा,जर्नलको सम्पादन या प्रकाशनमा निरन्तर लागिरहनु भनेको मुख्य रूपमा प्राज्ञिक क्षेत्रको उन्नयनका लागि निश्चित व्यक्ति वा संस्थाले जनाउने प्रतिबद्धता हो। जर्नलमा छापिने लेख पढ्ने पाठकले लेखको गुणस्तर त ठम्याउन सक्छ तर त्यसमा हुने सम्पादकीय कसरतको भेउ पाउन सक्दैन। त्यसैले सामान्यतया स्तरीय सामग्रीको जस सम्पादकलाई जाँदैन। समय र मेहनतका हिसाबले प्राज्ञिक जगत्कै अन्य कामको तुलनामा यो आफैंमा कुनै आनन्ददायक वा लाभदायक कर्म होइन।

यसमा लागेर कुनै तक्मा वा पुरस्कार पाइने होइन। पाइँदो हो त झन्डै २५ वर्षसम्म जर्नल सम्पादनमा चुर्लुम्म डुबेर काम गर्ने सिन्हास जर्नलका सम्पादक प्रत्यूष वन्त हुन् वा बागलुङ जस्तो ठाउँमा बसेर धौलागिरि जर्नल अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजीको १४ वर्षदेखि सम्पादन गर्दै आएका मानबहादुर खत्री जस्ता धेरै जर्नल सम्पादकका छातीभरि तक्मा झुन्डिएका हुन्थे।

@DevrajHumagain जर्नल सम्पादक तथा मिडिया अध्येता हुन्।

स्रोतः http://annapurnapost.com/news/127113


About the Author

More Blogs